विकासन्युज

पृथ्वी राजमार्गको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका-७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।

जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भए दुई वडाध्यक्ष

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त गरिएको छ । कार्यवाहक प्रमुखमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा ३ का वडाध्यक्ष रतन चौधरी नियुक्त भएका हुन् । उनीहरूलाई बाँकी कार्यपालिका सदस्यहरूले बहुमतीय प्रणालीबाट कार्यवाहक नियुक्त गरेको हो । नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भएपछि ठप्प रहेको कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेका थिए । गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । प्रमुख र उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो। नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए । उनीहरुले हाटबजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार ६३७ बढी भुक्तानी गरिएको भन्दै अख्तियारल मुद्दा दायर गरिएको थियो ।

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ । नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलका तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा २०६७ सालमा ५२ कट्ठा जग्गामा निर्मित दुई तारे सुविधा सम्पन्न होटल सेभेनमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हल रहेका छन् । चाँडै उक्त होटललाई पाँचतारेमा स्तरोन्नति गर्ने गरी तयारी भइरहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको र त्यसको लागि थप पुँजीको आवश्यकता पर्ने हुँदा सर्वसाधारणलाई सेयर जारी गर्ने होटलले योजना बनाएको अध्यक्ष पाठकले जानकारी दिए ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

व्यापारमा आयातको हिस्सा बढ्दा निर्यातको घट्यो, सवा १३ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यस्तै, यो अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्र निर्यात गरेको भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३.०१ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाखरुपैयाँको वस्तु निर्यात भएको थियो । विभागका अनुसार नेपालको कुल व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो । यस्तै, चालु आवको जेठसम्म वैदेशिक व्यापार समेत १.९५ प्रतिशतले घटेको छ । ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ थियो । कुल आयातमा आयातको ९१.२६ प्रतिशत योगदान रहेको छ भने निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।

मेलम्चीको पानी काठमाडौं आउन तत्कालै बन्द नहुने

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिए पनि तत्कालका लागि मूलद्वार बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जानकारी दिएको हो । बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्‍बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । ‘बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्नसक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ’, उनले भने, ‘आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ ।’ लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली बिकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन्। ‘हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।’ समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ । मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो । मनसुन सरदररूपमा अक्टोबर २ मा बाहिरने गर्दछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभरि मनसुन फैलिएको विभागले जनाएको छ ।

एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ । २०२४ को सुरुवातमा, वेबओएस रीस्न्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९र९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टिभी अनुभवको आनन्द दिने कम्पनीको छ । कम्पनीले भनेको छ- यो अपग्रेड भविष्यमा विश्वभरिका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ ताकि टिभी अनुभवमा थप मनोरञ्जन थप्न सकियोस् । वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् जसमा होम स्क्रीनले प्रयोगकर्ताहरूलाई उनीहरूको रोजाइ अनुसार सिफारिसहरूद्वारा स्वागत गर्ने कम्पनीको भनाइ छ । उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ । एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ । सोही एलजी वेबओएस रीस्न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडि टिभीहरूमा पनि लागु हुनेछ भने जसमा आगामी पाँच वर्ष सम्म निस्शुल्क अपग्रेड आउनेछ ।

जाजरकोट खलंगामा प्रभु बैंकको सेवा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका-४ स्थित खलंगामा बजारमा आफ्नो ३०७औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको छ । यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकको भनाइ छ । बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।