गत आर्थिक वर्षमा सरकारको आय ७४ र व्यय ८० प्रतिशत
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि ११ खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकोमा लक्ष्यको ६३ दशमलव ४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च ८६ दशमलव ०७ प्रतिशत छ । गत आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा दुई खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले गत आर्थिक वर्षका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर वार्षिक लक्ष्यको ७४ दशमलव २९ प्रतिशत अर्थात् १० खर्ब ९३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ बराबर मात्रै राजस्व असुली भएको छ । सङ्कलित राजस्वमध्ये कर राजस्व लक्ष्यको ७२ दशमलव ३५ र गैरकर राजस्व लक्ष्यको ९७ दशमलव ६८ प्रतिशत बराबर असुली भएको छ । गत आर्थिक वर्षका लागि सरकारले १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख रुपैयाँ बराबर कर राजस्व उठाउने लक्ष्य राखेकोमा नौ खर्ब ४४ अर्ब ५५ लाख ४८ हजार रुपैयाँ बराबर मात्रै असुली भएको छ । त्यस्तै, गैरकरतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा एक खर्ब १४ अर्ब ३४ करोड १६ लाख रुपैयाँ बराबर मात्रै असुली भएको छ । गत आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ सरकारी लक्ष्यको तुलनामा वास्तविक प्राप्ति निकै कम छ । गत आवमा कूल ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले २२ दशमलव ४८ प्रतिशत अर्थात् ११ अर्ब २२ करोड ६४ लाख रुपैयाँ बराबर मात्रै अनुदान लिन सकेको देखिएको हो । दुई पटक संशोधन गर्दासमेत लक्ष्य भेटिएन आयव्यय अनुमान दुई पटक संशोधन गर्दा पनि सरकारले लक्ष्य भेटाउन सकेन । सरकारले पहिलो पटक अर्धवार्षिक समीक्षामार्फत् र दोस्रोपटक गत आर्थिक वर्षको बजेट ल्याउँदा आयव्यय अनुमान संशोधन गरेको थियो । गत जेठ १५ गते निवर्तमान अर्थमन्त्री वर्षमान पुनले सरकारी आयव्यवको अनुमान दोस्रोपटक संशोधन गर्दै १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान प्रस्तुत गरेका थिए । कूल सरकारी खर्चमध्ये चालु खर्च १० खर्ब ६७ अर्ब ४९ करोड रुपैयाँ अर्थात् विनियोजनको ९३ दशमलव पाँच प्रतिशत, पुँजीगततर्फ दुई खर्ब १५ अर्ब ३० करोड रुपैयाँ अर्थात् यो शीर्षकमा विनियोजनको ७१ दशमलव तीन प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ४७ अर्ब ५५ करोड रुपैयाँ अर्थात् विनियोजनको ८० दशमलव पाँच प्रतिशत खर्च हुने गरी संशोधित अनुमान गरिएको थियो । त्यस्तै, दोस्रोपटक संशोधनपछि गत आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य सरकारले तय गरेको थियो । त्यसअघि सरकारले गत आर्थिक वर्ष २०८०र८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै गत माघमा पहिलो पटक राजस्व र खर्चको अनुमान घटाएको थियो । गत आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा अर्धवार्षिक समीक्षामार्फत् सुरू विनियोजनको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको थियो । अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८ दशमलव ८४, पुँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने गरी पहिलोपटक संशोधित अनुमान गरिएको थियो । अर्धवार्षिक समीक्षामार्फत् आयव्ययको अनुमान घटाएर चालुतर्फ १० खर्ब सात अर्ब ४५ करोड ४६ लाख रुपैयाँ अर्थात् सुरुवाती विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ अर्थात सुरुवाती विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ अर्थात सुरुवाती विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।
सिद्धार्थ हस्पिटालिटीले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सिद्धार्थ ग्रुप अन्तर्गतको आईपिओ जारी गर्न लागेको कम्पनी सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् । मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् । मुक्तिनाथ बिकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल अनुभवी तथा कुशल व्यवस्थापनसहित पुँजी बजारमा लगानी व्यवस्थापन सेवा, सेयर रजिस्ट्रार, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सेवा, सेयर प्रत्याभूतिसम्बन्धी सेवा तथा संस्थागत परामर्शदातासम्बन्धी सेवा दिँदै आइरहेको अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो । मुक्तिनाथ क्यापिटलले छिट्टै सामुहिक लगानी कोष सञ्चालनको समेत तयारी गरेको कम्पनीका सीईओ जोशीले जानकारी दिए ।
बैंकहरूले यस पटक नलुकाएरै एनपीएल सार्वजनिक गर्दै, १० प्रतिशत नाघ्ने अनुमान
काठमाडौं । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र ब्याजदर निरन्तर घट्दा व्यवसाय वृद्धिसँगै खराब कर्जा (एनपीएल) मा सुधार हुने अपेक्षामा बैंकरहरू थिए । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा उच्च ब्याजदरका कारण कर्जा लगानी नहुँदा व्यवसाय वृद्धिमा ब्रेक लागेको थियो भने खराब कर्जा (एनपीएल) बढेको थियो । तर, यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम र ब्याजदर घटेर न्यून बिन्दुमा हुँदा पनि बैंकिङ व्यवसाय उत्साहजनक हुन नसकेको बैंकरहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू खासै उत्साजहनक अवस्था नरहेको बताउँछन् । विगतमा धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको, कर्जा असुली अपेक्षा गरेअनुसार नहुँदा एनपीएल बढ्ने र त्यसको असर नाफामा पर्ने बैंकरहरूको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरू हिसाबकिताब मिलाउन व्यस्त बैंकरहरू चौथो त्रैमासबाट सुधार हुने संकेत भने देखिएको बताउँछन् । ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुरेन्द्रराज रेग्मी आर्थिक वर्षको अन्त्यमा सकारात्मक हुने अपेक्षा गरेको भएपनि बजार कठिन नै रहेको बताउँछन् । बजार अझैं राम्रो हुन नसकेको उनको भनाइ छ । ‘ठेकदारहरूले भुक्तानी पाएका छैनन्, उहाँहरूलाई अप्ठेरोमा हुनुहुन्छ, त्यसैले जुन अपेक्षा थियो त्यो नहुन सक्छ, बैंकको खराब कर्जा चैतकै हाराहारीमा रहन सक्छ,’ उनले भने । चैतसम्मको वित्तीय विवरणमा अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो । रिकभरी राम्रो भएको भए सुधार हुन्थ्यो । तर, रिकभरी खासै नभएकाले प्रोभिजिनिङमा थप रकम राख्नुपर्ने उनले बताए । उनका अनुसार बैंकका कर्मचारीहरू रातदिन खटिएर काम गरिरहेको उनको भनाइ छ । माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल चैतको तुलनामा केही सुधार हुन सक्ने बताउँछन् । तर, धेरै सुधार हुने सम्भावना नरहेको उनको भनाइ छ । ‘अहिले तरलता सहज छ, भुक्तानी केही आएको छ, विगतमा पनि चैतको भन्दा असारमा राम्रो हुने भएकाले यसपटक पनि चैतको तुलनामा राम्रो हुन सक्छ, बैंकहरूको खराब कर्जा, वितरणयोग्य नाफामा सुधार हुन सक्छ ,’ उनले भने । नबिल बैंकका डीजीएम आदर्श बजगाईं सरकारले व्यवसायीहरूको भुक्तानी नदिँदा बैंकहरूमा त्यसको असर परेको बताउँछन् । बैंकहरूले पैसा उठाउन नसकेकाले विगतमा जस्तै यसपटक पनि उत्साजनक नरहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अडिट गर्ने भएकाले यसपटक बैंकहरूले वास्तविक खराब कर्जा सार्वजनिक गर्ने उनको भनाइ छ । ‘धेरै सकारात्मक नहुन सक्छ किनभने पैसा उठेको छैन, एनपीए अझै बढ्ने देखिन्छ, बैंकहरूले विगतमा अलिअलि लुकाउने गर्थे । तर, आईएमएफले १० ठूला बैंकको अडिट गर्ने भनेको छ, डरले पनि बैंकहरूले खराब कर्जा नलुकाउलान् किनभने आईएमएफले अडिट गरेर पत्ता लगाईहाल्छ, त्यसैले अहिले नै वास्तविक एनपीएल सार्वजनिक गर्न सक्छन्, पछि अडिट गर्दा ठ्याक्कै उल्टो भयो भनेर बैंकहरू वास्तविक तिर जान्छन्,’ उनले भने । उनका अनुसार एनपीएल बढ्ने भएकाले बैंकहरूको नाफामा स्वतः असर गर्छ । बैंकहरूको रिकभरि नभएको बताउँदै उनले भने, ‘रिकभरि नहुनुमा सबैभन्दा ठूलो हात सरकारको छ किनभने सरकारले किसान, निर्माण व्यवसायीलाई भुक्तानी नदिँदा डण्डी, सिमेन्ट उद्योगको पैसा दिन सकेको छैन, सिमेन्ट, डण्डी उद्योगीले नपाउँदा मजदुरलाई भुक्तानी गर्न सकेका छैनन्,’ उनले भने, ‘यदि सरकारले भुक्तानी दिने हो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ अहिले बैंकका औसत करिब ५ प्रतिशत खराब कर्जा अनुपात छ । जुन वास्तविक नभएको बैंकरहरु पनि अनौपचारिक कुराकानीमा भन्ने गरेका छन् । तर, अब आईएमएफले अडिट गर्ने भएपछि बैंकले वास्तविक एनपीएल सार्वजनिक गर्ने तयारी गरेको बुझिएको हो । अधिकांश बैंकहरुको खराब कर्जा अनुपात १० प्रतिशत पुग्न सक्ने अनुमान गरिरहेका छन् ।
लिलादेवी गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी
काठमाडौं । सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएपछि सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी पाउने गड्तौला पहिलो सचिव हुन् । २०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी उनलाई यसअघिको सरकारले निमित्त मात्रै बनाएको थियो । मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्वतः पदबाट निलम्बित भएका थिए । त्यसपछि गौड्तौलाले निमित्तका रूपमा काम गर्दै आएकी थिइन् ।
यो गठबन्धनले राष्ट्रिय राजनीतिलाई पुँजीको रूपमा निर्माण गर्नुपर्छ
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् । उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गरेका हुन् । उनले एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । एमाले र काँग्रेसका शिर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको जानकारी दिए । उनले आगामी दिनमा पनि दुवै नेता (नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिम रहेको बताए । जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताए । अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको जानकारी दिए । यस्तै, उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताए । एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने जानकारी दिए । ‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र कहीँ न कहीँ एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो’, उनले भने । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने बताए । काँग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निस्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गरे । आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उहाँको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने जानकारी दिए । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । पार्टीको तर्फबाट सबै नेताहरुको सहयोग वर्तमान सरकारलाई रहने पनि बताए । साना राजनीतिक दलहरुले पनि अभिमान नभइ संयमता अपनाएर काम गर्नुपर्ने जानकारी दिए । ‘मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरु यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । त्यस अर्थमा उहाँहरुले ३ प्रतिशत गुमाउनु भयो, ओलीजीको आफ्नो शैलीले एमाले चाहीँ माथितिर लागिराखेको छ भन्ने एउटा इम्प्रेशन दिन सक्नुभएको छ’, उनले भने । नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भयो उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए । सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए । परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे । मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताए । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको जानकारी दिए । उनले भने, ‘मैले आजको दिनमा उपदेश दिन थालेँ भने त्यो साना पार्टीहरुलाई पाच्य हुन्न । त्यो बाटोमा जानुहुन्न । उहाँहरुसँग मैले यति मात्रै भन्ने हो–अत्यन्तै विनम्र भावमा तपाईहरु परिवर्तनकारी शक्ति हुँ भनेर आउनुभएको हो नि त । अहिले नयाँ आउने पनि, २०६४ सालमा आउने पनि । तपाईहरुको परिवर्तनको एजेण्डा कमजोर भएको छ भन्ने लाग्यो र त्यो परिवर्तनलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने त बलियो प्रतिपक्ष बन्नुहुन्छ नि त ।’ एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ उनले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले काँग्रेस—एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गरेको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताए । तर पार्टी सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको बताए । परिणामतः निर्वाचन लगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको जानकारी दिए । उनले त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्ते नरहेको बताए । समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरुमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्नसक्ने जानकारी दिए । ‘अहिले होइन अघिल्लो आम निर्वाचन अगाडि कसले टिकट पाउँछ भन्ने कुरामा छलफल समेत नहुँदाखेरी म आफ्नै अग्रसरतामा ओलीजीकोमा गएको थिएँ । र उहाँले पटक पटक के आग्रह गर्नुभएको थियो भने काँग्रेस र एमाले दुवै पार्टी अलगअलग चुनाव लडोस् भनेर, मैले परिणाममा के खोजेको हो भने यस्तो चुनाव होस् नेपालको जुन चुनावमा काँग्रेस र एमाले जस्तो हैसियतको पार्टी आज काँग्रेस र एमाले छन्’, उनले भने । नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने जानकारी दिए ।
जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ । महानिर्देशकस्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आग्रह गरिएको हो । विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् । नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ ९दोस्रो संशोधन २०७१० को दफा १६ को उपदफा (२० तथा ९३) बमोजिम सूचीकृत हुन १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो । यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । सोमबार चाँदी १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
लुतो फ्याक्ने पर्व : हराउँदै गएको चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको प्रारम्भ पनि श्रावणबाटै हुने गर्दछ । यसै दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गरेर उत्तरायणबाट दक्षिणायण लाग्ने हुँदा यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यसै दिन नेपाली समाजमा लुतो फ्याँक्ने चलन चलेपछि यसलाई लुते सङ्क्रान्ति पनि भन्न थालियो । सबै चाडपर्व, रीतिरिवाज, परम्परा आदि तत्कालीन समयको इतिहास बुझ्न सहयोगी हुन्छन् । कतिपय चाडपर्व, उत्सव मनोरञ्जनसँग सम्बन्धित थिए भने कतिपय स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने खालका छन् । यी कतिपय पर्वमा जनश्रुति एवं धार्मिक कथा गाथा जोडिँदा नयाँ पुस्तालाई अपेक्षाकृत रूपमा आकर्षण गर्न नसकिएको हो । धर्म र पापका दृष्टान्त दिएर सत्कर्ममा सबै अग्रसर होउन् भन्ने प्रयोजनले हो, अन्धभक्त बनाउन किमार्थ होइन । आज हिन्दू धर्मका कतिपय ग्रन्थहरूको मूल मर्म विपरीत कथा गाथा प्रचारप्रसार हुँदा भोलिका पुस्तामा संस्कृति र परम्पराप्रति अनास्था पैदा हुने र उत्साह हराउने सम्भावना छ । यसै कारण होला लुतो फ्याक्ने प्रचलन हराउँदै गएको छ । लुतो फ्याक्ने प्रचलनलाई सुक्ष्म दृष्टिले हेरेमा यो मनोरञ्जनको माध्यम हो, स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने माध्यम हो । नेपालको कृषिप्रधान युगको संस्कृति हो, तत्कालीन समाजको जनविश्वास पनि हो । नेपाली समाजमा साउने र माघे सङ्क्रान्तिलाई परिवार मिलन समारोहका रूपमा लिने गरिएको छ । साउने सङ्क्रान्तिमा चेलीबेटी तथा ज्वाइँ वा अन्य पाहुनालाई आमन्त्रण गरी आफ्नो गच्छेअनुसारको परिकार तयार गरी भोजन गराउने चलन छ । विगतमा यी दुवै सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने गरिएको कुरा इतिहासले बताउँछ । लुतो फ्याक्ने चलन सिधा स्वास्थ्यसँग जोडिएको संस्कार हो । खेतीपातीमा धमाधम हुँदा केटाकेटीको स्वास्थ्यमा उति ध्यान पुगेको देखिँदैन । हिलो र फोहोरमा हिँडडुल गर्दा लुतो लाग्ने गर्दथ्यो । रोगव्याधीलगायतका समस्या सरुवारोगसम्बन्धी जनचेतनाको कमीले गर्दा हुने हो तर कुनै अनिष्ट प्रकृतिका कारण रोगव्याधी आएको हो भन्ने तत्कालीन जनविश्वास थियो । त्यतिबेला सिमेभूमे, भूतप्रेत तथा पिसाच आदिको कुदृष्टिले रोग लागेको विश्वास व्याप्त थियो । यस्तो विश्वास धामीझाँक्री, झारफुके तथा जान्ने जस्ताले जगाइदिएका थिए । तर पनि आहारविहारमा नियन्त्रण नहुँदा रोग लागेको हो भन्ने चेत भने हाम्रा पुर्खामा थियो । त्यसैले सचेतना गराउने उद्देश्यले पनि यो लुतो फ्याक्ने संस्कार विकसित भएको अनुमान गर्न सकिन्छ । लुतो फ्याक्ने प्रचलन कहिले कसरी सुरु भयो यकिन गर्न भने सकिएको छैन तर यो प्रचलन खस साम्राज्यबाट सुरु भयो भन्ने अनुमान गर्न सकिन्छ । कालान्तरमा सोही साम्राज्य विखण्डन हुन गई बाइसी र चौबीसी राज्यहरू भए । खस भाषीहरूको बसाइँसराइ गर्दै पुगेको स्थानमा अरू पर्व जस्तै यो पर्व पनि पुगेको अनुमान गर्न सकिन्छ । हाल प्रचलित अनेकौँ पर्व चाडपर्वहरूको जननी खस साम्राज्य नै थियो । खस साम्राज्यले नेपालको इतिहास र संस्कृतिमा पु¥याएको योगदान बुझ्न पनि यो लुते पर्व सहयोगी भएको छ । आजसम्म पनि यसै कारणले होला सुदूरपश्चिम प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइन्छ । श्रावण १ गते पारिवारिक पूर्णमिलन समारोहको कार्यक्रम बिहान दिउँसो हुने गर्दछ भने बेलुका कन्दारकको पूजा आराधना गरी लुतो फ्याक्ने क्रिया गरिन्थ्यो । विशेषगरी केटाकेटीहरू वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गरेर घर ल्याउँछन् । यसैगरी मौसम अनुसारका फलफूलहरू निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूल जम्मा गर्ने र आँगनमा तुलसीको मोठनजिक बासका साना साना कप्टेराका खुट्टा बनाई मण्डप बनाइन्छ । सो मण्डपको छेउछेउमा धान र चमरा सहित मकैको बोट उठाएर राखिन्छ । मण्डपमा केराको पात बिछ्याएर सङ्कलन गरिएका वनस्पति र फलफूल सजाइन्छ । त्यसै मण्डपमा पाँचमुठा राँको र १० ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गर्ने चलन छ । झमक्क साँझ परेपछि कन्दारकको पूजाआजा गरिन्छ । कतै कतै त निबुवा जस्तै अमिला फललाई जनावरको आकार बनाई बलि पनि दिने गरिन्छ । कन्दारकको पूजा सकिएपछि राँको बाली अगुल्टोमा आगो सल्काई १० दिशामा फालिन्छ । कन्दारकको पूजापछि अगुल्टो फाल्दा मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गरिन्छ । अगुल्टो फाल्दा लुतो भागिजा, अर्को गाउँमा सरिजा भनेर कराउने गरिन्छ । रातमा सुत्ने बेलामा हातखुट्टामा तेल लगाई तिउरी दलिन्थ्यो । । तिउरी लेपन गरी हातखुट्टालाई हल्का बाँधेमा तिउरी रङ गाढा हुन्थ्यो, मेहन्दीको जस्तै । विसं २०१५ अघिसम्म जिल्लाजिल्लामा सरकारी स्तरबाटै गर्ने गरिन्थ्यो । धनकुटा जिल्लाको निशानस्थानमा सबै अड्डाका प्रमुखसहित बडाहाकिमको उपस्थिति हुन्थ्यो । माथि उल्लिखित विधिद्वारा राजपुरोहितको निर्देशनमा पूजाआजा हुने र मूलकर्ता बडाहाकिम वा उनले तोकेको अधिकारी हुने चलन थियो । कन्दारकको पूजा आराधनापश्चात् १० दिशामा अगुल्टो फाल्दै लुतो फालिन्थ्यो । यो बढाइ सकेपछि गाउँघरमा लुतो फाल्ने कार्य प्रारम्भ हुन्थ्यो । त्यतिबेला लुतो फाल्ने दिनदेखि तीन दिनसम्म गोरु जोत्नु हुँदैन भन्ने मान्यता थियो । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरलगायत केही धार्मिक स्थलमा सामूहिक रूपमा लुतो फाल्ने कार्यक्रम चलेको देखिन्छ । यस्ता प्रकारका मौलिक संस्कार अब सहरबाट प्रायः लोप भइसके भने पनि हुन्छ तर गाउँघर विशेषगरी कर्णाली क्षेत्रमा यो परम्परा अहिले पनि कायमै रहेको छ । बर्खामा हिलो फोहोरबाट रक्तविकार उत्पन्न भई घाउखटिरा जस्ता छालामा देखिने र देखिन सक्ने रोगबाट मुक्ति पाउन यो संस्कार चलेको अनुभव हुन्छ । रोगव्याधि आदि विभिन्न अदृश्य शक्तिको उपासना गर्दा ठीक हुन्छ भन्ने जनविश्वासको आधारमा कन्दारकको पूजाआजा गर्ने चलन चलेको थियो । लुतो फाल्ने उत्सवको महत्त्व र गरिमा विषयमा चिन्तन मनन् नहुँदा र यसको उपादेयताको विषयमा भावी पुस्तालाई जानकारी गराउन नसक्दा यस्ता कतिपय संस्कार–परम्परा लोप हुने स्थितिमा छन् । लुतो फाल्ने उत्सव नेपालको समाज, संस्कृति, इतिहास र जनविश्वाससँग गाँसिएको छ भन्ने जानकारी गराउन आवश्यक छ । यस पर्वलाई सचेतना दिवसका रूपमा पनि लिन सकिन्छ । सफा हुनाले छालाको रोग लाग्दैन भन्ने सन्देश यस पर्वले दिएको छ । यसैगरी विभिन्न जङ्गली झारपात तथा रुख–लहरा सञ्जीवनी बुटी हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने चेतना पनि यस लुते सङ्क्रान्तिले जगाएको छ । आयुर्वेद उपचार पद्धतिमा यस्ता वनसम्पदाको ठूलो महत्त्व छ तर हामीले यस्ता पद्धतिप्रतिको अविश्वास वा आधुनिक चिकित्साप्रतिको मोहका कारणले यस्ता वनस्पति चिन्न सकेका छैनौँ । यी प्राकृतिक विधि लोप हुने स्थितिमा छन् । तिउरी लगाउँदा हिलोले खाएका हात खुट्टालाई फाइदा हुन्छ भन्ने कुरा नै धेरैले बिर्सिसकेका छन् । तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न छालाका रोगबाट बच्न सकिने जनविश्वासका साथ कर्णाली क्षेत्रको ग्रामीण भेगमा यो चलन अहिले पनि चलिरहेको पाइन्छ । अनिकाललगायतका प्राकृतिक प्रकोप झेल्न नपरोस् भन्ने आशयले पनि यो लुते पर्वको चलन चलेको भनाइ पनि छ । साउने सङ्क्रान्तिको दिन दिउँसो खरानीमा कपडा पकाएर धुने चलनबाट त्यतिबेलाको सामाजिक स्थिति बुझ्न सकिन्छ । त्यो बेला साबुन, पाउडर जस्ता लुगा सफा गर्न प्रयोग हुने वस्तुको अभाव हुने हुँदा स्थानीय तवरबाटमा नै उपलब्ध हुने वस्तुको प्रयोग गरिन्थ्यो । लुते सङ्क्रान्तिदेखि तीन दिनसम्म गोरु जोत्न हुँदैन भन्नुको तात्पर्य ती पाल्तु जनावरलाई आराम दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । बर्खाभरि खेतबारी जोतेका गोरुहरू थाकेका हुन्छन्, आराम चाहिन्छ भन्नको लागि यो चलन चलाएका हुन सक्छ । यस्ता पशुको हेरचाह र संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रा पुर्खालाई थियो । यस दिन बलेको अगुल्टोलाई चारै दिशामा फाल्दा अमुक गाउँको नामै उच्चारण गरी लैजा भन्ने गरिन्थ्यो । यसबाट त्यो समयमा एकअर्को गाउँप्रतिको आक्रोश व्यक्त हुन्थ्यो । गाउँ गाउँबीच आपसी सम्बन्ध सदैव सौहार्दपूर्ण थिएन । एकले अर्कोलाई दबाउन खोज्ने तत्कालीन परिस्थिति थियो । यसैकारण यो पर्वमा अगुल्टो फाल्दा अर्को छिमेकी राज्यप्रतिको द्वेष प्रकट गर्ने एक संस्कार नै बन्न पुग्यो । यसैगरी बर्खाभरि खेती किसानीको सिलसिलामा भएका रिसराग विसङ्गति जस्ता समाजमा देखिएका लुतो पनि यस संस्कार सम्पन्न गर्दा हराउने विश्वास थियो । वास्तवमा यस्तै सामाजिक परम्पराबाट सामाजमा सामूहिक एकता र सहकार्यको भावना उत्पन्न भएको हो । हाम्रा प्रत्येक पर्व र संस्कारभित्र अनेकौँ रहस्य लुकेका छन् । लुते फाल्ने पर्व मनोरञ्जन गराउन, जनचेतना जगाउन, उपलब्ध सामग्रीकै महत्त्व र उपादेयता देखाई प्रयोग गर्न तथा सामाजिक सद्भाव कायम गर्ने एउटा संस्कार हो । यस्ता संस्कारलाई भावी पुस्तासम्म पुर्याउन सकिएमा हाम्रो संस्कृति र मौलिकताको संरक्षणमा सहयोग पुग्दछ । रासस (लेखक संस्कृतिविद् हुन्)