विकासन्युज

सानिमा बैंकले पाटन अस्पतालमा महिलाको उपचारमा सहयोग गर्ने

काठमाडौं । सानिमा बैंकले पाटन अस्पतालमा विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ । पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सुनको रफ्तारमा बढ्दैछ तरकारीको मूल्य, किसानलाई फाइदा न उपभोक्तालाई

काठमाडौं । झरी लागेयता सुरु भएको बाढीपहिरोका कारण पर्याप्त परिमाणमा भित्रिन नसक्दा काठमाडौंमा तरकारीको भाउ आकासिएको छ। मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पछिल्ला केही दिनदेखि बढ्न थालेको तरकारीको भाउ रोकिने छाँट छैन । बजारमा माग बढिरहने तर आपूर्ति कम हुँदा भाउ उकालो लागेको हो । किसानले बारीबाट टिपेको तरकारी बाढीपहिरोले सडक अवरुद्ध हुँदा उतै रोकिन पुगेको छ । यसका कारण न किसानले सही भाउ पाएका छन्, न उपभोक्ताले । कम परिमाणमा उपलब्ध हुँदा उपभोक्ता केही दिनयता महँगोमा तरकारी किन्न बाध्य छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ वर्षायाममा तरकारीको मूल्य माथि नै जाने बताउँछन् । ‘यतिबेला उत्पादन कम हुन्छ, बजारमा तरकारी पनि कम आउँछ,’ उनी भन्छन्, ‘अहिले बाटोको अवस्था पनि राम्रो छैन ।’ सूचना अधिकारी श्रेष्ठ अहिले किसानहरू रोपाइँमा व्यस्त हुने भएकाले पनि तरकारी खेतीमा त्यति ध्यान दिएका छैनन् । भएका बालीनाली पनि पानीले नोक्सानी पुर्याइहेको छ । ‘अहिले यो तरकारीको समस्या कालीमाटीको मात्रै होइन, सबैतिर उस्तै छ,’ उनी भन्छन्, ‘यस्तो समस्या यो वर्ष मात्रै आएको होइन, हरेक वर्ष दोहोरिने समस्या हो यो ।’ मौसमको अवस्था सामान्य रहे र वर्षात् कम हुँदै गए यो अवस्था आफैं समाधान हुने उनको भनाइ छ । ‘वर्षा बढी हाबी भएन, उत्पादन बढ्यो र बजारमा आपूर्तिको समस्या भएन भने मूल्य आफैं तल झर्दै जान्छ,’ उनी भन्छन्, ‘बजार आपूर्ति पनि कम छ र उत्पादन पनि कम छ भने मूल्य आकाशिनु स्वाभाविक हो, अहिलेको अवस्थामा मूल्य घटाएर बेच भनेर कसैलाई भन्न मिल्दैन ।’ सूचना अधिकारी श्रेष्ठ अहिले किसानको बारीमै पुगेर तरकारी ल्याइरहेको बताउँछन् । किसानको बारीम पुगेर तरकारी ल्याउँदा पनि अलिकति महँगो पर्न गएको उनको भनाइ छ । ‘उसै पनि किसानको बारीमा तरकारी नै कम फलेको छ, फलिहालेको रहेछ भने पनि बारीमै कुहिले, बिग्रिने, झर्ने हुन्छ,’ उनी भन्छन्, ‘बारीबाट बजारमा ल्याउन पनि धेरै गाह्रो छ, अहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको छ, हाइवेबाट तरकारी काठमाडौं ल्याउन धेरै गाह्रो छ, ट्रान्स्पोटेसन कस्ट पनि बढी छ ।’ श्रेष्ठका अनुसार उपत्यकामा धेरै तरकारी धादिङ, नुवाकोट, चितवन, काभ्रे, रामेछाप लगायत जिल्लाबाट आउँछ । अहिले यी जिल्लाका ग्रामीण कृषि सडकहरू अवरुद्ध हुँदा तरकारी संकलन गर्न गाह्रो भइरहेको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिने तरकारी नै अहिले ४० देखि ५० प्रतिशतसम्म घटेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । उनका अनुसार समान्य अवस्थामा उपत्यकामा ६ देखि ७ सय टन तरकारी भित्रिन्थ्यो भने अहिले ४ देखि ५ सय टनमात्रै भित्रिएको छ । ‘तरकारी खाने उपत्यकाको जनसंख्या घटेको छैन,’ उनी भन्छन्, ‘अहिले विवाह, ब्रतबन्धको सिजन पनि चलिरहेको छ, त्यसमा तरकारी बढी खपत हुन्छ, तरकारी बाहिरबाट आइरहेको छ तर पर्याप्त मात्रामा आइरहेको छैन ।’ पछिल्लो एक सातादेखि तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । वर्षाका कारण आपूर्ति कम हुँदा कालिमाटी तरकारी बजारमा तरकारीको भाउ आकासिएको छ । आज (मंगलबार) कालीमाटी बजारमा साग, आलु, बन्दा, घिरौँला, फर्सी, च्याउ, सिन्की सहितका तरकारीको मूल्य बढेको छ । केही तरकारी भने हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ । कालीमाटीमा मंगलबार सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो डल्ले च्याउ छ । गोलभेँडा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदा डल्ले च्याउको मूल्य ४ सय १६ रुपैयाँ छ । कालीमाटीमा सोमबार किलोको ५६ रुपैयाँ रहेको रातो आलुको मूल्य मंगलबार १४ रुपैयाँ बढेर ७० रुपैयाँ पुगेको छ । सोमबार २७ रुपैयाँ रहेको बन्दाको मूल्य मंगलबार ५५ रुपैयाँ पुगेको समितिले जनाएको छ । यस्तै सोमबार ७५ रुपैयाँ रहेको करेलाको मूल्य मंगलबार २० रुपैयाँ बढेर ९५ पुगेको छ । हिजो ९५ रुपैयाँ रहेको घिरौँलाको मूल्य आज १ सय १० पुगेको छ । हिजोभन्दा आज भिन्डी ३० रुपैयाँ महँगिएको छ । समितिका अनुसार सोमबार १ सय २६ रुपैयाँ रहेको रायोको सागको मूल्य मंगलबार २ सय ४० रुपैयाँ पुगेको छ । त्यसैगरी कन्य च्याउको मूल्य भने घटेको छ । सोमबार २ सय २६ रुपैयाँ रहेको कन्य च्याउको मूल्य आज १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, मंगलबार कालीमाटीमा ठूलो गोलभेँडा १ सय १५, सानो लोकल गोलभेँडा २५, स्थानीय ज्यापु काउली ९५, डल्ले भन्टा ८५, तने बोडी १ सय १५, हरियो फर्सी ७५, भिन्डी १ सय ४०, रायोको साग २ सय ४०, कन्य च्याउ १ सय ८०, डल्ले च्याउ ४ सय १६, ब्रोकाउली १ सय ३५ रुपैयाँ र सिन्की २७६.६७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी देश आन्तरिक उत्पादनमा भन्दा पनि वाह्य उत्पादनमा निर्भर भएकाले यो समस्या देखिएको बताउँछन् । प्राकृतिक रूपमा उत्पादन घट्नु र बाहिरबाट आयात हुने वस्तुको आपूर्ति घट्नु पनि मूल्यवृद्धि हुनुको कारण भएको उनी बताउँछन् । आन्तरिकतर्फको उत्पादन अहिले बर्खा सिजन भएकाले तरकारीका लागि अफसिजन भएको उनको भनाइ छ । ‘हिउँदे बाली सकिएको र बर्खे बाली सुरु नभइसकेकाले यो अवस्थामा समस्या देखिएको हो,’ उनी भन्छन्, ‘यो मूल्यवृद्धिको समस्या अहिलेको मात्रै होइन, हरेक वर्षको समस्या हो ।’ मूल्यवृद्धिका कारण उपभोक्ता मारमा पर्नु स्वाभाविक भएको उनको भनाइ छ । अहिलेको उत्पादन प्रणाली भत्किँदै गएको र उपभोगको संस्कृति जसरी विकसित हुँदै गएको छ त्यसले मूल्यकै हिसाबले होस् या स्वास्थ्यलाई पार्ने नकारात्मक असर होस् या अन्य विविध पाटाहरूबाट हेर्ने हो भने उपभोक्ता जहिले पनि मारमा परेको उनी बताउँछन् । ‘विशेष गरेर बजारमा सस्तो होला र उपभोग गरौँला, बजारले शुद्ध वस्तु सप्लाई गरेर खान पाइएला, सरकारले सशक्त रूपमा नियमन गर्ला भन्ने अवस्था हामीकहाँ नभएको हुनाले अब उपभोक्ता पनि बिस्तारै उत्पादनमा जोडिनुपर्छ, यो दिगो समाधानको उपाय हुन सक्छ,’ उनी भन्छन् । ‘मसँग पैसा छ र मैले सस्तोमा राम्रो चिज खान पाउनुपर्छ भन्ने उपभोक्ताको अधिकारको कुरा हो’ तर हामीकहाँ न त त्यो खालको सुशासनको अभ्यास छ, न जवाफदेहिता छ न त बजार इमानदार छ । यो हिसाबले हामी सकेसम्म पर्यक्ष रूपमा उत्पादनमै जोडिनुपर्ने उनी बताउँछन् । अध्यक्ष अधिकारी पछिल्लो समय खाद्यन्नमा बढ्दै गइरहेको मूल्यवृद्धि खाद्य संकटको संकेत पनि भएको बताउँछन् । उनी भन्छन्, ‘मूल्यवृद्धि भयो भनेर गुनासो गरिरहँदा हामीले आन्तरिकतर्फ उत्पादन बढाउन कति लगानी गरेका छौं, राज्यको कति योगदान छ त्यो सबै हेनुपर्ने हुन्छ, यसका सबै सूचक नकारात्मक छन्, खेतीयोग्य जमिन बाँझा छन्, हामीसँग भएको २२ लाख हेक्टर जमिनमा १० लाख हेक्टर बाँझै भएका रेकर्ड छन्, उपभोक्ताले अब बजारले सस्तोमा दिन्छ र हामीले पेटभरि खाउँला भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ, र उत्पादनमा नजोडिने हो भने खाद्य संकट निश्चित छ ।’ पछिल्लो समय सुनको मुल्य दैनिक बढिरहेको छ । अहिले तरकारीको मूल्य पनि सोही किसिमले वृद्धि भइरहेको हाे ।

घर बनाउँदै हुनुहुन्छ ? सिटिजन्स बैंकले दिन्छ ८.९९ प्रतिशतमा कर्जा

काठमाडौं । सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक भएको छ । बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत घर बानाउने ग्राहकका लागि ८.९९ प्रतिशतमा कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्नेछन् । यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले बताएको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरूमा उत्साह बढेको बताएका छन् । अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए । ‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,’ ढकालले भने । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको र उनले सोमबार सबै मन्त्रालय समेटी मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । अध्यक्ष ढकालले तीन पटकसम्म मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रीहरुलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले लिएको ढकालले उल्लेख गरे । ‘सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरुबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा समय लाग्ने गरेको हाम्रो विगत छ, तर प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ, यसबाट पनि अब सरकारी काममा चुस्तता आउनाका साथै लगानीकर्ताहरुमा स्थायित्वको सन्देश प्रवाह भएको अपेक्षा गरिएको छ,’  उनले भने । अर्थ मन्त्रालयमा यसअघि पनि पटक–पटक अर्थमन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उनले बताए । अध्यक्ष ढकालले भने, ‘अहिले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा छ । सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको निरन्तरको प्रयासबाट बिस्तारै आफ्नो लयमा फर्किन लागेको मुलुकको अर्थतन्त्रले अनुभवी अर्थमन्त्री खोजेको समयमा विष्णु पौडेलको नेतृत्वले यस क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।’ ‘अर्थमन्त्रीका रूपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ, उहाँले आफूलाई एक सफल अर्थमन्त्रीका रुपमा स्थापित गरिसक्नुभएको छ, अहिलेको अर्थतन्त्रका चुनौतीहरु सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ,’ उनले भने । नेपालको समग्र निजी क्षेत्र अर्थमन्त्रीसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार रहेको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सीएमसीमा गत वर्ष ५ करोड बढीको निःशुल्क सेवा

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा ५ करोड ६१ लाख ८ हजार ४ सय १३ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भई आएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट पारेको हो । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्व बहन गरी अस्पतालले गरिब, असहाय, ज्येष्ठ नागरिक र स्थानीय निकायबाट सिफारिस भई आउने बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘आर्थिक हैसियत कमजोर भएका, परिवारका सदस्य एवं आफन्तजन नभएका असहाय गरिब र वृद्धवृद्धाले पनि निर्वाधरूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मूल्यमान्यताअनुरुप निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको हो, सेवा विस्तारसहित आसपासका जिल्लामा समेत स्वास्थ्य शिविर तथा शाखा सञ्चालन गरी सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरी आमजनताको विश्वास जित्ने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।’ एक प्रश्नको जवाफमा अस्पतालले दिएको निःशुल्क सुविधाबाहेक गत आर्थिक वर्षमा संघीय सरकारले दिएको १ लाख रुपैयाँसम्मको छुट लिने बिरामी सङ्ख्या ९ सय ९२, निःशुल्क डाइलासिस सेवा ६ हजार २ सय ३१ र भरतपुर महानगरका महिलाहरूको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत ४ हजार ३ सय ९५ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गत वर्ष एक हजार ५५ गर्भवती महिलालाई निःशुल्क प्रसूति सेवासहित बाटो खर्चसमेत उपलब्ध गराएको प्रशासक देवकोटाले बताए । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ९६ जटिल प्रकृतिका शल्यक्रिया भएका छन्भने ठूलो सङ्ख्यामा मध्यम र सानातिना शल्यक्रिया भएका छन् । अस्पतालले २० भन्दा बढी अति विशिष्टीकृत सेवा दिँदै आएको छ । डा लम्सालले आर्थिक वर्ष २०८१÷८२ देखि स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । चितवनवासीसहित बाहिर जिल्लाका बिरामीको मागलाई ध्यानमा राख्दै बीमा बोर्डसँग आग्रह गरेर पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालले गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार पाँच सय ५१ रहेका छन्भने १ लाख ७ हजार ३ सय ९९ जना ‘फलोअप’ बिरामी रहेका छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए । तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए । आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए । सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन् । सार्कमुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उनले बताए।

अर्थमन्त्रीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेपछि ९ अर्ब बढीको कारोबार, दर्जन कम्पनीमा सर्किट

काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार सकारात्मक लयमा थियो । यसपटक पनि उनी अर्थमन्त्री हुने चर्चासँगै पुँजी बजार उकालो यात्रामा छ । अहिले पुँजी बजारमैत्री अर्थमन्त्री पाएको भन्दै लगानीकर्ता उत्साहित भएको मंगलबारको सेयर बजारले पनि प्रस्ट हुन्छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको हो । साढे २ वर्षपछि नेप्से परिसूचकले २३ सय अंक पार गरेको हो । मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढ्दा एक दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरूण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै सिक्लेस हाइड्रो, सिंगटी हाइड्रो, रिडी पावर कम्पनी, अरूण भ्याली हाइड्रो, इङ्ग्वा हाइड्रो, अपि पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । मंगलबार दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर १ करोड १९ लाख बढी पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्याङ्दी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरूण भ्यालीको १६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थमन्त्री पौडेलले सोमबार पदभार ग्रहण गर्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने र लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनको भनाइ छ । साथै साउन महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूका ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।