बागमती प्रोस्कूनले मनायो चौंथो वार्षिकोत्सव, १४ विधामा पुरस्कार तथा सम्मान घोषणा

<p>काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले चौंथो वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा बागमती प्रोस्कूनले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै बडालले सहकारी अभियान सक्षम नभई समानताको आधार नबन्ने बताए । उनले सहकारी क्षेत्रले बहुआयमिक गरिबीलाई कम गर्न खेलको भूमिका महत्वपूर्ण रहेको जनाए ।

मुलुकमा १४ हजार बचत तथा सहकारी संस्था रहेको भन्दै उनले बचत ऋण सहकारी अभियान ठीक ढंगले अघि बढे त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने उनको भनाई छ । बचत ऋण अभियान ठीक हुने बित्तिक्कै अन्य क्षेत्रलाई ठुलो भरथेग हुने बडालले जनाए । जापान, कोरिया लगायतका राष्ट्रले भूमिसुधार र सहकारीलाई सँगसँगै लगेकाले आर्थिक रुपमा ठुलो फड्को मार्न सकेको उनको भनाई छ । सहकारीको बोर्ड झुन्डाएर मनपरी गर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर सदस्यको आर्थिक सामाजिक रुपान्तरण गर्ने सहकारीबीच कित्ताकाट हुनुपर्ने उनको धारणा छ ।

सहकारीले कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशतको योगदान गरेको भन्दै १ लाखले प्रत्यक्ष रोजगार पाएको बडालले बताए । देशभर ३० हजार सहकारी रहेको भन्दै उनले ५ सय सहकारी संस्थामा मात्रै समस्या आएको उल्लेख गरे ।

वार्षिकोत्सवको अवसरमा विभिन्न १४ विद्यामा पुरस्कार तथा सम्मान समेत घोषणा गरिएको छ । संघका सञ्चालक एंव सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तेजेन्द्र खड्काले पुरस्कार तथा सम्मान घोषणा गरेका थिए । संघले उत्कृष्ट सहकारी अभियन्ता सम्मान सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाललाई दिने भएको छ । त्यसैगरी उत्कृष्ट बचत ऋण संघतर्फ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थातर्फ नव जागरण सहकारी, उत्कृष्ट महलिा सहकारी संस्थातर्फ ज्ञानज्योति महिला उत्थान सहकारी र सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रन्युज डटकमका सम्पादक माधव खड्कालाई दिने घोषणा त्यस अवसरमा गरिएको छ ।

त्यसैगरी प्रदेश उत्कृष्ट साकोस व्यवस्थापकमा पुरुषतर्फ विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तान र उत्कृष्ट महिला कर्मचारीतर्फ मकवानपुर जिल्ला बचत तथ ऋण सहकारी संघकी व्यवस्थापक सुमित्रा वाईवा घोषित भएकी छिन् ।

साकोस पदाधिकारी सम्मान भरत प्रसाद दवाडी, उत्कृष्ट सेवा उपयोेग सम्मान पाँचतारा बचत तथा ऋण सहकारी संस्था, अधिक शेयर लगानी ज्योति मिर्मिर बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ र सहकारी एकीकरणतर्फ भावना बचत तथा ऋण सहकारी संस्था दोलखालाई दिइने भएको छ । त्यसैगरी प्रोस्कुन पूर्व सञ्चालक सम्मान संघकी पूर्व अध्यक्ष राधा सुङताङ र कर्मचारीमध्येबाट कार्यालय सहयोगी लक्ष्मी खड्का क्षेत्रीलाई सम्मान गर्ने सो अवसरमा जानकारी दिइयो । संघको आगामी साधारणसभामा घोषित सम्मान तथा पुरस्कार वितरण गरिने संयोजक खड्काले जानकारी दिए ।

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, नेफस्कूनका कार्यवाहक अध्यक्ष दामोदार अधिकारी, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Share News