विकासन्युज

मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले ८० लाख रुपैयाँ बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए । ‘मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ’, उनले भने । घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा ३० लाख रुपैयाँ बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुंगाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ । मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ । बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ । घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो । थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकलमार्ग बनाइएको छ । १० लाख रुपैयाँ बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकलमार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । १० लाख रुपैयाँ बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । १०/१० लाख रुपैयाँ बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए । आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा दुई करोड १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । रासस

साढे २ करोड खचेर पाउँदीमा बन्यो १०८ फिट अग्लो महादेवको मूर्ति

लमजुङ । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ । कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याग्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदवको मूर्ति निर्माण गरेको हो । समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह)को मूर्तिसमेत निर्माण गरिएको बताए । काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनको भनाइ छ । त्यसका लागि दुई करोड ५० लाख खर्च रुपैयाँ भएको उनले जानकारी दिए । मूर्तिमा रङरोगन सम्पन्न भएको छ । सोही परिसरमा १०८ शिवलिंग र १०८ धारा निर्माण गर्न लागिएको छ । धाराका लागि पर्खाल सम्पन्न भइसकेको छ । राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ । हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । धारा तथा शिवलिंग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम रु ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ । बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ । उनका अनुसार त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख रुपैयाँ बढी चन्दा संकलन भएको छ । यहाँ मर्स्याग्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । डुम्रे–बेँसीसहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ । यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिंग निर्माणले धार्मिक रुपमा मात्र नभइ पर्यटकीय गतन्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए । रासस

विदेशी खोपको डम्पिङ साइट बन्दै नेपाल, ‘आयात हुन्छ, प्रयोग हुँदैन’

काठमाडौं । कुनैबेला खोप लगाउनकै लागि तछाड मछाडको अवस्था थियो । जुन बेला कोरोनाको कहरले मान्छेलाई घरभित्रै थुनिनु पर्ने अवस्था थियो । मान्छेले मान्छेलाई देख्दै भाग्नुपर्ने अवस्था थियो । कोभिड संक्रमणको त्रासमा रहेका नागरिकले तब राहातको महसुस गरे जब कोभिड १९ विरुद्धको खोप बन्यो र लगाउन सुरु भयो । नेपाल सरकारले विभिन्न देशबाट खोप ल्याइसकेपछि खोप लगाउन नागरिकको दौडधुप सुरु भयो । मान्छे खोप लगाउन काम छोडेरै अस्पताल पुगे । खोपकै लागि घण्टौं लाइनमा बसे । यति सम्म कि खोप पाउन सोर्स फार्स नै लगाउनुपर्यो । कतिपय ठाउँमा भ्याक्सिन नै गायव पारिएका समाचारहरू पनि आए । अझ विदेश जानेहरूले त लाइनमा बस्दा खोप नै नपाएपछि पहुँचको आधारमा खोप नलगाएर कार्ड बनाउन समेत भ्याए । धेरैजसोले पहिलो, दोस्रो र बुस्टरडोज पनि लगाए भने कतिपयले पहिलो र दोस्रो मात्र लगाए । तर, अहिले खोप नागरिकको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अहिले कोरोना विरुद्धको खोप नागरिकले लगाउन छोडेको बताउँछन् । ‘खोप लगाउँदा कसैलाई हानी गर्देन, बरु राम्रो हुन्छ,’ उनी भन्छन, ‘यति भन्दा पनि खोपप्रति नागरिकको रुची घट्दै गएको छ, नागरिकले खोप नलगाइदिँदा खोप खेर जान थालेको छ ।’ नेपाल सरकारले भेरोसेल, कोभिडसिल्ड, स्ट्राजेनेका, जोनसोन एण्ड जोनसेन, मोडर्ना र फाइजर लगायतका खोपहरू ल्याउँदै आएको छ । नागरिकहरूले खोप लगाउन छोडेपछि धेरै खोप खेर नै गएको छ । खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती एकातिर छ भने अर्कोतिर सरकारले फेरि १६ लाख बढी कोरोना विरुद्धको खोप ल्याएको छ । ल्याएको खोप कहिले कहाँ र कसरी लगाउन सुरु गर्ने भन्ने ठोस निर्णय नै बनाएको छैन । डा. प्रकाश बुढाथोकी । नागरिकले खोप लगाउन छोडेको बेला सरकारले खोप ल्याएपछि कतिपयले आलोचना समेत गरेका छन् । नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्र्तगत कोभिडविरुद्धको खोप आउँछ । खेर गएको खोप नस्ट गर्न चुनौती नेपालमा खरिद तथा अनुदान गरी अहिलेसम्म ६ करोड ७७ लाखा मात्रा खोप ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९१.१ प्रतिशत नागरिकले पहिलो मात्रा, ९४.२ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् भने पहिलो बुस्टरको मात्रा ४६ प्रतिशत र दोस्रो बुस्टरको मात्रा ७ प्रतिशतले लगाएका छन् । खोप ल्याउनु राम्रो भएपनि त्यो भन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीमा ध्यान नदिँदा खोप खेर गइरहेको छ । जुन राम्रो अभ्यास नभएको जानकारहरु बताउँछन् । सरकारले चीनबाट अनुदानमा ल्याएको ४० लाख खोप खेर गएको छ । लामो समयसम्म पनि प्रयोगमा नआएपछि सनोभ्याक-कोरोनाभ्याक खोप खेर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोग नभएर खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेको छैन । यो खोप चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल ल्याइएको थियो । किन यति धेरै मात्रामा खोप खेर गयो भन्ने प्रश्नमा आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका व्यक्तिले मात्र लगाउन मिल्ने हुँदा खेर गएको जवाफ दिन्छन् ।   खोप खेर जानुको दुई/तीन कारण छन् । ‘त्यो बेला अधिकांश नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका थिए,’ डा. चौरासिया भन्छन्, ‘यो खोप आइसकेपछि खोप सल्लाहकार समिति र डब्लूएचओले प्राइमरी सेयरिङमा लगाउन नमिल्ने अथवा कनै पनि खोपको पहिलो र दोस्रो मात्रा लगाएकोले लगाउन नमिल्ने निर्णय गर्यो, अर्को कुरा हामीले अनुदानमै त्यो भन्दा राम्रो खोप पायौं, त्यसैले पनि यो खोप प्राथमिकतामा परेन र खेर गयो ।’ ‘राम्रो खोप ल्याएका हौं’ सरकारसँग भएको खोप नागरिकले नलगाई थन्किरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने फेरि कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । गत साता स्वास्थ्य मन्त्रालयले १६ लाख ६८ हजार चार सय ८० मात्रा फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका उनका अनुसार यो खोप वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख १ हजार २८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार २ सय मात्रा खोप ल्याएको हो । असार १६ गते २ लाख ७६ हजार ४८० मात्रा, असार १७ गते २ लाख ७० हजार ७२० मात्रा, असार १८ गते २ लाख ७६ हजार ४८० मात्रा, असार २० गते २ लाख ७६ हजार ४८० मात्रा, असार २१ गते २ लाख ७० हजार ७२० मात्रा र असार २३ गते २ लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो । खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) बाट अनुदानमा ल्याइएको जनाइएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतम अहिले ल्याएको खोप कुनै पनि खोप नलगाएका व्यक्ति र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने बताउँछन् । खोप खेर गइरहेको बेला फेरि किन खोप ल्याइयो भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाले अहिले पनि कोभिड संक्रणका बिरामी भेटिरहेकाले सुरक्षित रहन खोप ल्याएको बताएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । शाखाका प्रमुख डा. चौरासिया अहिलेको नयाँ सम्झौता नभई पहिले नै खोप दिने प्रतिबद्धता अनुरुप खोप आएको बताउँछन् । कतिपय देशले अहिले पनि खोप लगाएको प्रमाण मागिरहकाले विदेश जाने युवा, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीका लागि खोप आवश्यक रहेको बताउँछन् । सित्तैमा पाउँदा जतिपनि ल्याउने प्रवृत्ति कोरोनाको खोपमात्र होइन नेपालमा बालबालिकालाई लगाइने खोप पनि वर्सेनि लाखौं डोज खेर गइरहेको हुन्छ । यत्तिकै मात्रामा औषधी पनि खेर जान्छ । नेपालमा औषधीजन्य पदार्थ यसरी खेर जानुमा नेपालले आवश्यक छैन भनेर भन्ने हैसियत नराखेकोले भएको जानकारहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी आवश्यक नभएको सामान कसैले लैजा भन्दा नाइँ भन्न नसक्नु पनि यसको एक कारण रहेको बताउँछन् । ‘कतिपय संघ सस्थाले नेपाललाई खोप लगायतका धेरै जस्तो स्वास्थ्य सामाग्री सहयोग गर्छन्, यो राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘तर आवश्यक नभएको सामान फाल्नलाई मात्र ल्याउनु हुँदैन, कुनै सामान ल्याउनुअघि यसको उपयोग कसरी गर्ने भन्ने योजना हुनुपर्छ ।’ कतिपय सरोकारावाला भने नेपाललाई विदेशी संघसस्थालदे डम्पिङसाइडको रुपमा प्रयोग गरिरहेको बताउँछन् । विज्ञहरूको यस्तो प्रश्नमा डा. चौरासिया आपत्ति जनाउँछन् । उनी आवश्यक नभएका कतिपय सामानलाई पर्दैन भनेर नल्याएको बताउँदै नाइ भन्न सक्ने हिम्मत भएको र भनिरहेको बताउँछन् । व्यवस्थापनमा चुनौती सेवाग्राहीले प्रयोग नगरी म्याद सकिएको कोराना भ्याक्सिन कसरी नष्ट गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले कुनै निर्णय गरेको छैन । भ्याक्सिन नष्ट गर्दा झोल कसरी नस्ट गर्ने सीसा के गर्ने भन्ने योजना पनि बनाउन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा, व्यवस्थापन महाशाखाका प्रमुख उपेन्द्र ढुंगाना खेर गएको औषधि र भ्याक्सिन व्यवस्थापनका लागि भइरहेको बताउँछन् । कुनै पनि सामग्री नस्ट गर्न जिन्सी निरीक्षण प्रतिवेदन बनाउनुपर्ने कार्यविधमा उल्लेख छ । यसका लागि अब यो साउनमा समिति बनाएर खेर गएका औषधी र भ्याक्सिनबारे छलफल गर्ने उनी बताउँछन् । समितिले जिन्सी निरीक्षण प्रतिवेददन बनाइ बुझाइसकेपछि प्राविधिक रुपमा कसरी नस्ट गर्ने भन्ने कुरा अगाडि बढ्छ,’ ढुंगाना भन्छन्,’ ‘हामीसँग म्याद सकिएका औषधी नस्ट गर्ने दुई/तीन वटा उपाय छन्, यीमध्ये कसरी खोप नस्ट गर्ने भन्नेबारे छलफल गर्न बाँकी छ ।’ कार्यविधि अनुसार म्याद गुज्रेका अथवा प्रयोगमा नआउने औषधी उत्पादकलाई फिर्ता गर्ने, केमिकल विधिबाट नस्ट गर्ने र अल्ट्रा हाइ टेम्प्रेचर अथार्त अधिक तापक्रमले नस्ट गर्न सकिने उल्लेख छ । कोभिडको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले गैर–खतरानाक औषधिजन्य फोहोर भनेको छ ।

नवनियुक्त महिलामन्त्रीले पदभार सम्हाँल्दै भने : जनतालाई केन्द्रमा राखेर काम गरौं

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आज पदभार सम्हालेका छन् ।  पदभार सम्हालेसँगै उनले महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकको विकासका लागि पूर्ण निष्ठाका साथ  काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर बढीभन्दा बढी परिणाममुखी कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारीको साथ र सहयोगबिना मन्त्रीको एक्लो प्रयासबाट लक्ष्य हासिल हुँदैन ।’ यसअघि उनी वन तथा वातावरणमन्त्री भएका थिए । विसं २०४७ देखि राजनीतिमा सक्रिय उहाँ जनता समाजवादी पार्टीमा आबद्ध छन् । उनी २०७९ सालमा सप्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सप्तरीको हनुमाननगर कङ्कालीनी–९ मा आमा कौशल्या देवी र बुबा भोलाप्रसाद साहुको कोखबाट २००५ सालमा सुडीको जन्म भएको हो ।

सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंगलबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कठिनाईमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । उनले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याविनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे । ‘साथीहरुलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अफठ्यारो परेको बेला कठिनाईमा भएका जनतालाई हेर्ने कुरामा’, उनले भने, ‘यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तिव्रताका साथ काम गर्ने बताए ।

नेपाल क्लियरिङ्ग हाउसका सबै सेवामा भ्याट लाग्ने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । कम्पनीले आज साउन १ गतेदेखि लागु हुनेगरी सञ्चालनमा रहेका सम्पूर्ण सेवाहरूमा मूल्य अभिवृद्धि कर लागू हुने जनाएको हो । आर्थिक वर्ष २०८१/८२ बजेट अनुरूप अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन, २०८१) बमोजिम नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ्ग) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइएको हुँदा सेवामा भ्याट लाग्ने कम्पनीका भनाइ छ । साथै ग्राहकहरूलाई यस व्यवस्था सम्बन्धी थप जानकारीको लागी आफ्ना सम्बन्धित बैंक वित्तीय संस्थाहरूमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

नागरिक लगानी कोषले थप १.२५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९/८० को नाफाबाट तत्कालिन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने छ । यसरी प्रतिफल वितरण गर्दा वचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । ब्याजदर परिवर्तन, कुन योजनाको कति ? कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ । परिवर्तित ब्याजदर अनुसार कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ । यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर ८. ५ प्रतिशत रहेको थियो । नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बीमा कोषमा ६ र राष्ट्रसेवक जीवन बीमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । यसपूर्व शैक्षिक कर्जामा ९.५०,आवाश कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो । कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरावलोकन गर्ने गरेको छ ।

माहेश्वरी महिला मञ्चको अध्यक्षमा ललिता जाजू निर्वाचित

काठमाडौं । मारवाडी समुदाय अन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरको साधारण सभाले ललिता जाजूका अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । मञ्चको आइतबार आयोजित साधारण सभाले जाजूका अध्यक्षतामा सर्वसम्मतिले कार्यसमितिको छनौट गरेको हो । जाजू यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिइन् । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः अनामिका परतानी र शीतल बाहेतीलाई चुनेको छ । त्यस्तै सचिवमा कल्पना राठी, सहसचिवमा अर्चना तापडिया र कोषाध्यक्षमा ललिता राठी चुनिएका छन् । त्यसै गरी महिला सशक्तीकरण सचिवमा पूनम राठी, स्वास्थ्य सचिवमा प्रीति अटल, सांस्कृतिक सचिवमा लीला काबरा, सांस्कृतिक सहसचिवमा सन्जु बाहेती र शिक्षा सचिवमा पूजा सोमानी छन् । कार्यकारी सदस्यमा विन्दु अटल, प्रीति राठी, चन्दा तापडिया, एकता तापडिया, सरिता राठी, पूजा राठी,पुजा सादानी, मोनाली काबरा र स्नेहा लखौटिया छन् ।