विकासन्युज

सरकार सहकारीको रकम ठगी गर्नेलाई बचाउन लाग्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ । शुक्रबार संसद भवन परिसरमा बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित विरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा बचत गरेको अर्बौंं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको बताए । नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदीय छानविन समिति गठन गर्न पुनः माग गर्ने निर्णय गरेको बताए । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर कांग्रेसले गरेको जानकारी दिए । ‘लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ । तसर्थ नेपाली काँग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ’, उनले भने । प्रमुख सचेतक लेखकले संसदीय मान्यतामा सभामुखको भुमिका तटस्थ हुनुपर्ने भन्दै सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भुमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

स्थायी निक्षेप सुविधामा पुनरावलोकन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने जनाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले चाँदीको आयात पुनरावलोकन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयात तथा बिक्री वितरणको विद्यमान व्यवस्थालाई परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सो व्यवस्था गर्ने बताएको हो । ‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’ समीक्षामा उल्लेख छ । राष्ट्र बैंक स्रोतकाअनुसार चाँदीको आयातको सीमा घटाउन लागिएको हो ।

मौद्रिक नीतिको समीक्षामार्फत् घरजग्गा व्यवसायीलाई राहत, अब ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीका लागि राहत प्रदान गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ । यसले समस्यामा परेका घरजग्गा व्यवसायीलाई राहत हुने विश्वास गरिएको छ ।

अब बैंकहरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने

काठमाडौं । अब बैंककरुले असल कर्जामा १.२० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा उल्लेख छ ।

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

अब सवारी साधनमा १०० मात्रै जोखिमभार, अटो व्यवसायीलाई सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान हायर पर्चेजका सवारी साधनमा जोखिमभार घटाएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै सो व्यवस्था गरेको हो राष्ट्र बैंकले हाल विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको हो । यसले अटो व्यवसायीलाई सहज हुनेछ ।

यस्तो आयो मौद्रिक नीतिको तेस्रो समीक्षा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार समीक्षा सार्वजनिक गरेको हो । यस्तै, विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । यता, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ । [pdf id=484193]