यती ग्रुपभित्र सम्पत्ति विवाद उत्कर्षमा, धोकाधडी र निधनपछि मुद्दा अदालतमा
काठमाडौं । पर्यटकको भारी बोके । लामो समय भान्से बने । हिमाली क्षेत्रलाई व्यवसायको खम्बाका रूपमा उभ्याए । विदेशी पर्यटक ल्याएर विश्वका अग्ला हिमाल चढ्न सिकाए । एयरलाइन्स, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू सञ्चालनमा ल्याए । दर्जनौं कम्पनी खडा गरे । अर्बाैंको साम्राज्य बनाए । नेपाली पर्यटनका पर्याय बने । यो सम्झिँदा धेरैको मानसपटलमा एउटै नाम आउँछ स्वर्गीय आङछिरिङ शेर्पा। वि.सं २०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सदाका लागि अस्ताए । कुनै विदेशी व्यक्ति घुम्नका लागि नेपाली भूमिमा पाइला टेकेदेखि फिर्ता हुँदासम्म कुनै पनि कम्पनीमा आँखा लगाउनु नपर्ने गरी पर्यटन क्षेत्रमा आङछिरिङले ‘इकोसिस्टम’ बनाएका थिए । पर्यटन क्षेत्रसँग सम्बन्धित साना-ठूला सबै सेवा उपलब्ध हुने गरी आङछिरिङले एकल प्रणाली लागु गरेर पूर्वाधार खडा गरेका थिए । आङछिरिङको निधनपछि उनले खडा गरेको अर्बाैंको साम्राज्य ल्हाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् । तर, दर्जनौं कम्पनीको अर्बौको पोर्टफोलियो सम्हाल्दै आएका ल्हाक्पा सोनामले आफ्नो परिवारभित्रको विवाद भने सम्हाल्न सकेनन् । परिवारमा विवाद स्वर्गीय आङछिरिङ शेर्पाका ४ दाजुभाई र ७ जना दिदीबहिनी हुन् । जेठो फूर्वा ग्याल्जेन शेर्पा, माइलो ल्हाक्पा सोनाम शेर्पा, साइलो आङ छिरिङ शेर्पा र कान्छो आङ तेण्डी शेर्पा भन्ने आङ टेन्डी शेर्पा हुन् । उनीहरूका बुवा पासाङ नुरु शेर्पा र आमा पेम्वा दिक्की शेर्पा हुन् । बुवा पासाङ नुरुको वि.सं.२०३४ र आमा पेम्वा दिक्कीको वि.सं.२०७० सालमा निधन भयो । साथै, जेठो दाजु फूर्वा ग्याल्जेनको वि.सं. २०३० र कान्छो भाई आङ टेण्डीको वि.सं. २०५५ कार्तिक ७ गते निधन भयो । फूर्वा ग्याल्जेनको अंशहक खाने पत्नी र छोराहरूमध्ये पेलु शेर्पा, पासङ रिङजी शेर्पा, आङछिरिङको अंशहक खाने पत्नी, छोराहरू चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा र नोर्बु छिरिङ शेर्पा र आङ टेण्डीको अंशहक खाने पत्नी, छोराहरू फुरदिकी शेर्पा, लाक्पा गेलु शेर्पा र दावा जाङवु शेर्पा हुन् । बुवाआमा, जेठोदाई फूर्वा ग्याल्जेन र कान्छोभाई आङ टेण्डीको निधनपछि परिवारको जिम्मेवारी आङछिरिङ शेर्पाले सम्हाल्दै आएका थिए । तर, उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनामले जिम्मेवारी सम्हाले । अर्बौको साम्राज्य खडा गरेको शेर्पा परिवारमा अंशबण्डा भएको छैन । बुवा पासाङ नुरुको निधनपछि घर व्यवहार, खेतीपाती, व्यापार, व्यवसाय चारै दाजुभाईले आपसी सरसल्लाहमा गर्दै आएका थिए । तर, चार दाजुभाईमध्ये तीनजनाको निधनपछि घर मूली माइलो भाई ल्हाक्पा सोनामले सम्हाल्दै आएका हुन् । ‘लाक्पा सोनाम शेर्पाले तीन दाजुभाईको मृत्युपछि परिवारका सबै सदस्यहरूलाई समान रूपमा आर्थिक गर्जो टार्दै राम्रै व्यवहार गरिरहनु भएका थियो । तर, सासुआमा पेम्वा दिक्कीको निधनपछि विस्तारै व्यवहारमा परिवर्तन हुन थाल्यो,’ बुहारी फुरदिकी शेर्पाले भनिन्, ‘अंशभाग माग गर्दा एक/दुई वर्ष पर्ख, परिवार धेरै ठूलो भइसक्यो, चारै भाईको अंशबण्डा गरिदिन्छु भनेर आश्वासन दिनुभयो । तर, ४/५ वर्ष बित्दासमेत अंशबण्डा गर्न ईन्कार गर्नुभयो ।’ फुरदिकी शेर्पा आङ टेन्डी शेर्पाकी श्रीमती हुन् । उनै फुरदिकी शेर्पा, छोरा दावा जाङवु शेर्पाले काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन् । उनीहरूले ल्हाक्पा सोनाम शेर्पा, पेलु शेर्पा, पासाङ रिङजी शेर्पा, चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा विरुद्ध मुद्दा दायर गरेका हुन् । आफ्नो सम्पत्ति थाहा छैन मुद्दा दायर गर्ने वादी फुरदिकी शेर्पाले आफ्नो सम्पत्ति कहाँ, कति, कस्को नाममा रहेको छ भनेर जानकारी नभएको बताएकी छन् । तर, चारै जना दाजुभाईले पैतृक सम्पत्ति तथा सो सम्पत्तिबाट विभिन्न जिल्लामा कम्पनी खडा गरेको र ती कम्पनीको नाममा घरजग्गाहरू समेत रहेको उनको दाबी छ । उनका अनुसार सोलुखुम्बु र काठमाण्डौं लगायत विभिन्न जिल्लामा चल-अचल सम्पत्ति छ । फिराद पत्रमा यती एयरलाइन्स प्रालिको काठमाडौंको सिनामंगल, बानेश्वर-१०, नेपलगञ्ज र ललितपुर, माउण्टेन रिसोर्ट अफ नेपालको लुक्ला, नाम्चेबजार, फकडिङ, थामे, मुस्ताङ, माझगाँउ, विरेथानी, मनजो, घन्द्रुक, धामपुस आदी स्थानमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा रहेको उल्लेख छ । काठमाडौंको बसुन्धारामा थामसेर्कु ट्रेकिङ प्रालि र लैनचौर उत्तरढोका तथा दरवार महलमा थमसर्कु डेभलपर्स कम्पनी सञ्चालनमा रहेको छ । वादी फुरदुकीका अनुसार यति एडभान्चर प्रालिको वालुवाटर र तारा एयर प्रालिको सिनामंगलमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा छन् । तर, कस्को नाममा कति सेयर छ भन्ने बारे आफूहरूलाई जानकारी नभएको उनले बताएकी छन् । ‘पिताको देहान्तपछि तिमीहरुको नाममा पनि सेयर खरिद गर्ने र नामसारी गरी दिने भनी बेलाबेलामा कागजमा सही छाप गराउनुभयो । तर, हाम्रो नाममा सेयर भए पनि के कति छ केही जानकारी छैन,’ वादी फुरदुकी शेर्पाले भनेकी छिन्, ‘मूल अंशियार तथा मुल अंशियारका पत्नी, छोराछोरीको नाममा उल्लेखित कम्पनीहरू बाहेक अरू पनि धेरै कम्पनीमा सेयर छ, पछि फेला पारेको बखत पेश गर्ने नै छौं ।’ साथै कम्पनीहरूको दर्ता प्रमाणपत्र, सेयर लगत लगायतको प्रमाण कागज विपक्षीहरुसँग भएको र आफूहरूसँग नभएकाले कम्पनी रजिष्ट्रारको कार्यालयबाट उपलब्ध गराइपाउँ भनेर माग गरेकी छन् । बादीहरूले मुलुकी देवानी संहिता, २०७४ को दफा २०५, २०६, २०९, २११ बमोजिम आफ्नो अंशहक छुट्याईं पाउँ भन्दै अदालतमा फिरादपत्र दर्ता गरेका हुन् ।
ट्रेड सेन्टरका व्यापारिक सटर मिलाइदिने भन्दै १३ करोड ठगी, ६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।
स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछ : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, लगानी प्रवर्द्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ उक्त विधेयक ल्याइएको स्पष्ट पारे । उनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अङ्गका आधारमा भन्सार महसुल विधेयक, २०८१ बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए । मन्त्री पुनले पुँजी लगानी नगरी ऋणको लगानी गरिनु एक प्रकारको विचलन भएकाले पुँजीको लगानीलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको बताए । उनले राजस्व अचपलन हुन नदिइने समेत प्रतिबद्धता जनाए । मन्त्री पुनले विद्युतीय सवारी साधनको प्रयोग बढाइ इन्धनको प्रयोग घटाउने नीतिअनुसार कर प्रणाली लागू गरिएकाले विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने गुनासो यथार्थ नभएको अवगत गराए । उनले इन्धन कम प्रयोग हुँदा र विद्युतीय सवारी साधनमा न्यून कर हुँदा मुलुकले अर्बौ राजस्व गुमाउनुपर्ने भएकाले करलाई केही वृद्धि गरिएको स्पष्ट पारे ।
रास्वपालाई पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने उनको भनाइ छ । उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको पनि उनको आरोप छ । शर्माले गणित मिलाएर सरकारमा रहिरहने कुरामा मात्रै प्रधानमन्त्रीको ध्यान रहेको बताए ।
मनास्लु स्कुलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने ‘थ्रीई’ कार्यक्रम
काठमाडौं । मनास्लु स्कुलले कक्षा ११ र १२ का विद्यार्थी लक्षित गरी शिक्षा, उद्यमशीलता र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले ‘थ्रीई कार्यक्रम’ को सुरुवात गरेको छ । स्कुलको सभाकक्षमा आयोजित गरिएको थियो कार्यक्रममा एसईई दिएर बसेका ७ सय जना विद्यार्थी उपस्थित थिए । मनास्लु स्कूलका कार्यकारी अधिकृत (सीईओ) नरेशप्रसाद श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । थ्रीई पहलले विद्यार्थीहरूलाई रोजगारयोग्य मात्र नभई रोजगार सिर्जना गर्न सक्षम बनाउन लक्ष्य राखेको र यसले अर्थतन्त्रमा योगदान पुर्याउने स्कुलको विश्वास छ । कार्यक्रममा युवा स्टार्टअपहरू र आइसीटीको पनि प्रदर्शनी पनि समावेश गरिएको थियो । जसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गर्यो । मनास्लु स्कुलको यो कार्यक्रमले माध्यमिक शिक्षालाई पुनः परिभाषित गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारी बजारका लागि आवश्यक सीपहरू प्रदान गर्ने विश्वास लिइएको छ । यस पहलले स्कुललाई उद्यमशीलता र रोजगार योग्यतामा केन्द्रित नवप्रवर्तनशील शिक्षामा अग्रणी बनाउने स्कुलको भनाइ छ ।
बजेट बहुमतले पारित
काठमाडौं । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।
नेप्से ५.६० अंकले बढ्दा लगानी समूहमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । बढेसँगै नेप्से २०७१.७७ को बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । केहि दिन यता निरन्तर बढ्दै आएको फाइनान्स समूह सबैभन्दा धेरै २.१५ प्रतिशतले घटेको छ । यो समूह सोमबार सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको थियो भने आइतबार यो समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढेको थियो । मंगलबार लगानी समूहमा लगानीकर्ता झुम्मिएका छन् । यो समूह १.७० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ सूचकमध्ये ८ समूहमा हरियाली छाएको छ भने ५ समूह घटेको छ । कारोबार रकमको आधारमा आरएसडिसी सबैभन्दा शिर्ष स्थानका रहेको छ । कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।