राष्ट्रिय वाणिज्य बैंकले घटायो निक्षेप र कर्जाको ब्याज, ७.७७ प्रतिशतमै कर्जा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने भएको हो । यो योजना भदौ १ गतेदेखि कार्तिकसम्म मात्र लागु हुने बैंकले जनाएको छ । साथै बैंकले २ बर्ष अवधिका लागि जलविद्युत परियोजना कर्जाको स्थिर ब्याजदर ७.९५ प्रतिशत तोकेको छ । पछिल्लो ३ महिनाको औषत आधार दर ६.६६ प्रतिशत रहेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटाया कर्जाको ब्याज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगतको स्थिर राखेको छ भने संस्थागतमा भने घटाएको हो । यसअघि भदौमा संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले भदौमा पनि सोही ब्याजदर थियो । बैंकको आधार दर ६.२२ प्रतिशतमा झरेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । यसअघि बैंकको आधार दर ६.३८ प्रतिशत थियो ।
असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर, आधार दर ८.८६ प्रतिशत
काठमाडौं । हिमालयन बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा प्रदान गरेको ब्याज नै असोजमा निक्षेपकर्तालाई दिनेछ । तर, साधारण बचत खातामा भने ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि ४.८५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर ८.८६ प्रतिशत रहेको छ । बैंकले ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यस्तै, हायर पर्चेज, सुविधा लोन, शैक्षिक कर्जा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
न्यादी हाइड्रोको १ करोड २७ लाख कित्ता सेयरको लकइन सकिँदै
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको लकइन अवधि कात्तिक ४ गते सकिने भएको छ । कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको सेयर लकइन अवधि कात्तिक ४ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक सेयरधनीका कर्मचारीको नाममा रहेको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको नाममा रहेको ४५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको १५ लाख कित्तन गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको अवधि सकिन लागेको हो । सार्वजनिक निष्काशन गरि सेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले सेयर बिक्री गर्न नपाइने गरी लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले सेयर बिक्री गर्न सक्नेछन् ।
नबिलले घोषणा गर्याे नगद लाभांश
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
आज विश्वकर्मा पूजा मनाउँदै, वास्तु दिवस पनि आजै
काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताए । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ । वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने प्रचलन रहेको वास्तुशास्त्री पोखरेलले जानकारी दिए । ‘पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनःजागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ,’ उनले भने । यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ ।
मनकामना केबलकार आजदेखि डिजिटल प्रविधिमा सञ्चालन
काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरेको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।
भक्तपुरमा ख्वप विश्वविद्यालयलाई ट्रष्टको १०८ रोपनी जग्गा माग
काठमाडौं । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो । मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गरे । उनले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताए । ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहेका सुवालले जानकारी दिए । उनले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताए । नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेज अफ लमा कूल ४१ हजार सात सय ९८ जना विद्यार्थी भर्ना भई अध्ययन गरिसकेका जानकारी दिए । नेपाल ट्रष्टको नामका सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडागरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै उनले उक्त जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन आग्रह गरे ।