काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली काँग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन् ।
उनले अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला काँग्रेस—एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर गरेका हुन् । उनले एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको बताए । एमाले र काँग्रेसका शिर्ष नेताहरु देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको जानकारी दिए ।
उनले आगामी दिनमा पनि दुवै नेता (नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिम रहेको बताए । जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताए । अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको जानकारी दिए ।
यस्तै, उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको बताए । एउटाले अर्कोलाई झुक्याउन खोज्न र सत्ताकै लागि मात्रै झगडा गर्नेकुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने जानकारी दिए ।
‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ । र कहीँ न कहीँ एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो त्यो प्रतिपक्षमा बस्ने पार्टीले भोलि प्रतिपक्षमा बस्दापनि लोकतन्त्रको मुल आधारभुत मान्यताहरुमा तलमाथि नहुने स्थितिमा आश्वस्त रहनसक्छ भनेर यो जोखिम उठाउनुपरेको थियो’, उनले भने ।
संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमाले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ
देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने बताए । काँग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निस्कर्ष छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गरे । आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने उहाँको अनुमान छ । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने जानकारी दिए ।
संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा काँग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । पार्टीको तर्फबाट सबै नेताहरुको सहयोग वर्तमान सरकारलाई रहने पनि बताए । साना राजनीतिक दलहरुले पनि अभिमान नभइ संयमता अपनाएर काम गर्नुपर्ने जानकारी दिए ।

‘मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरु यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । त्यस अर्थमा उहाँहरुले ३ प्रतिशत गुमाउनु भयो, ओलीजीको आफ्नो शैलीले एमाले चाहीँ माथितिर लागिराखेको छ भन्ने एउटा इम्प्रेशन दिन सक्नुभएको छ’, उनले भने ।
नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भयो
उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए । सत्तादेखि सत्तासम्मका लागि राजनीतिक हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए ।
परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे । मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताए । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको जानकारी दिए ।
उनले भने, ‘मैले आजको दिनमा उपदेश दिन थालेँ भने त्यो साना पार्टीहरुलाई पाच्य हुन्न । त्यो बाटोमा जानुहुन्न । उहाँहरुसँग मैले यति मात्रै भन्ने हो–अत्यन्तै विनम्र भावमा तपाईहरु परिवर्तनकारी शक्ति हुँ भनेर आउनुभएको हो नि त । अहिले नयाँ आउने पनि, २०६४ सालमा आउने पनि । तपाईहरुको परिवर्तनको एजेण्डा कमजोर भएको छ भन्ने लाग्यो र त्यो परिवर्तनलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने त बलियो प्रतिपक्ष बन्नुहुन्छ नि त ।’
एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ
उनले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले काँग्रेस—एमाले एक्लाएक्लै चुनाव लड्न आग्रह गरेको स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताए । तर पार्टी सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्नुपरेको बताए । परिणामतः निर्वाचन लगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य भएको जानकारी दिए ।
उनले त्यसैले पनि अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रम जस्ते नरहेको बताए । समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरुमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । त्यो हुनसके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्नसक्ने जानकारी दिए ।
‘अहिले होइन अघिल्लो आम निर्वाचन अगाडि कसले टिकट पाउँछ भन्ने कुरामा छलफल समेत नहुँदाखेरी म आफ्नै अग्रसरतामा ओलीजीकोमा गएको थिएँ । र उहाँले पटक पटक के आग्रह गर्नुभएको थियो भने काँग्रेस र एमाले दुवै पार्टी अलगअलग चुनाव लडोस् भनेर, मैले परिणाममा के खोजेको हो भने यस्तो चुनाव होस् नेपालको जुन चुनावमा काँग्रेस र एमाले जस्तो हैसियतको पार्टी आज काँग्रेस र एमाले छन्’, उनले भने ।
नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने जानकारी दिए ।