नेप्सेमा सरकारका दुई विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल सरकारका दुई वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले उक्त विकास ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार सूचीकृत गरेको जनाएको छ ।
काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् । प्रमुख शाहले मंगलबार सामाजिक सञ्जालमार्फत श्रम बैंकमार्फत ३ सय २९ जनालाई निजी तथा ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिएका हुन् । काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो । त्यस्तै यसअघि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत २ हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको उनले बताएका छन् । मेयर शाहले लेखेका छन्,‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’ महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवायुवतीहरू रोजगार/स्वरोजगार भएको पनि मेयर शाहको दाबी छ ।
भारतमा थोक मुद्रास्फीति बढ्यो
काठमाडौं । अखिल भारतीय थोक मूल्य सूचकांक (डब्ल्युपिआई) मा आधारित मुद्रास्फीतिको वार्षिक दर जुनमा ३.३६ प्रतिशत कायम रहेको छ । मेमा २.६१ प्रतिशत रहेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । जुन २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तुहरूको मूल्य वृद्धि, खाद्य उत्पादनहरूको उत्पादन, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, खनिज तेल, अन्य उत्पादन, आदिको कारण रहेको मन्त्रालयले बताएको छ । यसले डब्ल्युपिआई खाद्य सूचकांकमा आधारित मुद्रास्फीतिको वार्षिक दर जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतमा वृद्धि भएको र मे २०२४ मा ७.४० प्रतिशतको तुलनामा थपिएको छ । खाद्यान्नको मूल्यहरू जुन २०२४ मा वार्षिक रूपमा ८.६८ प्रतिशतले वृद्धि भएको थियो । जुन मे महिनामा देखिएको ७.४० प्रतिशतले बढेको थियो । तरकारीको मूल्य अघिल्लो महिनाको ३२.४२ प्रतिशत वृद्धिको तुलनामा ३८.७६ प्रतिशतले बढेको थियो । यद्यपि सबैभन्दा ठूलो उछाल देखापरेको थियो । प्याजको हकमा मे महिनामा ५८.०५ प्रतिशतबाट जुन ९३.३५ प्रतिशत पुगेको छ । फलफूलको डब्ल्यूपीआई पनि मे महिनामा ५.८१ प्रतिशतबाट बढेर जुनमा १०.१४ प्रतिशत पुगेको मन्त्रालयले सार्वजनिक गरेको मासिक तथ्यांकले देखाएको छ ।
नबिल बैंकको परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी, हेर्नेको भीड
काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्ग स्थित केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने जनाइएको छ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले तस्बिर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । ‘तस्बिर प्रदर्शनी इतिहास बुझ्ने अवसर पनि हो, पछिल्लो चार दशकमा मुलुकको विकासको गति थाहा पाउने अवसर पनि हो’, उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरमा नेपालको चार दशकमा भएका मुख्य परिवर्तनलाई समेट्ने प्रयास गरिएको छ ।’ उनले पछिल्लो चार दशकमा राजनीतिक रूपमा मुलुकमा अस्थिरता भए पनि मुलुकले विकासमा विकास निर्माणका काम भने भइरहेको बलियो प्रमाण तस्बिरहरू भएको बताए । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय मुलुकमा केही पनि विकास भएन भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा गोरखापत्र संस्थानले नबिल बैंकसँग व्यावसायिक साझेदारीमा सुरु गरेको तस्बिर प्रदर्शनीका माध्यमबाट विकास निर्माणलाई देखाउन खोजेको बताए । उनले भने, ‘नबिल बैंकसँग नयाँ ढाँचाको व्यावसायिक साझेदारीबाट दोहोरो व्यावसायिक प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो, त्यसबाहेक समाजले पनि मुलुकमा भइरहेको विकासलाई तस्बिरमार्फत नजिकबाट अनुभव गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।’ प्रदर्शनीमा ६० भन्दा बढी तस्बिर राखिएको छ । प्रदर्शनीमा मण्डला बनाउनु अघि माइतिघरमा रहेका घर भत्काउँदैका तस्बिरदेखि ५० सालतिर काठमाडौंको भरपर्दो यातायातको साधन बिक्रम टेम्पो तथा ट्रली बसका ऐतिहासिक तस्बिर राखिएको छ । साथै २०४५ सालमा भारतले नाकाबन्दी गर्दा मट्टितेलका लागि लामबद्ध सर्वसाधारण, नाकाबन्दीपछि बंगलादेशबाट हवाई उडानमार्फत डिजेल ल्याइँदै गरेका तस्बिर पनि देख्न सकिन्छ । भारतले तत्कालीन समयमा २०४५ चैत १० गतेदेखि २०४७ असोज १७ गतेसम्म नाकाबन्दी गरेको थियो । त्यसै गरी नेपाल वायुसेवा निगमले २०४३ सालमा खरिद गरेको गण्डकी नामक बोइङ ७५७मा पहिलो पटक यात्रुहरू अवतरण गर्ने क्रमको ऐतिहासिक तस्बिरसँगै २०५२ सालमा रासायनिक मलको माग गर्दै भद्रकालीमा जम्मा भएका किसान र मरुहिटीमा कपडा धुने र नुहाउने परम्परा झल्काउने तस्बिर पनि प्रदर्शनीमा राखिएको छ । कुपण्डोलका अमृत खड्गी आइतबार दिउँसो दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालय परिसरमा जारी तस्बिर प्रदर्शनी अवलोकनपछि निकै खुसी देखिन्थे । कामका सिलसिलामा बैंक आएका उनले सोही अवसरमा प्रदर्शनीमा ऐतिहासिक तस्बिर हेर्न पाउँदा रमाइलो लागेको सुनाए । ‘तस्बिर हेरेपछि पछिल्लो ४० वर्षमा मुलुकले ठुलो विकास गरेको रहेछ भन्ने लाग्यो, विभिन्न क्षेत्रमा भएका विकासलाई एकै ठाउँमा हेर्न पाउँदा निकै खुसी लाग्यो’, उनले भने । प्रदर्शनीमा नबिल बैंकको इतिहास सुरुआती दिनमा प्रयोगमा ल्याएको फ्याक्स मेसिन र प्रिन्टिङ मेसिन, नबिल बैंकको पुरानो कार्यालय भवन र ग्राहकहरूले सेवा लिँदै गरेको देख्न सकिन्छ ।
ह्वावे नेपालले घोषणा गर्यो ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता
काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको ह्वावेले जनाएको छ । कम्पनीका अनुसार ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थीमध्येबाट ३० जनालाई छनोट गरिएको थियो । तीमध्ये निर्णायकमण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तर्वार्ताको सूचीमा परेका विद्यार्थीबाट विजेता चयन भएका छन् । कार्यक्रमको शीर्ष स्थानमा रहन सफल विद्यार्थीमा आशिष कार्की, एनजिलिना घिमिरे, प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की छन् । उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिने ह्वावेले जनाएको छ । आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले २५ वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ । डिजिटल प्रविधिमा विश्वव्यापीरूपमा युवा प्रतिभाहरूको प्रवर्धनका लागि समर्पित ‘सिड्स फर द फ्युचर’ हुवावेको प्रमुख कार्यक्रम हो । कार्यक्रमको स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह रहेका थिए ।
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
काठमाडाैं । नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएकाे छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र ४९९ रुपैयाँमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ । प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ । डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ रुपैयाँसम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने टेलिकमका प्रवक्ता किशाेर कुमार भट्टले जानकारी दिएका छन् । कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ । यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएकाे छ । । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।
‘कण्डक्टर’ले बस चलाउँदा…
बनियानी । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ । रासस
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित, यस्तो बन्यो कार्यसमिति
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए । यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले जानकारी दिए । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा १ हजार १९३ जनाले मतदाता रहेकामा १ हजार ३१ मतदाताले मतदान गरेका थिए ।