
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताए ।
कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने जानकारी दिए । नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए ।
‘म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने, जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म आफ्नो छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछु, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन’, उनले भने ।
अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताए ।