विकासन्युज

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर अप्रिलमा लगातार दोस्रो महिना बढेर ४.१ प्रतिशत पुगेको छ । अस्ट्रेलियाको तथ्याङ्क ब्युरो (एबीएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । जुन जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर हो । बेरोजगारी दरमा वृद्धि मार्च र अप्रिलको बीचमा ३८ हजार ५ सय जनाले रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्यामा वृद्धि भएपनि ४४ हजार ६ सय आंशिक रुपमा र पूर्ण–समय भुमिकामा ६ हजार १ सयको गिरावट आएको छ । सोही अवधिमा, बेरोजगार व्यक्तिहरूको संख्या ३० हजार ३ सयले बढेर ६ लाख ४ हजार २ सयमा पुगेको छ । रोजगारीमा रहेका वा कामको खोजीमा रहेका काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर मार्चमा रहेको ६६.६ प्रतिशतको तुलनामा अप्रिलमा अलिकति बढेर ६६.७ प्रतिशत पुगेको छ । अप्रिलमा अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टाको संख्या १.९६ बिलियन थियो । अप्रिल २०२३ को तुलनामा १ करोड ५० लाख कम हो । कोषाध्यक्ष जिम चाल्मर्सले प्रश्तुत गरेकाे संघीय बजेटले जुन २०२४ सम्ममा बेरोजगारी ४.२५ प्रतिशत र जुन २०२५ सम्म ४.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

हेटौंडा । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गन कारबाही गरेको हो । दुई सय ६१ जनाको मृत्यु उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ । उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व संकलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो ।

व्यवसाय विस्तारमा पौने ३ खर्ब लगानी थप्दै महिन्द्रा

काठमाडौं । ख्यातिप्राप्त सवारीसाधन उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले विभिन्न मोडेलका सवारीसाधन उत्पादन बढाउन थप पौने ३ खर्ब लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०३० सम्ममा नयाँ मोडेलका पेट्रोल र डिजेलबाट चल्ने ९ एसयूभी, ७ वटा विद्युतीय सवारी र ७ वटा हलुका कमर्सियल गाडी उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले सन् २०२५ देखि २०२७ सम्म अटोमोबाइल व्यवसायमा २ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी तीन वर्षमा उक्त परिमाण बराबर लगानी गर्नेछ । त्यसतै ५ खर्ब रुपैयाँ कृषि व्यवसाय र सेवा व्यवसायमा लगानी गरिने छ । महिन्द्रा एन्ड महिन्द्रा सञ्चालक समितिले ईभी कम्पनी महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । कम्पनीले यो रकम आगामी तीन वर्षभित्र ईभी निर्माणमा खर्च गर्ने छ । महिन्द्राका कार्यकारी निर्देशक तथा अटोमोटिभ तथा कृषि क्षेत्र हेर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश जेजुरीकरले महिन्द्राले पूर्णरूपमा विकास गरेको पहिलो ईभी सन् २०२५ को पहिलो त्रैमासिकमा सडकमा आउने बताए । उनले २०२७ सम्ममा कम्पनीको कुल बिक्रीमा विद्युतीय सवारीसाधनको हिस्सा २० देखि ३० प्रतिशत पुग्ने बताए । ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले १२ अर्ब र टेमासेकले महिन्द्राको ईभी युनिटमा ३ अर्ब रुपैयाँ लगानी गरेको छ । टेमासेकले गत वर्ष अगस्टमा कम्पनीमा १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । महिन्द्राले बाँकी ९ अर्ब रुपैयाँ पनि तोकिएको समयभित्र लगानी गर्ने बताएको छ । ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले २०२२ मा अनिवार्य रूपान्तरणीय लगानी उपकरणहरूमार्फत कम्पनीमा ७ खर्ब ७० करोडमध्ये १९ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । योसँगै महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा यसको सेयर २।७५ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुग्न सक्ने छ । महिन्द्राले नतिजा घोषणा गर्दा आफू र यसको अटो युनिटले पूँजी लगानी आवश्यकताहरू पूरा गर्न पर्याप्त परिचालन नगद उत्पादन गर्ने अपेक्षा गरेको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ अनिश शाहले महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले बाँकी ७ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्ने विषयमा छलफल भइरहेको बताए । अबको ६/७ महिनामा यस सम्बन्धमा निर्णय हुनेछ । उनले भने, ‘महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले ७ अर्ब २५ करोड रुपैयाँ लगानीको म्याद थप गर्न आपसी सहमति जनाएका छन् र दुवैले ३१ डिसेम्बर २०२४ सम्म थप लगानी आवश्यक पर्ने वा नपर्ने भनेर विचार गर्नेछन् ।’ सीईओ शाहले ईभीको मार्जिन पनि पेट्रोल र डिजेल इन्जिन भएका गाडीको जस्तै हुने बताए । ईभीमा मार्जिन प्रारम्भिक चरणमा कम हुनेछ तर पछि बढ्ने छ । तर, महिन्द्रा इलेक्ट्रिक अटोमोबाइल कम्पनी कहिले नाफामा हुन्छ भन्ने उनले बताएनन् । कम्पनीले नयाँ सवारीसाधन लन्च गर्ने क्षमता बढाउने र अघिल्लो २ लाख २० हजार युनिट गाडीको अर्डर पूरा गर्ने कुरामा निरन्तर जोड दिइरहेको छ । जेजुरीकरले आर्थिक वर्ष २०२० सम्म कम्पनीले हरेक महिना १९ हजार एसयूभी बनाएको बताए । जुन संख्या बढेर अहिले मासिक ४९ हजार पुगेको छ । आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा प्रतिमहिना ४९ हजार सवारी साधन र आगामी वर्ष ७२ हजार सवारी साधन उत्पादन क्षमता बढ्ने छ । जेजुरीकरले आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा हरेक महिना १० हजार विद्युतीय सवारी साधन पनि उत्पादन गर्ने र आगामी वर्ष विद्युतीय सवारी साधनको उत्पादन क्षमता प्रतिमहिना ८ हजार पुर्‍याउने स्पष्ट पारे । महिन्द्राले हरेक महिना ९ हजार एक्सयुभी ३एक्सओ बनाउन सक्छ र यदि आवश्यक भएमा यसको क्षमता प्रतिमहिना साढे १० हजार सवारीसाधन बनाउन सक्ने छ । कम्पनीले वित्तीय वर्ष २०२५ देखि २०२७ सम्म २ खर्ब ७० अर्ब रुपैयाँ कुल लगानी गर्ने योजना बनाएको छ । जसमध्ये ८५ अर्ब डिजेल/पेट्रोलबाट चल्ने एसयूभीहरूमा खर्च गरिने छ । व्यावसायिक सवारीसाधन (ईभी, ट्रक र बस) मा ४० अर्ब लगानी हुनेछ । आर्थिक वर्ष २०२४ मा अटो व्यवसायको आम्दानी ४३.१ प्रतिशतको चक्रवृद्धि दरले बढेको छ । एजेन्सी

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धार १०० को (२) मा व्यवस्था छ ।

नवलपुरबाट १० महिनामा २१ अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा संकलन भएको राजस्वमध्ये संघीय सरकारलाई जाने राजस्वतर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७ सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ४५ करोड १८ लाख ८ हजार ६ सय ७९ रुपैयाँ संकलन भएको जानकारी दिए । आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको महतोले जानकारी दिए । यसैगरी, संघीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले ८ करोड ३९ लाख ५१ हजार १ सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले २ करोड ४२ लाख एक हजार ७ सय ११, जिल्ला अदालत नवलपुरले १ करोड ५७ लाख ७७ हजार ७ सय ९९, त्रिवेणी भन्सार कार्यालयले १ करोड ५८ लाख ५१ हजार ६ सय ४७ राजस्व संकलन गरेका महतोले बताए । जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २ सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६ सय २७, डिभिजन वन कार्यालयले ४ करोड ५२ लाख ८१ हजार ८ सय ५४ राजस्व संकलन गरेका छन् ।

बनेपाका १ हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ । उक्त शाखाले कौसीखेती प्रवर्द्धनका तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रुपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईले बताए । उनका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का एक हजार घर परिवारका लागि ग्रो–ब्याग चार हजार थान, कम्पोष्ट मल दुई हजार प्याकेट, कोकोपिट दुई हजार, एक हजार हजारी र एक हजारलाई बीउबीजन वितरण गरिनेछ । शाखाका अनुसार कौसीखेतीका लागि सबैभन्दा धेरै वडा नं ८ मा तीन सय, ७ मा दुई सय ७०, ९ का एक सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी एक हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका थिए । नगरले कौसीखेतीका लागि प्रोत्साहनस्वरुप निःशुल्क तालिम सुरु गरेसँगै एक हजार महिला यस खेतीमा आबद्ध भएका हुन् । ‘छोराछोरीलाई झोलामा हैन माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसीखेतीले सघाएको छ, खेतीमा चलाउमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु,’ बनेपा–७ को जमुना घिमिरेले भनिन् । उनले विशेष गरी आफ्नै कौसीमा साग, धनिया, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेको सुनाइन् । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेरेर तनाव व्यवस्थापनमा सहयोगी भएको बताए । ‘कुहिने र नकुहिने फोहर व्यवस्थापन गरेर त्यसबाट मोहोर कमाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने । उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसीखेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताइन् । उनले खुर्सानी, कागती, धनिया, साग, काक्रो, फर्सी–मुन्टा र पुदिना कौसीखेतीका मुख्य आकर्षण भएको बताइन् । बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उनको अनुभव छ ।

आइएमई लाइफले डाक्यो सातौं वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७औं वार्षिक साधारण सभा डाकेको हो । सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भन्दै सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि तयार गरिएको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि पनि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ ।

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने

काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले कम्पनीले हाल कायम जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।