काठमाडौं । कान्स फिल्म फेस्टिभल–२०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा सहभागी भएका छन् ।
मोरङको उर्लाबारी निवासी खनाल दम्पतीले आफ्नो कुकुर ‘मोगली’लाई प्रेमको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढाइ गरेर प्रस्तुत गरेका थिए ।
एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए ।
कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पुर्याइरहेको छ ।
कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ ।
वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ ।
फेस्टिभलमा सहभागी हुन हिजोमात्रै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरिसकेकी छन् ।
यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।