सिरहा : स्थानीय तहविरुद्ध दुई महिनामै २ सय ७० भ्रष्टाचारका उजुरी
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० उजुरी परेको जानकारी दिएको छ । बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फर्छ्याैट भइसकेको र बाँकी दुई सय ४४ प्रक्रियामा छन् । जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा रहेका छन् । जसमध्ये चारवटा मुद्दा फर्छ्याैट भइसकेका छन् भने ४२ वटा बाँकी छन् । लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फर्छ्याैट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँचवटा फर्छ्याैट भएको, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, मिर्चैया नगरपालिकाविरुद्धको १३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, भगवानपुर गाउँपालिका विरुद्धको १२ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ । त्यस्तै, विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुईवटा फर्छ्याैट भएको, नरहा गाउँपालिकाविरुद्धको सातवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँचवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ । धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धकोे पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धकोे तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो । कार्यक्रममा सुखीपुर नगपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले मधेस प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
टीआई नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रूपमा विगत ४ वर्षदेखि क्रियाशील रहँदै आएका थिए । यसैगरी, सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ । भ्रष्टाचारविरुद्धको राजनीतिक प्रतिवद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रणतर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ । वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनु पर्ने, सहकार्य सशक्त गराउनुपर्नेजस्ता कुरामा जोड दिइएको छ ।
१ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अघि बढिसक्यो : अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बजेटले व्यवस्था गरेअनुसार १ अर्बको स्टार्टअप कोष खडा गर्ने काम अगाडि बढिसकेको बताएका हुन् । उनले नवीन सोंच विकास गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले जोड दिनुपर्ने बताउँदै आर्थिक विकासका लागि बचत प्रोत्साहित र कर्जा लगानीमा प्राथमिकता दिनुपर्ने धारणा राखे । ‘वित्तीय प्रणालीमा जनविश्वास हुन्छ । कुनै कारण बैंक तथा वित्तीय संस्थामा समस्या आयो भने निक्षेप तथा कर्जा सुरक्षण कोषले भूमिका खेल्नुपर्छ । अर्थतन्त्रमा आउने उतारचढावलाई न्यूनीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले भूमिका निर्वाह गर्नुपर्छ,’ अर्थमन्त्री पाैडेलले भने । यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थिरताका लागि मनोबल अब्बल हुनुपर्ने धारणा राखे । ‘नेपालको अर्थतन्त्रमा कर्जा निक्षेप सुरक्षणको महत्त्वपूर्ण योगदान छ, बैंकमा कथम कदाचित समस्या आयो भने कोषले हस्तक्षेप गर्नुपर्छ । कुनै समस्या आएको बेला हस्तक्षेप गर्न कानुनी व्यवस्था संशोधन हुनुपर्छ,’ उनले भने ।
भृकुटीमण्डपमा दशैंलक्षित जुत्ताचप्पल मेला, २ सयदेखि १० हजारसम्म मूल्य
काठमाडौं । दशैंलाई केन्द्रित गर्दै भृकुटीमण्डपमा जुत्तामेला मेला सुरु भएको छ । असोज १ गतेदेखि सञ्चालन भएको मेला असोज २४ गतेसम्म सञ्चालन हुने भएको हो । जुत्ताचप्पल मेलामा ११ वटा कम्पनीका ३० भन्दा बढी ब्राण्ड रहेका छन् । मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट रहेको व्यवसाहरू बताउँछन् । व्यवसायी सबिन कार्कीले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टीसमेत रहने जानकारी दिए । उनका अनुसार मेलामा न्यूनतम २ सय रुपैयाँको चप्पलदेखि १० हजारसम्मको जुत्ताहरू पनि उपलब्ध छन् । उनले नेपाली ब्राण्डका जुत्ताचप्पललाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गरिएको बताए । ‘आयातितभन्दा स्वदेशी प्रडक्ट प्रयोग गराउन र प्रोत्साहन गर्न मेला आयोजना गरेका हौं । यसले देशको अर्थतन्त्रमा पनि सहयोग गर्छ,’ कार्कीले भने ।
ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले रेमिटेन्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन स्टार्टअप जस्ता नीतिसँगे राज्यका सबै तहबाट नीजि क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनले विदेशी व्यवसायसँग प्रस्तिपर्धा गर्नसक्ने अवस्थातर्फ डोहाेर्याउन संघले तय गरेको इमान्दारी, संस्थागत नेतृत्व, सान्दर्भिकता र निरन्तरताका ४ खम्बे रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ । संघका अध्यक्ष बज्रचार्यले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान वृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्नुपर्नेमा जाेड दिए । संघको वार्षिक अर्थ स्मारिका २०८१ विमोचनपश्चात सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक मन्दीबाट सम्बृद्धिको यात्रामा लाग्न नेपालीहरूमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक भएको बताए । उनले प्रादेशिक तथा स्थानीय सरकारको सहभागिता भएको साधारणसभाले राज्यका सबै निकायसँग नीतिगत वा अन्य आवश्यक सहकार्यको स्पष्ट आधार तय गरी अगाडि बढ्न सकोस् भनी शुभकामना व्यक्त गरे । प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा निजी क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिए । विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछि युक्रेन-रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले विगत डेढ वर्षमा धेरै सकारात्मक कार्य गरेको बताए । विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई निजी क्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा निजीक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको उनले बताए । २०२३ चैत्र ४ गते स्थापित ललितपुर उद्योग वाणिज्य संघले ५७ औं वर्षमा प्रवेशको गर्विलो इतिहाससहित निजी क्षेत्रको छाता संगठनको रूपमा ललितपुर जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।
दोस्रो एमआरसिपी युके पेसेस परीक्षा सम्पन्न
काठमाडौं । दोस्रो एमआरसिपी युके पेसेस परीक्षा शुक्रबार सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा असोज २ गतेबाट सुरु भएको थियो । परीक्षा तीन दिनसम्म चलेको थियो । नेपाल मेडिसिटीले गर्त वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४५ जना परीक्षार्थीहरू सहभागी भएका थिए । उक्त परीक्षाका लागि बेलायत, नेपाल, बंगलादेश, साउदी अरेबिया, टर्की, भारत, मलेसिया, नाइजेरीया, युएई, माल्दिभस, इराकबाट परीक्षार्थीहरू आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १० जना परीक्षकहरूको उपस्थिति रहेको थियो । परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका कन्सल्टेन्ट डा.निरज जोसीका अनुसार युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूकाे ज्ञान, सीप र क्षमताकाे मूल्याङ्कन गरिएको थियो । एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरूले एमआरसिपी युकेबाट अनुमति पाएका जुनैसुकै अस्पतालमा काम गर्न सक्दछन् ।
धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्न नेपाल भ्यालुयर्स एसोएिसनको जोड
काठमाडौं । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल भ्यालुयर्स एसोएिसनको छैटौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इञ्जिनीयरहरूले यस विषयमा जोड दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेशागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताए । ज्ञान नहुनेले अरूसँग सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्याङ्कन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरूप दिन वर्तमान कार्य समितिले महत्त्वपूर्ण काम गरेको बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाइँ, महासचिव दीनेशकुमार पाठक, नेपाल इञ्जिनीयर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामका बारेमा जानकारी दिएका थिए । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष सञ्जयकुमार महतोले जानकारी दिए । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा संलग्न एक हजार २०० इञ्जिनीयरको सहभागिता रहेको छ ।
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमासमेत पदपूर्तिका लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय रहेकाे बताए । उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।