बजेट बहुमतले पारित
काठमाडौं । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।
नेप्से ५.६० अंकले बढ्दा लगानी समूहमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । बढेसँगै नेप्से २०७१.७७ को बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । केहि दिन यता निरन्तर बढ्दै आएको फाइनान्स समूह सबैभन्दा धेरै २.१५ प्रतिशतले घटेको छ । यो समूह सोमबार सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको थियो भने आइतबार यो समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढेको थियो । मंगलबार लगानी समूहमा लगानीकर्ता झुम्मिएका छन् । यो समूह १.७० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ सूचकमध्ये ८ समूहमा हरियाली छाएको छ भने ५ समूह घटेको छ । कारोबार रकमको आधारमा आरएसडिसी सबैभन्दा शिर्ष स्थानका रहेको छ । कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
इन्फिनिक्सले लञ्च गर्यो नेपालकै पहिलो गेमिङ स्मार्टफोन जीटी २० प्रो
काठमाडौं । इन्फिनिक्सले जीटी २० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । जीटी २० प्रो स्मार्टफोनको मूल्य १२ प्लस २५६ जीबीका लागि ४७ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । नजिकको मोबाइल आउटलेट र अनलाइनमा दराजमार्फत यो मोबाइल खरिद गर्न सकिने छ । यो नयाँ स्मार्टफोनले उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको छ । अद्वितीय प्रदर्शन कम्पनीका अनुसार जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध हुन्छ । यसले उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्दछ । यसको एन टु टु स्कोर ९५० के प्लसभन्दा बढी छ । १२० एफपीएसलाई समर्थन इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ। साइबर मेका डिजाइन २.० कम्पनीका अनुसार जीटी २० प्रो स्मार्टफोन ‘आउटलेयिङ दी रेस्ट’ को भावना अपनाउँदै डिजाइन गरिएको छ । ‘साइबर मेका डिजाइन २.०’ अवधारणाबाट प्रेरित यस स्मार्टफोनमा तिरछा रेखा, सूचनाका लागि मेका लुप लाइटिङ र मेका बनोवट रहेको छ । यो मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ । समर्पित गेमिङ डिस्प्ले चिप इन्फिनिक्सले पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स५ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ, जसले पब्जी मोबाइलका लागि ९० एफपीएस र १२० एफपीएस समर्थन, सुधारिएको रिजोल्युसन, सधैं–चालु एचडीआर र कम–विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान गर्दछ । यसले विना लग वा स्टटर उत्कृष्ट गेमिङ अनुभव सुनिश्चित गर्दछ । उन्नत गेमिङ प्रविधि जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ । ब्लोट-रहित सफ्टवेयर अनुभव जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने भएकोले न्यूनतम पूर्व-स्थापित एप, तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । व्यावसायिक-ग्रेड क्यामेरा प्रणाली कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २एमपी टेलिफोटो लेन्स र २एमपी म्याक्रो लेन्स सहितको क्वाड–क्यामेरा सेटअप रहेको छ । ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च–गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । जीटी २० प्रोमा १५ महिनाको वारेन्टी हुने इन्फिनिक्स मोबाइलले जनाएको छ ।
भक्तपुरमा राउतको घरबाट दुई करोड चोरी, फरार ४ जना पक्राउ
काठमाडौं । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सिबिआई हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको बताए । उक्त घटनामा संलग्न रहेका सुजन रसाईलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको बताए । पक्राउ पर्नेमा वर्ष ३० का सिन्धुपाल्चोक बाह्रबिसे २ का सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी २ का वर्ष ३१ का भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले बताएको छ । डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा निज खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ । प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट र्गा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।
लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता
काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ । अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भने, ‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’
छोरीको जन्मदर्ता गरे २५ सय उपहार
गलकोट । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा २ हजार ५ सयको मुद्दति खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरुको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दति खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए । छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकरात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दति खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए । ‘छोरीको उज्जवल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको रु दुई हजार पाँच सय ठूलो रकम बन्नेछ,’ उपप्रमुख शर्माले भने, ‘यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरुको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँं ।’ बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दति खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए । नगरपालिकाले कुश्मिसेरालाई केरा पकेट क्षेत्रका रुपमा विकास गर्न ‘सेरा जाउ, केरा खाउ’ कार्यक्रम ल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि उक्त कार्यक्रमका लागि रु १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने विश्वास लिइएको छ । यस्तै, दूधको बिक्रीका आधारमा प्रतिलिटर रु एक अनुदान दिँदै आएको नगरपालिकाले आगामी वर्ष प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । नगर प्रमुख नरबहादुर पुनले नगरभित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रुपमा रहेको सर्वोदय जनक माध्यामिक विद्यालयमा आवसीय सुविधासहित अध्यापन गराउने जानकारी दिए ।
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा हुनुहुन्छ । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अभिभावकहरूले जिज्ञासा बढ्न थालेको छ । विषय छनोट कसरी गर्ने ? हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ । यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छभने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ । विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आफूलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ । के गर्नु राम्रो हुँदैन ? हाम्रो पुरानो विश्वासका आधारमा धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालार्ई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैँ मा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैँमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो गर्यो आदि कुरा गर्नु हुँदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन । मानिस स्वभावतः ठूलो देखिन खोज्ने प्राणी हो । बालकालिकालाई हामीले विज्ञान ठूलो हो भन्ने प्रभाव दिँदा धेरै बालबालिकाहरूले आफू अरुहरूभन्दा ठूलो देखिनका लागि नै विज्ञान पढ्ने निधो गर्दछन् । यो अन्ततोगत्वा गलत हुन्छ । त्यस्तै कतिपय अवस्थामा बच्चाहरूलाई तिमीलाई जुन राम्रो लाग्छ, त्यही पढ भन्छौँ । यो पनि बच्चालाई आज राम्रो लागेको कुरा सधैँ राम्रो नलाग्न सक्छ । उसको कलिलो उमेरले त्यो सबै निर्णय गराउन पनि उपयुक्त हुँदैन । त्यसका लागि विज्ञहरूको परामर्श चाहिन्छ । बालबालिकाले विषय छनोट केका आधारमा गरेको हो, त्यसै अनुसार विज्ञले परामर्श दिनु उपयुक्त हुन्छ । धेरै जस्तो अवस्थामा बालबालिका साथीभाइ जता जान्छन् र जे पढ्छन्, त्यसै गर्छु भनी आफ्नो निर्णय साथीलाई गर्न दिन्छ । यो अत्यन्त प्रत्युत्पादक हुन्छ । त्यसैले कोही पनि बालबालिकाले विषय छनोट गर्दा भविष्यको पेसाको कमाई, सुरक्षा, नाम प्रतिष्ठा, पहिचान, बुबाआमाको इच्छा, देश प्रेम, समाजको आवश्यकतामध्ये कुन आधारमा गरेको छ भनी विज्ञसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । केही विद्यार्थी तथा अभिभावकहरू अहिलेलाई विज्ञान पढ्दै गरौँ र पछि जता पनि जान पाइन्छ भन्ने खालको तर्क पनि गर्नुहुन्छ । कक्षा ११ मा पुग्दा फेरि नेपाली र अङ्ग्रेजीबाहेक अरू सबै विषयको विकल्प छ । आफू जाने पेसा र विषयलाई कम ध्यान दिएर अन्य विषयवस्तुलाई बढी समय दिइराख्नु पनि तर्कसङ्गत छैन । प्रायः कक्षा १० सम्म विद्यार्थीको लगाव छुट्याउन नसकेका अभिभावकहरू यो मतमा आउनुहुन्छ, त्यो त्यति हितकारी छैन । केही अभिभावक विज्ञान गाह्रो विषय हो र त्यो पढेर पछि अरू विषय पढ्न सजिलो हुन्छ । त्यसैले अहिले विज्ञान नै पढ्दै गरोस् भन्ने तर्क दिनुहुन्छ । यो तर्क झट्ट हेर्दा सही हो कि जस्तो लागे पनि यस तर्कले विद्यार्थीको भावनालाई प्रतिनिधित्व कदापि गर्दैन । यसमा अभिभावकको विचारको हाबी देखिन्छ । केही अभिभावक र विद्यार्थीहरू कुन विषय पढ्दा विदेश जान सजिलो हुन्छ भनी प्रश्न गर्ने गर्नुहन्छ ।खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहनुहुन्छ । यसको कारण सोध्दा उहाँहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्नुहुन्छ, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो भन्ने कुरा नै प्रमुख हुन्छ । के गर्नुपर्छ ? विसं २०८० को एसइईको नतिजा केही दिनभित्रै आउँदैछ । हामीसँग जति बाँकी दिनहरू छन्, ती दिनहरूमा विद्यार्थीलाई विभिन्न पेसाका बारेमा खोज अध्ययन गर्न लगाऊँ । विद्यार्थी कहिलेकाहीँ आफू सेतो कोट लगाएर मेडिकल डाक्टरको काम गरेको, कहिले नीलो कोट लगाएर प्रशासक बनेको, कहिले कालो कोट लगाएर न्याय तथा कानुन सेवामा काम गरेको, कहिले बैङ्कर भएको, कहिले प्रोफेसर भएको, कहिले फौजी सेवा, कहिले व्यापार–व्यवसाय आदिमा काम गरेको कल्पना गर्न लगाऊँ । सम्बन्धित त्यस्ता ठाउँहरूमा पुर्याएर कामको प्रकृति देखाऊँ, कामको अनुभूति पनि गराऊँ । तिमी १० वर्षपछि कुन काम गरिरहेको सपना देख्छौ भनी उसको बानी व्यवहार र रुचि निश्चित रूपमा पहिचान गर्न सक्यौँ भने उसले पहिले पेसा छनोट गर्न सक्छ । एउटा विद्यार्थीले पहिले आफ्नो पेसा छनोट गरोस् । अनि उक्त पेसालाई चाहिने विषय छनोट गरोस् । त्यसपछि उक्त विषय पढाउने संस्था छनोट गरोस् । संस्था छनोट गर्दा पनि केही सावधानी अवश्य अपनाओस् । सामान्यतयाः विद्यार्थीलाई अभिभावकहरूले कलेज हेरेर आऊ भनी पठाउनुहुन्छ, जब ऊ कलेज छनोट गर्न आउँछ, उसँग खासै केही प्रश्न हुँदैनन् । प्रायः विद्यार्थीले सोध्ने गर्छन्, “यो कलेज कस्तो छ ?” खासगरी कुनै पनि संस्थामा गएर यो संस्था कस्तो छ भनी सोध्दा के उत्तर आउँछ रु त्यसैले कलेज छनोट गर्न अभिभावकहरूले पनि विद्यार्थीसँगै जानुपर्छ र संस्थाको स्थायित्व, विगतको परीक्षाको परिणाम, पढिरहेका वा पढाइसकेका विद्यार्थीहरूको उदाहरण र सफलता, खर्च, पढाइको वातावरण, शिक्षक शिक्षिका र कर्मचारीको स्थायित्व र क्षमता, पूर्वाधार, लगानीकर्ता आदि पक्षको राम्रो तुलनात्मक अध्यापन गरेर मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । कुनै संस्थाले अस्वाभाविक रूपमा अधिक खर्च लिँदैमा वा न्यून खर्चमा पढाइदिन्छ भन्दैमा वा खर्चको हिसाबमा मात्र शैक्षिक संस्थालाई राम्रो वा नराम्रो भन्नु गलत हुन्छ । कहिलेकाहीँ अस्वाभाविक ज्यादा मूल्यले पनि उपभोक्तालाई आकर्षण गरेको देखिन्छ । खासगरी यस समयमा कलिला विद्यार्थीहरूलाई राम्रो परामर्शदाता, विषयविज्ञ, अनुभवी र दक्ष मानव संसाधनविद्को परामर्शमा डोर्याउनु अति आवश्यक हुन्छ । निष्कर्ष एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कूल छनोट गर्ने कुरा उसको जीवनमा एकपटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा पुर्याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकाङ्क्षा पनि पूर्ण हुन्छ । रासस (लेखक काठमाडौं बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुन्)