काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छन् ।
सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला मन्त्री राणाले सो अडान राखेकी हुन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन् ।
उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन् । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको जानकारी दिइन् ।
‘एउटा, दुईटा मन्त्रालय, परराष्ट्र मन्त्री, प्राइमिनिष्टरको भन्दा पनि सबैको इन्पुट लिएर जाँदा राम्रो हुन्छ होला । यही अनुरुप अहिलेको प्रधानमन्त्रीज्यूले पनि यसलाई व्यापक छलफलमा ल्याउनका लागि उहाँको पनि भुमिका हुन्छ होला । समितिले छलफल गरेर अनि कुन कुन कुरामा जाने भन्ने विषय अहिले पनि छलफलमा छ’, उनले भनिन् ।
मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताइन् । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उनको भनाइ थियो ।