विकासन्युज

१० रोपनी १४ आना जग्गा दान कि घुस ? (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीले एमाले पार्टी कार्यालयका लागि सहयाेग संकलन सुरु गरेकाे छ । विद्यार्थी संगठनले कर छलेकाे पैसाले नभई जनताको पैसाले पार्टी कार्यालय बनाऊ भन्दै रु १ सहयाेग संकलन गरेकाे हाे । अनेरास्वीयू क्रान्तिकारीले प्रदर्शनीमार्गमा आइतबार प्रदर्शन गर्दै सहयाेग संकलन सुरु गरेकाे हाे । प्रदर्शनकाे क्रममा विद्यार्थीहरूले ‘तपाईं जनताकाे प्रधानमन्त्री कि भ्रष्टाचारीकाे ?’,  ‘एक अर्बकाे भवन, मदन भवन कि मीन भवन?’, ‘भ्रष्ट एमालेलाई सकाउनुपर्छ’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेकाे केन्द्रीय कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए । साेही विषयलाई लिएर एमालेकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । व्यवसायी गुरुङले केन्द्रीय कार्यालयका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् । पार्टी कार्यालय निर्माणका नाममा जग्गा दानमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । एमालेले भने व्यवसायी गुरुङ आफ्नाे कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।  

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

काठमाडौं । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् । सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ । भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले ‘अत्यन्त कडा कारबाही’ गरिने चेतावनी दिएका छन् । नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज१८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा धेरै झुटो धम्की दिइएको बताएका छन् । शनिबार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो । उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तािलका र लागतमा धेरै परेको छ । भारतमा कम्तीमा एक जना नाबालक पक्राउ परेका छन् । यद्यपि धम्कीहरू जारी छन् । बुधबार पक्राउ परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडूले भने, ‘अवरोध सिर्जना गर्ने अन्य सबै जिम्मेबार व्यक्तिको पहिचान गरिनेछ र विधिवत् मुद्दा चलाइनेछ ।’ शुक्रबार र शनिबार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ । यसमा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डका समेत गरी भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए । इन्डियन एक्सप्रेसका अनुसार निलम्बित खाताबाट पठाइएका समान सन्देशहरूमा लेखिएको थियो, ‘बोर्डमा बमहरू राखिएका छन्। कोही पनि जीवित बाँच्ने छैन । हतार गर्नुहोस् र विमान खाली गर्नुहोस् ।’ हालै प्रभावित उडानहरूमध्ये शनिबार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए । प्रभावित अन्य उडानहरूमा नयाँदिल्लीबाट शिकागो जाने एयर इन्डिया विमान थियो । उक्त विमान मंगलबार क्यानाडाको सुदूर उत्तरी शहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । क्यानाडाको वायुसेनाले यात्रुहरूलाई उडान गराउनुपरेको थियो । सोही दिन सिंगापुरले एयर इन्डिया एक्सप्रेस विमानलाई एस्कर्ट गर्न लडाकू जेटहरू खटाएको थियो । बिहीबार विमानविरुद्ध धम्की दिइएपछि बेलायती आरएएफ लडाकू जेटहरूले एयर इन्डिया बोइङ ७७७–३०० लाई एस्कर्ट गरेपछि लन्डनमा सुरक्षित अवतरण भएको थियो । शुक्रबार नयाँदिल्लीबाट लन्डन जाने भिस्तारा उडान जर्मनीको फ्रेंकफर्टमा मोड्नु परेको थियो । रासस

व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न अर्थमन्त्रीको जोड, राजस्व संकलन र पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् । अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराए ।  

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

NEB भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

ब्रिटिश काउन्सिल नेपालद्वारा आईईएलटीएस पार्टनर समिटको आयोजना, को-को भए सम्मानित ?

काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले आईईएलटीएस पार्टनर समिटको आयोजना गरेकाे छ । युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करिअर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले समिटकाे आयोजना गरेकाे हाे । यस समिटले नेपालीहरूलाई विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय योग्यता हासिल गरेर नेपालमा शिक्षाका अवसरहरू अभिवृद्धि गर्ने प्रतिबद्धता ब्रिटिश काउन्सिलले गरेकाे छ । समिटमा अप्रिल २०२३ देखि मार्च २०२४ सम्म आईईएलटीएस परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरू सम्मानित पनि भएका  छन् । ‘आईईएलटीएस उपहार अभियान’ को दोस्रो सिजन पनि सुरु भएकाे छ । यो अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कारसहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिनेछ । बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् । बम्पर पुरस्कारमा अष्ट्रेलियाको लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइन्सबाट प्राप्त गर्न सकिन्छ । यस अभियानमा सहभागी हुनको लागि ब्रिटिश काउन्सिलमा आईईएलटीएस बुक गर्न र भुक्तानी गर्न आवश्यक छ । यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूको लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन आईईएलटीएसको लागि मान्य हुनेछ । कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था इक्यान रहेकाे छ भने उत्कृष्ट प्रदर्शन गर्ने संस्था (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रालि रहेकाे बताइएकाे छ । कसले के पुरस्कार पायाे ? राइजिङ स्टार १. काठमाडौं एडवाइज फाउन्डेसन प्रालि २. काठमाडौं ग्लोसा प्रिपेटरी एकेडेमी प्रालि ३. काठमाडौं ओसियानिया एजुकेसन कन्सल्टेन्सी प्रालि ४. धरान सुमेधा एजुकेसन नेटवर्क प्रालि ५. पोखरा टाइम एकेडेमी प्रालि सिटी एक्सिलेन्स १. विराटनगर इडेन एकेडेमी कन्सल्टेन्सी प्रालि २. बिर्तामोड फास्ट ट्रेक एजुकेसन कन्सल्टेन्सी प्रालि ३. बुटवल ग्लोबल हब एजुकेसनल नेटवर्क ४. चितवन मेस्नफिल्ड इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी ५. हेटौंडा क्याम्ब्रिज एजुकेसन सेन्टर प्रालि ६. पोखरा मिरेकल ईन्स्टिच्युट प्रालि कास्य पदक १. ब्रिटिश अमेरिकन एजुकेयर प्रालि २. ग्रेस इन्टरनेसनल ग्रुप प्रालि ३. लेकहेड एजुकेसन प्रालि ४. मोटिफ एजुकेसन अब्रोड प्रालि ५. नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी प्रालि ६. ओली एण्ड एसोसियटस प्रालि ७. स्टडी स्क्वायर नेपाल प्रालि रजत पदक १. एइसीसी नेपाल २. एजुकेसन फर्स्ट ट्रेडिङ एज इडिएफ एडमिसन्स ३. केआइइसि लर्निङ सेन्टर प्रालि ४. माभेन कन्सल्टिङ ग्रुप ५. अर्बिट इन्टरनेसनल एजुकेसन प्रालि ६. राइटपाथ करियर काउन्सिलिङ प्रालि स्वर्ण पदक १. एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस २. आरटिसि ईंग्लिश ३. द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालि विधा साझेदारको नाम टिनम पुरस्कार अर्बिट मेडिकल इन्ट्रान्स प्रालि सर्वश्रेष्ठ एसोसिएशन पुरस्कार एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल

सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल

काठमाडौं । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेका सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सहरी विकास मन्त्रालयले सय दिनमा ११ वटा लक्ष्य लिएकोमा १० वटा पूरा गरेको बताए । जसअनुसार सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताए । विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको बताए । प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको जानकारी दिए । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिकामा ४० जना अट्ने, जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना, महोत्तरीको जलेश्वर नगरपालिकामा सय जना र सप्तरी तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने भनेअनुसार दुई वटा पूर्ण रुपमा सम्पन्न भएको र बाँकी दुई वटाको भवनहरु बनिसकेको र बाथरुमको केही मात्रै बाँकी रहेको जानकारी दिए । सय दिनको बीचमा सात वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने निर्णय गरेअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भवन, सोलुखुम्बु, लुमरुपा आयुर्वेद औषधालय भवन, पाँचथर, डडेलधुरा उप क्षेत्रीय अस्पताल भवन, डडेलधुरा, इसिवु स्वास्थ्यचौकी भवन, तेह्रथुम, बाह्रेकटौरे स्वास्थ्य चौकी भवन, महालक्ष्मी नगरपालिका, धनकुटा, मूर्तिढुंगा स्वास्थ्यचौकी भवन महालक्ष्मी नगरपालिका, धनकुटा, थोक्लुङ स्वास्थ्यचौकी भवन गरी सात वटा सम्पन्न गरेको बताए । जाजरकोट र रुकुमपूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको लागि आयोजना कार्यान्वयन इकाई स्थापना गरी जनशक्ति खटाइएको बताए । भौतिक सुविधासहित कार्यालय प्रमुख गइसकेको जानकारी दिए । भैंसेपाटीमा निर्माणधीन मन्त्री आवास निर्माणका लागि सबै मन्त्रीलाई सार्ने भन्ने लक्ष्य लिएकोमा सो लक्ष्य पनि पूरा गरिसकेको बताए । दमक व्यापारिक कम्प्लेक्स र चितवनको सौरहा सभा हल निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । सचिव गेलालले थापाथलीस्थित नेपाल राष्ट्र बैंक बैंकिङ कार्यालय भवनको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा सम्पन्न गरी राष्ट्र बैंकलाई हस्तान्तरण गरिसकेको बताए । नेपालको सबैभन्दा लामो त्रिवेणी—सुस्ता बहुत्तरी झोलुंगे पुल निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा ल्याएको र गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन गर्ने कार्य निर्माणाधिन रहेको बताए । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय अब छिटै हुने पनि जानकारी दिए ।

चर्कियो रास्वपाको आन्दोलन, सीडीओ कार्यालयले गर्यो निषेधाज्ञा

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीले विरोध चर्काएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ भएका लामिछानेलाई रिहाइको माग गर्दै रास्वपाले पोखरालक्षित आन्दोलन चर्काएको हो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा पनि जारी गरेको छ । रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । ‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ सूचनामा भनिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता/कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

जेल बसाइँपछि मीनबहादुरमा पलाएको आँट र उदारता

असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे । ७६ दिनसम्मको हिरासत बसाइँपछि २०८० भाद्र २४ गते जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो र मीनबहादुर आफ्नै निवास फर्किए । हिरासतबाट छुटेको दुई सातापछि एक अनलाईनमा समाचार प्रकाशित भयो-‘मीनबहादुर गुरुङ निराश छन्, उनी व्यापार व्यवसायको काममा पनि सक्रिय छैनन् । बढी समय घर परिवारसँग बिताइरहेका छन् ।’ समाचारलाई पत्याउने केही आधार पनि थिए । ६६ वर्ष नाघेका मीनबहादुरमा बुढ्यौली लक्षण देखिने बेला भएकै थियो । अदालतले दोषी ठहर गरेपछि र प्रहरी हिरासतमा साढे दुई महिना बिताएपछि मनोवैज्ञानिक रुपमा गुरुङ कमजोर हुने आँकलन पनि धेरैले गरेका थिए । २०८० कात्तिक १७ गते राती जाजरकोट र रुकुम क्षेत्रमा गएको ठूलो भूकम्पले धेरै धनजनमा क्षति पुर्यायो । ती भूकम्प पीडितलाई राहत बाढ्न मीनबहादुर गुरुङ जुरुक्क उठे । पीडितहरुलाई सहयोग गर्न भन्दै १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको चेक बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगे र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेक हस्तान्तरण गरे । जाजरकोट भूकम्प पीडितलाई निजी क्षेत्रबाट पहिले र सबैभन्दा ठूलो सहयोग त्यही नै थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डले गुरुङको प्रशंसा गरे । प्रचण्ड तिनै व्यक्ति र प्रधानमन्त्री हुन् जसले मीनबहादुरलाई ७६ दिन लामो हिरासत बसाएका थिए । सरकार प्रमुखको हैसिएतमा प्रचण्डले गुरुङलाई पत्थरले हानेका थिए । गुरुङले त्यसको बदला पुष्पगुच्छा दिए । मीनबहदुर गुरुङ २०८१ वैशाख २८ गते डा. भगवान कोइरालासँग एउटै फोटोमा देखिए । डा. कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि गुरुङले ४१ करोड रुपैयाँ दान गरे । सुरुमा मीनबहादुरले २५ करोड दान दिने बचन दिएका रहेछन् तर दिने बेलामा ४१ करोड रुपैयाँ दिए । जटिल प्रकृतिको बाल रोगको उपचार गराउन डा कोइरालाले अस्पताल बनाउन देखाएको आँट र जोशमा गुरुङको उदारताले राम्रै प्रशंशा पायो । असोज ११ र १२ गतेको भिषण वर्षापछिको बाढीपहिरोले देशलाई फेरि ठूलो क्षति पुग्यो । सरकारले यो विपत्तिमा सहयोगको याचना गर्यो । यस्तो अवस्थामा मीनबहादुरले प्रधानमन्त्री राहत कोषमा बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरे । विभिन्न समयमा प्राकृतिक विपद् र मुलुकको मन दुखेको बेला मीनबहादुरले विशाल मुटु बनाउँछन् । सकेसम्मको आर्थिक सहयोग गर्छन् । उद्योगी व्यवसायीबाट आर्थिक सहयोग गर्ने अग्रपंतीमा मीनबहादुर उभिन्छन् । उनको दान यतिमा सीमित रहेन । उनले नेकपा एमालेको पार्टी कार्यालय बनाउन भन्दै किर्तिपुरमा रहेको १० रोपनी ११ आना जग्गा नै दिए । त्यतिमात्रै होइन पार्टी कार्यालय एकवर्ष भित्र निर्माण सम्पन्न गरिदिने समेत बचन दिए । तर, गुरुङको यो दान विवादमा तानिएको छ । ललिता निवासको मुद्दामा सरकारबाट सफाइ पाउन सत्ताको नेतृत्व गरिरहेको र आगामी दशकहरुमा पनि सत्ताको वरिपरि रहने आकलन गरिएको नेकपा एमालेलाई झण्डै एक अर्ब रुपैयाँ बराबरको दान दिएको भन्दै उनको आलोचना भइरहेको छ । गुरुङको भन्दा बढी आलोचना नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भइरहेको छ । मीनबहादुर गुरुङ अहिले मात्र दानी बनेका होइनन् । उनले त्रिभुवन विश्व विद्यालयल अन्तर्गतको शिक्षण अस्पतालमा ७२ वेड क्षमताको आकस्मिक उपकार केन्द्र पनि बनाइदिएका छन् । कोरोना महामारीको बेलामा उनले संघीय र प्रदेश सरकार मार्फत लाखौं रुपैयाँ आर्थिक सहयोग पनि गरेका थिए । गत वर्ष मात्र सरकारले सबैभन्दा बढी कर तिरेकोमा भाटभेटेनी सुपरमार्केटको तर्फबाट गुरुङलाई सम्मान गरेको थियो । दानमा मात्र होइन, व्यापारमा पनि गुरुङ चम्किएका छन् । हिरासतबाट निस्केपछि गुरुङले पोखरा, चितवन र ललितपुरमा गरी तीन स्थानमा भाटभटेनी सुपरमार्केटको शाखा निर्माण थालेका छन् । भाटभटेनीको व्यापार वार्षिक ३० अर्ब भन्दा बढीको छ । रिटेल विजनेशमा अब्बल सावित गुरुङले व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा हाल बन्द अवस्थामा रहेको दरवारमार्गको पाँचतारे अन्नपूणर् होटलको बहुमत सेयर किनेका छन् र त्यसमा ८ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । उनले करिब १ अर्ब रुपैयाँ लगानीमा चितवनमा चिस्यान केन्द्र स्थापनाको कार्य पनि अगाडि बढाएका छन् । नेकपा एमालेलाई १० रोपनी जग्गा र केन्द्रीय कार्यालय बनाउने मीनबहादुरको निणर्य नेपाली समाजमा विवाद मुक्त हुनै सक्दैन । यो विषयमा मीनबहादुरसँग सौदावाजी गर्ने एमालेले ठूलो मूल्य चुकाउनु पर्नेछ । तर, हिरासतबाट निस्केपछि वृद्ध अवस्थामा मीन बहादुर गुरुङमा पलाएको आँट, त्याग र उदारता तारिफयोग्य छ ।