अब नेपालमा पनि पोडवे, सरकारले सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने
काठमाडौं । सरकारले पोडवे निर्माणका लागि सम्भावयता अध्ययन गरिने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट-भच्चेक-बारपाक-बुङकोट-गोरखाबजार-मनकामना-बेनीघाटसम्म पोडवे यातायात प्रणालीको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने बताएका छन् । विभिन्न सहरलाई मौलिक सहर विकास गर्न बजेट विनियोजन गरेको बताएका छन् । उनले काठमाडौंका नयाँ सहर निर्माणका लागि बजेट विनियोजन गरेको पनि बताएका छन् । उनले डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताएका छन् ।
दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाको रकम बढाउने भएको छ । प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवाखाजा कार्यक्रमको लागि ८ अर्ब ३९ करोड विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको बजेट विनियोजीत अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशमा दिइदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन
काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले न्यूनतम एक तहको प्रशाेधन गरेर जडीबुटी निर्यात गर्ने वातावरण सिर्जना गर्ने बताएको छ । अर्थमन्त्री पुनले उनले वन क्षेत्रको दिगो व्यवस्थापन गरी व्यावसायिक उपयोग गरिने बताएका हुन् । उनले राजमार्ग छेउछाउमा उत्पादन हुने स्थानीय उत्पादनलाई जोड दिने बताएका हुन् । वन आगालागी नियन्त्रणका लागि आवश्यक सामग्री खरिद गर्ने बताइएको छ । राष्ट्रपति चुरे संरक्षण आयोजनाको लागी १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
काठमाडौं । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए । प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सवा ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बराबरको रकम विनियोजन गरिएको बताएका हुन् । साथै, उनले बीमा कार्यक्रमका लागि साढे ७ अर्ब रुपैयाँ छुट्याएका छन् ।
सरकारले कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गर्ने
काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्नका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । उनले गोरखा, धादिङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्नका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा व्यावसायिक फर्म स्थापना गरिने बताए ।
सिता दाहाल मेमोरियल कलेज स्थापना गरिने, मुस्कुराए प्रचण्ड
काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापनाका लागि बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । उनले सो कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुसुक्क मुस्कुराएका छन् ।
आर्थिक त्रिभूज योजना सञ्चालन गरिने, २ अर्ब विनियोजन
काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिनेछ । त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिए । त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिनेछ । परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने छ । यसपरियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न दुई अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए । निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने छ । प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।