पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या, दैनिक हजारौँ पर्यटक प्रभावित
काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का भीष्म न्यौपाने पर्यटक बस पार्किङ तथा सञ्चालनका लागि टिवानले लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउँछन् । 'पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन', उनी भन्छन् । पर्यटकका लागि प्रभावकारी बस टर्मिनल अभावकै कारण पर्यटक सवारीसाधनलाई सहरका विभिन्न स्थानमा जथाभावी पार्किङ र रोकिनुपर्ने परिस्थितिले पर्यटकले समेत नकारात्मक अनुभव बटुल्न बाध्य भएका छन् । त्यसैगरी पोखरामा सञ्चालित पर्यटक बसपार्कसमेत अव्यवस्थित हुँदा पर्यटकलाई समस्या परेको अध्यक्ष न्यौपाने बताउँछन् । पर्यटक सवारीसाधनको स्पष्ट पहिचान र कार्य वर्गीकरण नहुँदा थप चुनौती थपिएको उनको भनाइ छ । हाल प्रचलित यातायात ऐन तथा पर्यटनसम्बन्धी ऐनबीच आवश्यक समन्वय र स्पष्टता नहुँदा पर्यटक सवारीसाधन सञ्चालनमा नीतिगत अन्योलता देखिएको छ । नेपालको पर्यटन उद्योगलाई टिकाउ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्षम, सुरक्षित, सुविधासम्पन्न र पहिचानयुक्त पर्यटन यातायात पूर्वाधार आवश्यक रहेको टिवानले जनाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौंभित्र अव्यवस्थित रूपमा पार्किङ भई सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । टिवानका अध्यक्ष न्यौपाने पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको बताउँछिन् । पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एन्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको अध्यक्ष न्यौपाने बताउँछिन् । नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नाट्टाले लामो समयदेखि आधुनिक र सुविधासम्पन्न पर्यटक बसपार्कको आवाज उठाउँदै आए पनि उक्त कुराको सुनुवाइ हुन नसकेको बताए । हाल काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी र जनकपुरका लागि मात्रै दैनिक झन्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।
नेपाल व्यवस्थापन संघद्वारा बजेटपूर्व छलफल, सरकारलाई सुझाव बुझाइने
काठमाडौं । नेपाल व्यवस्थापन संघद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि बजेटपूर्व छलफल कार्यक्रम आयोजना गरिएको छ । 'बजेटपूर्व छलफलः समृद्धिको मार्ग' नाम दिइएको उक्त कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका विभिन्न विषय समेट्दै आगामी बजेटका लागि महत्वपूर्ण सुझाव दिएका थिए । कार्यक्रममा नेपाल व्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए । आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिएको थियो । प्रमुख अतिथि डा. सञ्जय आचार्यले पनि बजेट निर्माणका लागि आवश्यक विविध सुझाव प्रस्तुत गरेका थिए । अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि, अन्य अतिथिहरू तथा सहभागीहरूबाट प्राप्त सुझावहरूलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरकारलाई औपचारिक रूपमा बुझाइने जानकारी दिइन् । नेपाल व्यवस्थापन संघले सरकारले बजेट निर्माण गर्नु अघि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । सबै सरोकारवालाहरूको सल्लाह, सुझाव सरकारसम्म पुर्याई प्रभावकारी र समावेशी बजेट निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको संघले जनाएको छ ।
नेकपाको राष्ट्रिय महाधिवेशन मंसिर ११ बाट सुरु हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरेको हो । बैठकले महाधिवेशनलाई लक्षित गर्दै चरणबद्ध कार्यतालिका समेत सार्वजनिक गरेको छ । नेकपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूका समायोजन सम्पन्न गरिनेछ । नेकपामा तत्कालीन नेकपा एकीकृत माओवादी, एकीकृत समाजवादीसहित एक दर्जन घटक सामेल भएका छन् । त्यसपछि असार र साउन महिनामा श्रम शिविर सञ्चालन तथा सदस्यता नवीकरण अभियान चलाइने नेकपाका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए । पार्टीले भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने तालिका निर्धारण गरेको छ । उक्त सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गरिने कार्यालय सचिव पुनले जानकारी दिए ।
हिमाल आरोहण अनुभवको लागि ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’, ४० हजारमै पुग्न सकिने
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका थुप्रै आकर्षक गन्तव्यहरूको बीचमा भर्खरै उदाएको नयाँ नाम हो, ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खला उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अहिलेसम्म ओझेलमा पर्दै आएको छ । हालै जुगल गाउँपालिकाले यस गन्तव्यलाई आन्तरिक तथा विदेशी पर्यटकमाझ परिचित गराउन पहल थालेको छ। गाउँपालिकाको विशेष आयोजनामा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजनाअन्तर्गत वैशाख ३ गते जुगल हिमशृङ्खलाभित्रका विभिन्न चुचुरामध्ये ५ हजार ५७० मिटर उचाइको नयाँ ट्रेकिङ पिकको सफल आरोहण सम्पन्न गरिएको हो । गाउँपालिकाले उक्त पिकलाई ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ नामाकरणसमेत गरेको छ । पर्यटकीय सम्भावना बोकेको भएपनि लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालित यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गाउँपालिकाले लिएको छ । पालिकाका अनुसार स्थानीय समुदायको आर्थिक विकासमा समेत कोशेढुङ्गा सावित हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जुगल गाउँपालिका एक प्रशासनिक भूगोल मात्र नभई यो पर्यटकको सम्भावनाको खानी भएको उल्लेख गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले जुगल हिमाल र यस वरपर रहेको पर्यटकीय स्थलहरूलाई नेपाल साथै विश्व माझ चिनाउनु पालिको प्रमुख उद्देश्य र दायित्व रहेको औंल्याए । ‘जुगल हिमाललाई प्रवर्द्धन गर्ने सिलसिलमा हामीले अध्ययन तथा अन्वेषणबाट एउटा विन्दुको पहिचान गरेका छौं,’ केसीले भने, ‘जहाँबाट विश्वको सर्वोच्च शिखरसहित ८ हजारमाथिका अन्य दर्जनौं हिमशृंखलाहरूको निकै नजिक र स्पष्ट रुपबाट अवलोकन गर्न सकिन्छ ।’ उनका अनुसार जुगल एभरेष्ट भ्यु प्वाइन्टबाट सगरमाथा, चोयु, मकालु, लोत्सेसहितका दर्जनौैं हिम शृंखलाहरूको निकै नजिक र स्पष्ट रूपबाट अवलोकन गर्न सकिन्छ । हिमाल चढ्न चाहने तर महँगो खर्चका कारण त्यो सपना पूरा गर्न नसकेका नेपालीहरूका लागि यो पिक उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए । न्यून लागत र समयको बचत हिमाल आरोहण सामान्यतया : महँगो हुने भएकाले धेरै जना नेपालीले चाहँदा चाहँदै पनि अवसर पाउन सकेका छैनन् । यही कारण विदेशीको तुलनामा नेपाली आरोहीको संख्या कम छ । तर, गाउँपालिकाको पर्यटन समितिका संयोजक तथा अभियानकर्ता मिलन तामाङका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ पिक न्यून बजेटमै आरोहण गर्न सकिने भएकाले यो नेपालीहरूका लागि सहज विकल्प बन्न सक्छ । जुगल पिक आरोहणका लागि गाउँपालिकाले पर्यटन व्यवसायीहरूसँगको छलफलपछि न्यूनतम लागत निर्धारण गरेको उनले बताए । उनका अनुसार विदेशी पर्यटकका लागि करिब एक हजार अमेरिकी डलर र नेपालीका लागि झन्डै ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका साथै पर्यटन विभागसँग समन्वय गरेर परमिट उपलब्ध गराउने तथा सफल आरोहीहरूलाई प्रमाणपत्र प्रदान गर्ने योजना पनि अघि सारिएको तामाङले जानकारी दिए । अर्को विशेषता भनेको यसको छोटो समयमै सम्पन्न गर्न सकिने रहेको छ । विशेषगरी सीमित समयका लागि नेपाल आउने विदेशी पर्यटकहरू विशेषगरी कोरियन पर्यटकका लागि यो पिक आकर्षक विकल्प बन्न सक्छ । उनका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि ‘गेम चेञ्जर’ सावित हुन सक्ने सम्भावना छ । राजधानी काठमाडौँ बाट सहज पहुँच भएकाले यहाँ पुगेर ५ देखि ७ दिनभित्रै हिमाल आरोहण गरी फर्कन सकिने उनले बताए । तालिम नलिई पनि आरोहण गर्न सकिने सहज र सुरक्षित आरोहण यो पिकको सबैभन्दा ठुलो विशेषता हो । कुनै विशेष प्राविधिक कठिनाइ र जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका जो–कोही पर्यटक वा पदयात्रीले पनि यसको सहजै र सुरक्षित आरोहण गर्न सक्ने पर्यटन समितिका संयोजक तामाङले बताए । ‘आरोहण गर्दा कतै पनि डोरीमा झुण्डिनु वा विशेष प्राविधिक उपकरण खासै प्रयोग गर्नुपर्दैन,’ तामाङले भने, ‘सामान्य जुत्ता र लौरोको भरमा शिखरमा पुग्न सकिन्छ ।’ वैशाख ३ गते नयाँ ट्रेकिङ पिक जुगल एभरेष्ट भ्यु प्वाइन्टको सफल आरोहण गर्ने टोलीमध्येमा तामाङ पनि एक हुन् । उनका अनुसार आरोही टोलीमा फरक–फरक अनुभव भएका उनीसहित चारजना व्यक्तिहरू सहभागी थिए । आरोही टोलीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर लाक्पा डेनी शेर्पा थिए । उनीसँग धेरैपटक ८ हजार भन्दा माथिका थुप्रै हिमाल चढिसकेको अनुभव छ । त्यस्तै, निङ्मा वाङचु शेर्पा, उनी १५ वर्षका विद्यार्थी हुन् । जसले जसले यसअघि कुनै हिमाल चढेका वा तालिम लिएका थिएनन् । त्यस्तै, जुगल हिमालकै काखमा जन्मिएका ५० वर्षीय स्थानीय प्रेम शेर्पाले पनि औपचारिक तालिम अहिलेसम्म नलिएको तामाङले बताए । विद्यमान चुनौतीहरू जुगल एभरेष्ट भ्यु प्वाइन्ट काठमाडौंबाट नजिक र हिमाल आरोहण गर्न चाहने पर्यटकको रोजाइमा पर्न सक्ने उच्च सम्भावना भए पनि यससँग केही चुनौतीहरू पनि जोडिएका छन् । गाउँपालिकाका अनुसार गन्तव्यको प्रवर्द्धनसँगै सुरक्षाका पक्षमा ध्यान दिनु आवश्यक छ । गाउँपालिकाको पर्यटन समितिका संयोजक तामाङका अनुसार पेमछालबाट बेसक्याम्प जाने बाटो केही प्राविधिक प्रकृतिको छ, जहाँ कतिपय स्थानमा डोरीको प्रयोग आवश्यक पर्न सक्छ । त्यस्तै, मौसम खराब हुँदा मार्गमा खाल्डाखुल्डी बढ्ने भएकाले यात्रा केही जोखिमपूर्ण बन्ने सम्भावना पनि रहेको उनले बताए । अर्को चुनौती त्यहाँ सञ्चार सम्पर्क छैन । मोबाइल नेटवर्क नचल्ने भएकाले बाहिरी संसारसँग सम्पर्क विच्छेद हुन्छ । यसलाई एकातिर सकारात्मक रूपमा लिन सकिने भएपनि अर्कोतर्फ कुनै आकस्मिक घटना घटेको खण्डमा सञ्चार गर्न समस्या हुन सक्छ । दक्ष जनशक्तिको अभाव यहाँको अर्को प्रमुख समस्या भनेको दक्ष जनशक्तिको रहेको गाउँपालिकाको धारणा छ । गाउँपालिकाले पछिल्लो पटक चौतारा नगरपालिका र पाँचपोखरीसँग मिलेर संयुक्त पदमार्गहरू बनाउने विषयमा पनि छलफल भएको बताए । साथै दक्ष जनशक्तिका लागि ट्रेकिङ गाइड तालिमहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको तामाङले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’को महत्व केवल दृश्य अवलोकनमा सीमित नभई जुगल क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको बताए । उनका अनुसार यो गन्तव्य युवाहरूका लागि रोजगारी सिर्जना गर्ने केन्द्र, पदयात्रा सौखिनहरूका लागि नयाँ आकर्षण तथा सरकारको पर्यटन दशक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने आधार बन्न सक्छ । जुगल हिमालको प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, जुगल गाउँपालिका तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा विगतदेखि नै विभिन्न पूर्वाधार विकासका काम हुँदै आएका छन् र आगामी दिनमा थप पूर्वाधार विस्तारका लागि समेत सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी
काठमाडौं । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी - टाटा पन्च ईभी जितेका छन् । स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन् । दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजनाको सोमबार पुरस्कार घोषणा गरिएको हो । उक्त योजना अन्तर्गत कलंकीकी रोशनी सिंह तथा नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च ईभी जितेका हुन् । टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो । ‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ भन्ने नारासहित स्किमको लाभ पुषको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए ।
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज‍ सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ ।
जलेका गाडीको नाममा इन्धन झ्वाम, कारबाही गर्न मन्त्रीको आदेश
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् । जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् । उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले यस्तो कदम चालेकी हुन् । मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि अहिले दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको छ । फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् । कानुन अनुसार, सह-सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, यस्ता छन् मापदण्ड
काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । मंगलबार (आज) बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि आवेदन माग गरिएको हो । वैशाख २१ भित्रमा आवेदन दिनका लागि ७ दिने सूचना जारी गरिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको दिनदेखि सात दिनभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० अनुसार, नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको तथा धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष पेशागत अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका छन् । समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।