विकासन्युज

हुम्लाकाे रानीसैनमा नेपाल टेलिकमकाे भीस्याट प्रविधिबाट सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक दिन र त्यसपछि करिव चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोट देखि गाडीमा तीन, चार घण्टा र एक दिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय वासिन्दा सोनाम लामाले बताए । यो भन्दा पहिले करिव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिना भन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने टेलिकमले जनाएको छ । भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पुर्याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

संसदीय समितिले माग्यो २० समस्याग्रस्त सहकारीका कागजात

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । आइतबार बसेको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको बैठकले समितिको कार्यादेश अनुसूची-१ मा समावेश २०  सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो । समितिले २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ । संसदीय विशेष समितिका सभापति सूर्य थापाले तीनै जनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेको बताएका छन् । गत जेठ १५ मा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।

प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए । त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयमा २४ कर्मचारी कटौती

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । मन्त्रिपरिषद्को असार १० गतेको बैठकले मन्त्रालयले प्रस्ताव गरेको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा केही हेरफेर गर्दै २४ जना कर्मचारीको दरबन्दी कटौती गरेको हो । मन्त्रालयका अनुसार मन्त्रालयमा कर्मचारीको दरबन्दी १ सय ७२ बाट १ सय ४८ मा झारिएको छ । उपसचिव २, शाखा अधिकृत ७, नायव सुब्बा ३, खरिदार ६, टाइप नासु २, कम्प्युटर अपरेटर २ र कार्यालय सहयोगी ३ जनाको दरबन्दी कटौती गरिएको छ । यस्तै मन्त्रालयमा एक जना आईटी निर्देशक (उपसचिव) को दरबन्दी थप गरिएको मन्त्रालयले जनाएको छ । सोहीअनुसार २५ वटा दरबन्दी कटौती गरेर एउटा थप्दा २४ जना कर्मचारी घट्ने भएका हुन् ।

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घूससहित पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आइतबार कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने बताए । खोप ग्लोबल अलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।

लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्, नेताले चिन्ता गर्नुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौं । रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नु नपर्ने बताएका छन्  । आइतबार नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भए पनि व्यवहारमा नदेखिएको बताए । उनले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताए । उनले सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको बताए ।

विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज

काठमाडौं । धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ-डाक्टर वा इन्जिनियर वा पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? करियर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । पछिल्लो समय विश्व बजारका लागि प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ । अभिभावक पनि सचेत हुँदै गएका पाइन्छ । एसईई उत्तीर्ण भएका विद्यार्थीको चासोको विषय बनेको छ कहाँ पढ्ने ? के पढ्ने ? कुन कलेजमा पढ्दा प्रभावकारी सिकाई हुन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ ? एसईई पछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका संकायहरु मध्ये कुन संकायमा पढ्ने भन्नेमा सबैभन्दा पहिला विद्यार्थीले नै छनौट गर्नुपर्ने हुन्छ । फरक फरक विषय पढाउनका लागि फरक फरक शिक्षालयले ख्याती कमाएका छन् । विज्ञान संकायतर्फ राम्रो शिक्षा दिने संस्थाहरु मध्ये एक हो ग्लोबल स्कुल अफ साइन्स । सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ । ग्लोबल स्कुल अफ साइन्स नै किन ? एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ । सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आईटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । गेटबाट भित्र प्रवेश गर्नेवित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा स्कूलभित्र कुनै स्टार होटलमा पस्दै गरेको अनुभूति हुन्छ । अत्याधुनिक कक्षा कोठामा विद्यार्थीहरुले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन् । कक्षा कोठामा स्मार्ट बोर्डहरु जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन् । ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा समेत सञ्चालन हुन्छ । मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ । ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरुको दुई वर्षे पढाईको सम्पूणर् जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीणर् भएको कलेजका प्रोग्राम डाईरेक्टर गोकुलदेव बडु बताउँछन् । उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरीबाट ४७ जनाले ४ जीपीए ल्याएकोमा त्यसमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना विद्यार्थी थिए । यो निकै ठूलो उपलब्धी भएको उनी बताउँछन । मूलभूत रुपमा धेरै साइन्स कलेजहरुको गहन अध्ययनपछि खोलिएकाले यो कलेज अरु साइन्स कलेजभन्दा केही भिन्न छ, जुन यसको विशेषता हो । ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरी अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रुपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ । नतिजा उनीहरुका अभिभावकलाई समेत दिइन्छ । यसरी एक महिनासम्म चार पटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ ? पढाएको बुझ्छ वा बुझ्दैन ? पढाईलेखाईको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ । महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए ? कति अंक ल्याएको छ ? कलेजमा कति दिन उपस्थित भएको छ ? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्य समयमा गरेको छ कि छैन ? जस्ता कुराहरु रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ । यसबाट विद्यार्थीहरुको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ । उनीहरुले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रुपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ । यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रोग्राम डाईरेक्टर बडुले बताए । ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थीमात्रै नभएर शिक्षकको पनि रोजाईको स्कुल बनेको छ । यहाँ ४० जना पूणर्कालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन् । जो जतिबेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन् । पूणर्कालीन शिक्षकहरुले बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाईका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रष्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रुपमा भेटेर समस्या समाधान निकाल्न सक्छन् । जुन कक्षाको अतिरिक्त शुल्क नलाग्ने प्रोग्राम डाईरेक्टर बडु बताउँछन् । सबैभन्दा राम्रो पक्ष भनेको यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाईको सम्पूणर् जिम्मा कलेजले नै लिन्छ । यसमा कुनै पनि बाहानामा अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन । शिक्षकहरुको सेवा, सुविधा, सम्मान, प्रतिष्ठासँगै समयानुकूल तालिमहरुको समेत व्यवस्था भएकाले यो स्कुल हरेक शिक्षक र विद्यार्थीको रोजाईमा पर्दै आएको छ । यहाँको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहन्छन् । ‘यो कलेजप्रति अभिभावकको विश्वास हो’ उनले भने । सुविधा सम्पन्न संरचना र भविष्यमुखी शिक्षा एसईईपछिको शिक्षा विद्यार्थीहरुको भविष्यसँग सीधा सम्बन्धित हुन्छ । त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो । यो स्टेजमा गएर कसैको पढाई कमजोर भयो भने उसको सिंगो करियरमा नै क्षति पुग्न सक्छ । ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत छ । यहाँको भवन बाहिर भव्यमात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैं खुला हुन्छ । शनिबार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ । हरेक कक्षाहरुमा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरुलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रुपमा हेर्न पाइन्छ । जस्तो मानव शरीरका अंगहरुबारे पढाई भइरहेको छ भने शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन । स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ । जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रुपमा स्पष्ट हुन समेत सहयोग बढुले बताए । हरेक विद्यार्थीले यहाँ अनिवार्य रुपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सिप र भाषागत ज्ञान समेत बढ्नसक्छ । स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै विभिन्न हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रको भ्रमण गराउने गरेको छ । यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको छ । जसबाट विद्यार्थीहरुलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविस्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुन्छ । ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौं विद्यार्थी पूणर् छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूणर् छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । विद्यार्थीको ध्यान यतिबेला विश्वका नविनतम् प्रविधितर्फ मोडिएको छ । यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सीसीए) तथा अतिरिक्त क्रियाकलाप (ईसीए) मा समेत विशेष जोड दिँदै आएको छ । ‘विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको छ । अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाई प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नो ल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीको व्यवस्था कलेजका विशेषता हुन्’ प्रोग्राम डाइरेक्टर बढुले भने । छात्रवृत्तिको व्यवस्था के छ ? ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता छ । एसईईमा राम्रो नतिजा ल्याउने हरेक विद्यार्थीको ग्लोबल स्कुल अफ साइन्सबाट प्लस टु गर्ने चाहाना हुन्छ । यहाँ हाल ६७ वटा स्कुलबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसैबाट यो कलेजप्रति विद्यार्थीको आकर्षणलाई बुझ्न सकिन्छ । यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित हुदैन । यसो भन्दा यो अभिभावकले तिर्नसक्नेभन्दा असाध्यै महंगो पनि छैन । कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति प्राप्त गर्छन् । छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरुको एसईईमा प्राप्त जीपीएका आधारमा शुल्कमा छुट हुन्छ । त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ । छात्रवृत्ति कसरी पाइन्छ ? एसईईको परीक्षाफल प्रकाशित भएको पाँचौ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स/टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ । जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूणर् छात्रवृत्ति प्राप्त गर्छ । यो परीक्षा ६० अंकको हुन्छ । डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रुपमा उपस्थित भएर परीक्षा दिनुपर्छ । यो परीक्षामा लिखितमा न्युनतम ४५ अर्थात ७५ प्रतिशत अंक ल्याउनुपर्छ । उनीहरुको १० अंकको अन्तर्वार्ता हुन्छ । बाँकी रहेको ३० अंक विद्यार्थीको जीपीए अनुसार प्राप्त हुन्छ । जस्तो कुनै विद्यार्थीको ४ जीपीए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ । कसैको ३.९ जीपीए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जीपीएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति पाउँछन् । जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुन्छ । यी विद्यार्थीमा पनि जीपीए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउछन् । जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुन्छ । बिचमा कुनै कारणबस पूर्ण  छात्रवृत्ति पाएको विद्यार्थीको पढाई कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन । बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाईमा राम्रो गरेमा उनीहरुले तिर्नुपर्ने शुल्क कम हुन्छ । यसले पनि कलेजप्रति आकर्षण बढेको छ । इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (ईसीए), खेलकुद लगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन् । जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्योलता अभिभावक र विद्यार्थीमा हुँदैन । विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य हो । विज्ञान कस्तो विषय हो ? यो विज्ञानको युग हो । विज्ञानको परिभाषा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञानमा मात्रै सीमित छैन । अर्थशास्त्र, गणितदेखि समाजशास्त्र, राजनीतिशास्त्र जस्ता विषयलाई पनि विज्ञान मानिन्छ । तर विज्ञान संकाय भन्नेबित्तिकै हरेकको मनमा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञान आइहाल्छ । यो युग भनेको छनोटका बहुविकल्प भएको युग पनि हो । त्यसैले इच्छाअनुसारको विषय छनोट गर्ने र त्यसमा अब्बल हुने कोशिस हरेक विद्यार्थीले गर्नुपर्छ । विज्ञान विषय पढ्ने इच्छाशक्ति भएका हरेक विद्यार्थीका लागि उपयुक्त विषय हो । यो विषय पढेका विद्यार्थीले भविष्यमा जुनसुकै विषयमा उत्तिकै राम्रो गर्न सक्छन् । क्षमतावान् विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने हो भने त्यसपछि अन्यत्र जाने प्रशस्तै ढोकाहरु खुल्छन् । प्लस टु साइन्सपछि इन्जिनियरिङ, मेडिकल साइन्स पढ्ने सोच भएका विद्यार्थीका लागि आधार तयार हुन्छ । विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । के पढेर कहाँ जाने भन्ने प्रष्ट भएर विषय छनोट गर्नु उपयुक्त हुन्छ । साथीभाइ वा अरुको करकापले नभई आफ्नो क्षमता र लक्ष्य निश्चित गरेर अघि बढ्ने विद्यार्थीका लागि विज्ञान उपयुक्त विषय बन्नसक्छ ।