विकासन्युज

सिता दाहाल मेमोरियल कलेज स्थापना गरिने, मुस्कुराए प्रचण्ड

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापनाका लागि बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । उनले सो कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुसुक्क मुस्कुराएका छन् ।

आर्थिक त्रिभूज योजना सञ्चालन गरिने, २ अर्ब विनियोजन

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने उल्लेख छ । यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने छ । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिनेछ । त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले जानकारी दिए । त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिनेछ । परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने छ । यसपरियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न दुई अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिए । निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने छ । प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा नदी र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमा विकास गरिने बजेटमा उल्लेख छ ।

विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने

काठमाडौं । विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने भएका छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उच्च शिक्षाको रुपान्तरण र गुणस्तरीय वृद्धिका लागि विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने बताएका हुन् । चिकित्सा शिक्षा, इन्जिनीयरिङ, कृषि, प्रविधि, लगायत उच्च शिक्षा अध्ययनका लागि चक्रिय कोष मार्फत् शैक्षिक कर्जा उपलब्ध गराइने भएको छ । प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेक छन् । मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले क्यान्सर, सिकसेल र हेड इन्जुरी लगायत गम्भीर रोग लागेका प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेका हुन् उनले यसका लागि ३ अर्ब विनियेजन विनियोजन गरेको बताएका छन् ।

सहकारी सञ्चालकका परिवारकै सम्पत्ति रोक्का, निक्षेपकर्ताको ५ लाखसम्म फिर्ता

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले बचत तथा ऋण सहकारीका सञ्चालक र तिनको एकाघर परिवार सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितोमा राखेर बचतकर्ताको ५ लाख रुपैयाँसम्म फिर्ता गरिने बताएका छन् । संसदमा बजेट पेस गर्दै उनले यस्तो बताएका हुन् । समस्यामा परेका र निक्षेपकर्ताको बचत फिर्ता नगरेका सहकारीहरुमाथि यस्तो कारवाहीको नीति सरकारले लिने उनले बताए । उनले सहकारीका लागि अलग्गै नियमनकारी निकाय बनाउने घोषणा गरे । यसअघि ठूलो सहकारी नियमनको काम नेपाल राष्ट्र बैंकमार्फत हुने गरी सरकारी नीति आएको थियो ।

सीपमुलक तालिमको लागि ४३ करोड विनियोजन

काठमाडौं । सरकारले प्रत्येक प्रदेशका कम्तिमा एक हजार युवालाई सीप सिकाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले यसका लागि सरकारले ४३ करोड विनियोज गरेको बताए ।

यी हुन बजेटका ५ उदेश्य, ५ प्राथमिकता, ५ रणनीति

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटका ५ उद्देश्य, ५ प्राथमिकता र ५ रणनीति रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए । त्यस्तै बजेको ५ प्राथमितामा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, समावेशीता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु रहेको छ । यसैगरी बजेटका ५ रणनीतिमा संरचनागत सुधार, व्यावसायिक वातावरणमा सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेका छन् । अर्थतन्त्रको संरचनागत सुधारका लागि सुझाव दिन एक उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने पनि अर्थमन्त्री पुनको भनाइ छ ।

भूमि मन्त्रालयमा ६ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ बजृट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बराबरको बजेट विनियोजन गरिएको बताए ।