विकासन्युज

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको दाबी गरे । उनले लोकतान्त्रिक संस्थाहरू बिस्तारै प्रभावहीन हुँदै गएको बताउँदै लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गरे । दलको शासन, दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारीतन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको उनको टिप्पणी छ । उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताए । अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए । अहिले लोकतन्त्रमा खतरा राजनीतिक दलहरूभित्रबाट नै रहेको टिप्पणी गरे ।

महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन सक्दैनन् : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए । कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने जानकारी दिए । नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए । ‘म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने, जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म आफ्नो छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछु, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन’, उनले भने । अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताए ।

कैलालीको सत्ती भन्सारले ११ महिनामा संकलन गर्‍यो ९ करोड राजस्व

कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड १ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुस्किल हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए । गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ,’ उनले भने । सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवापत ६४ हजार, बेरुजुबाट १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा ५ करोड १ लाख, कृषि सुधार शुल्कमा १ लाख ८ हजार, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार राजस्व संकलन भएको प्रमुख सापकोटाले बताए । सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजस्व संकलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

आकस्मिक हडतालपछि ४०० बढी उडान रद्द

क्यानडा । क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एसाेसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ । संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित हुने गरी आकस्मिक हडताल भएको हो । त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो । वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ ।एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ । रासस

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३२० स्टकको ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको थियो । मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ । कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १२ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये वित्त ०.३४ र उत्पादन तथा प्रशोधन उपसमूह ०.३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूह घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ । सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।

न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध

काठमाडौं । ‘दुई जना गुण्डाजस्तो केटाहरू मेरो घर वरिपरि घुमिरहेका छन्, मलाईं उनीहरूप्रति शंका लागिरहेको छ, उनीहरू को हुन् ? सोधीखोजी गर्नुपर्‍यो,’ सुरेन्द्र भण्डारीले आफ्नो घर नजिक पर्ने स्थानीय प्रहरीलाई फोन गरेर दिएको सूचना हो यो ।’ लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीईओ)समेत रहेका भण्डारीबाट यस्तो सूचना पाएपछि स्थानीय प्रहरी पनि सतर्क बन्यो । र, लगत्तै उनको घर नजिक पुगेर ती ‘केटाहरू’लाई धपायो । उनीहरूले स्थानीय प्रहरीलाई कुनै प्रतिकार गरेनन् । अर्थात् आफूहरू त्यहाँ आउनुको कारण स्थानीय प्रहरीसँग खुलाएनन् । ‘हामी दुई/तीन दिनदेखि उनको (सुरेन्द्र) को निगरानीमा थियौं । उनी घरमै छन् भन्ने निश्चित भइसकेको थियो । तर, झट्ट घरभित्रै छिर्ने कुरा भएन,’ त्यसैले सम्पूर्ण विषयवस्तु बुझ्न उनको घर वरपर निगरानी गरिरहेका थियौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा देखेर शंका लागेको रहेछ, र स्थानीय प्रहरीलाई खबर गरिएछ, स्थानीय प्रहरी आएर हामीलाई सोधखोज गरेपछि हामीलाई थाहा भयो ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीम केही दिनदेखि सुरेन्द्रकोे निगरानीमा थियो । घरमै छन् भन्ने सूचना पाइसकेको थियो । त्यसपछि शुक्रबार राति उनलाई पक्राउ गर्‍यो । ‘हामीले सहकारीका सबै पदाधिकारीलाई पक्राउ गर्नु थियो, सुरुमा अन्यलाई पक्राउ गर्दा सूचना चुहिने डरले हामीले सुरुमै सुरेन्द्रलाई समात्यौं, त्यसपछि अरुको ठेगाना सजिलै पत्ता लाग्यो र पक्राउ गर्न सफल भयौं,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले सीईओ भण्डारीसहित संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृत कुमार अर्याल र सञ्चालक समिति सदस्य कदमबाबा जोशी प्रधानलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरिसकेको छ । प्रहरी स्रोतका अनुसार उनी पक्राउ पर्दा एक जना न्यायाधीशसँग रक्सी पिइरहेका थिए । ‘न्यायाधीशको नाम नखोलौं, हाम्रो टीम पक्राउका लागि पुग्दा उनी एक जना न्यायाशीसँग रक्सी पिइरहेका थिए,’ स्रोतले भन्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । सो सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरू विरुद्द गत माघमा महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धु्रब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको पनि प्रहरी उपरीक्षक आचार्यलले जानकारी दिए । उनका अनुसार अब उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइने छ । यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ । को हुन् उनीहरू ? अमरदास श्रेष्ठ ७६ वर्षीय श्रेष्ठ लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । उनी नाम मात्रैका अध्यक्ष भए पनि सहकारीको साँचो भने प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग नै थियो । ३१ वर्ष नेपाल बैंकमा काम गरेका उनले सो बैंकको चिफ म्यानेजरबाट अवकास पाएका थिए । वि.सं. २०६१ सालमा लागिगुँरास सहकारीको सचिव बनेका उनी सो पदको जिम्मेवारीमा दुई वर्ष बसेका थिए । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बनेका उनी ८ वर्षसम्म उपाध्यक्षकै जिम्मेवारी सम्हाले । वि.सं २०७४ सालदेखि हालसम्म उनी सो सहकारीको अध्यक्ष भएर काम गरिरहेका छन् । सुरेन्द्र भण्डारी लालिगुराँस सहकारीको पर्याय हुन् सुरेन्द्र भण्डारी । उनी सो सहकारीका संस्थापक अध्यक्ष समेत हुन् । २०५६ सालदेखि हालसम्म निरन्तर रुपमा उनी सो सहकारीको विभिन्न पदमा रहेर काम गरेका थिए । सुरुमा सहकारीमा म्यानेजरका रुपमा काम गरेका उनी त्यसपछि प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत छन् । उनी विसं २०६६ र २०७६ सालमा गरी दुई पटक राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पनि बने । उनी २०७२ देखि २०७७ सम्म राष्ट्रिय सहकारी महासंघको सञ्चालक भएर पनि काम गरे । नेपाली काँग्रेस निकट उनको घर गोरखा भए पनि हाल ललितपुरको भैंसेपाटीमा बस्छन् । नेपाली कांग्रेस निकट सहकारी तथा वित्त विभागको सचिव समेत रहेका भण्डारी गोरखाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि समेत हुन् । अमृत कुमार अर्याल ७५ वर्षीय अर्यालको घर काठमाडौंको लाजिम्पाट हो । उनी लालिगुराँस सहकारीको कोषाध्यक्ष हुन् । उनले पनि ३१ वर्ष नेपाल बैंकमा काम गरे । उनी कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भएका थिए । वि.सं २०६५ सालदेखि लालिगुराँस सहकारीको सदस्यको रुपमा काम गरिरहेका उनी हाल सो संस्थाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । कदम जोशी प्रधान प्रधान लामो समय शिक्षण पेशामा थिइन् । उनले २०४७ सालदेखि शिक्षण पेसा सुरु गरेकी थिइन् । त्यसपछि उनी सहकारीमा आवद्ध भइन् । २०७४ सालदेखि हालसम्म उनी लालिगुराँस सहकारीको सञ्चालक समिति सदस्यमा कार्यरत छिन् । कुन-कुनमा छ लगानी ? प्रहरीका अनुसार सहकारीका सञ्चालक तथा पदाधिकारीहरू मिलेर बचतकर्ताको बचत घरजग्गामा लगाएका छन् । सर्वसाधारणहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनेर विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ निक्षेप अपचलन गरेको धारणा प्रहरीको छ । यस सहकारीको कार्यक्षेत्र साविक बागमती, गण्डकी, नारायणी र लुम्बिनी अञ्चलका २६ जिल्लामा रहेको बुझिएको छ । यस सहकारीले पर्सामा लालिगुराँस डेरी एण्ड रिसर्च फर्म सेन्टर र ललितपुरको गोदावरीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिरहेको पनि भेटिएको छ । प्रहरीले अझैं सहकारी र संस्थाको सञ्चालकले रकम दुरुपयोग गरेर अन्य धेरै कम्पनीमा लगानी गरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि लालिगराँस सहकारीले लगानी गरेका कम्पनीहरूको नाम आफ्नो वेवसाइटमार्फत् नै सार्वजनिक गरेको थियो । सो बेला उक्त सहकारीले लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ, लालीगुराँस राष्ट्रिय उच्च मावि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ, लालीगुराँस हस्पिटल, भैरवकुन्ड हाइड्रोपावर र लालीगुराँस एजुकेसन फाउन्डेसनमा लगानी गरेको सार्वजनिक गरेको थियो । सम्बन्धित सामग्री : अदालतको आदेशपछि पनि लालिगुराँस सहकारीले ५३ लाख बचत फिर्ता नगरेपछि… अर्बौंको सम्पत्ति बिक्री गरेर सञ्चालक फरार भएपछि समस्याग्रस्त घोषणा, मिलेभगतमा सरकार जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो

व्यावसायिक बेसारखेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरान । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउँछन् । उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । जसबाट वार्षिक दुई लाख रुपैयाँदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी दुई सय ८० रुपैयाँदेखि तीन सयसम्ममा बिक्री हुने गरेको छ । बेसार उत्पादक तुलसिङले भने, ‘मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन/चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।’ यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौं, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ । व्यावसायिक रूपमा बेसारखेती गर्दै आएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउँछन् । ‘चार/पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ’, उनले भने । धरानको  विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आएका राईले भने, ‘बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।’ सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहेका छन् । यस क्षेत्रका उनी पुराना किसान हुन् । उनी पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँ यसै खेतीबाट आम्दानी गर्न सफल भएका छन् । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पुर्याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उनको प्रतिक्रिया छ । विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले बताए । अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिए । विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ । विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्यांक छ ।’ विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा ४५ करोड रुपैयाँको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता रहेको जानकारी दिए । पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ । रासस

असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत हुन् । अदालतमा मुद्दा चलिरहेकै बेलादेखि यादव फरार थिए । उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले असई बिक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको छ । उक्त प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्म कैदको सजाय सुनाएको छ । हत्या प्रकरणमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका छन् ।