नर्सको सुविधा बढाउन मन्त्रालयले दिएको निर्देशनमा निजी अस्पताल सञ्चालक संस्थाको ध्यानाकर्षण
काठमाडौं । निजी मेडिकल तथा कलेजहरूको संस्था नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनले नर्सहरूलाई सरकारी नर्स सरह तलब दिन नसक्ने जनाएको छ । श्रम अनुसारको पारिश्रमिक पाउन नसकेको भन्दै विभिन्न अस्पतालका नर्सहरू आन्दोलित भएपछि स्वास्थ्य मन्त्रालयले निजी मेडिकल कलेजलाई सरकारी सरहको तलब दिन निर्देशन दिएको थियो । सरकारले दिएको निर्देशनमा एशोसियसनले गम्भिर ध्यानाकर्षण जनाउँदै पारिश्रमिक दिन नसक्ने बताएको छ । ‘मन्त्रालयले दिएको निर्देशनको उद्देश्य स्वास्थ्यकर्मीहरूको हकहित र कार्य सन्तुष्टि सुनिश्चित गर्न भए पनि निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, सेवा सञ्चालनको मोडल र लगानी प्रणाली सरकारी संस्थान भन्दा पूर्ण रूपमा फरक भएकाले नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्न सम्भव छैन ।’ विज्ञप्तिमा भनिएको छ । निजी मेडिकल तथा डेन्टल कलेजहरूले प्रचलित श्रम ऐन तथा नियमावली अनुसार नै पारिश्रमिक निर्धारण गर्दै आएका छन् । सो ऐनमा स्वास्थ्यकर्मीहरूको अनुभव, दक्षता, जिम्मेवारी र सेवा कालका आधारमा पारिश्रमिक क्रमशः वृद्धि हुँदै जाने व्यवस्था समेत गरिएको छ । कतिपय अवस्थामा अनुभवी नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको भन्दा उच्च पारिश्रमिक प्रदान गरिएको एशोसियसनले जनाएको छ । सरकारी अस्पतालमा पूर्वाधार, उपकरण, जनशक्तिमा सरकारको प्रत्यक्ष लगानी तथा अनुदान उपलब्ध हुने बताउँदै एशोसिएसनले निजी अस्पतालले आफ्नै आम्दानी र स्रोतहरूबाट खर्चहरू व्यवस्थापन गर्नुपर्ने समस्या रहेको र अधिकांश निजी कलेज अस्पतालहरू बैंक ऋणमार्फत सञ्चालनमा रहेकाले सुविधा बढाउन नसकिने प्रक्रिया दिएको छ ।
हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कपिल कुमार दाहाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । यसअघि कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि, सञ्चालक समितिले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कार्यबाहक सीईओको जिम्मेवारी सुम्पिएको हो । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् । दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध रहँदै आएका छन् र हिमालयन लाइफ इन्स्योरेन्समा डीसीईओको रूपमा संस्थागत सञ्चालन तथा व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका थिए।
कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ
काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट आचार्य सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने व्यवस्था अनुसार आचार्यले औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, साथै कामना सेवा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिती रहेको थियो । उक्त साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनमा कुटपिटमा परेका देउवा दम्पत्ति ३५ दिनपछि सार्वजनिक
काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सार्वजनिक भएका छन् । उनी घटना भएको ३५ दिनपछि सार्वजनिक भएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनी सार्वजनिक भएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनमा उनीसहित पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरु अस्पताल भर्ना भएका थिए । उनीहरुले त्यसपछि कुनै पनि सार्वजनिक वक्तव्य राखेका थिएनन् । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो । उनीसँगै आरजु राणा पनि सार्वजनिक भएकी छन् ।
बालेनले माफी नमागे किसानहरूले आन्दोलन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई अपमानित गर्ने शैलीमा लेखेको स्टाटसप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ । महासंघले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै उक्त स्टाटस हटाएर तत्काल सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । महासंघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेयर साहको फेसबुक स्टाटसमा प्रयोग गरिएको किसानझैं फोहर भन्ने शब्दले मुलुकभरिका कृषकहरूको इज्जत र श्रमप्रति गम्भीर अपमान गरेको छ ।’ विज्ञप्तिमा मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट किसान समुदायप्रति यस्तो अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण र अस्वीकार्य भएको उल्लेख गरिएको छ । महासंघले साहले आफ्नो उक्त स्टाटस फिर्ता लिएर सार्वजनिकरूपमा माफी मागेमात्रै विवाद अन्त्य हुने स्पष्ट पारेको छ । महासंघका अनुसार किसान देशको मेरुदण्ड हुन । उनीहरूको श्रमले नै देशको अर्थतन्त्र चलेको छ । तर राजधानीको नेतृत्व गर्ने मेयरबाटै किसानमाथि अपमानजनक टिप्पणी आउनु कृषिप्रति सरकार र नेतृत्वको दृष्टिकोण कस्तो छ भन्ने देखाउने उदाहरण हो । विज्ञप्तिमा कृषि पेशाप्रति जनप्रतिनिधिहरूले सम्मानजनक दृष्टिकोण राख्नुपर्ने उल्लेख गर्दै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दोहोरिए किसान महासंघले विरोध कार्यक्रमको तयारी गर्ने चेतावनीसमेत दिएको छ । महासंघले किसानप्रतिको यस्तो व्यवहारले कृषकहरूको मनोबल घटाउने र कृषिप्रति युवापुस्ताको आकर्षण घटाउने चेतावनी पनि दिएको छ ।
अब एकै जनाको नाममा जतिपनि डिम्याट खाता खोल्न मिल्ने, यस्ता छन् सेयर बजार सुधारका योजना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारसँग सम्बन्धी सुझाव तत्काल कार्यान्वयन गर्ने भएको छ । धितोपत्र बोर्डले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन प्रतिवेदनमा भएका सुझाव तत्काल कार्यान्वयन गर्ने भएको हो । मंसिर १५ गतेभित्र सुझाव कार्यान्वयन गर्ने गरी बोर्डले कार्यतालिका नै तयार पारेको हो । कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गबाट प्रदान गरिने इटरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआईएन)मा एकरुपता कायम गर्न निश्चित मापदण्ड कार्यान्वयन गर्ने बोर्डले जनाएको छ । यस्तै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता (डिम्याट खाता) खोल्न सक्ने व्यवस्था गरिनेछ । उक्त व्यवस्था कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको जनाएको छ । साथै, मंसिर १५ गतेभित्र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्ने जनाएको छ । धितोपत्र बोर्डका अनुसार संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था, नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा वर्गीकरण पश्चात् जेड समूहमा कम्पनीहरूको कारोबार गर्दा सतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गरिनेछ । यस्तै, लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने काम पनि तत्काल कार्यान्वयन गरिने बोर्डले जनाएको छ । लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने काम भने निरन्तर रहेको बोर्डको भनाइ छ ।
क्रान्तिपछिको क्रान्तिकारी सरकार भएकाले बकबक नगर्न गृहमन्त्री अर्यालको चेतावनी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारलाई क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भन्दै सरकारका कामकारबाहीबारे अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् । माइतीघर मण्डलामा अनशनरत युवा मदन बुढाको अनशन तोड्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भ्रष्टाचारविरुद्धको सरकारको कठोर कदमलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, यो क्रान्तिपछि बनेको सरकार हो । कोही कन्फ्युजनमा नहुन अहिले बकबक गरिरहेका मानिसहरू पनि कन्फ्युजनमा होलान् । यो क्रान्तिकारी सरकार हो । भ्रष्टाचारी खोज्न पाइँदैन, शान्ति–सुरक्षा कायम गर्न पाइँदैन भन्ने कुरा कदापि स्वीकार्य छैन ।’ गृहमन्त्री अर्यालले सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नुका साथै शान्ति–सुरक्षा कायम राख्नु र भ्रष्टाचार अन्त्य गर्नु भएको बताउँदै निर्वाचनको बहानामा भ्रष्टाचारीमाथि कारबाही गर्न थाल्दा अनेक बहाना नबनाउन अनुरोध गरे । उनी भन्छन्, ‘यो सरकारले निर्वाचन पनि गराउँछ, तर शान्ति–सुरक्षा र भ्रष्टाचार निर्मूल गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । गृहमन्त्रीको यो अभिव्यक्ति सरकारका कतिपय निर्णयहरूलाई लिएर सार्वजनिक चासो र आलोचना बढिरहेका बेला आएको हो ।
भाइटीकाको उत्तम साइत ११ः३९ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,’ उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औंशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा म्ह पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । म्ह पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै म्ह् पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।