सुनको रफ्तारमा बढ्दैछ तरकारीको मूल्य, किसानलाई फाइदा न उपभोक्तालाई

<p>काठमाडौं । झरी लागेयता सुरु भएको बाढीपहिरोका कारण पर्याप्त परिमाणमा भित्रिन नसक्दा काठमाडौंमा तरकारीको भाउ आकासिएको छ। मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पछिल्ला केही दिनदेखि बढ्न थालेको तरकारीको भाउ रोकिने छाँट छैन । बजारमा माग बढिरहने तर आपूर्ति कम हुँदा भाउ उकालो लागेको हो । किसानले बारीबाट टिपेको तरकारी बाढीपहिरोले सडक अवरुद्ध हुँदा उतै [&hellip;]</p>

काठमाडौं । झरी लागेयता सुरु भएको बाढीपहिरोका कारण पर्याप्त परिमाणमा भित्रिन नसक्दा काठमाडौंमा तरकारीको भाउ आकासिएको छ।

मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पछिल्ला केही दिनदेखि बढ्न थालेको तरकारीको भाउ रोकिने छाँट छैन ।

बजारमा माग बढिरहने तर आपूर्ति कम हुँदा भाउ उकालो लागेको हो । किसानले बारीबाट टिपेको तरकारी बाढीपहिरोले सडक अवरुद्ध हुँदा उतै रोकिन पुगेको छ ।

यसका कारण न किसानले सही भाउ पाएका छन्, न उपभोक्ताले । कम परिमाणमा उपलब्ध हुँदा उपभोक्ता केही दिनयता महँगोमा तरकारी किन्न बाध्य छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ वर्षायाममा तरकारीको मूल्य माथि नै जाने बताउँछन् ।

‘यतिबेला उत्पादन कम हुन्छ, बजारमा तरकारी पनि कम आउँछ,’ उनी भन्छन्, ‘अहिले बाटोको अवस्था पनि राम्रो छैन ।’

सूचना अधिकारी श्रेष्ठ अहिले किसानहरू रोपाइँमा व्यस्त हुने भएकाले पनि तरकारी खेतीमा त्यति ध्यान दिएका छैनन् । भएका बालीनाली पनि पानीले नोक्सानी पुर्याइहेको छ ।

‘अहिले यो तरकारीको समस्या कालीमाटीको मात्रै होइन, सबैतिर उस्तै छ,’ उनी भन्छन्, ‘यस्तो समस्या यो वर्ष मात्रै आएको होइन, हरेक वर्ष दोहोरिने समस्या हो यो ।’

मौसमको अवस्था सामान्य रहे र वर्षात् कम हुँदै गए यो अवस्था आफैं समाधान हुने उनको भनाइ छ ।

‘वर्षा बढी हाबी भएन, उत्पादन बढ्यो र बजारमा आपूर्तिको समस्या भएन भने मूल्य आफैं तल झर्दै जान्छ,’ उनी भन्छन्, ‘बजार आपूर्ति पनि कम छ र उत्पादन पनि कम छ भने मूल्य आकाशिनु स्वाभाविक हो, अहिलेको अवस्थामा मूल्य घटाएर बेच भनेर कसैलाई भन्न मिल्दैन ।’

सूचना अधिकारी श्रेष्ठ अहिले किसानको बारीमै पुगेर तरकारी ल्याइरहेको बताउँछन् । किसानको बारीम पुगेर तरकारी ल्याउँदा पनि अलिकति महँगो पर्न गएको उनको भनाइ छ ।

‘उसै पनि किसानको बारीमा तरकारी नै कम फलेको छ, फलिहालेको रहेछ भने पनि बारीमै कुहिले, बिग्रिने, झर्ने हुन्छ,’ उनी भन्छन्, ‘बारीबाट बजारमा ल्याउन पनि धेरै गाह्रो छ, अहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको छ, हाइवेबाट तरकारी काठमाडौं ल्याउन धेरै गाह्रो छ, ट्रान्स्पोटेसन कस्ट पनि बढी छ ।’

श्रेष्ठका अनुसार उपत्यकामा धेरै तरकारी धादिङ, नुवाकोट, चितवन, काभ्रे, रामेछाप लगायत जिल्लाबाट आउँछ । अहिले यी जिल्लाका ग्रामीण कृषि सडकहरू अवरुद्ध हुँदा तरकारी संकलन गर्न गाह्रो भइरहेको छ ।

बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिने तरकारी नै अहिले ४० देखि ५० प्रतिशतसम्म घटेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

उनका अनुसार समान्य अवस्थामा उपत्यकामा ६ देखि ७ सय टन तरकारी भित्रिन्थ्यो भने अहिले ४ देखि ५ सय टनमात्रै भित्रिएको छ ।

‘तरकारी खाने उपत्यकाको जनसंख्या घटेको छैन,’ उनी भन्छन्, ‘अहिले विवाह, ब्रतबन्धको सिजन पनि चलिरहेको छ, त्यसमा तरकारी बढी खपत हुन्छ, तरकारी बाहिरबाट आइरहेको छ तर पर्याप्त मात्रामा आइरहेको छैन ।’

पछिल्लो एक सातादेखि तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । वर्षाका कारण आपूर्ति कम हुँदा कालिमाटी तरकारी बजारमा तरकारीको भाउ आकासिएको छ ।

आज (मंगलबार) कालीमाटी बजारमा साग, आलु, बन्दा, घिरौँला, फर्सी, च्याउ, सिन्की सहितका तरकारीको मूल्य बढेको छ । केही तरकारी भने हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ ।

कालीमाटीमा मंगलबार सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो डल्ले च्याउ छ । गोलभेँडा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदा डल्ले च्याउको मूल्य ४ सय १६ रुपैयाँ छ ।

कालीमाटीमा सोमबार किलोको ५६ रुपैयाँ रहेको रातो आलुको मूल्य मंगलबार १४ रुपैयाँ बढेर ७० रुपैयाँ पुगेको छ ।

सोमबार २७ रुपैयाँ रहेको बन्दाको मूल्य मंगलबार ५५ रुपैयाँ पुगेको समितिले जनाएको छ । यस्तै सोमबार ७५ रुपैयाँ रहेको करेलाको मूल्य मंगलबार २० रुपैयाँ बढेर ९५ पुगेको छ ।

हिजो ९५ रुपैयाँ रहेको घिरौँलाको मूल्य आज १ सय १० पुगेको छ । हिजोभन्दा आज भिन्डी ३० रुपैयाँ महँगिएको छ ।

समितिका अनुसार सोमबार १ सय २६ रुपैयाँ रहेको रायोको सागको मूल्य मंगलबार २ सय ४० रुपैयाँ पुगेको छ ।

त्यसैगरी कन्य च्याउको मूल्य भने घटेको छ । सोमबार २ सय २६ रुपैयाँ रहेको कन्य च्याउको मूल्य आज १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मंगलबार कालीमाटीमा ठूलो गोलभेँडा १ सय १५, सानो लोकल गोलभेँडा २५, स्थानीय ज्यापु काउली ९५, डल्ले भन्टा ८५, तने बोडी १ सय १५, हरियो फर्सी ७५, भिन्डी १ सय ४०, रायोको साग २ सय ४०, कन्य च्याउ १ सय ८०, डल्ले च्याउ ४ सय १६, ब्रोकाउली १ सय ३५ रुपैयाँ र सिन्की २७६.६७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी देश आन्तरिक उत्पादनमा भन्दा पनि वाह्य उत्पादनमा निर्भर भएकाले यो समस्या देखिएको बताउँछन् ।

प्राकृतिक रूपमा उत्पादन घट्नु र बाहिरबाट आयात हुने वस्तुको आपूर्ति घट्नु पनि मूल्यवृद्धि हुनुको कारण भएको उनी बताउँछन् ।

आन्तरिकतर्फको उत्पादन अहिले बर्खा सिजन भएकाले तरकारीका लागि अफसिजन भएको उनको भनाइ छ ।

‘हिउँदे बाली सकिएको र बर्खे बाली सुरु नभइसकेकाले यो अवस्थामा समस्या देखिएको हो,’ उनी भन्छन्, ‘यो मूल्यवृद्धिको समस्या अहिलेको मात्रै होइन, हरेक वर्षको समस्या हो ।’

मूल्यवृद्धिका कारण उपभोक्ता मारमा पर्नु स्वाभाविक भएको उनको भनाइ छ । अहिलेको उत्पादन प्रणाली भत्किँदै गएको र उपभोगको संस्कृति जसरी विकसित हुँदै गएको छ त्यसले मूल्यकै हिसाबले होस् या स्वास्थ्यलाई पार्ने नकारात्मक असर होस् या अन्य विविध पाटाहरूबाट हेर्ने हो भने उपभोक्ता जहिले पनि मारमा परेको उनी बताउँछन् ।

‘विशेष गरेर बजारमा सस्तो होला र उपभोग गरौँला, बजारले शुद्ध वस्तु सप्लाई गरेर खान पाइएला, सरकारले सशक्त रूपमा नियमन गर्ला भन्ने अवस्था हामीकहाँ नभएको हुनाले अब उपभोक्ता पनि बिस्तारै उत्पादनमा जोडिनुपर्छ, यो दिगो समाधानको उपाय हुन सक्छ,’ उनी भन्छन् ।

‘मसँग पैसा छ र मैले सस्तोमा राम्रो चिज खान पाउनुपर्छ भन्ने उपभोक्ताको अधिकारको कुरा हो’ तर हामीकहाँ न त त्यो खालको सुशासनको अभ्यास छ, न जवाफदेहिता छ न त बजार इमानदार छ । यो हिसाबले हामी सकेसम्म पर्यक्ष रूपमा उत्पादनमै जोडिनुपर्ने उनी बताउँछन् ।

अध्यक्ष अधिकारी पछिल्लो समय खाद्यन्नमा बढ्दै गइरहेको मूल्यवृद्धि खाद्य संकटको संकेत पनि भएको बताउँछन् ।

उनी भन्छन्, ‘मूल्यवृद्धि भयो भनेर गुनासो गरिरहँदा हामीले आन्तरिकतर्फ उत्पादन बढाउन कति लगानी गरेका छौं, राज्यको कति योगदान छ त्यो सबै हेनुपर्ने हुन्छ, यसका सबै सूचक नकारात्मक छन्, खेतीयोग्य जमिन बाँझा छन्, हामीसँग भएको २२ लाख हेक्टर जमिनमा १० लाख हेक्टर बाँझै भएका रेकर्ड छन्, उपभोक्ताले अब बजारले सस्तोमा दिन्छ र हामीले पेटभरि खाउँला भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ, र उत्पादनमा नजोडिने हो भने खाद्य संकट निश्चित छ ।’

पछिल्लो समय सुनको मुल्य दैनिक बढिरहेको छ । अहिले तरकारीको मूल्य पनि सोही किसिमले वृद्धि भइरहेको हाे ।

Share News