विकासन्युज

मेलम्चीको पानी घरघरमा पुर्‍याउन तीव्र काम, सबैभन्दा ठूलो पाइप जडान हुँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो । भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।  ‘पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ,’ इन्जिनियर श्रेष्ठले भने । उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको छ । हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाइएको छ । ‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौंबासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए । 

निःशुल्क हवाई उद्धारले ७१ गर्भवती र सुत्केरीको ज्यान बचाइयो

काठमाडौं । गण्डकी प्रदेश सरकारले विकेट क्षेत्रका गर्भवती तथा सुत्केरीको उद्धारका लागि सञ्चालन गरेको ‘निःशुल्क हवाई उद्धार’ सेवा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले ग्रामीण क्षेत्रमा उपचार हुन नसकेर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पु¥याउन उक्त सेवा सञ्चालन गरिरहेको छ । ७ वर्ष अगाडि सुरु गरेको सेवाबाट हालसम्म ७१ जना गर्भवती तथा सुत्केरीले सेवा लिएको जनाएको छ । आर्थिक वर्ष २०७६/'७७ बाट सुरु हवाई उद्धार सेवाबाट सबैभन्दा बढी बागलुङका सेवाग्राही लाभान्वित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार वि.सं २०७६ मा १० जना, वि.सं २०७७ मा ३३ जना, वि.सं २०७८ मा ८ जना, वि.सं २०७९ मा ५ जना, वि.सं २०८० मा ४ जना, वि.सं २०८१ मा १ जना र वि.सं २०८२ मा ६ जनाले उक्त सेवा लिएका छन् । वि.सं २०७६ अगाडि ४ जनाले सेवा लिएको मन्त्रालयले जनाएको छ । बागलुङबाट मात्रै ३० जना गर्भवती तथा सुत्केरीले सेवा लिइसकेको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार म्याग्दीका १८ जना, गोरखाका ६ जना, मुस्ताङका ५ जना, लमजुङका ४ जना, पर्वत र मनाङका २/२ जना महिलाले सेवा लिएका छन् । अधिकारले २०७८ सालपछि हवाई उद्धार सेवा लिनेको सङ्ख्या कम हुँदै गएको बताए । प्रदेश सरकार र स्थानीय तहहरूले स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि कम गर्भवती तथा सुत्केरीको उद्धार गर्नुपरेको उनको भनाइ छ । अधिकृत अधिकारीले भने, ‘पछिल्लो समय जिल्ला तह र स्थानीय तहमा अस्पताल राम्रो बन्दै गए, ति अस्पतालबाट प्रसूति सेवा प्रभावकारी बन्न थाले, त्यसले गर्दा हवाई उद्धार कम भएको हो, यद्यपि २०७८ सालपछि २०८२ सालमा उद्धार सङ्ख्या बढेको देखिन्छ ।’  गर्भवती र २८ दिनसम्मको नवजात शिशुको स्वास्थ्यमा जटिलता समस्या आइ परेमा प्रदेश सरकारले हेलिकप्टर मार्फत निःशुल्क उद्धार गर्दै आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले भौगोलिक विकटताका कारण गर्भवतीलाई सहज रुपमा अस्पताल पु¥याउन नसकिने हुँदा हेलिकप्टर मार्फत उद्धार गर्नुपर्ने बाध्यता आएको बताए ।  गण्डकी प्रदेश सरकारले आगामी आवमा हवाई उद्धारका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा पनि १५ लाख बजेट विनियोजन भएको थियो ।

इराकविरुद्ध नर्वेको जित, डेब्यू खेलमै हालान्डले गरे २ गोल

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘आई’ को खेलमा इराकविरूद्ध नर्वेले शानदार जित हासिल गरेको छ ।  इराकमाथि ४ नर्वेले ४-१ को जित हासिल गरेको हो ।  बोस्टोन स्टेडियममा भएको खेलमा नर्वेका लागि अर्लिङ हालाण्डले दुई गोल गरे । उनले खेलको २९ औं मिनेटमा गोल गर्दै हालाण्डले सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इराकका अयाम हुसैनले नर्वेविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याए । ४३ औं मिनेटमा पुनः हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २१ को अवस्थामा पुर्याए । उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् ।  दोस्रो हाफको ७१ औं मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरे ।  ७६औं मिनेटमा लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्‍याए । इन्जुरी समयको छैटौं मिनेटमा इराकका हुसेनले आत्मघाती गोल गरेपछि नर्वेको जित ४–१ मा सुनिश्चित भयो ।   जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ । 

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्व महानिर्देशक सञ्जीव गौतम थुनामा

काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतको आदेशमा भनिएको छ, ‘प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि निज प्रतिवादी सञ्जीव गौतमलाई थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।’ गौतमले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीले ईपिसी कन्स्ट्राक्ट सम्झौतामा भएको २८ लाख अमेरिकी डलर खर्च नगरी  स्वाभाविक रुपमा लागत बढाएर प्राधिकरणको थप ५० लाख ३४ लाख ४० हजार ६९६ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो ।

फ्रान्सको शानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत गए राति फ्रान्सले शानदार जित निकालेको छ । समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो । पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा कुल चार गोल भए । खेलको ६६औं मिनेटमा फ्रान्सका लागि केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लगत्तै त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए । खेल अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन हुन् ।  अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए ।  निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् ।  चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार (आज) बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।   मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको दूतावासले जनाएको छ । नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए ।  सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो । मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए।  भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन  गरिएको उक्त सम्पदा नेपाल-चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो । मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए ।  मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

रास्वपाको राष्ट्रिय महाधिवेशन भरतपुरमा सर्‍यो, यस्तो छ तयारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो ।   यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ ।  बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ । पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए ।  उनले भने, “केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए ।   रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताइन् ।  यस लगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन शुरु गरिएको छ । उद्योग संघलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताइन् । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताइन् । पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आ-आफ्नो काममा व्यस्त रहेको उनले बताइन् । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।