विकासन्युज

कजारियाको नयाँ शोरुम विराटनगरमा

विराटनगर । कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।  न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरुमले विराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ । कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे ।  विराटनगरको नयाँ शोरुममा आवासीय, व्यावसायिक र वास्तुकलासम्बन्धी प्रयोजनका लागि विभिन्न आधुनिक र ग्राहक–मैत्री डिजाइनका प्रिमियम टायलहरू उपलब्ध छन् ।  कजारिया रमेश टायल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू प्रदान गर्दै आएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका टायल उत्पादनहरू बलियो, दीगो, पानी तथा दाग प्रतिरोधी हुने साथै आधुनिक डिजाइनमा उपलब्ध छन् ।  कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२० सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४०सेमी) तथा सेरामिक वाल टायल (३०*६० सेमी, ३०*४५ सेमी) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

नवलपरासी-१ मा ‘हेभीवेट’ भीडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेदवारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या बुझिरहेका छन् । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यसअघिका प्रतिनिधिसभा सदस्य एवं डलर अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यसअघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी चुनावी मैदानमा छन् । यसैगरी, नेकपा एमालेबाट पूर्वसुस्ता गाउँपालिकाका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व नेपाली कांग्रेसका नेता एंव व्यवसायी विक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन् ।  नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  उम्मेदवारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डा सहित बस्ती-बस्तीमा पुगिरहेका छन् ।  विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् । यसअघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए ।  चौधरीले २९ हजार ५१९ मत पाउदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए । अघिल्लो पटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो तर अहिले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भीडन्त हुने देखिएको छ । चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा राखेका छन् ।  त्यस्तै, रास्वपाका विक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् । एमालेका पाण्डेले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन् ।  जनमोर्चाका उम्मेदवार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यस पटक गिलास चिन्हमा मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्‍याइरहेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराइएको हो । यो डिजिटल कर्जा सेवा एफ–वन सफ्ट समूह अन्तर्गतको फोन ऋण प्रालिद्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाह सुनिश्चित गर्ने बैंकले जनाएको छ । यस सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक कर्जामा सहज पहुँच विस्तार गर्नु सेवाको मुख्य उद्देश्य रहेको छ । कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय गरिनेछ । जसमा तलब जम्मा कारोबारको नियमितता, हाल कायम ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकहरूले एक महिनाभित्र एकमुष्ट वा १२ महिनासम्म किस्ताबन्दी प्रणालीमार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, समयअगावै कर्जा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ । मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्ने र स्वीकृतिपछि सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका हुन् । सेवाबारे जानकारी दिँदै उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, 'आरबीबी फोन ऋण सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो । प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो ।' आरबीबी फोन ऋण सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

९ कम्पनीमा सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।  

चीनमाथिको निर्भरता घटाउन अमेरिकाको रणनीति, दुर्लभ खनिज कम्पनीमा १.६ अर्ब डलर लगानी

काठमाडौं । अमेरिकी सरकारले ओक्लाहोमा रहेको उत्खनन कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसबापत सरकारले कम्पनीको १० प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ ।  फाइनान्सियल टाइम्स (एफटी) ले शनिबार यस विषयमा जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो । रिपोर्टअनुसार सरकारी लगानीसँगै १ अर्ब डलरको छुट्टै निजी वित्तीय सम्झौता पनि सोमबार सार्वजनिक गरिने तयारी छ । यस विषयमा ह्वाइट हाउस र यूएसए रेयर अर्थले तत्काल जवाफ दिएका छैनन् । एफटीका अनुसार सरकारले दुर्लभ खनिज कम्पनीमा १६.१ मिलियन सेयर प्राप्त गर्नेछ । साथै थप १७.६ मिलियन सेयर खरिद गर्न सकिने वारेन्ट पनि पाउनेछ । दुवैको मूल्य प्रति सेयर १७.१७ डलर तोकिएको छ । गत वर्ष डिसेम्बरमा वासिङ्टनले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक लिथियम, दुर्लभ खनिज तथा अन्य खनिजहरूको घरेलु उत्पादन बढाउन र चीनमाथिको निर्भरता घटाउन अमेरिकी उत्खनन क्षेत्रमा थप ‘ऐतिहासिक सम्झौता’ गर्ने योजना रहेको जनाएको थियो । चीनले व्यापार वार्तामा आफ्नो खनिज क्षमतालाई दबाबका रूपमा प्रयोग गर्दै आएको छ । गत वर्ष अमेरिकी प्रशासनले एमपी मटेरियल्स, लिथियम अमेरिकाज र ट्रिलोजी मेटल्समा पनि हिस्सेदारी लिएको थियो । यूएसए रेयर अर्थसँगको सम्झौता ‘सेमिकन्डक्टर आपूर्ति शृंखला र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक तथा रणनीतिक खनिजलाई देशभित्रै उत्पादन गर्ने (अनशोरिङ) मा केन्द्रित’ रहेको अमेरिकी वाणिज्य विभागअन्तर्गतको चिप्स कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै एफटीले जनाएको छ । उक्त कार्यालयले अमेरिकामा लगानी र उपकरणका लागि प्रोत्साहन प्रदान गर्दछ । एफटीका अनुसार कम्पनीले थप १ अर्ब डलरभन्दा बढी नयाँ इक्विटी उठाउने प्रयासको नेतृत्व गर्न लगानी बैंक तथा ब्रोकरेज फर्म क्यान्टर फिट्जगेराल्डलाई पनि समावेश गरेको छ । उक्त संस्थाका अध्यक्ष ब्रान्डन लुटनिक हुन्, जो अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका छोरा हुन् । यूएसए रेयर अर्थले टेक्सासको सिएरा ब्लान्कामा खानी विकास गर्दै आएको छ भने ओक्लाहोमाको स्टिलवाटरमा नियो म्याग्नेट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । उक्त कारखाना २०२६ को पहिलो छ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ३.४५ अर्ब डलरको बजार पुँजीकरण भएको यो कम्पनी अमेरिकाका ठूला नियो म्याग्नेट उत्पादकहरूमध्ये एकका रूपमा उदाएको छ । (रोयटर्सबाट अनुदित तथा सम्पादित)  

नेशनल लाईफद्वारा कोशी प्रदेशका ३०० अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्दै सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झापाको बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्यता वितरण गर्दै अभिकर्ताहरूलाई सम्मान गरे । साथै, कोशी प्रदेशबाट आफ्नो कोड र संजालअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै अवसरमा कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब तथा नेशनल अवार्ड योजनाअन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले सञ्चालन गरेको सीईओ क्लब योजनाबाट देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण भएको उल्लेख गरे । साथै, सबै तहका अभिकर्तामाझ लोकप्रिय हुने यस्ता प्रोत्साहनमूलक योजनाहरू ल्याउन कम्पनी निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले अभिकर्ताहरूलाई मोटिभेसनल तालिम प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले तालिमबाट थप ऊर्जा प्राप्त भएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए ।

काठमाडौंमा टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट फर्काइयो

काठमाडौं । काठमाडौंबाट टर्कीतर्फ उडान भर्न लागेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वेमा फर्काइएको छ ।  टीके–७२७ उडान नम्बर रहेको सो जहाज काठमाडौंबाट करिब १ बजे उड्ने समय तय भएको थियो  । उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडीसमेत सकेको अवस्थामा प्राविधिक समस्या देखा परेपछि जहाजले उडान नभरेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विकासन्युजलाई जानकारी दिए । ‘प्राविधिक समस्या देखा परेपछि उडान भर्न अनुमति नदिएको हो । जहाजलाई आकस्मिक रोकेर पार्किङ्मा फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँच सम्पन्न भएपछि र समस्या नदेखिएमा जहाज उडानमा फर्कन्छ ।’

काठमाडौं उपत्यकामा कति मतदाता र मतदान केन्द्र थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख ८५ हजार ३७४ मतदाता पुगेका छन्, जसमध्ये काठमाडौंमा ७ लाख १० हजार ७०८, ललितपुरमा २ लाख ६९ हजार २५६ र भक्तपुरमा २ लाख ५ हजार ४१० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा यसअघि प्रतिनिधिसभाको निर्वाचनमा ६ लाख ५३ हजार ९९८, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ९४ हजार ४३९ मतदाता रहेका थिए । आयोगका अनुसार काठमाडौंमा ५४ हजार ७१०, ललितपुरमा २५ हजार ३७२ र भक्तपुरमा १० हजार ९७१ जना मतदाता थपिएका छन् । काठमाडौंमा पुरुष मतदाता ३ लाख ४४ हजार १९९, महिला ३ लाख ६६ हजार ५०७  र अन्य ७ जना मतदाता छन् । ललितपुरमा महिला १ लाख ३७ हजार ७०७ र पुरुष १ लाख ३१ हजार ५४९ जना मतदाता रहँदा भक्तपुरमा पुरुष ४८ हजार ७४, महिला ५० हजार २७७ र अन्य ५ जना मतदाता रहेका छन् । यसैगरी, काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ५० वटा मतदान केन्द्र थप भएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा ७ सय ७६ मतदान केन्द्र रहेको थियो । ललितपुरमा कुल १ सय ३१ मतदान स्थल रहेको छ । मतदान केन्द्र ३१८ रहेको यसपटक भने २८ वटा मतदान केन्द्र थप गरिएको ललितपुर जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् । भक्तपुरमा जम्मा ७६ मतदान स्थल रहेका छन् । मतदान केन्द्र २ सय ३३ रहेको र ११ मतदान केन्द्र थप गरिएको भक्तपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिए । निर्वाचन आयोगका अनुसार देशभर फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् । यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।