विकासन्युज

मुक्तिनाथ फाउन्डेसनको तेस्रो वाषिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको थियाे । साथै वार्षिकाेत्सवकाे अवसरमा ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट र दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले मुक्तिनाथ फाउण्डेशन स्थापित भएकाे हाे ।

दशैंमा शिक्षकले चार महिनाको तलब पाउँदै, साढे ६ अर्ब बोनस निकासा

काठमाडौं । विभिन्न विद्यालयका शिक्षकहरूले दशैंमा चार महिनाको तलब पाउने भएका छन् । सामुदायिक विद्यालयमा काम गर्ने स्थायी शिक्षकहरूले साउन, भदौ र असोजसहित एक महिनाको दशैं खर्चबापत कुल चार महिनाको तलब एकै पटक पाउने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको दशैं खर्च तथा बोनसका लागि बजेट निकासा भइसकेको बताएको छ । केन्द्रका बजेट शाखाका अर्जुन ढकालले शिक्षकको दशैं खर्चका लागि बजेट निकासा भइसकेको जानकारी दिए । उनका अनुसार शिक्षकहरूले एक महिनाको तलब बराबरको दशैं खर्च पाउने गरी ६ अर्ब ५० करोड रुपैयाँ निकासा भइसकेको छ । ‘हामीले प्रत्येक वर्ष शिक्षकहरूलाई दशैं खर्चबापत एक महिनाको तलब बराबरको दशैं खर्च प्रदान गर्दै आएका छौं, यस पटक पनि बजेट निकासा भइसकेको छ । सम्बन्धित पालिकालाई बजेट दिइसकेका छौं, अब पालिकाले दशैंको मुखमा शिक्षकलाई तीन महिनाको तलब र दशैं खर्चसँगै दिन्छन् होला,’ बजेट शाखाका ढकालले विकासन्युजसँग भने । उनले ६ अर्ब ५० करोड रुपैयाँ १ लाख ५८ हजार दरबन्दीका शिक्षकका लागि रहेको पनि जानकारी दिए । विगतमा मासिक तलब नपाउँदाको गुनासो गर्ने शिक्षकहरू दशैंमा एकै पटक चार महिनाको तलब बराबरको रकम पाउने भएपछि खुसी छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०८०/०८१ बजेट वक्तव्यअनुसार नेपालमा सबै प्रकारका विद्यालयमा २ लाख ८६ हजार ८८ शिक्षक कार्यरत छन् । जसमा ४२.२ प्रतिशत महिला र ५७.८ प्रतिशत पुरुष रहेका छन् । मासिक रूपमा तलब नपाउँदा समस्या लामो समयदेखि शिक्षकहरुले त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् । यसले समस्या भइरहेको गुनासो पनि उनीहरूको छ । तर, सरकारले उनीहरूको समस्या सम्बोधन गर्ने प्रयत्न हालसम्म गर्न सकेको छैन । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यामिक विद्यालयका प्राचार्य हेरम्बराज कडेँल मासिक रूपमा तलब नपाउँदा शिक्षकलाई समस्या भएको बताउँछन् । विशेषगरी कोठा भाडामा लिएर बसेका शिक्षकलाई अझ यसको असर बढी रहेको उनले बताए । ‘हुन त काठमाडौंमै घर भएकालाई पनि नियमित तलब नपाउँदा समस्या छ, भाडामा बसेर परिवार पाल्नुपर्ने साथीहरूलाई बढी समस्या छ,’ प्राचार्य कँडेल भन्छन्, ‘पहिले तलब पाउन चार महिना कुर्नुपर्थ्याे, अहिले तीन महिना कुर्नुपर्छ । महानगरले मासिक रूपमा दिन्छौं भनेपनि अहिलेसम्म दिन सकेको छैन ।’ काठमाडौं महानगरले पनि दशैं खर्चसहित तीन महिनाको तलब दशैंअघि एकै पटक दिने जानकारी आफूहरूलाई आएको उनको भनाइ छ । ‘ऋण तिर्न ठीक्क हुन्छ’ शिक्षकहरू एकै पटक तलब आएपनि ऋण तिर्नै ठीक्क हुने बताउँछन् । अछामको मेल्लेख गाउँपालिका ६ कोलडाँडा आधाभूत विद्यालयका शिक्षक हीरासिंह खड्का दशैंमा आएको पैसा ऋण तिर्नै ठीक्क हुने बताउँछन् । ‘छोराछोरी पढाउनै पर्‍यो, परिवार पाल्नै पर्‍याे । पैसा भने मासिक रूपमै चाहिन्छ, तलब त्रैमासिक रूपमा आउँछ,’ उनी भन्छन्, ‘थोरै भएपनि समयमै आउँदा सहज हुन्थ्यो । तीन/चार महिनामा एक पटक आउँदा न पैसा बच्छ, न गर्न खोजेका काम हुन्छ ।’ अन्य शिक्षकहरूले पनि यस्तै गुनासो गरेका छन् । सरकारले मासिक रुपमा तलब दिनसकेमा आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ । अधिकार स्थानीय तहलाई, नियन्त्रण आफ्नै देश संघीयतामा गइसकेपछि राज्यले दिने सेवा सुविधा पनि विभाजन भएको छ । अहिले शिक्षा र स्वास्थ्यलगायतका धेरैजसो अधिकार स्थानीय तहले पाएको छ । तर, अधिकार प्रयोगमा तीनवटै तहको लडाइँ जारी छ । जसको प्रत्यक्ष मारमा नागरिक परेका छन् । अधिकार बाँडिएपनि कुन जिम्मेवारी कुन निकायको हुने भन्ने स्पष्ट छैन । पहिले शिक्षा मन्त्रालयले शिक्षकलाई चौमासिक रूपमा तलब उपलब्ध गराउँदै आएको थियो । अहिले त्रैमासिक रूपमा शिक्षकले तलब पाउँदै आएका छन् । हाल कक्षा १ देखि १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयको अधिकार स्थानीय तह अन्तर्गत छ । विद्यालयको निगरानीदेखि हरेक जिम्मेवारी पालिकामा छ । तर, संघले अधिकार दिएपनि नियन्त्रण भने आफ्नै राखेको पालिकाको आरोप छ । ‘हामीलाई अधिकार दियो भनियो । तर, अधिकार दिएको छैन, अझै शिक्षकलाई तलब खुवाउनदेखि हरेक काम गर्न केन्द्रलाई कुर्नपर्छ,’ अछामको मेल्लेख गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्का भन्छन्, ‘शिक्षकलाई दिने तलबको कुरामात्र होइन, हरेक कुरामा यस्तै छ, अधिकार दियो भनियो तर दिएको छैन । जसले गर्दा शिक्षकले आफनो तलब पाउन पनि तीन÷चार महिना कुर्नुपर्छ ।’ मासिक रूपमा तलब दिने प्रयास ताप्लेजुङको फुङलिङ नगरपालिकाले यो आर्थिक वर्षदेखि मासिक रूपमा तलब दिनेगरी काम भइरहेको बताएको छ । पालिकाको शिक्षा तथा युवा शाखा प्रमुख प्रकाश पौडेलले विगतमा तीन/चार महिनाको तलब एकै पटक दिने अभ्यास भएपनि अबदेखि मासिक प्रदान गर्नेगरी तयारी भइरहेको बताएका छन् । उनले चालु आर्थिक वर्षको सुरुको साउन, भदौ र असोजको तलब दशैंमा एकैचोटि दिने र त्यसपछिमात्र मासिक रूपमा दिने तयारी गरिरहेको उनले जानकारी दिए । युवा शाखा प्रमुख पाैडेलले भने, ‘शिक्षकहरूका लागि संघले नै बजेट पठाएको हुन्छ, हामीले निकासा गरी दिनेमात्र हो । अबदेखि शिक्षकले तलब पाउन दुई/तीन महिना कुर्न पर्दैन । दशैंपश्चात मासिक रूपमा नै तलब दिनेगरी तयारी भइरहेको छ । ’ रुकुम-पश्चिमको मुसीकोट नगरपालिकाले पनि असोजपछि मासिक रूपमा तलब दिने जानकारी दिएको छ । पालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत बिनाराम खड्काले शिक्षा मन्त्रालयले नै शिक्षकहरूका लागि त्रैमासिक रूपमा रकम पठाउने भएकाले त्यहीअनुसार पालिकाले दिइरहेको बताए । ‘हामीले अब मासिक रूपमै तलब दिने तयारी गरिरहेका छौं,’ उनले भने, ‘यो पटक कोष तथा लेखा नियन्त्रण कार्यालय, महालेखा परीक्षण कार्यालयबाट फुकुवा ढिलो हुँदा दशैंअगाडि शिक्षकलाई बोनससहित चार महिनाको तलब उपलब्ध गराउँदैछौं । त्यसपछि भने मासिक रूपमै तलब खुवाउनेगरी तयारी अगाडि बढाइरहेका छौं ।’

आइसरले ल्यायो ‘दशैंको हर्ष, आइसरको वर्ष’ योजना

काठमाडौं । कर्मसियल भेहिकलमा विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा रुचाइएको भेहिकल आइसरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । यस याेजनाअन्तर्गत ग्राहकहरूका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेकाे छ । गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा (चालक/मालिक), शून्य सेवा लागत, (गाडी सञ्चालकहरू) तथा टुर प्याकेज (निर्माण कम्पनीहरूका लागि),ल्यापटप, प्रोजेक्टर (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् । यो योजना यही असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ । ग्राहकहरूले आइसरका देशभरिका शोरुमबाट याे याेजनाकाे लाभ लिन सक्ने कम्पनीले जनाएकाे छ । आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरू बिक्री गर्दै आइरहेको छ । नेपालमा आइसरका ११ शाखा र ४ डिलर रहेका छन् । आइसरले देशैभर व्यावसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । आइसरले अत्याधुनिक नाइट बस पनि भित्राइसकेकाे छ ।

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा, नेपालकै पहिलो ब्याट्री अनुसन्धान केन्द्र पनि समावेश

काठमाडौं । दिगाेले अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। विश्वकर्मा पूजाको शुभ अवसरमा दिगोले सर्भिस सेन्टर सञ्चालनमा ल्याएकाे हाे । यस सर्भिस सेन्टरको स्थापनासँगै दिगोको काठमाडौं उपत्यकामा तीनवटा सर्भिस सेन्टर भएका छन् । यसभन्दा अगाडि बल्खु र चारदोबाटोमा दिगाेकाे सर्भिस सेन्टरले सेवा दिइरहेका छन् । पेप्सीकाेलाकाे सर्भिस सेन्टरमा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । सेन्टरले विद्युतीय सवारीहरूको मर्मत, निरीक्षण र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउने दिगाेले जनाएकाे छ । दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत साैरभ श्रेष्ठले सर्भिस सेन्टरकाे उद्घाटन गरेका हुन् । उनले यस सर्भिस सेन्टरले ग्राहकहरूलाई सन्तुष्टि दिने बताए । ‘हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो । पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ,’ उनले भने । दिगो ग्रुपले नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्रीवितरण र सेवा प्रदान गर्दै आएको छ । गाडी बिक्रीमा मात्र नभएर, दिगोको ईकोसिस्टमअन्तर्गत चार्जरको बिक्रीवितरण र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ । साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ । दिगो ई-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्रजस्ता सुविधाहरू पनि उपलब्ध छन्। दिगाे नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हाे ।

संघ, स्थानीय र सहकारीको संयुक्त लगानीमा शीत भण्डार सञ्चालन, ३ हजार मेट्रिक टन क्षमता

नवलपरासी- (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्गामा पाँचवटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँचवटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए । उनका अनुसार जिल्ला सहकारी संघ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँचवटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने व्यवस्थापक पटेलले बताए । पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानुपर्ने समस्या थियो । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तुसम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो ।

अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

दूरबिनपद्धतिबाट विभिन्न जोर्नीहरूको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हाे- अर्थोस्कोपी सर्जरी । सानो-सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई अर्थोस्कोपी भनिन्छ । यो अङग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दूरबिनकाे सहाराले हेर्नु, त्यसैले क्यामेरा वा दूरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई अर्थाेस्कोपी प्रविधि भनिन्छ । प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को गरिन्छ । अर्थोस्काेपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरू जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नीभित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ । खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्री भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरू च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दूरबिन पद्धतिलाई अर्थाेस्काेपी सर्जरी भनिन्छ । घुँडाको अर्थाेस्काेपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सुई (स्पाइनल एनेस्थेसिया) दिइ खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । र कतिपय बिरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् । यो च्यात्तिएको लिगामेन्ट वा नशालाई सानो प्वाल पारेर दूरबिनको माध्यमबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै बिरामीहरू खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट सुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका वाधा अवरोध पार गरेको हो । यसका उपकरणहरू तुलनात्मक रूपमा महंगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिलामात्र यो सर्जरीले विकसित रूप लिएको हो । ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरीपश्चात दुखाई पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ भएर फर्किने गरेका छन् ।   डा. विभूतिनाथ मिश्र यो सर्जरीपश्चात फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय याे सर्जरी गर्ने बिरामीको संख्या बढेको छ । पटक-पटक कुम खुस्कने तथा कुमका अनेक समस्या भएका बिरामीहरू पनि यो सर्जरीबाट लाभान्वित भएका छन् । अर्थोस्कोपी सर्जरी गरेका बिरामीहरू नौ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्ट्समा फर्केका उदाहरणहरू धेरै मात्रामा छन् । नेपालमा यो सर्जरी एक दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रूप लिएको छ । घुँडाको लिगामेन्ट च्यात्तिएका कतिपय बिरामीहरूले वास्ता नगरी बस्दा भविष्यमा घुँडा चाँडै नै बिग्रने, घुँडा खिइने तथा पछि दुखाई लिएर बस्नुपर्ने हुन्छ । यस्ता बिरामीले समयमै उपचार गर्दा घुँडा बिग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ । तुलनात्मक रूपमा विदेशभन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको अर्थोस्कोपी सर्जरी गरिन्छ । (डा. मिश्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ अर्थोस्कोपी सर्जन हुन् )

गृह मन्त्रालय भन्छ- यात्रा इजाजतप्राप्त हतियार सरकारी र सार्वजनिकस्थलमा लैजान पाइँदैन

  काठमाडौं । यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो । मुख्यगरी सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्विक र संरक्षितस्थल, बाल गृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत ती हतियार लैजान नपाउने गरी निषेध गरेको गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । सूचनामा नेपाल सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतपत्र प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने जनाएको छ । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षितस्थल, बालगृह तथा प्रचलित कानुनले निषेधित गरेका अन्य क्षेत्रमासमेत लैजान नपाउने गरी निषेध गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ मेडिकल व्यवसायी दुर्गा प्रसाईको अङ्गरक्षकले अदालत परिसरमा हतियार लगेको भेटिएपछि सर्वाेच्चले त्यस विषयमा आवश्यक कानुन बनाउन आदेश दिएअनुसार सरकारले उक्त निर्णय गरी राजपत्रमा सूचना जारी गरेको हो ।

फाइनान्स कम्पनीहरूको खुद नाफा २३ करोड ४८ लाख, ५ वटा घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन)मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटा बेहाेरेका छन् । साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । घाटा बेहाेर्ने कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धिले साउनमा ८ करोड ६९ लाख घाटा बेहाेरेकाे छ । यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई समान ८, ८ लाख रुपैयाँ घाटा लागेको छ । कुन कम्पनीलाई खुद नाफा/घाटा कति ? :