विकासन्युज

मधेस प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको  राष्ट्रियसभा  सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म ३०० भन्दाबढीले मतदान गरेका छन् ।      राष्ट्रियसभाको चार वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता रहेका छन् ।       राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव,  उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन् । आइतबार बिहान ९ः०० बजे सुरु भएको मतदानको समय अपराह्न ३ः०० बजे सम्पन्न हुनेछ । 

काठमाडौं-२ मा रास्वपा र एमालेबीच टक्कर हुने निश्चित, यस्तो छ मत विश्लेषण

काठमाडौं । राजधानीको केन्द्रमा पर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ आगामी आमनिर्वाचनसँगै पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोका साथ हेरिएको यो क्षेत्र यसपटक पनि पुराना प्रतिस्पर्धी र नयाँ उम्मेदवारका कारण चर्चामा छ ।  २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले १५ हजार २२९ मत प्राप्त गर्दै विजयी भएकी थिइन् । उनलाई निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्दै टक्कर दिएका थिए । तेस्रो बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी थिइन् ।  अघिल्लो निर्वाचनमा तीन प्रमुख उम्मेदवारबीचको मतान्तर न्यून रहँदा काठमाडौं-२ लाई त्रिकोणात्मक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरिएको थियो । स्थानीय राजनीतिक कार्यकर्ताहरू अहिले पनि अवस्था त्यहीँ रहेको बताउँछन् ।  पुरानै उम्मेदवार, नयाँ रणनीति यसपटकको निर्वाचनमा नेकपा एमाले र राप्रपाले अघिल्लो निर्वाचनकै उम्मेदवारलाई दोहोर्‍याएका छन् । एमालेबाट पुनः उम्मेदवार बनेका फुयाँल र राप्रपाबाट पोखरेलले अघिल्लो चुनावको मत परिणामलाई आफ्नो बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका छन् । दुवै दलका नेताहरूले २०७९ को निर्वाचनमा प्राप्त मत संख्या विजयको नजिक रहेको दाबी गर्दै यसपटक परिणाम उल्टिने विश्वास व्यक्त गरेका छन् । एमाले नेताहरुका अनुसार काठमाडौं-२ मा पार्टी संगठन सुदृढ हुँदै गएको छ ।  एमाले नेता राजेश कट्टेल भन्छन्, ‘अघिल्लो चुनावमा मत विभाजनका कारण पराजय भोग्नुप‍र्‍यो, यसपटक मतदाताको धार स्पष्ट छ,’ कट्टेलले भने, ‘पार्टी संगठनसँगै उमेदवारको व्यक्तित्वका कारण पनि एमालेले निर्वाचन जित्ने आधार बनेको छ ।’ राप्रपाले पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा राजधानीमा थप लोकप्रिय हुँदै गएको दाबी गर्दै आएको छ । पोखरेलले अघिल्लो निर्वाचनमा पाएको मतलाई आधार मानेर यसपटक जित सम्भव रहेको बताउँदै आएकी छन् । तर, स्थानीय कांग्रेस नेता कुमुदा नेपाल २०७९ को आम निर्वाचनमा कांग्रेसको आन्तरिक असन्तुष्टिका कारण राप्रपाको मत राम्रो आएको बताउँछिन् । उनले भनिन्, ‘यस निर्वाचनमा हामी एक मना एकताका साथ भाग लिएका छौं, यसपटक राप्रपा यस क्षेत्रको प्रतिस्पर्धी होइन,’ उनले भनिन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवारी नदिई माओवादीलाई समर्थन गरेको थियो । सो निर्णय पार्टीभित्रै विवादित बनेको थियो । यसपटक भने कांग्रेसले कविर शर्मालाई उम्मेदवार बनाएर एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस नेतृत्वको यो निर्णयलाई पार्टीको स्वतन्त्र पहिचान पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ ।  कांग्रेस कार्यकर्ताहरूले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण पार्टीको मताधार कमजोर देखिएको बताएका छन् । ‘काठमाडौं,२ कांग्रेसको कमजोर क्षेत्र होइन, तर गठबन्धनका कारण हाम्रो उपस्थिति ओझेलमा प¥यो,’ नेपालले भनिन् ।  कविर शर्मा स्थानीय विकास, सुशासन र लोकतान्त्रिक मूल्यको एजेन्डा लिएर मैदानमा उत्रिएको उनको भनाइ छ। २०७९ को निर्वाचनमा सोविता गौतमको जितसँगै काठमाडौं–२ रास्वपाको बलियो आधार मानिन थालिएको थियो । तर यसपटक पार्टीले सुनील केसीलाई उम्मेदवार बनाएको छ । केसी अघिल्लो निर्वाचनमा प्रदेशसभा ‘क’ मा राप्रपाबाट चुनाव जितेका व्यक्ति हुन् । उनको उम्मेदवारीले रास्वपाभित्रै पनि विभिन्न चर्चा र प्रश्न जन्माएको छ । रास्वपाका नेताहरू भने केसीको उम्मेदवारीलाई अनुभव र संगठन विस्तारको रणनीतिका रूपमा व्याख्या गर्छन् । तर स्थानीय मतदातामाझ भने पार्टीको पहिचान र निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ ।  स्थानीय भन्छन्- मुख्य भिडन्त एमाले-रास्वपाबीच काठमाडौं-२ का स्थानीय मतदाताहरूका अनुसार यसपटकको मुख्य प्रतिस्पर्धा एमाले र रास्वपाबीच हुने सम्भावना बढी छ । अघिल्लो निर्वाचनमा यी दुवै दलका उम्मेदवार नै विजेता र उपविजेता रहेका थिए । स्थानीय बुद्धिजीवी नारायण ज्ञवाली भन्छन्, ‘मत विभाजन भए पनि दुवैको आधार स्थिर देखिन्छ ।’ स्थानीय बासिन्दाहरूका अनुसार एमाले र रास्वपाका उम्मेदवार पुरानै भएकाले मतदातासँग परिचित छन् । कांग्रेस र राप्रपाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्था देखिन्छ । विशेषगरी नेपाली कांग्रेसले यस निर्वाचनमा राम्रो लय समायो भने राप्रपाको मत अधिकतम घट्छ । काठमाडौं–२ को निर्वाचनलाई पुरानो विचार र नयाँ विकल्पबीचको संघर्षका रूपमा पनि हेरिएको छ । एमाले र कांग्रेसले परम्परागत मतदातालाई समेट्ने प्रयास गरिरहेका छन् । त्यसमाथि कांग्रेसले गठबन्धनमुक्त राजनीति गरेर आफ्नो संगठन पुनर्जीवित गर्ने रणनीति लिएको छ । रास्वपा भने पुरानो जितलाई जोगाउने चुनौतीमा देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको मत परिणाम मतदाताको अन्तिम धारणा, उम्मेदवारको व्यक्तिगत प्रभाव र प्रचार अभियानको प्रभावकारितामा निर्भर रहनेछ । २०७९ मा मतान्तर थोरै भएकाले यसपटक सानो परिवर्तनले पनि नतिजा उल्टिन सक्ने ज्ञवालीको भनाइ छ । यस्तो थियो समानुपातिक परिणाम शंखरापुर नगरपालिकाका सबै वडा, कागेश्वरी नगरपालिकाका ४ देखि ९ नम्बरसम्मका वडा र काठमाडौं महानगरका ९ र ३२ नम्बर वडा रहेको यस क्षेत्रमा ८८ हजार ७१० मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा निर्वाचन २०७९ मा समानुपातिकतर्फ रास्वपा पहिलो दल भएको थियो । रास्वपालाई दुई हजार कम मतले राप्रपाले पछ्याएको थियो । २०७९ को मत परिणामअनुसार रास्वपाले १३ हजार ८७९ मत प्राप्त गरेको थियो भने राप्रपाले ११ हजार ८१६ मत प्राप्त गरेको थियो । तेस्रो, लोकप्रिय मत पाउने एमालेले ९ हजार ५१४ मत पाउँदा कांग्रेसले ७ हजार १६७ मतसहित पाँचौं स्थान प्राप्त गरेको थियो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२ यसपटक पनि अनिश्चित र रोचक प्रतिस्पर्धाको केन्द्रमा देखिएको छ । पुरानै उम्मेदवारको दोहोराइ, कांग्रेसको नयाँ उम्मेदवारी र रास्वपाको रणनीतिक परिवर्तनले चुनावी माहोल थप चर्किएको छ ।  रास्वपा नेता सुमन कार्की आफ्नो दलले लोकप्रिय उमेदवारलाई मैदानमा उठाएकोले रास्वपा नै जनमतबाट अनुमोदन हुने दाबी गर्छन् । कांग्रेसकी नेपालले पार्टी एकमना एकता सहित अगाडि बढेकोले कांग्रेसले अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने बताउँछिन् ।  त्यसैगरी, एमालेका कट्टेल सशक्त संगठन र प्रभावशाली उमेदवार एमालेको प्लस पोइन्ट हुने अपेक्षा गर्छन् । राप्रपाका धनराज मास्की अघिल्लो समानुपातिक मतले आफ्नो जित निश्चित रहेको बताउँछन् । तर स्थानीय राजनितिक विश्लेषकहरू भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो हुने दौडमा एमाले र रास्वपा देखिएको बताउँछन् ।  स्थानीयका अनु्सार एमाले र रास्वपाबीचको मुख्य भिडन्त हुने सम्भावना रहे पनि अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ । 

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगम : भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

काठमाडौं । नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ । अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रश्ताव आयाल निगमले प्रश्ताव गरेको छ ।  नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अमलेखगञ्ज–चितवन  पाइपलाइन परियोजना अघि बढेको जानकारी दिए । यो परियोजना अमलेखगञ्ज–चितवनको लम्बाइ करिव ६२ किलोमिटर हुनेछ भने भने क्षमता २ मिलियन मेट्रिक टन हुने उनले जानकारी दिए । यसको लागत तथा निर्माण भारतीय आयल कर्पोरेसनले भारत सरकारको अनुदानमा पाइपलाइन निर्माण गर्दैछ । दुई पाइपलाइनको कुल अनुमानित लागत करिव १५ अर्ब नेपाली रुपैयाँ हुनेछ । भट्टकाअनुसार चितवनको भण्डारण गृह भने नेपाल आयल निगमको आफ्नै बजेटबाट निर्माण हुँदैछ । जसमा करिब ८ अर्ब खर्च हुनेछ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइनसँग जोडिएर पेट्रोल, डिजेल जस्ता इन्धन चितवनसम्म पाइपबाटै पुर्याइनेछ । यस्तै सिलगुढी–झापा पाइपलाइन परियोजना करिव ५० किलोमिटरको हुनेछ । यसको लागत करिब ९ अर्ब नेपाली रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । भट्टका अनुसार निर्माण आइओसीले अनुदानमा पाइपलाइन र झापामा भण्डारण टर्मिनल निर्माण गर्नेछ । यो पनि २०२४ अक्टोबरमा नेपाल–भारतबीच फ्रेमवर्क सम्झौतापछि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । कुल दुई परियोजनाको लागत करिब १५–१६ अर्ब भारतीय पक्षबाट खर्च हुनेछ । यसले कोशी प्रदेशको इन्धन माग पूरा गर्नेछ र ढुवानी खर्च घटाउने छ । न्कार्यकारी निर्देशक भट्टले भने– ‘अमलेशगञ्जदेखि चितवनसम्मको करिव १५ अर्ब पाइपलाइन र भण्डारण गृह निर्माण बन्दैछ । सो पाइपलाइन ६२ किलोमिटरको बन्नेछ । भण्डारण गृह ९१.८ मिलियन  मेक्ट्रिटन क्षमताको हुनेछ । सिलगुढी झापासम्म पाइपलाइन प्रजोक्टको लागत ९ अर्बको छ । सिलगुढी झापासम्म पाइपलाइन र झापामा बन्ने भण्डारण गृह, अमलेशगंजदेखि चितवनसम्मको पाइपलाइन इण्डियन आयल कर्पोरेशनले बनाइदिर्दैछ ।’ पाइपलाइनबाट भारतबाट ग्यास ल्याउने तयारी मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन प्रश्ताव हाल ट्रक/बुलेटबाट भारतबाट आयात हुने एलपीजी ग्यासको ढुवानीमा वार्षिक करिब ६ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन मुख्य रूपमा भारतीय ढुवानीकर्तालाई जाने गरेको छ । यो रकम वचत गर्न र आपूर्ति सहज बनाउन नेपाल आयाल निगमले पाइपलाइनबाटै ग्यास नेपाल ल्याउने तयारी गरेको कार्यकारी निर्देशक भट्टले बताए ।  उनकाअनुसार भारतको मोतिहारीदेखि सर्लाहीसम्म पाइपलाइन निर्माण गर्ने योजना बनिसकेको छ । त्यहाँ २० दिन बढीको भण्डारण गृह राख्ने बनाइनेछ । नेपाली बुलेटबाट उद्योग तथा बोटलिङ प्लान्टमा वितरण गर्ने योजना छ । उक्त परियोजनाको लागत प्रारम्भिक अनुमानअनुसार करिव १२ अर्ब रुपैयाँको रहेको छ । यो बनिसकेपछि ढुवानी भाडा धेरै कम हुने, नेपालमै रकम वचत हुने ग्यास सस्तो पर्ने, सिजनमा ग्यासको अभाव हट्ने र वितरण सहज हुने भट्टले जानकारी दिए ।   उनकाअनुसार यो परियोजना अझै प्रस्ताव चरणमा छ । नेपाल आयल निगमले भारत सरकारसँग अनुदानमा निर्माण गर्न प्रस्ताव गरिरहेको छ । तर हालसम्म ठोस प्रतिक्रिया आएको छैन । वित्तीय ढाँचा पूर्ण तयार नभएकाले विस्तृत अध्ययन पछि मात्र यकिन लागत र कार्यान्वयन थाहा हुनेछ ।  कार्यकारी निर्देशक भट्टले भने–‘अहिले एलपीजी ग्यासलाई भारतको ढुवानीकर्ताहरुमार्फत उनीहरुको ५/६ सय बुलेट प्रयोग गरेर नेपालमा ग्यास सप्लाइ भइरहेको छ । वार्षिक रुपमा ६ अर्ब नेपालले ढुवानी भाडामा खर्च गर्ने गरेको छ । यो रकम सबै भारतीय ढुवानीकर्ताहरुलाई जाने गरेको छ । नेपालीहरुको बुलेट नभएको कारणले सबै भारतीय ढुवानीकर्ता, सवारी प्रयोग गरेका छौँ । यो रकम बचाउनका लागि पाइपलाइनमार्फत ग्यास ल्याउन मोतिहारी देखि सर्लाहीसम्म पाइपलाइन ल्याएर त्यहाँ १५–२० दिनलाई पुग्ने ठूलो भण्डारण गृह राख्ने र यहीबाट नेपाली बुलेटमार्फत उद्योगहरुमा वितरण गर्ने योजना छ ।’ उनकाअनुसार यो परियोजनालाई अनुदानमा बनाइदिन भारत सरकारसँग आयल निगमले गरेको प्रश्तावमा भारतबाट प्रतिक्रिया आएपछि काम अघि बढ्नेछ । भारत तयार नभए नेपालले आफैँ यो परियोजनालाई अघि बढाउन सक्षम रहेको समेत भट्टले जानकारी दिए ।       

राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।       आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आइतबार बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।        अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।      रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।      कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।      यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ ।      राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।   

इसेवा १७औँ वर्षमा प्रवेश, सुरक्षित र भरपर्दो सेवामा प्रतिबद्ध

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी सन् २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७औँ वर्षमा प्रवेश गरेको हो । ‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा आफूलाई विकास गर्दै आएको छ । हाल इसेवाले टपअप, युटिलिटी बिल भुक्तानी, हवाई टिकट, होटल बुकिङ, बिमा खरिद, चलचित्र टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्दै हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ । १७औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज तथा सबै सरोकारवालासँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारमार्फत समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताए । त्यसैगरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपाली कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको उल्लेख गरे । 'आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ,' खड्काले भने । इसेवाले आफ्नो १७ वर्षे यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा तथा वित्तीय समावेशितालाई मूल लक्ष्यका रूपमा अघि बढाउँदै आएको छ । प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत सबै वर्गको डिजिटल अर्थतन्त्रमा सहभागिता बढाउने, प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउने र डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्याउने प्रतिबद्धता इसेवाले व्यक्त गरेको छ ।  

पर्वतमा आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।      यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर,  पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।      पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् ।    

भोजपुरमा अवैध रूपमा काटिएको ५ लाखको खयरको काठ बरामद

भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।      वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको रुख काटी काठ सङ्कलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँले जानकारी दिए ।      बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको जनाउँदै उनले यसको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको उनले बताए । उनका अनुसार दुर्गम तथा भौगोलिक रूपमा अप्ठ्यारो स्थानबाट फेला परेकाले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको छ ।      'निकासीका उद्देश्यले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेका छौँ', प्रमुख मियाँले भने, 'करिब ५०० क्युफिट काठ फेला परेको छ । यस विषयमा आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको छ । कर्मचारी निरन्तर रूपमा घटनास्थलमा खटिएर प्रमाण सङ्कलन गरिरहेका छन् ।'      डिभिजन वन कार्यालयका अनुसार हाल काठका वास्तविक धनी तथा अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । अनुसन्धान सम्पन्न भएपछि संलग्नलाई प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।       विशेषगरी दुर्गम बस्ती, खोला किनार र सीमावर्ती क्षेत्रलाई लक्षित गरी अवैध काठ निकासी हुने गरेको सूचनाका आधारमा नियमित अनुगमन, गस्ती तथा आकस्मिक निरीक्षणलाई तीव्र बनाइएको छ ।      वन तथा वनजन्य सामग्रीको अवैध कारोबारले वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्नुका साथै राज्यलाई ठूलो आर्थिक क्षति हुने भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । यस किसिमका अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा जनसमुदायसँग समन्वय भइरहेको प्रमुख मियाँले बताए ।      अवैध रूपमा बाहिर निकासी हुन लागेको काठ समयमै बरामद हुनु वन कार्यालयको महत्वपूर्ण सफलता भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यस्ता कार्यले अवैध कारोबारमा संलग्नलाई निरुत्साहित गर्नुका साथै वन संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । वन संरक्षणमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने भएकाले अवैध गतिविधिबारे सूचना दिन सबैलाई आग्रहसमेत गरिएको छ । रासस   

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

काठमाडौं । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आइतबार सातवटै प्रदेशमा मतदान शुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो ।  मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आइतबार मतदान हुनेछ ।  मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबीच प्रतिष्पर्धा छ । प्रमुख दलहरुबीचको गठबन्धनका कारण काँग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ ।  काँग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण र लोसपाका उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर रहेका छन् । राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ ।