विकासन्युज

बागमती प्रोस्कूनले मनायो चौंथो वार्षिकोत्सव, १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण रहेको जनाए । मुलुकमा १४ हजार बचत तथा सहकारी संस्था रहेको भन्दै उनले बचत ऋण सहकारी अभियान ठीक ढंगले अघि बढे त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनको भनाई छ । बचत ऋण अभियान ठीक हुने बित्तिक्कै अन्य क्षेत्रलाई ठुलो भरथेग हुने बडालले जनाए । जापान, कोरिया लगायतका राष्ट्रले भूमिसुधार र सहकारीलाई सँगसँगै लगेकाले आर्थिक रुपमा ठुलो फड्को मार्न सकेको उनको भनाई छ । सहकारीको बोर्ड झुन्डाएर मनपरी गर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्ने सहकारीबीच कित्ताकाट हुनुपर्ने उनको धारणा छ । सहकारीले कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशतको योगदान गरेको भन्दै १ लाखले प्रत्यक्ष रोजगार पाएको बडालले बताए । देशभर ३० हजार सहकारी रहेको भन्दै उनले ५ सय सहकारी संस्थामा मात्रै समस्या आएको उल्लेख गरे । वार्षिकोत्सवको अवसरमा विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान समेत घोषणा गरिएको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण सहकारी, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान सहकारी र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा त्यस अवसरमा गरिएको छ । त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् । साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई दिइने भएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने संयोजक खड्काले जानकारी दिए । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरामा सार्वजनिक यातायात व्यवसायीको आन्दोलन

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले विभिन्न माग राखेर सुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनावपूर्ण बनेको छ । रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राईड शेयारिङ सेवा सञ्चालन गरेको बिरोधमा यातायात व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबारसम्म आफ्नो माग पूरा नभए आन्दोलन शुरु गर्ने र सार्वजनिक यातायात नै ठप्प पार्ने चेतावनी दिएका थिए । यसै क्रममा राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटर तोडफोड गरेका छन् । आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि समेत आक्रमण गरेका छन् । व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने बिरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । सञ्चारकर्मी थापाले आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले पर्यटक बसमा आक्रमण गरेपछि रिपोर्टिङ गर्ने क्रममा आफूमाथि कुटपिट गरेको जानकारी दिए । त्यस्तै कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले पत्रकारलाई कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको पनि बताए । व्यवसायीहरुले शान्तिपूर्वक आन्दोलन गर्ने भनेपनि हातपात र आक्रमणमा उत्रिएको बताए । नियन्त्रणमा लिइएका चार जनाले नै मादक पदार्थ सेवन गरेको पाइएको पनि जानकारी दिए । यातायात व्यवसायीले निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

मौद्रिक नीति सन्तुलित र समयसापेक्ष : सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष आएको बताएकाे छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वासलाई जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्रलाई जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि अपेक्षाकृतरूपमा सहजीकरणको प्रयास गर्ने गरी आएकाे माैद्रिक नीतिले आशा, भरोसा र विश्वास जगाएको परिसंघले बताएकाे हाे । ‘बैंक तथा वित्तिय संस्थाको पूँजीकोषमा भएको दबाव सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवोर्कमा पुनरावलोकन, असलकर्जाको नोक्सानी व्यबस्थामा कमी, रेगुलेटोरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सह्रानीय कदम रहेका छन्,’ परिसंघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, नीतिगतदर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकतासहितको राहत दिनु, संस्थागत सेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमालाई पुनरावलोकन गर्ने व्यवस्था गरिनुले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा आशावादी रहेको परिसंघले बताएकाे छ । त्यसैगरी लघुवित्त संस्थाहरूलाई सुदृढिकरण गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि लिइने पहलले समग्र वित्तीय प्रणालीमाथिको विश्वासमा अभिवृद्धि गर्न र स्थायित्व कायम गर्नमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको परिसंघकाे छ । परिसंघले सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तिय संस्थामा बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकतासम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सिर्जना हुनसक्ने जोखिमहरू पहिचान गर्ने गरी पहल गरिनु मौद्रिक नीतिका स्वागतयोग्य पक्ष रहेकाे बताएकाे छ । त्यसैगरी राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास परिसंघको छ । ‘बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको मौद्रिक नीतिको व्यवहारिक एवं नतिजामूलक कार्यान्वयन हुने व्यावसायिक वातावरण र रोजगारीका अवसरहरू सिर्जना गर्दै यसअघि जारी पञ्चवर्षीय योजना र वित्तीय नीतिमा व्यवस्था गरिएबमोजिम रोजगारी र उच्च शिक्षाका लागि विदेशिएका नागरिकहरूलाई देश फर्काउने पहल नेपाल सरकारले पनि लिन जरुरी भएकाे परिसंघले जनाएकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिलाई वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासमा अधिक सदुपयोग हुने गरी कार्यान्वयनमा लैजान अत्यावश्यक रहेको छ, त्यसैगरी गत वर्षको मौद्रिक नीतिले कर्जा विस्तारको लक्ष्य हासिल गर्न असमर्थ भएको परिप्रेक्षमा यस वर्षको मौद्रिक नीतिमा तोकिएको कर्जा विस्तारको लक्ष्य हासिल गर्नका लागि अधिक तरलता र पूँजी पर्याप्तताको चापमा पिरोलिएका बैंक तथा वित्तीय क्षेत्रलाई राहत पुग्ने, र समग्र वित्तीय क्षेत्रको स्थायित्व एवं दिगो विकासको लक्ष्य प्राप्ति हुने गरी आगामी दिनमा जारी हुने निर्देशन र मौद्रिक नीतिको समीक्षामार्फत थप सहज नीतिहरू अवलम्बन गर्न समेत आवश्यक देखिन्छ ।’

प्रभु बैंकका एकैदिन दुई नयाँ शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले एकैदिन ३०८ औं र ३०९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८ औं र धनकुटा नगरपालिका, वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रधानमन्त्री ओलीको कमजोरी भेटिए खरो ढंगले अभिव्यक्ति दिइन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् । महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काइसौं शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले लामो संघर्षबाट आएका कांग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान सरकारले आफूलाई गतिशील, जिम्मेवार, एकताबद्ध, पारदर्शी र दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरूले बलियो साथ दिने बताए । महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँभित्र कमी भए पनि खोजी गर्नसक्ने सामर्थ्य राख्नुपर्ने बताए ।

निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय

गलकोट । कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधासम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिङ्गारिएको प्राङ्गणले विद्यालयको वातापरण मनमोहक बनेको छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला,  कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ । शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन–अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ । विसं २०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गरेको उक्त विद्यालयलाई अहिले उनकै छोरा टीकाराम थापाले हाँकिरहेका छन् । बुबाले स्थापना गरेको विद्यालयलाई नमूना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितको अध्यक्षकशो जिम्मेवारी बहन गरेको उनको भनाइ छ । थापाले आफ्नो तीनवर्षे कार्यकालमा एक करोड ३२ लाख रुपैयाँ खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमूना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए । भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत ५० रुपैयाँलाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १८ लाख रुपैयाँमा दुईकोठे भवन निर्माण, पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १५ लाख रुपैयाँको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनःनिर्माण प्राधिकरणकै सात लाख रुपैयाँमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ । यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा रु सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको आठ लाख रुपैयाँ लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट संकलन भएर बचत भएको २७ लाख रुपैयाँबाट बाल उद्यान,  प्रवेशद्वार, तारबार, खानेपानीलगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । ‘विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइँसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,’ उनले भने, ‘एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुपर्यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसीभैलो खेलेर संकलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।’ अधिकांश दलित समुदायका विद्यार्थीले  अध्ययन गर्ने विद्यालयलाई नमूना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताए । रासस

०८४ को निर्वाचन एक्लै लड्छौं : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । आइतबार पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ, यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ,’ उनले भने । सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको उनको भनाइ छ । प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा भ्रष्टहरू मिलेर सरकार ढालेको आरोप लगाए ।  आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको उनको भनाइ छ ।

सिमलतालको पहिरोमा बेपत्ता यात्रु बस नभेटेपछि फर्कियो भारतीय टोली

काठमाडौं । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै बेपत्ता दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली आइतबार यत्तिकै फर्किएको छ । गत साउन ५ गते उच्च नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० को प्रविधियुक्त भारतीय टोली यात्रु बस खोजीका लागि नेपाल आएको थियो । सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै आठ दिनसम्म भारतीय टोलीले बस खोजी कार्य गरेको थियो । भारतीय टोलीको प्रयास असफल भएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजी कार्यलाई निरन्तरता दिने जनाइएको छ । भारतीय टोलीलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा बस खोज्न डाकिएको थियो ।