नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो कर्जाको ब्याजदर
काकाठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले १० दिनमै हायर पर्चेज ईभी लोन र सेयर कर्जाको ब्याजदर घटाएको हो । बैंकले यी प्रकारका कर्जामा प्रिमियम दर घटाएको हो । बैंकका अनुसार हायर पर्चेज ईभी लोनमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । यसअघि बैंकले सोही कर्जामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने गरेको थियो । यस्तै सेयर मार्जिन लोनमा बैंकले १.५ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएको छ । यसअघि बैंकले सो कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम शुल्क लिने गरेको थियो । अन्य प्रकृतिका कर्जामा भने गत असार ३१ गते सार्वजनिक गरेको प्रिमियम दर नै लागू हुजे बैंकको भनाइ छ । बैंकको आधार दर ७.६९ प्रतिशत छ ।
पौवा ग्रुपले १ सय होटल सञ्चालन गर्ने, एक अर्ब लगानीका मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन
काठमाडौं । हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालिले १ अर्ब रुपैयाँ लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको हो । ‘जहाँबाट आतिथ्यको सुरूजात हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । पछिल्लो समय होटल, रिसोर्ट, तारे र चेन होटल धमाधम सञ्चालन भइरहेका छन् । यसैक्रममा प्रालीले होटल र रिसोर्टमा लगानी बढाएको र आगामी १० वर्षमा एक सय होटल पुर्याउने लक्ष्य लिएको भण्डारीको भनाइ छ । हाल नेपालगञ्जमा १ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको र निकट भविष्यमा आफ्नो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लैजाने कम्पनीको योजना रहेको उनले सुनाए । अध्यक्ष भण्डारीले नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पुर्याउनका लागि मिसन १०० को योजनासहित होटलमा लगानी विस्तार गरिएको बताए । ‘८ वर्षदेखि पर्यटन उद्योग विस्तार गर्नका लागि होटलमा लगानी गरिएको छ, काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य र सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर रिसोर्ट खोलेका हौँ,’ उनले भने । खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको सङ्गमस्थल भएकाले आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपालको अनुपम आतिथ्यता संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यसहित होटल पौवाले लगानी बढाएको बताए । पौवाले रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौंको गौशाला हुँदै पूर्वी क्षेत्रमा लगानी विस्तार गरेको हो । पौवाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको प्रबन्ध निर्देशक ज्ञवालीको भनाइ छ । उनकाअनुसार पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । त्यसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिनेगरी सेवा प्रवाह गरिरहेको छ ।
हिमालनय बैंकको बनेपा शाखा पनौती सारिँदै
काठमाडौं । हिमालयन बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले बनेपा शाखा पनौतीमा स्थानान्तरण गरेको हो । बैंकका अनुसार साविक सिभिल बैंकको काभ्रेको बनेपा नगरपालिका ८ बसपार्कस्थित बनेपा शाखा–२ स्थानान्तरण गरी पनौति नगरपालिका–७ बाट सञ्चालन गरिनेछ । बैंकले साउन १३ गतेदेखि शाखा स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा प्रवाह गर्नेछ । साविक स्थानबाट करि ६.२ किलोमिटर दक्षिणतिर सारिने बैंकको भनाइ छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूलाई स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा दिइरहेको छ । यसबाट ग्राहक महानुहरूमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
यी पाँच प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ । साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य देशको पनि बढ्यो
काठमाडौं । डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि सबै रेकर्ड तोड्दै बिहीबार डलरको मूल्य बिक्रीदर १३४.२६ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो बुधबार हालसम्मकै उच्च बिक्रीदर १३४.२१ रुपैयाँ र खरिददर १३३.६१ रुपैयाँ थियो । आज युरोपियन युरो एकको खरिददर १४४.८९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.५४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ तोकिएको छ । यसअघि हिजो बुधबार युरोपियन युरो एकको खरिददर १४५.१९ रुपैयाँ र बिक्रीदर १४५.८४ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.४८ रुपैयाँ र बिक्रीदर १७३.२५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.५१ रुपैयाँ र बिक्रीदर ८८.९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१२ रुपैयाँ र बिक्रीदर ९७.५६ रुपैयाँ थियो । यस्तै, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६० रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ थियो ।
सपोर्ट लघुवित्तको नाफामा ७५ प्रतिशत उछाल, एनपीएल पनि घटायो
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७५ प्रतिशत बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड २ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत बढेर १० करोड ८७ लाख ४६ हजार रुपैयाँ र सञ्चालन नाफा १९४.३८ प्रतिशत बढेर १ करोड ९७ लाख ९१ हजार रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १३ प्रतिशत बढेर १० करोड ७६ लाख १८ हजार रुपैयाँ र जगेडा कोष २६ प्रतिशत बढेर ५ करोड ३३ लाख २३ हजार रुपैयाँ सञ्चित छ । गत वर्ष लघुवित्तको सापटी १९.४१ प्रतिशत बढेर १ अर्ब २६ करोड ८० लाख रुपैयाँ, निक्षेप १५.१० प्रतिशत बढेर ३४ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी १४.१० प्रतिशत बढेर १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ गरेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ७.८५ रुपैयाँ बढेर २२.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९.५५ रुपैयाँ रहेको छ । यसअवधिमा लघुवित्तको खराब कर्जा ०.२० प्रतिशत घटेर १.६३ प्रतिशतमा झारेको छ ।
सौर्य एयरले हटाएको थियो तीन दर्जन कर्मचारी, नेपाली बैंकले नपत्याएपछि विदेशीलाई गुहार्दै थियो ऋण
काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका मालिक ठूलो आर्थिक संकटमा परेको विषय विकासन्युजले यसअघि पनि प्रकाशित गरिसकेको थियो । सौर्य एयरका अध्यक्ष दिपक पोखरेल आर्थिक संकटमा परेर व्यवाय नै अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको बुझिएको छ । जेट जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयर विगत दुई÷तीन वर्षदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको बुझिएको छ । मेडिकल व्यवसायीका रुपमा रहेका पोखरेल नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण नदिएपछि विदेशी कम्पनीसँग ऋण मागेका पनि बुझिएको छ । यसअघिको समाचार तयार पार्दा सौर्य एयरका उपमहाप्रबन्धक उमेश आचार्यले नेपाली बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुलाई नपत्याएको गुनासो गरेका थिए । जहाजको सञ्चालन खर्च महँगो भएपछि एटीआर जहाज ल्याउने तयारी थालिएको पनि उनले बताएका थिए । ‘अहिले हामीलाई नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराएका छैनन्, नेपाली बैंकबाट ऋण नपाएपछि हामीले अन्तर्राष्ट्रिय कम्पनी मार्फत नै ऋणमा एटीआर जहाज ल्याउने तयारी थालिसकेका छौँ ।’ निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीले समेत विदेशी कम्पनीसँग ऋण लिएको भन्दै सौर्यले त्यसको सिको गर्दै ऋण लिने तयारी गरेको थियो । तर, बैंकले ऋण नदिएको बुझिएको छ । अध्यक्ष पोखरेल अहिले भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक हुन् भने झापाका विभिन्न ठाउँमा चिया बगान समेत सञ्चालन गर्दै आएका छन् । खर्च धान्न नसकेपछि कर्मचारी कटौती तीन वर्षदेखि कम्पनी नोक्सानीमा सञ्चालित भएको भन्दै सौर्यले ३४ जना कर्मचारीलाई हटाएको पनि थियो । कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको थियो । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । ‘अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रो जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो,’ एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले भनेका थिए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको थियो । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भनेका थिए । स्रोतका अनुसार सौर्य एयर बन्द हुनेसम्मको हल्ला बजारमा चलेको थियो ।
गर्मीका कारण पाकिस्तानमा एक लाख बढी विद्यालय बन्द
काठमाडौं । उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा विद्यालयहरूको गृष्मकालीन बिदा दुई सातासम्म लम्बिने एक शिक्षा अधिकारीले बताएका छन् । यसबाट एक लाखभन्दा बढी विद्यालय प्रभावित हुनेछन् । जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । जलवायु परिवर्तनका कारण तातो लहर र धेरै पटक चल्ने लु चल्ने गर्छ र मनसुन भारी र लामो समयसम्म हुन्छ । सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले भने, ‘हामीले बालबालिकाको हितका लागि विद्यालयहरूलाई थप १४ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’ नियोजित विद्युत् कटौती अर्थात लोडसेडिङ पाकिस्तानमा जारी विद्युत् आपूर्ति सङ्कटको बारम्बार कारण बन्दछ । लोडसेडिङ सहरअनुसार फरक फरक हुन्छ तर सिन्ध प्रान्तका ग्रामीण क्षेत्रमा यो दिनमा १२ घन्टासम्म हुँदा विद्यालयहरू पङ्खाबिना सञ्चालन हुनुपरेको छ । ‘एक शिक्षिकाका रूपमा मलाई पाठ्यक्रम कसरी पूरा गर्न सक्छु भन्ने चिन्ता हुन्छ तर एक आमाका रूपमा म यो गर्मीमा विद्यालय जाने बालबालिकाका बारेमा चिन्तित छु,’ सार्वजनिक विद्यालयकी शिक्षिकाले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनिन्, ‘हामी गर्मीले मात्र नभई लोडसेडिङबाट चिन्तित छौँ ।’ सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ । सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो । मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो । संयुक्त राष्ट्रसङ्घ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन् । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा एक प्रतिशतभन्दा पनि कम योगदान गरे पनि हालका वर्षहरूमा बदलिँदो मौसमी ढाँचाका कारण पाकिस्तानले गम्भीर मौसमसम्बन्धी प्रकोपहरू भोगेको छ । एएफपी