विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा हुनुहुन्छ । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अभिभावकहरूले जिज्ञासा बढ्न थालेको छ । विषय छनोट कसरी गर्ने ? हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ । यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छभने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ । विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आफूलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ । के गर्नु राम्रो हुँदैन ? हाम्रो पुरानो विश्वासका आधारमा धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालार्ई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैँ मा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैँमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो गर्यो आदि कुरा गर्नु हुँदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन । मानिस स्वभावतः ठूलो देखिन खोज्ने प्राणी हो । बालकालिकालाई हामीले विज्ञान ठूलो हो भन्ने प्रभाव दिँदा धेरै बालबालिकाहरूले आफू अरुहरूभन्दा ठूलो देखिनका लागि नै विज्ञान पढ्ने निधो गर्दछन् । यो अन्ततोगत्वा गलत हुन्छ । त्यस्तै कतिपय अवस्थामा बच्चाहरूलाई तिमीलाई जुन राम्रो लाग्छ, त्यही पढ भन्छौँ । यो पनि बच्चालाई आज राम्रो लागेको कुरा सधैँ राम्रो नलाग्न सक्छ । उसको कलिलो उमेरले त्यो सबै निर्णय गराउन पनि उपयुक्त हुँदैन । त्यसका लागि विज्ञहरूको परामर्श चाहिन्छ । बालबालिकाले विषय छनोट केका आधारमा गरेको हो, त्यसै अनुसार विज्ञले परामर्श दिनु उपयुक्त हुन्छ । धेरै जस्तो अवस्थामा बालबालिका साथीभाइ जता जान्छन् र जे पढ्छन्, त्यसै गर्छु भनी आफ्नो निर्णय साथीलाई गर्न दिन्छ । यो अत्यन्त प्रत्युत्पादक हुन्छ । त्यसैले कोही पनि बालबालिकाले विषय छनोट गर्दा भविष्यको पेसाको कमाई, सुरक्षा, नाम प्रतिष्ठा, पहिचान, बुबाआमाको इच्छा, देश प्रेम, समाजको आवश्यकतामध्ये कुन आधारमा गरेको छ भनी विज्ञसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । केही विद्यार्थी तथा अभिभावकहरू अहिलेलाई विज्ञान पढ्दै गरौँ र पछि जता पनि जान पाइन्छ भन्ने खालको तर्क पनि गर्नुहुन्छ । कक्षा ११ मा पुग्दा फेरि नेपाली र अङ्ग्रेजीबाहेक अरू सबै विषयको विकल्प छ । आफू जाने पेसा र विषयलाई कम ध्यान दिएर अन्य विषयवस्तुलाई बढी समय दिइराख्नु पनि तर्कसङ्गत छैन । प्रायः कक्षा १० सम्म विद्यार्थीको लगाव छुट्याउन नसकेका अभिभावकहरू यो मतमा आउनुहुन्छ, त्यो त्यति हितकारी छैन । केही अभिभावक विज्ञान गाह्रो विषय हो र त्यो पढेर पछि अरू विषय पढ्न सजिलो हुन्छ । त्यसैले अहिले विज्ञान नै पढ्दै गरोस् भन्ने तर्क दिनुहुन्छ । यो तर्क झट्ट हेर्दा सही हो कि जस्तो लागे पनि यस तर्कले विद्यार्थीको भावनालाई प्रतिनिधित्व कदापि गर्दैन । यसमा अभिभावकको विचारको हाबी देखिन्छ । केही अभिभावक र विद्यार्थीहरू कुन विषय पढ्दा विदेश जान सजिलो हुन्छ भनी प्रश्न गर्ने गर्नुहन्छ ।खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहनुहुन्छ । यसको कारण सोध्दा उहाँहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्नुहुन्छ, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो भन्ने कुरा नै प्रमुख हुन्छ । के गर्नुपर्छ ? विसं २०८० को एसइईको नतिजा केही दिनभित्रै आउँदैछ । हामीसँग जति बाँकी दिनहरू छन्, ती दिनहरूमा विद्यार्थीलाई विभिन्न पेसाका बारेमा खोज अध्ययन गर्न लगाऊँ । विद्यार्थी कहिलेकाहीँ आफू सेतो कोट लगाएर मेडिकल डाक्टरको काम गरेको, कहिले नीलो कोट लगाएर प्रशासक बनेको, कहिले कालो कोट लगाएर न्याय तथा कानुन सेवामा काम गरेको, कहिले बैङ्कर भएको, कहिले प्रोफेसर भएको, कहिले फौजी सेवा, कहिले व्यापार–व्यवसाय आदिमा काम गरेको कल्पना गर्न लगाऊँ । सम्बन्धित त्यस्ता ठाउँहरूमा पुर्याएर कामको प्रकृति देखाऊँ, कामको अनुभूति पनि गराऊँ । तिमी १० वर्षपछि कुन काम गरिरहेको सपना देख्छौ भनी उसको बानी व्यवहार र रुचि निश्चित रूपमा पहिचान गर्न सक्यौँ भने उसले पहिले पेसा छनोट गर्न सक्छ । एउटा विद्यार्थीले पहिले आफ्नो पेसा छनोट गरोस् । अनि उक्त पेसालाई चाहिने विषय छनोट गरोस् । त्यसपछि उक्त विषय पढाउने संस्था छनोट गरोस् । संस्था छनोट गर्दा पनि केही सावधानी अवश्य अपनाओस् । सामान्यतयाः विद्यार्थीलाई अभिभावकहरूले कलेज हेरेर आऊ भनी पठाउनुहुन्छ, जब ऊ कलेज छनोट गर्न आउँछ, उसँग खासै केही प्रश्न हुँदैनन् । प्रायः विद्यार्थीले सोध्ने गर्छन्, “यो कलेज कस्तो छ ?” खासगरी कुनै पनि संस्थामा गएर यो संस्था कस्तो छ भनी सोध्दा के उत्तर आउँछ रु त्यसैले कलेज छनोट गर्न अभिभावकहरूले पनि विद्यार्थीसँगै जानुपर्छ र संस्थाको स्थायित्व, विगतको परीक्षाको परिणाम, पढिरहेका वा पढाइसकेका विद्यार्थीहरूको उदाहरण र सफलता, खर्च, पढाइको वातावरण, शिक्षक शिक्षिका र कर्मचारीको स्थायित्व र क्षमता, पूर्वाधार, लगानीकर्ता आदि पक्षको राम्रो तुलनात्मक अध्यापन गरेर मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । कुनै संस्थाले अस्वाभाविक रूपमा अधिक खर्च लिँदैमा वा न्यून खर्चमा पढाइदिन्छ भन्दैमा वा खर्चको हिसाबमा मात्र शैक्षिक संस्थालाई राम्रो वा नराम्रो भन्नु गलत हुन्छ । कहिलेकाहीँ अस्वाभाविक ज्यादा मूल्यले पनि उपभोक्तालाई आकर्षण गरेको देखिन्छ । खासगरी यस समयमा कलिला विद्यार्थीहरूलाई राम्रो परामर्शदाता, विषयविज्ञ, अनुभवी र दक्ष मानव संसाधनविद्को परामर्शमा डोर्याउनु अति आवश्यक हुन्छ । निष्कर्ष एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कूल छनोट गर्ने कुरा उसको जीवनमा एकपटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा पुर्याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकाङ्क्षा पनि पूर्ण हुन्छ । रासस (लेखक काठमाडौं बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुन्)
२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने
बोदेबरसाइन । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । ‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ’, नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’ दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे ।
एसईईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् । ‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ’, उनले भनिन् । उनले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।
ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल-भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे । रुस-युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासंघको काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको जानकारी दिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे । राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै प्रधानमन्त्रीले आगामी दिनमा यसलाई अझ व्यवस्थित गरिने बताए ।
राजदुत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने बताएका हुन् । राजदुत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको जानकारी दिए । उनले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताए । राजदुत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको जानकारी दिए । ‘राजदुत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रश्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रश्तुत गर्नुपर्यो । कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ । मेरिटकै आधारमा यो अगाडी बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रुपमा राख्न चाहन्छु’, उनले भने । प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समिकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदुतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदुतहरुलाई तिन महिना काम गर्न दिएको बताए ।
गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सञ्चालक समिति हेरफेर गरेकाे छ । मंगलबार कम्पनीले प्रेस विज्ञप्तिमार्फत सञ्चालक समिति हेरफेर भएको जानकारी दिएको हो । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी सञ्जुप्रसाद जैसवाल सञ्चालकका रूपमा नियुक्त भएको क्यापिटलले जानकारी दिएकाे छ । कम्पनीका अनुसार कम्पनी सचिवमा अशोक सुवेदी, स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले, अध्यक्षमा दीपक पाण्डे, सञ्चालकमा सञ्जुप्रसाद जैसवाल, निवर्तमान सञ्चालकमा माधवप्रसाद उपाध्याय, स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल, सञ्चालकमा अनिल रेग्मी र प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।
कर छल्न कम्पनीको कारोबार व्यक्तिगत खाताबाट हुन थालेपछि सरकारले फेर्यो नीति, अब यस्तो नियम
काठमाडौं । कर छल्नका लागि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने अभ्यास बढेपछि सरकारले नीतिगत हेरफेर गरेको छ । सरकारले अब कर छलि रोक्नका लागि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियम बनाएको हो । अर्थमन्त्री वर्षमान पुनले आयकर ऐन २०५८ मा दफा ८१ पछि ८१ ‘क’ थप्दै कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेकमा थिए । सोही व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आन्तरिक राजस्व विभागले पनि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्यतुीय माध्यमबाट प्राप्त हनुे कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यो नीतिको उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैया वा कुल रकमको दुई प्रतिशत मध्ये जुन बढी हुन्छ सोही रकम शुल्क लाग्नेछ ।’ विभिन्न व्यक्तिले कम्पनी तथा अन्य व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत् गर्ने अभ्यास बढेपछि सरकारले यस्तो नियम बनाएको बुझिको छ । यसअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले व्यावसायिक कारोबार व्यक्तिको खातामार्फत् हने अभ्यास बढेको देखाएको थियो । गत माघमा राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको गरेको थियो । सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको थियो भने ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको थियो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको थियो । यस्तो प्रवृति घरजग्गा कारोबारमा बढी देखिने गरेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको थियो ।