कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड १ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुस्किल हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ,’ उनले भने ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवापत ६४ हजार, बेरुजुबाट १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा ५ करोड १ लाख, कृषि सुधार शुल्कमा १ लाख ८ हजार, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार राजस्व संकलन भएको प्रमुख सापकोटाले बताए ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजस्व संकलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।