विकासन्युज

आजको मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य तराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

१७ जना राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका-४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका-४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका-१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजीअ पौडेलले बताए । 

गोरखाका किसानको २२ करोड आम्दानी, गत वर्ष भन्दा १५ प्रतिशत बढ्यो सुन्तला उत्पादन

काठमाडौं । गोरखामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष ३ हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले १ करोड ५० लाख रुपैयाँ बराबरको कागतीसमेत बिक्री गरेको उनको भनाइ छ । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ । ‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो,’ उनले भनिन् ।  गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा १ हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताइन् । कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिइन् । ‘मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ,’ उनले भनिन् । जिल्लाको सुन्तला जात फलफूल खेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तला खेती प्रवर्द्धन गर्दै आएको छ । गण्डकी, सहिद लखन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गाना बताउँछन् ।  ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोन बाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको  छ । सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र सहिद लखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ ।  त्यस्तै, भीमसेन थापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब १ हजार ९७ हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ भने करिब ३ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

डोल्पामा ३२८ मेगावाटको भारबुङ आयोजना बन्ने, लागत १ खर्ब ३ अर्ब

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।  विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने ३२५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप ३.१० मेगावाट क्षमताका २ वटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ र ५ तथा काईके गाउँपालिका-१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका-४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका-१ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण गरिनेछ ।  आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका-५ का केही भू-भाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ बराबर रहेको छ ।  यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।  मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युतगृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।  आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयन पत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो ।  निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्यअनुरुप सो विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल ३ हजार ४८६ उम्मेदवारीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् ।

एनपीएल घटेपछि माछापुच्छ्रे बैंकको नाफा २५.२४ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ४३ करोड रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २५.२४ प्रतिशत बढेर १ अर्ब १ करोड ११ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ७३ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्षको पुसमा ४.५४ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) चालु आवको पुसमा घटेर ४.२५ प्रतिशतमा झारेको छ । खराब कर्जा घटेसँगै बैंकको नाफामा केही सकारात्मक प्रभाव परेको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.८३ प्रतिशत बढेर ४ अर्ब २ करोड ६९ लाख ८१ हजार रुपैयाँ र सञ्चालन नाफा १०.२२ प्रतिशत घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ७.२२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख ९० हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख २५ हजार रुपैयाँ रहेको छ ।  दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन १०.७८ प्रतिशत बढेर २ अर्ब ४ अर्ब ४ करोड ७१ लाख ७५ हजार रुपैयाँ र कर्जा लगानी ८.८८ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.९९ प्रतिशत रहेको छ । 

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली शनिबार दिनभर नै कायम भएको थियो । वर्षा भने शनिबार अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए ।  विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ ।  विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ । आज साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ । आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ ।   यस्तै, आइतबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ । रासस