सुदन गुरुङको सम्पत्तिमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै शाहले पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको दाबी गर्दै त्यसबारे तत्काल उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।

उनले संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई जोगाउन र चोख्याउन आयोग नै सक्रिय भएको भन्ने विषयमा जनस्तरमा व्यापक आशंका र चर्चा रहेको उल्लेख गरे । कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन, शाहले भने, आयोगले कुनै दबाब वा प्रभावमा परेर कसैलाई चोख्याउने काम गर्नु हुँदैन ।

शाहले प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र भएकाले सदनमार्फत सरकारलाई आयोगका गतिविधिमाथि निगरानी राख्न आग्रह गरे । साथै, उनले पूर्व गृहमन्त्री गुरुङको सम्पत्तिको पारदर्शी, निष्पक्ष र उच्चस्तरीय छानबिन सुनिश्चित गर्न सरकारसँग माग गरे ।

Share News