असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ

<p>काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । हत्या [&hellip;]</p>

काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत हुन् ।

अदालतमा मुद्दा चलिरहेकै बेलादेखि यादव फरार थिए । उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले असई बिक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको छ । उक्त प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्म कैदको सजाय सुनाएको छ ।

हत्या प्रकरणमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका छन् ।

Share News