महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन म्याद थप
काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई विशेष अदालतले चार दिन थुना राख्न अनुमति दिएको छ । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरू दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारबाट २० दिन थुना राख्न म्याद माग भएको तर अदालतले चार दिनको मात्र अनुमति दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछाने जानकारी दिए । अदालतले सोमबारदेखि गणना हुने गरेर चार दिन हिरासतमा राख्न अनुमति दिइएको उनले उल्लेख गरे । उनका अनुसार विशेष अदालतका अध्यक्ष सुर्यदर्शन भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले म्याद थप गरेको हो । उनीहरू विरुद्ध अख्तियारले ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर’मा छानबिनका निम्ति म्याद थप माग गरेको हो ।
देउवा दम्पत्तिको पत्र : २ महिनाभित्र नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्छौं
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले आफूहरू दुई महिनाभित्र नेपाल फर्किने र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा दम्पत्तिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्र पठाउँदै हाल उपचारका क्रममा विदेशमा रहे पनि साउन २८ गतेभित्र स्वदेश फर्किने जानकारी दिएका हुन् । साथै, आफूहरू अनुसन्धानबाट भाग्न वा कानुनी प्रक्रियालाई प्रभावित पार्न खोजेको भन्ने प्रचार निराधार रहेको दाबी पनि गरेका छन् । ललितपुरको पुल्चोकस्थित विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा २०८२ भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी समूहले प्रवेश गरी ज्यान लिन खोजेको, घरभित्र लुटपाट गरेको तथा भवनमा आगजनी गरेको उल्लेख गरिएको छ । देउवा दम्पत्तिले नेपाली सेनाको उद्धारका कारण मात्रै आफूहरू ज्यान जोगाउन सफल भएको दाबी गरेका छन् । उक्त घटनापछि लामो समय सैनिक अस्पताल तथा विदेशमा उपचार गराइरहेको अवस्थामा आफूहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको उनीहरूको भनाइ छ । घरमा नगद जलेको भन्ने दाबी गलत पत्रमा विभागकै अनुसन्धान टोलीले गरेको स्थलगत निरीक्षणको उल्लेख गर्दै निवासमा आगजनीका क्रममा ठूलो परिमाणमा नगद वा बहुमूल्य सामग्री जलेर नष्ट भएको भन्ने दाबी तथ्यहीन रहेको जिकिर गरिएको छ । उनीहरूका अनुसार विभागका उपमहानिर्देशक निर्मल ढकालको संयोजकत्वमा गठित टोलीले घटनास्थलमा पुगेर खानतलासी गर्दा कुनै पनि नगद रकम वा बहुमूल्य वस्तु जलेको प्रमाण फेला पारेको थिएन । देउवाका नातेदार रामबहादुर देउवाको रोहबरमा तयार पारिएको खानतलासी मुचुल्काले पनि घरका विभिन्न तला, जलेका धातु तथा कागजातहरूको निरीक्षण गर्दा नगद वा बहुमूल्य वस्तु नष्ट भएको पुष्टि नगरेको उनीहरूको दाबी छ । यही आधारमा आफूहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै औचित्य नरहेको तर्क पत्रमा गरिएको छ । पूर्वाग्रहपूर्ण प्रचार देउवा दम्पत्तिले आफूहरू लामो समयदेखि सार्वजनिक जीवनमा सक्रिय रहेको, कानुनअनुसार नियमित रूपमा सम्पत्ति विवरण बुझाउँदै आएको र राज्यका उच्च जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई पूर्वाग्रहका आधारमा लक्षित गरिएको गुनासो गरेका छन् । उनीहरूले आफूहरू उपचारका लागि विदेशमा रहेको अवस्थालाई बहाना बनाएर इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको जानकारी कानुन व्यवसायीहरूबाट प्राप्त भएको उल्लेख गर्दै त्यसप्रति समेत आपत्ति जनाएका छन् । पत्रमा सर्वोच्च अदालतबाट यसअघि नै अन्तरिम आदेश जारी भइसकेको अवस्थामा आफूहरूविरुद्ध पक्राउ अनुमति लिनुपर्ने कुनै संवैधानिक वा कानुनी आधार नरहेको दाबी गरिएको छ । पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीजस्ता जिम्मेवार राजनीतिक पद सम्हालिसकेका व्यक्तिका रूपमा आफूहरूको अनुसन्धान रोक्ने वा कानुनी प्रक्रियाबाट बच्ने कुनै उद्देश्य नरहेको देउवा दम्पत्तिले स्पष्ट पारेका छन् । ‘पारदर्शी र निष्पक्ष अनुसन्धानमार्फत आफ्नो निर्दोषिता प्रमाणित गर्न हामी तयार छौं,’ पत्रमा उल्लेख छ । हाल स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने अवस्था रहेको जनाउँदै उनीहरूले आजको मितिले दुई महिनाभित्र नेपाल फर्किएपछि विभागलाई जानकारी गराई अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
काठमाडौं । केही मानिसलाई लामखुट्टेले बारम्बार टोक्ने, अरूलाई भने लगभग बेवास्ता गर्ने अनुभव केवल संयोग नभई, बरु शरीरबाट निस्कने गन्ध, सास र तापक्रमको जटिल रासायनिक सङ्केतहरूको परिणाम भएको वैज्ञानिकहरूले बताउन थालेका छन् । यस विषयमा हालका अनुसन्धानहरूले किन केही मानिसहरू लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् भन्ने बुझाइलाई अझ स्पष्ट बनाउँदै लगेका छन् । फ्रान्सको इन्स्टिच्युट अफ रिसर्च फर डेभलपमेन्टका मेडिकल एन्टोमोलोजिस्ट फ्रेडरिक सिमार्डका अनुसार लामखुट्टेले सबै मानिसलाई समान रूपमा प्रतिक्रिया दिँदैनन् । उनले भने, 'यो गलत धारणा होइन कि लामखुट्टे केही मानिसतर्फ बढी आकर्षित हुन्छ, तर सबै समय सबै मानिस चुम्बक हुँदैनन् ।' वैज्ञानिकहरूका अनुसार लामखुट्टेले मुख्य रूपमा तीन प्रमुख सङ्केतमार्फत मानिसलाई छान्छन्—हामीले सास फेर्दा निस्कने कार्बन डाइअक्साइड, शरीरबाट आउने गन्ध र शरीरको तापक्रम तथा आद्र्रता । यी सङ्केतहरूलाई महिला लामखुट्टेहरूले अत्यन्त संवेदनशील रूपमा पहिचान गर्छन्, किनकि रगत चुस्ने कार्य केवल तिनीहरूले मात्र गर्छन् । स्विडेनका अनुसन्धानकर्ता रिकार्ड इग्नेलका अनुसार लामखुट्टेहरूले कार्बन डाइअक्साइडलाई सयौँ वर्षदेखि पहिलो सङ्केतका रूपमा प्रयोग गर्दै आएका छन् । उनका अनुसार दर्जनौँ मिटर टाढाबाटै लामखुट्टेले मानिसको सासको सङ्केत पत्ता लगाउन सक्छन् र नजिकिँदै जाँदा शरीरको गन्धसँग यसको प्रभाव अझ बढ्छ । करिब १० मिटरको दूरीमा पुगेपछि लामखुट्टेले शरीरबाट निस्कने गन्ध पहिचान गर्न थाल्छन् । यसमा कार्बन डाइअक्साइडसँगै अन्य रासायनिक सङ्केतहरूको मिश्रणले उनीहरूलाई अझ आकर्षित बनाउँछ । अझ नजिकिँदा शरीरको तापक्रम र पसिनाको आद्र्रताले पनि आकर्षण बढाउने भूमिका खेल्छ । केही प्रचलित विश्वासहरू भने वैज्ञानिक रूपमा पुष्टि नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । लामखुट्टेले निश्चित रगत समूहलाई रुचाउँछन् भन्ने दाबीको कुनै ठोस वैज्ञानिक आधार नभएको सिमार्डले बताए । उनका अनुसार यस्ता निष्कर्षहरू सीमित अध्ययनमा आधारित छन् र पर्याप्त प्रमाण छैनन् । त्यस्तै, छाला, आँखाको रङ वा कपालको रङसँग लामखुट्टेको आकर्षणको कुनै सम्बन्ध नरहेको पनि वैज्ञानिकहरूले स्पष्ट पारेका छन् । यसको विपरीत, शरीरको गन्ध निर्धारण गर्ने सूक्ष्म जैविक तत्त्वहरू सबैभन्दा महत्त्वपूर्ण कारकका रूपमा देखिएका छन् । अनुसन्धानअनुसार मानव छालाबाट ३०० देखि एक हजारसम्म फरक गन्धयुक्त रासायनिक यौगिकहरू निस्किन्छन् । तीमध्ये केही यौगिकहरूको संयोजनले केही व्यक्तिहरूलाई लामखुट्टेका लागि विशेष रूपमा आकर्षक बनाउँछ । हालै इग्नेल नेतृत्वको अध्ययनमा एडीज इजिप्टी लामखुट्टे प्रयोगशालामा ४२ जना महिलामा परीक्षण गरिएको थियो । यस अध्ययनले लामखुट्टेले गन्धयुक्त यौगिकहरूको मिश्रण प्रयोग गरेर आफ्नो लक्ष्य छान्ने गरेको देखाएको थियो, जसमा एक हजार सम्भावित यौगिकमध्ये करिब २७ वटा पहिचान गरिएका छन् । विशेषगरी छालाको तेल सेबमको विघटनबाट बन्ने केही रसायनहरू लामखुट्टे आकर्षणसँग जोडिएका छन् । ‘१–अक्टेन–३–ओएल’ अर्थात् ‘मशरूम अल्कोहल’ नामक यौगिकको सानो मात्राको परिवर्तनले पनि आकर्षणमा उल्लेखनीय फरक पार्ने देखिएको इग्नेलले बताए । अनुसन्धानले गर्भवतीमा पनि लामखुट्टेको आकर्षण बढी हुने सङ्केत दिएको छ, जसको कारण शरीरमा हुने जैविक रासायनिक परिवर्तनहरू मानिन्छन् । वैज्ञानिकहरूका अनुसार यस्ता सूक्ष्म परिवर्तनहरूले लामखुट्टेको व्यवहारमा ठूलो प्रभाव पार्न सक्छ । जीवनशैलीसँग सम्बन्धित केही तत्त्वहरूले पनि लामखुट्टेको आकर्षण बढाउने देखिएको छ । बियर सेवन गर्दा शरीरको तापक्रम बढ्ने, सासमा कार्बन डाइअक्साइड बढ्ने र छालाको गन्ध परिवर्तन हुने भएकाले लामखुट्टे बढी आकर्षित हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । बुर्किना फासोमा गरिएको परीक्षणमा बियर पिउने स्वयंसेवकहरूलाई लामखुट्टेले बढी आकर्षित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्समा सन् २०२३ मा गरिएको अध्ययनमा बियर सेवन गरेका व्यक्तिहरूलाई लामखुट्टेले करिब १.३५ गुणा बढी आकर्षण देखाएको पाइएको थियो । जलवायु परिवर्तनका कारण लामखुट्टे फैलिने क्षेत्र विस्तार हुँदै जाँदा यस विषयको महत्त्व अझ बढ्दै गएको छ । विशेषगरी डेङ्गु, पहेँलो ज्वरो र चिकनगुनिया जस्ता रोग फैलाउने लामखुट्टे नयाँ क्षेत्रमा पुगिरहेका छन्, जसले सार्वजनिक स्वास्थ्य जोखिम बढाएको छ । फ्रान्समा समेत पछिल्ला वर्षहरूमा चिकनगुनिया फैलाउने बाघ लामखुट्टे उत्तरतर्फ फैलिएको पाइएको छ, जसले वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको ध्यान खिचेको छ । लामखुट्टेको टोकाइबाट जोगिनका लागि वैज्ञानिकहरूले ढिलो–ढाकिने कपडा लगाउने, लामखुट्टे जाली प्रयोग गर्ने र प्रभावकारी विकर्षक प्रयोग गर्ने सुझाव दिएका छन् । साथै, जीवनशैलीमा पनि ध्यान दिन—हल्का खाना खाने र मदिरा सेवन कम गर्न—उनीहरूले सल्लाह दिएका छन् । रासस
कामना सेवा विकास बैंकद्वारा बुटवलमा विद्यार्थीलाई स्कुल ब्याग वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बुटवलमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल शाखामार्फत बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरिएको हो । कार्यक्रमका अवसरमा बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बालबालिकाहरूको प्रारम्भिक शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै सहयोग प्रदान गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा शिविर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकले जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा शिविर आयोजना गरेको जनाएको छ । जिल्ला अस्पताल खलङ्गामा सञ्चालन गरिएको शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३ सय २४ जनाले सेवा लिएका थिए । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले विशेषज्ञ सेवा प्रदान गरेको थियो । सहभागीहरूलाई निःशुल्क आँखा परीक्षण, परामर्श, आवश्यक औषधी तथा चश्मा वितरण गरिएको बैंकले जनाएको छ । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये मोतियाबिन्दुको शल्यक्रिया आवश्यक पर्नेहरूका लागि बैंकले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाउने जनाएको छ । कार्यक्रममा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, गोरखा र जुम्लामा सेवा सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखा र जुम्लामा नयाँ शाखा विस्तार गर्दै सेवा सञ्जाल थप विस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा जेठ २६ गतेदेखि नै शाखा कार्यालय सञ्चालनमा आइसकेको छ । यी शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले कर्जा तथा निक्षेप सेवासँगै एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।
निःशुल्क स्वास्थ्य पोर्टलबाट १२ सय बढी विपन्न लाभान्वित
काठमाडौं । सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको संख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि अस्पतालका निःशुल्क शैय्यासम्बन्धी सूचना दिने अनलाइन प्रणाली ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन् । पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन् । सो सङ्ख्याको १० प्रतिशत अर्थात् दुई हजार ३५६ शैय्या पूर्णतः निःशुल्क उपलब्ध छन्। उपलब्ध कुल निःशुल्क शैय्यामध्ये हाल ३५४ शैय्यामा बिरामी छन् । यसरी तत्काल दुई हजार दुई शैय्या निःशुल्क उपलब्ध छन् । पोर्टलमा देशभर तत्काल उपलब्ध शैय्या सङ्ख्या, त्यसको १० प्रतिशतले हुन आउने निःशुल्क शैय्या, हाल प्रयोग भइरहेको निःशुल्क शैय्या र बाँकी रहेको निःशुल्क शैय्या सङ्ख्याको अद्यावधिक जानकारी हुन्छ । मन्त्रालयले पोर्टलमार्फत अस्पतालहरूमा उपलब्ध हुने अन्य सेवाहरूको अद्यावधिक जानकारी समेत उपलब्ध गराउने तयारी गरेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधान र कानुनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निःशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताइन् । उनले भनिन्, ‘यसो नगर्दा लक्षित बर्गले अस्पतालले चाहँदा पाउने नत्र निःशुल्क स्वास्थ्य सुविधा नपाउने अवस्था थियो, त्यसैले विपन्न वर्गका पक्षमा स्वास्थ्य पोर्टल सुरु गरेका हौं ।’ नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने व्यवस्था छ । साथै नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० घ मा ‘अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने’ भन्ने व्यवस्था छ । त्यसको कार्यान्वयनको लागि अस्पतालहरूमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिए । उनले भने, ‘विगतमा कार्यविधि नहुँदा के के कुरा निःशुल्क हुने भन्नेमा अन्योल थियो । कार्यविधि बनेपछि सबै पक्षलाई सहज भएको छ । स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले १० अस्पतालमा लक्षित वर्गका लागि १० शैय्या अनिवार्य छुट्टयाइएको हुनुपर्ने, ती शैय्यामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क दिनुपर्ने र निःशुल्क शैय्यासम्बन्धी सम्पूर्ण जानकारी निःशुल्क पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्नेगरी राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले विपन्न वर्ष लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि छ वटा समिति गठन गरी देशका ११ वटा सङ्घीय अस्पतालमा खटाएको जनाएको छ ।
आइएमएस ग्राहकका लागि इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक
काठमाडौं । इसेवा र आइएमएसले ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही/लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुनेछ । यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै व्यवसायीहरूलाई अझै छिटो, अझै सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ। ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले चेकमा आधारित कारोबारमाथिको निर्भरतालाई कम गर्दै र म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समयलाई बचाएर भुक्तानी प्रणालीलाई अझ सरल बनाउन मद्दत गर्दछ । ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ मार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छन् । हाल भएकै प्रणालीहरूबाटै सिधै भुक्तानी गर्न सम्भव हुने हुनाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले उल्लेखनीय समय बचत गर्न, सञ्चालन जटिलताहरू कम गर्दै आफ्नो मुख्य व्यावसायिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सक्दछन् । इसेवा र आइएमएसको यो सहकार्यले व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने र संस्थाहरूलाई डिजिटल रूपान्तरण अपनाउन सहयोग गर्ने दुई संस्थाहरूको साझा प्रतिबद्धतालाई झल्काउँदछ । इसेवा र आइएमएसले प्रविधिसँगै विभिन्न भुक्तानी क्षमतालाई एउटै कार्यप्रवाहमा समेट्दै, व्यवसायीहरूलाई अझ बढी सहजता, प्रभावकारी र आत्मविश्वासका साथ भुक्तानी व्यवस्थापन गर्न सहज बनाइरहेको छ । उद्यमीहरूका लागि व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल भुक्तानी अनुभव सिर्जना गर्ने इनोभेटिभ र भरपर्दो सोलुसन्स उपलब्ध गराउने लक्ष्यमा इसेवा र आइएमएस दुवै सक्रीय रहिआएका छन् ।