विकासन्युज

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो, बहिस्कार गरेका ३ जनालाई बोलायो

काठमाडौं । लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष छनोट प्रक्रिया अघि बढाएको छ । बिहीबार बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ३ जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा प्रस्तुतिकरण हुनेछ । बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कार्की र बीमा समितिका पूर्वअध्यक्ष चापागाईं अनुपस्थित भएका थिए । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रोकिएको थियो । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।

चङ्गा, ड्रोन र बेलुन उडानमा नागरिक उड्डयन कार्यालयले लगायो प्रतिबन्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दशैंतिहारमा चङ्गा, उडाउन रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन नउडाउन नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी लेजर लाइट समेत प्रयोग नगर्न भनेको छ । दशैंमा चङ्गा उडाउने गरिन्छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने बताइएको छ । यदि कसैले यो सूचनाको अवज्ञा गरे÷गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हिमालयन लाइफबाट संस्थापक हिमलाल सेयर बेचेर बाहिरिँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी हिमलाल काप्रीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । उनी आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने भएका हुन् । उक्त सेयरमा विद्यमान कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नआएमा कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ ।

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, यूरो र अष्ट्रेलियन डलर बढ्यो

काठमाडौं । आज अधिकाशं विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोपियन यूरो र अष्ट्रेलियन डलरको मूल्य भने बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.२७ रुपैयाँ र बिक्रीदर १४९.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.४३ रुपैयाँ र बिक्रीदर १७९.२३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.०८ रुपैयाँ र बिक्रीदर १५७.७८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.३० रुपैयाँ र बिक्रीदर ९९.७५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.८५ रुपैयाँ र बिक्रीदर १०४.३२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.५७ रुपैयाँ र बिक्रीदर ३५.७३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६१ रुपैयाँ र बिक्रीदर ३६.७८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३४ रुपैयाँ र बिक्रीदर ३६.५० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.३१ रुपैयाँ र बिक्रीदर ३२.४५ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१९ रुपैयाँ र बिक्रीदर १३.२५ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०२ रुपैयाँ र बिक्रीदर २०.११ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१४ रुपैयाँ र बिक्रीदर १७.२२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.२४ रुपैयाँ र बिक्रीदर ४३९.२१ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.०८ रुपैयाँ र बिक्रीदर ३५५.६७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज सेयरधनी बने यी ६ कम्पनीको लाभांश पाइने

काठमाडौं । आज असोज १० गते ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सानिमा रिलायन्स लाइफ, साहस उर्जा, एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश वितरण प्रयोजनार्थ एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ ले भोली अर्थात असोज ११ गते बुकक्लोज गर्दैछन् । यस्तै साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा रिलायन्स लाइफले असोज ११ गते र साहस उर्जाले असोज १३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांश प्रापत गर्नेछन् । इकाईधनीहरूलाई एनएमबि फिप्टीले १५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछन् । सानिमा रिलायन्स लाइफले चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बज अनमोल बैंक्वेट नयाँ बानेश्वर काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै साहस उर्जाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।

बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने

काठमाडौं । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लागि पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । ‘कार्यक्रम कार्यान्वयका लागि बुधबार नै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वानसमेत गरिसकेका छौँ । यसरी १५ दिनभित्र आवेदन दिइ मापदण्डबमोजिम छनोट भएकालाई पुरस्कृत गर्छौं,’ अध्यक्ष विष्टले भने । कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ । आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारीक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र विवाह दर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

नागरिक र वैदेशिक रोजगार बचतपत्र पनि सेयर जस्तै खरिदबिक्री गर्न पाइने

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजी बजारमा हुने सेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाईन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेष्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो । सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’ को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ तर विकास ऋणपत्रको दोस्रो बजार कारोबार भने निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । आन्तरिक ऋण उठाउनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ । गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्नेछन् । ‘नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेष्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्टि गरी रजिष्टर गरेर युजरनेम तथा पासकोड प्राप्त गर्न सक्नेछन्,’ कार्यविधिमा भनिएको छ । यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा उल्लेख छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ । कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित व्याजको हिसाब गर्दा तीस दिनको एक महिना र ३६० दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । व्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ । यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । कार्यालयले बैंकबाट विप्रेषणको लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ,’ कार्यविधिमा भनिएको छ ।

सबै प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भागका केही स्थानमा हुरीको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।