विकासन्युज

पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड

काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स समिट २०८३ तथा डिलर मिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नारालाई आत्मसाथ गर्र्र्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथामिकता दिनु पर्ने आवश्यकता औल्याइएको थियो ।  पैचो पसल प्रालिका प्रवन्ध निर्देशक धुब्रराज न्यौपानले स्वदेशी उत्पादन प्रति उपभोक्ताको रोजाई बढ् गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिदाँ उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने ‘कृषि सम्बधी उद्योगमा लगानी निकै कम छ ।  कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट समेत बिस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्धनको लागि वातावरण बनाउनु पर्छ ।’ पैचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानले पछिल्लो समय नेपाली उत्पादनले बिदेशी उत्पादनसंग प्रतिप्रर्धा गर्न सक्षम भएको बताए । उनले भने, राज्यले अझै पनि कृषि उद्योगलाई प्राथामिकता दिन नसक्दा अर्बाैको कृषि उत्पादन आयात भइरहेको छ ।  त्यसलाई रोक्न र ग्रामिण अर्थतन्त्रलाई अगाडी बढाउनका लागि पैचोले गाँउमै उद्योग खोलेर बजार बिस्तार गरिरहेको बताए ।  पैचो पसल प्रालिका बजार बिभाग प्रमुख लक्ष्मण गैरले भने ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडी बढाउने छ ।  बजारमा प्रतिपर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमको साथमा पैचोले काम गरिरहेको छ  ।’ स्वदेश तथा बिदेशमा रहेका उपभोक्तालाई सहज रुपमा पैचोका गुणस्तरिय उत्पादनलाई पु¥याउने काम मार्केटिङ बिभागले गरिरहेको उनले बताए ।  कार्यक्रममा पैचो पसल प्रा.लि.को बजार विभागमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान-२०८२’ द्वारा रिजलन म्यानेजर तर्फबाट संगम पोखरेल, ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान-२०८२’ हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ठ डिएसआर सम्मान-२०८२’ मा रञ्जिता राउत, बिक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए ।  डिलरहरूले पैचोसंग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरुले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले गर्नु पर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए ।  पैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत सय भन्दाबढी वस्तु उत्पादन गर्दै आएको छ ।

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनको अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।  त्रिविको अध्ययन  बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक/कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ । यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो ।  विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । तर केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाई छ । त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकहरूले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।    

एबीसी पदमार्गमा बिजुली पुग्यो, पर्यटक र व्यवसायी उत्साहित

कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो । कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन् । अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आएका जगदीश गुरुङले भने 'यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो । अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ ।' उनका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६०(७० होटल सञ्चालनमा आइसकेका छन् । अन्नपूर्ण ११ छोम्रोङका मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गरे । राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा सहज पहुँच पाउने भएका छन् । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । उनले भने, 'घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन् ।' यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो । पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो । बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो । दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो । विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ । 'पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्', इन्जिनियर रम्तेलले भने । प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ । सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ । स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । 'पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ', गुरुङले भने । विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ । यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन् । रासस

दरवाङ–फूलबारी सडक स्तरोन्नति सम्पन्न, स्थानीयलाई सहज यातायात

म्याग्दी । म्याग्दीकाे मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । २०६६ सालमा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरेको आयोजना लक्ष्यअघि नै सम्पन्न भएको हो । मार्ग खुलेदेखि हालसम्म यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आवमा एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार ४३२ मा गत २६ माघमा ठेक्का सम्झौता गरेको थियो । आगामी १५ असारसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा १५ दिनअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले लिएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए । तीन दशमलव पाँचदेखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ । फराकिलो पारेपछि करिब ५ सय मिटर दूरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण गरिएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए । 'यस आयोजनामार्फत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्याबियन जालीको पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गर्ने सम्झौता भएको थियो', उनले भने, 'प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकनको चरणमा रहेको छ ।' यसअघिको वर्षमा थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिका–४, २, र ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आवको प्राथमिकताप्राप्त आयोजना भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताए । रासस

नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौं । नेपालको औषधि उत्पादन कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ ।  युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो । उनी नेपाल औषधि उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुन् ।  एमडी फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ । यो दम, निमोनियासहित फोक्सोका रोगीहरूका उपचारमा प्रयोग गरिन्छ । सो औषधि कम्पनीले औषधि अनुसन्धान र विकासमा अग्रणी भूमिकासमेत निर्वाह गरिराखेको छ । प्रमुख कार्यकारी अधिकृत दाहालले भने, 'युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा स्थापित ‘क्वालिटी अचिभमेन्ट अवार्ड नेपाली औषधि कम्पनीले प्राप्त गर्नु गौरवको विषय हो ।' सो कम्पनीले पशु तथा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ । 

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए । ‘सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ । सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ,’ उनले भने ।  नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत २ हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।  आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) सङ्कलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको दाबी गरे । आयोजनाले नागढुङ्गा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार लगायतको जिम्मेवारी पाएको छ । आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले सङ्कलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ । सो बोलपत्रमा १० वटा कम्पनीको आवेदन परेको थियो । कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा सञ्चालन गर्नेछन् ।  ‘सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन् । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको ‘पिकआवर’मा एकैपटक ४० कर्मचारी खटिनेछन्,’ उनले भने, ‘अहिले सुरुङमार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखेका छौँ ।’ आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसेनाका हुँदै दैनिक औसतमा २ पाङ्ग्रेबाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन । यस्तो छ सुरुङमार्गबाट सवारी गुडाउँदाको शुल्क वि.सं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।  कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर÷ ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौंबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको शानदार जित

काठमाडौं ।  विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको छ  ।  अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको हो । कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाएका हुन् । मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । मेसी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । आजको खेलसँगै ६ वटा फरक-फरक विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्ने रेकर्ड पनि उनैले राखे । अर्जेन्टिना २०२२ को विश्वकप विजेतासमेत हो ।

मेसीको पहिलो विश्वकप ह्याट्रिक

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।  मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो ।  अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।