विकासन्युज

त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याइ कार्यारम्भ गरेको समितिका सदस्य जानकी वल्लभ अधिकारीले जानकारी दिए । समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ । मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

म्याग्दीका पर्यटकीयस्थल जोड्न ९ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त १ करोड ५६ लाख बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट सात किलोमिटर ४८ मिटर नयाँ ट्र्याक बनाउने, ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिए । उनका अनुसार, एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुंगा छापेर पदमार्ग बनाइएको छ भने एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सव–इन्जिनियर सुमन बोगटीले जानकारी दिए । ‘यस वर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानी दिने काम भइरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ,’ उनले भने । यस वर्ष सबैभन्दा धेरै २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका-५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका-९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ । महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा  १०/१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगंगा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म आठ/आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका- १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे-भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ- चांगा जोड्ने बाटोमा पाँच/पाँच लाख रुपैयाँबजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।

भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियता, दुई सय बढी पक्की संरचनामा डोजर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो । भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताए । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समय समेत दिइएको थियो । ‘अटेर गर्नेको हकमा डोजर नै लगाउनु पर्‍यो,’ वडाध्यक्ष भट्टले भने, ‘अहिले राजमार्ग क्षेत्र वरपरको अतिक्रमण हटाउने काम भइरहेको छ ।’ उनले बजार क्षेत्रमा लामो समयदेखि बसेका खोकाछाप्रा, सालघारीस्थित इको पार्कको अतिक्रमण र वनखेतस्थित औद्योगिक क्षेत्रमा नाममा लिएको जग्गा खाली गराइने उल्लेख गरे । त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि केही दिनअघि झलारी र कलुवापुर बजार क्षेत्रमा पर्ने राजमार्गका सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख रणबहादुर महराले अतिक्रमण हटाउन सूचना जारी गरेपनि अटेर गरेकाले अतिक्रमण गरी बनाएका संरचना हटाइएको बताए । ‘केही स्थानमा पुनः सार्वजनिक जग्गामा केही संरचना बने भन्ने सूचना प्राप्त भएको छ,’ नगरप्रमुख महराले भने, ‘नगरसभाको बैठक सकिए पनि पुनः त्यसमा सक्रिय हुन्छौँ ।’ उनले नगरपालिकाले हालै मात्रै नगर प्रहरीसमेत भर्ना गरिसकेको बताउँदै नगर प्रहरीले पनि त्यसमा निगरानी राख्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद सापकोटाले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेको बताए । उनले स्थानीय तह, सुरक्षा निकाय र आम नागरिकको सहयोगमा अभियानले निरन्तरता पाइरहेको उल्लेख गरे ।

वैदेशिक रोजगारीमा ठगी बढ्दै

नेपालगञ्ज । बाँकेमा दाङमा वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीहरू बढ्दै गएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा ८ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो संख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए । यो कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालित छ । वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । ‘सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ,’ संयोजक नेपाललीले भने । कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उनले बताए । संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् । सोही कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले यहाँका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको बताए । वैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिई दक्ष भएरमात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने सल्लाह दिए ।

भक्तपुरको ‘नलिञ्चोक हेलिपोर्ट’ सञ्चालनमा, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकप्टरको सख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिप्याड सान्दर्भिक छ,’ उनले भने, ‘विमानस्थल पूर्वाधारको सेवा विस्तार भइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको यो हेलिप्याड विशेषगरी पूर्वी भेगका जिल्लाका लागि उपयुक्त हुनेछ । यसको बहुआयामिक महत्व पनि छ ।’ पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए । उनले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रूपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गरे । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रूपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे । महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ । हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ । प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकैपटक ४ वटा हेलिकप्टर अवतरण गर्न सकिन्छ । आज हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकप्टर अवतरण गराइएको थियो । पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत नलिञ्चोक आएका थिए । करिब ११ करोड रुपैयाँको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकोप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकोप्टर छन् ।

समृद्धि फाइनान्स औरही शाखाले मनायो पहिलो वार्षिकोत्सव

काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शाखा कार्यालय औरहीले पहिलो वार्षिकोत्सव मनाएको छ । औरही नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ता, बुद्विजीवी, समाजसेवीलगायतले फाइनान्सको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्य गर्ने बताएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

तोलामा १९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सूनको मूल्य तोलाको दिन १ लाख ४२ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनको शुक्रबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ, तपाईं बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन ।’ नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ, हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।’ क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नुरहेको बताए । बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्‍याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ-आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ संकल्पित भएर लागेको स्पष्ट पारे ।