काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । आइतबार पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ, यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ,’ उनले भने ।
सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको उनको भनाइ छ ।
प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा भ्रष्टहरू मिलेर सरकार ढालेको आरोप लगाए । आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको उनको भनाइ छ ।