प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
एनपीएल-२ चितवनलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै सानदार शैलीमा पहिलो ‘क्वालिफायर’ मा स्थान सुरक्षित गरेको छ । बिहीबार साँझ सम्पन्न खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लिग चरणका ६ वटै खेलमा जित हासिल गरेको हो । यो जितसँगै १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले उपाधि नजिकको यात्रा तय गरेको छ । सुदूरपश्चिमको यो जितले सन्दीप लामिछाने कप्तानीको विराटनगर किंग्सलाई ठूलो फाइदा पुगेको छ । चितवन पराजित भएपछि ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफमा स्थान पक्का भएको हो । यसअघि नै काठमाडौँ गोर्खाजले बिहीबार दिउँसो पोखरालाई हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ । चितवनलाई सकस, चौथो टोली को ? सुदूरपश्चिमसँगको हारले चितवन राइनोजको प्लेअफ यात्रा भने निकै कठिन मोडमा पुगेको छ । ६ खेलमा ४ हार ब्यहोरेको चितवनको खातामा मात्र ४ अंक छ । अब अन्तिम खेल जितेर मात्र चितवनलाई पुग्दैन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । अब प्लेअफको अन्तिम एक सिटका लागि चार टोली- लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोजबीच रस्साकस्सी हुनेछ । शुक्रबार हुने खेल निर्णायक बन्न सक्छ । यदि शुक्रबार जनकपुर बोल्टस् विरुद्धको खेलमा लुम्बिनी लायन्स विजयी भएमा लुम्बिनी ८ अंकसहित सोझै प्लेअफमा पुग्नेछ भने बाँकी तीन टोली बाहिरिनेछन् । तर, जनकपुरले बाजी मारेमा भने समीकरण थप रोचक बन्नेछ । कर्णाली याक्स भने यसअघि नै दौडबाट बाहिरिसकेको छ । बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको बलियो योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि अष्ट्रेलियाली ब्याटर क्रिस लिनले विष्फोटक ब्याटिङ गर्दै ५६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४/२४ रनको योगदान दिँदा विनोद भण्डारीले २१ रन जोडे । १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोजको ब्याटिङ लाइनअप धराशायी बन्यो । चितवन २० ओभर नखेल्दै १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ र देव खनालले २८ रन बनाए पनि हार टार्न सकेनन् । सुदूरपश्चिमको कसिलो बलिङमा पुनित मेहराले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक/एक विकेट हात पारे ।
एनपीएल-२ क्रिस लिन चम्किँदा सुदूरपश्चिमद्वारा चितवनलाई १७० रनको चुनौती
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसामु जितका लागि १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको सम्मानजनक योगफल तयार पारेको हो । सुदूरपश्चिमको इनिङ्सलाई उकास्न ओपनर क्रिस लिनले मुख्य भूमिका खेले। आक्रामक शैलीमा प्रस्तुत भएका लिनले ५६ बलको सामना गर्दै ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले मैदानको चारैतर्फ सट प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए तर दुर्भाग्यवश उनी ’रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भए । लिनबाहेक अन्य ब्याटरहरूले पनि टोलीको स्कोरमा महत्त्वपूर्ण योगदान दिए । विनोद भण्डारीले २१ रन जोड्दा आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २४–२४ रन बनाएर इनिङ्सलाई अन्त्यसम्म सम्हाले । बलिङतर्फ चितवन राइनोजका सैफ जैबले कसिलो बलिङ गर्दै २ विकेट हात पारे । त्यस्तै, रञ्जित कुमार र जर्ज स्क्रिमशले १–१ विकेट लिँदै सुदूरपश्चिमलाई रोक्ने प्रयास गरे । अब १७० रनको विजय लक्ष्य पछ्याउँदै चितवन राइनोजले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) सँग बुढानीलकण्ठ विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका प्रमुख मीठाराम अधिकारीले बताए । नगरको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अधिकारीले नेपाल सरकारको सम्बन्धित निकाय र पक्षसँग सो विषयमा विभिन्न चरणमा कुरा भएको जनाए । उनले अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पालिका सक्रिय भएको बताए । प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदलाई प्राथमिकता दिइएको र शिक्षा क्षेत्रको बजेट बढाएर १३ करोड रुपैयाँसम्म पुर्याइएको जनाउँदै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको बताए । सो पालिकाले ४ जिपिए ल्याउने सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ र विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको जनाएको छ । नगरपालिकाले नगर अस्पतालबाट दैनिक ३०० भन्दा बिरामीको उपचार गर्दै आएको छ । स्थापना दिवसका अवसरमा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले गरेको कामप्रति प्रशंसा व्यक्त गरे । नगरका उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताए ।
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । 'हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ' उनले भने, 'टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।' महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ ।
गुण्डुमा ओलीको घर निर्माण सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण कार्य सुरु भएको छ । भक्तपुरको गुण्डुमा ओलीकुटी नाम दिइएको निवास निर्माण सुरु भएको एमालेको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए । बिहीवार मध्यान्ह ओली पत्नी राधिका शाक्यले कुटी निर्माणको सुरुवात गरिन् । ओलीको बालकोटको घरमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि उनी गुण्डुमै भाडाको घरमा बस्दै आएका थिए ।
प्रधानमन्त्री कार्कीले आह्वान गरिन् सर्वपक्षीय बैठक, निर्वाचनको तयारी मुख्य एजेन्डा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन्। शुक्रबार अपरान्ह ४ बजे बस्ने बैठकमा मुख्य ५ राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएकोमा ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थिए । यसपटक भने बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्र सहभागी गराइने बताइएको छ । बैठकको मुख्य एजेन्डा माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी तयारी, वातावरण निर्माण र समन्वयका विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले निर्वाचन मिति घोषणा गरेपनि चुनावी वातावरण बनाउन नसकेको भन्दै राजनीतिक दलहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
नेपालका आईटी कम्पनी र प्रतिनिधिहरू एपीआईसीटीए अवार्डमा सहभागी हुन ताइवान प्रस्थान
काठमाडौं । नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी संघ (नास-आईटी) ले एशिया प्यासिफिक सूचना प्रविधि एलायन्स (एपीआईसीटीए) अवार्ड २०२५ का लागि नेपालका आइटी कम्पनी र प्रतिनिधिहरू ताइवान प्रस्थान गरेको जनाएको छ । सूचना प्रविधि अवार्ड २०२४ का श्रेणी विजेता तीन कम्पनीहरूले डिसेम्बर ५ देखि ८ सम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । कार्यक्रममा उनीहरूसँगै तीन निर्णायक र अर्थ संयोजकसमेत रहेका चार प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी छन् जसले अन्तर्राष्ट्रिय निर्णायक प्यानल र कार्यक्रम समन्वयमा आफ्नो विशेषज्ञता र नेतृत्व प्रदान गर्नेछन् । नेपाल प्रतिनिधित्व गर्ने कम्पनीहरू क्रिमसन टेक प्रालि, अल्पस टेक्नोलोजी प्रालि, र एड्रेसग्राफ नेपाल प्रालि रहेका छन् । यसैगरी निर्णायक प्रतिनिधिहरूमा रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, एनएएस–आईटी र प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजीज प्रालि, दीपन चापागाईं, उपाध्यक्ष, एनएएस–आईटी र देश निर्देशक, लगपोइन्ट नेपाल प्रालि, नारायण कोइराला, कार्यसमिति सदस्य, एनएएस–आईटी र प्रबन्ध निर्देशक, एमिनेन्स वेज प्रालि, सोनिया श्रेष्ठ, अर्थ संयोजक, एपीआईसीटीए अवार्ड र सचिवालय, एनएएस–आईटी रहेका छन् । संघले सहभागी कम्पनी, निर्णायक र प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै नेपाललाई प्रविधि र नवप्रवर्तनको विश्वव्यापी केन्द्र बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।