हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक दुगडको राजीनामा स्वीकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको सञ्चालक समितिको २६औं बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत गरेकाे हो । कम्पनीको संस्थापक समूहअन्तर्गत सञ्चालक पदमा रहेका दुगडले व्यक्तिगत व्यस्तताका कारण देखाएर असार ३१ गते राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ । संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए । प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।
विचौलियाहरूको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताए । युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको जानकारी दिए । यस्तै, उनले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताए । पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको जानकारी दिए । ‘हामी सरकार छोड्दा पनि तपाईंहरुले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्नसक्ने कुराहरु गर्दागर्दा विजेताको रुपमा बाहिर आयौँ, उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ’, उनले भने । अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गरे । उनले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताए । पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताए । जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीप्रति लक्षित गर्र्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताए । प्रतिगामी कदमको खतरा अझै रहेको बताए । उनले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गरे ।
नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । कम्पनीले देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठूला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकुल परिस्थितिमा सहयोग हुने गरी आर्थिक वर्ष २०८१/८२ का लागि नौलो किसिमको सेवा लिएर आएको बताएको छ । कम्पनीले विज्ञप्तिमार्फत मुलुकमा ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्यवस्थाहरूको बारेमा अधिकांश सञ्चालकलाई जानकारी नै नहुने गरेको बताएको छ । आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तव्यको जानकारी नहुँदा यी सबै काम गर्न पनि समय र खर्च अत्यधिक लागिरहेको कम्पनीले उल्लेख गरेको छ । मानिसलाई कुन सेवा कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन र स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू त झनै पिडित छन् भन्दै यस प्रकारका समस्याहरू समाधानका लागि एकद्वार प्रणालीबाट न्यूनतम शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरी एकद्वार प्रणाली सेवा ल्याएको विज्ञप्तिमा उल्लेख छ । यस्तै अब कम्पनी व्यवस्थापन गर्न, लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक तथा फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन पनि भौंतारिरहनु नपर्ने कम्पनीको भनाइ छ । कम्पनीले अन्य कम्पनीहरूलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउने पनि बताएको छ । यो सेवाबाट विशेषगरी साना र मझौला कम्पनीरू लाभान्वित हुने भन्दै समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा व्यवसाय वृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास कम्पनीले राखेको छ । नेपालमा अहिले ३ लाख २४ हजार १८६ प्राइभेट लिमिटेड र २ हजार ५३ वटा लिमिटेड कम्पनीहरू दर्ता छन् ।
काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान सञ्चालन
काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् । अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए ।
बेरोजगारी हटाउन साढे २ लाख वटा फलफूलका बिरुवा निःशुल्क वितरण
खोटाङ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो । जिल्लाका दश स्थानीय तहका स्थानीय बासिन्दालाई विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए । उनले भने, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यो जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।” डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधारलगायत कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि १८ लाख रुपैयाँ, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीन लाख रुपैयाँ, विद्यालय वातावरण सुधारका लागि पाँच लाख रुपैयाँ, अर्गेली विस्तार कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, कृषि वन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, कबुलियती वन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि पाँच लाख रुपैयाँ तथा खयरका बिरुवा उत्पादनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको वन कार्यालयका शाखा अधिकृत दीपेन्द्र मेहताले बताए । अब ३० हजार बिरुवा वितरण गर्न बाँकी छ । वन कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारालगायत बिरुवा उत्पादन गरेको छ । विद्यालय वातावरण सुधारका लागि १० विद्यालयलाई पाँच सय बिरुवा वितरण गरिएको छ । वन कार्यालयका अनुसार खयरका बिरुवा उत्पादन कार्यक्रमअन्तर्गत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण गरिएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा पहिलोपटक परीक्षणका लागि उत्पादन गरिएकोे छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार छ सय ३० बिरुवा वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको छ । अर्गेली व्यवस्थापन कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कृषि वन कार्यक्रमअन्तर्गत जन्तेढुङ्गाको चिसापानीमा दाँते ओखर, चिराइतो, टिमुर, बन्दाकोभीको बीउ वितरण एक हजार आठ सय चार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत दुई हजार चार सय बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । जडीबुटी व्यवस्थापन कार्यक्रमअन्तर्गत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्न तीन हजार एक सय तथा सामुदायिक वनमा रोप्न छ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी
भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् । स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लागेका उनले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको बताए । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् । उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् । व्यवसायका लागि हालसम्म एक करोड रुपैयाँ हाराहारीमा लगानी गरेको बताए । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन् । राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए । पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दुखेसो छ । आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनले बताए । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए । यसलाई विस्तार गर्ने उनको लक्ष्य छ । हाल उनले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताए । उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले सुनाए । खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन् । व्यवसायी श्रेष्ठले छ जनालाई रोजगारी पनि दिएका छन् । ‘कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने । रासस
यामाहा एरोक्स १५५ ले सम्पन्न गर्यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा
काठमाडौं । अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौं देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका थिए । एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।’ यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाई छ । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले बताएको हो ।