एनएमबि लघुवित्तको डीसीईओमा सजल खड्का नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सजल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गरेको हो । खड्कालाई कातिक १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त भएकाे जनाइएको छ । लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभवी खड्काले यसअघि मातृभूमि लघुवित्तको डीसीईओ थिए । साथै उनले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालेका थिए । उक्त लघुवित्त मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्तको डीसीईओ बनेका थिए । साथै उनले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरिसकेका छन् ।
शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख
काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।
रविलाई रिहाइ गर्न सीडीओमार्फत दबाब, सहकारी ठगीमा राजनीतिक रङ्ग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रक्राउ भएसँगै यसले सडक तताएको छ । विशेषगरी रास्वपाका नेता तथा कार्यकताहरू उनको रिहाइको माग गर्दै सडकमा उत्रिएका छन् । शनिबार बिहानैदेखि देशका विभिन्न ठाउँमा रास्वपाका कार्यकर्ताले उनको रिहाइको माग गर्दै विरोध गरिरहेका छन् । सडकमा विरोधसँगै रास्वपाले रविको रिहाइको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । रास्वपाको केन्द्रीय सचिवालयले शनिबार राति पत्र पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको हो । रास्वपाले प्रत्येक जिल्लाबाट सय/सय जना नेता/कार्यकर्ता पोखरा आउन पनि निर्देशन दिएको छ । सरकारले रविलाई सहकारी ठगी कसुरमा पुर्पक्षमा पठाउने सम्भावना रहेकाले आन्दोलनको दबाबबाटै त्यहाँसम्म पुग्न नदिने रास्वपाको योजना छ । अहिले प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा लामिछानेलाई पक्राउ गरिएको हो । सहकारी ठगी प्रकरण भएपनि यसलाई रास्वपाले राजनीतिक रङ्ग दिएको छ । सरकारले राजनीतिक प्रतिशोध साँध्न उनलाई पक्राउ गरेको रास्वपाको भनाइ छ । गोर्खा मिडियाका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर मिलीजुली खर्च गरेको आरोप छ । सहकारी ठगी प्रकरण भएपनि यसलाई राजनीतिक रङ्ग दिन थालिएको छ । सहकारीको बचत ठगी विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले लामिछानेको अप्रत्यक्ष संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सहकारीबाट रकम ल्याउनमा उनको भूमिका नरहे पनि सहकारीबाट आएको रकम खर्च गरेर उनको अप्रत्यक्ष संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।
मकै बेचेर जीवन निर्वाह गर्दै महिला, महिनामा ४० हजार आम्दानी गर्दै
धरान । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन् । दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन् । उनले पोलेको सानो मकै घोगा २० रुपैयाँ र ठूलो मकै ४० सम्म रुपैयाँमा बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।’ दिनमा मकै बेचेर एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाई हुने गरेको राजवंशीले बताइन् । ‘महिनामा ३० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाई हुन्छ’, उनले भनिन् । इटहरी–२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘बेमौसममा भने काचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।’ मकै प्रतिघोगा १० देखि १५ रुपैयाँमा खरिद गरेर २० देखि ३५ सम्म रुपैयाँमा बिक्री गर्ने गरेको चौधरीले बताइन् । फुर्सदको समयमा उनले बिहान जंगल गएर दाउरा सएकलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् । उनले भनिन्, ‘बिहान दाउरा खोज्न जान्छु, जंगलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा ३० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु ।’ इटहरी–६ की संगीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । मण्डलले भनिन्, ‘अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।’ महिनामा २० हजार रुपैयाँसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन् । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरु धेरै भेटिन्छन् । पुरुषभन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरुको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।
मेची भन्सार कार्यालयको तीन अर्ब ५८ करोड राजस्व संकलन
भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ संकलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो । आव २०८०८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो
दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।
घिरौला ७०, पुदीना ९०० रुपैयाँ, कुन तरकारीको मूल्य कति ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्य १३५ रुपैयाँ तोकेको छ । यस्तै रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा ५० रुपैयाँ, काउली १२० रुपैयाँ, मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ तोकेको छ । यस्तै मटरकोशा १८६ रुपैयाँ, घिउ सिमी (राजमा) १९० रुपैयाँ, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, लौका ४२ रुपैयाँ, परवर ७५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ तोकेको समितिले जनाएको छ । घिरौला ७० रुपैयाँ, फर्सी ९५ रुपैयाँ, सलगम ११० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस २५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, चमसूरको साग १२६.६७ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ तोकिएको छ । प्याज हरियो १२६.६७ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, रातो बन्दा १२६.६७ रुपैयाँ, जिरीको साग १७६.६७ रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९०० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=517680]
१२५ ऋणीले तिरेनन् निर्धन उत्थान लघुवित्तको कर्जा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत तिर्नुपर्ने हो । तर, उक्त रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेको र पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिनभित्र चुक्ता गर्न लघुवित्तले आग्रह गरेको छ । यदि ३५ दिनभित्र नतिरेको खण्डमा ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो लेना रकम असुल गरिने बताइएको छ ।