यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमयदर, कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (साउन २ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.४० रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९६ रुपैयाँ र बिक्रीदर १७३.७४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.९४ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६७ रुपैयाँ तोकिएको छ ।
व्यवसायमा गिरावट आउँदा पनि भद्रपुरले सङ्कलन गर्याे ३ अर्ब २१ करोड राजस्व
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा ३ अर्ब एक करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । गत आवमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर ८४.५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ । ‘देशभर व्यापार व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा,’ उनले भने । आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ, भाडा आयकरबाट ३ करोड ६४ लाख रुपैयाँ, ब्याजबापत ११ करोड ५९ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड ५ लाख रुपैयाँ तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धि करबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
महासंघको जम्बो टोलीसँगको भेटमा प्रधामन्त्रीले भने- निजी क्षेत्रबिना देश विकास सम्भव छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरू अवलम्बन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारेका हुन् । महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो । भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताए । सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ छ । अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गरे । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिँदै आर्थिक वर्षको सुरुमा नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए । त्यसअवसरमा सो प्रतिनिधिमण्डलले उद्यम व्यवसाय सम्बद्ध नियामक निकायले एकआपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्नेगरी कार्य सम्पादन गर्नु आवश्यक रहेको तथा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको जानकारी प्रधानमन्त्रीसमक्ष गराएको थियो । हाल अर्थतन्त्र सम्बद्ध निकायबीचमा समन्वयको अभाव रहेको बताउँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको सो प्रतिनिधिमण्डलले जनाएको छ । निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रूपमा काम गर्नसक्ने वातावरण निर्माण गर्न, सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल गर्न पनि सो प्रतिनिधिमण्डलले माग गरेको थियो । अध्यक्ष ढकालको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छासहित वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरू रहेको महासङ्घले जनाएको छ ।
सहरी योजना आयोगबाट १ अर्ब ७५ करोड लागतका १२५ वटा आयोजनाको डीपीआर तयार
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८ वटा योजना वडाहरूबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना छन् । ‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन, अब महानगरपालिकाको पुँजीगत खर्च बढ्नेछ, त्यो समस्या अब सकियो,’ सम्पन्न डीपीआरका विषयमा प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको छ । यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिन्छ ।’ डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले ट्र्याकिङ् प्रणाली बनाउन लागिएको भन्दै उनले यसले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने बताए । ‘आएका योजनालाई डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ, संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ,’ आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईले भने, ‘यसो हुनु भनेको योजना कार्यान्वयन सुनिश्चित हुनु हो, योजना कार्यान्वयन सहज हुनु हो, निर्धारण गरिएको अवधिको सम्पन्न हुने सुनिश्चित हुनु हो, यसले तर्जुमा गरिएका योजना निर्बाध कार्यान्वयनमा आउने वातावरण बन्छ ।’ आयोगले तयार पारेका प्रतिवेदनहरू सम्बन्धित वडा र विभागमा पठाइएको उनले बताए । आयोगको आगामी तयारीका विषयमा उपाध्यक्ष डा. राजभण्डारीले भने, ‘आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएका कार्यक्रमलाई भाद्र महिना भित्र डीपीआर सम्पन्न गर्ने तयारी गरेका छौँ ।’
जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि
भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ८० करोड ५८ लाख १४ हजार ५ सय ९२ राजस्व संकलन गरेको छ । ३६ हजार ८ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव २०८०र८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । ‘गत आव २०७९र८० को तुलनामा २२ करोड १२ लाख ६९ हजार १ सय ९९ ले राजस्व वृद्धि भएको छ,’ उनले भने । गत आवमा ५८ करोड ४५ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८०र८१ मा सेवा करवापत ७ करोड ५१ लाख ३९ हजार ४ सय ७६, रजिष्ट्रेशन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार ५ सय ५४, छुटवापत ६ करोड २७ लाख ८७ हजार ६ सय १२, डोर सुविधा शुल्क १ लाख ८९ हजार, पुँजीगत लाभकर ३२ करोड १ लाख २५ हजार २ सय ६७ र विलम्ब शुल्कवापत १ लाख १७ हजार ९ सय ६ रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए ।
नदी किनारका सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्र नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले ८९ पन्ने लामो फैसलामा अतिक्रमण हटाउन आदेश दिएको हो । यो जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायण बेल्बासे, रमा पन्त खरेल लगायत ६ जनाले दायर गरेको रिटमा गत पुस ३ गते भएको फैसलाको पूर्णपाठ हो । सर्वोच्चले नदीमा प्रदूषण नियन्त्रणका मुख्य रूपमा ढल मिसाउन रोक्नुपर्ने अदालतको जोड छ । साथै, सुकुम्बासीहरूको पहिचान गरी स्थानान्तरणका लागि हाल इचङ्गुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्न पनि आदेश दिइएको छ । सर्वोच्चले भनेको छ, ‘वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू ।’ यस्ताे छ पूर्णपाठ [pdf id=497564]
नाफा घटेको र एनपीएल बढेको बैंकरको गुनासो, अर्थमन्त्रीले भने- ऋण तिर्दिनँ भन्नेलाई कारबाही हुन्छ
काठमाडौं । बैंकरहरुले उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई भेटेर वर्तमान अर्थतन्त्र र बैंकिङ क्षेत्रको समसामयिक विषयहरु जानकारी गराएका छन् । मंगलबार नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई भेट्दै बैंकको नाफा घटेको, खराब कर्जा बढेको र समाजमा बैंकको ऋण तिर्दिनँ भन्ने केही गलत प्रवृति भएका व्यक्तिहरुको कारण समस्या भएको गुनासो गरेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्षमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन नसकेको धारणा राखेका छन् । वर्तमान परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्ने धारणा उनको छ । भेटका क्रममा संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता गरेका छन् । बैंकरको गुनासो सुनेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने बताए । मुख्यतः वर्तमान अर्थतन्त्रको प्रमूख चुनौतीको रुपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउ“दै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भीर भएर लाग्नु पर्ने बताए । भेटको क्रममा अर्थमन्त्रीले सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए । बंैकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिनँ भन्ने प्रबृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए । वर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहने भएकोले अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुने विषयमा सबैलाई आशावादी हुन आग्रह गरे ।
सिमलताल दुर्घटना : बेपत्ताको खोजीमा ३ सय सशस्त्र प्रहरी परिचालित
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न ३ सय एक सशस्त्र प्रहरी परिचालित भएका छन् । घटनास्थल सिमलतालदेखि गण्डक ब्यारेजसम्मको करिब १ सय ३२ किलोमिटर क्षेत्रमा उक्त सङ्ख्यामा जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनास्थल वरिपरि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज, दुईवटा मोटरबोट र सातवटा र्याफ्टबोट परिचालन गरिएका छन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म खटाइएको छ । सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएका सहप्रवक्ता थापाले जानकारी दिए । सशस्त्र प्रहरी नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा खटाइएको छ । सशस्त्र प्रहरी नं ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएका छन् । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । हालसम्म फेला परेका १५ वटा शव फेला परेको छ । सो मध्ये नौ वटाको सनाखत भएको छ भने बाँकीको सनाखत हुन सकेको छैन ।