विकासन्युज

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए । ‘सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ । सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ,’ उनले भने ।  नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत २ हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।  आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) सङ्कलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको दाबी गरे । आयोजनाले नागढुङ्गा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार लगायतको जिम्मेवारी पाएको छ । आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले सङ्कलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ । सो बोलपत्रमा १० वटा कम्पनीको आवेदन परेको थियो । कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा सञ्चालन गर्नेछन् ।  ‘सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन् । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको ‘पिकआवर’मा एकैपटक ४० कर्मचारी खटिनेछन्,’ उनले भने, ‘अहिले सुरुङमार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखेका छौँ ।’ आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसेनाका हुँदै दैनिक औसतमा २ पाङ्ग्रेबाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन । यस्तो छ सुरुङमार्गबाट सवारी गुडाउँदाको शुल्क वि.सं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।  कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर÷ ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौंबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको शानदार जित

काठमाडौं ।  विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको छ  ।  अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको हो । कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाएका हुन् । मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । मेसी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । आजको खेलसँगै ६ वटा फरक-फरक विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्ने रेकर्ड पनि उनैले राखे । अर्जेन्टिना २०२२ को विश्वकप विजेतासमेत हो ।

मेसीको पहिलो विश्वकप ह्याट्रिक

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।  मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो ।  अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।

गभर्नर पौडेलको दस्तखत रहेका ५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते)देखि ५ सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको उक्त नयाँ नोट साविककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका संकेत नम्बर भएका नोटहरू चलनचल्तीमा ल्याइएका हुन् । प्रत्येक अक्षर समूहमा ०००००१ देखि ९९९९९९ सम्मका नोट रहने व्यवस्था अनुसार करिब ३० लाख थान नयाँ ५०० रुपैयाँ नोट बजारमा आएको राष्ट्र बैंकले जनाएको छ । यसअघि २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका ५०० रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याइएको थियो । नयाँ नोटका विशेषता नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा सिरिज नम्बर २०८२ उल्लेख गरिएको छ । दृष्टिविहीनहरूले स्पर्श गरेर पहिचान गर्न सक्ने गरी पानी छापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र ढल्काउँदा र सीधा हेर्दा रंग परिवर्तन हुने कुबेरको चित्र राखिएको छ । नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो रहेको छ, जसले सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिन्छ। नोटको पछाडिको भागमा पाटे बाघको चित्रसहित नेपाली र अंग्रेजी लेखाइहरू समावेश छन् । राष्ट्र बैंकले नयाँ नोट सुरक्षा विशेषतासहित आधुनिक प्रविधिमा आधारित रहेको जनाएको छ । 

१० वटा सहकारी खारेज गर्दै कोशी सरकार

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले विभिन्न १० वटा सहकारी संस्था खारेज गर्ने भएको छ । कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारभित्रका विभिन्न सहकारी संस्थालाई खारेज गर्ने भएको हो ।  तोकिएको समयमा अद्यावधिक नभएका र स्थलगत अनुगमनमा समेत सञ्चालनमा नरहेको पाइएका संस्थालाई प्रदेश सहकारी ऐन, २०७६ (संशोधनसहित) को दफा ७३ अनुसार खारेज गर्न लागेको हो । साथै खारेज गर्नु अघि कार्यालयले १५ दिनको सफाइ पेश गर्ने अवसर दिएको छ । १५ दिनभित्र सम्पर्कमा नआए ती सहकारी संस्थालाई कानुनअनुसार खारेजी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा दर्ता भएका निष्क्रिय सहकारी संस्थाहरूमा मोफसल प्रकाशन सहकारी संस्था, कोशेली बचत तथा ऋण सहकारी, नवजागरण बहुउद्देश्यीय सहकारी संस्था, युवा कृषि सहकारी संस्था, निलकण्ठ कृषि सहकारी संस्था, आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था रहेका छन् ।  यस्तै, जब्दो महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था र तीनकुने महिला बचत तथा ऋण सहकारी संस्थालाई पनि सफाइ पेश गर्न अन्तिम मौका दिइएको छ । कार्यालयका अनुसार पटक-पटक सूचना दिँदा पनि संस्थाहरूले अद्यावधिक नगरेको, तथा अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि कडा कदम चाल्न बाध्य भएको हो । 

७ सहकारीलाई अन्तिम चेतावनी, जिम्मेवार व्यक्तिका सबै सार्वजनिक सेवा रोक्का हुँदै

काठमाडौं । विराटनगर महानगरपालिकाले निष्क्रिय तथा नियमनमा नआएका ७ सहकारी संस्थालाई सम्पर्कमा आउन निर्देशन दिएको छ । पटक-पटकको सूचना र समयसीमा अटेर गर्दै बेवास्ता गरेको भन्दै महानगरले अन्तिम पटक १५ दिने अल्टिमेटम जारी गरेको हो । महानगरले ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था, निलकमल बचत तथा ऋण सहकारी संस्था, युनिक बचत तथा ऋण सहकारी संस्था, शिवम् बचत तथा ऋण सहकारी संस्था, सामूहिक बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था र स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८० सहित) को दफा ५२ र ६७ अनुसार नियमनमा ल्याउने प्रयास गरिए पनि सम्बन्धित संस्थाहरूले तोकिएको समयसीमा र सूचनालाई बेवास्ता गरेको महानगरले जनाएको छ। महानगरका अनुसार यसअघि अवसर दिइए पनि कुनै पनि सहकारीले आवश्यक तदारूकता नदेखाएपछि कडा कदम चाल्नुपर्ने अवस्था आएको हो । महानगरले जारी गरेको सूचनामा तोकिएको १५ दिनभित्र सम्बन्धित सहकारी संस्थाहरू सम्पर्कमा नआए कानुनअनुसार थप कडा कारबाही अघि बढाइने स्पष्ट गरिएको छ। त्यसपछि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, व्यवस्थापक तथा अन्य जिम्मेवार व्यक्तिहरूको पहिचान गरी तीनपुस्ते विवरण सार्वजनिक गरिने उल्लेख छ । त्यस्तै, सहकारी संस्थाका चल-अचल सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाइने तथा महानगर र वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवा-सुविधा पूर्ण रूपमा रोक्का गरिने चेतावनीसमेत दिइएको छ ।  

अल्जेरियाविरुद्ध मेसीले गरे गोल

काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेसीले गोल गरेका छन् ।  उनले पहिलो हाफको १७ औं मिनेटमा गोल गरेका हुन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो ।  अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।

आज तराईमा तातो दिन, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।  यसैगरी  मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । त्यसैगरी आज राति देशको हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।  कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।