न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डीपी अर्याल
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताएका छन् । सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड दिए । यहाँस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान गर्न निजलाई शुक्रबार पक्राउ गरी यहाँ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो
जुम्ला । यहाँका किसानलाई मार्सी धान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ-१, चन्दननाथ-३, लेकाली-१ र लेकाली-३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका-४ का राजेन्द्र पाण्डेले मार्सीधान काट्न व्यस्त रहेको बताए । दसैँ सकिएसंगै मार्सी धान भित्र्याउन हतारो भएको सिंजा गाउँपालिकाका जयशंकर धितालले बताए । गत जेठमा रोपिएको धान कात्तिक लागेसँगै घरमा भित्र्याउन थालिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा दुई हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार पाँच सय हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक सय हजार दुई सय हेक्टरमा झरेको प्रमुख देवकोटाले जानकारी दिए । जिल्लाका गुठिचौर र तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र सिंजा भेगका किसान मार्सीधान काट्न व्यस्त भएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्ला सदरमुकाम खलङ्गामा रहेका कोशेली घरमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मार्सी चामल पर्ने गरेको व्यवसायी अर्जुन बुढाले जानकारी दिए । बजारमा मार्सी चामलको माग बढेपछि सुर्खेत, नेपालगञ्ज, काठमाडौं, पोखरा, बुटवललगायत सहरमा पठाइने गरेको जनाइएको छ । जिल्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको छ । तत्कालीन राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सीधानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको जनाइएको छ । करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा धान खेतीको सुरुआत गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङको हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
सुडानमा ३० लाख भन्दाबढी मानिसहरू हैजाको जोखिममा
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो । युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ । द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौंदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ । आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो । एजेन्सी
पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक
घोडेपानी । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल–घोडेपानीमा ६ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि, यो गतवर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ । उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार ६ सयभन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् । पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताइन् । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताइन् । कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।
बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण
नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । केन्द्रप्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्यांक आउनुपर्ने बताए । उनले दशैंअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए । ‘हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ,’ उनले भने । जिल्लाको ३४ हजार ५ सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए । उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।
पोखरामा रवि लामिछानेको समर्थनमा प्रदर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पाटी सभापति रवि लामिछानेलाई पक्राउ गरेकोमा पोखरामा विरोध प्रदर्शन गरेका छन् । पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ता उपस्थिति छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै उनलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको उनीहरूको आरोप छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए । उनले भने, ‘घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्दै आइरहेको छ । पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ ।’ तराई –मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतीको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए । ‘छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे । ‘छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ,’ उनले भने, ‘घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको छ । अब हामीले तेस्रो मुलुकबाट आउने पर्यटकलाई पनि छठको रौनकता देखाउन जरुरी भइसकेको छ ।’ सहसचिव गुप्ताले घडीअर्वा पोखरीको सजावट र डेकेरेसनले मुलुकभरका दर्शनार्थीलाई मोहित पार्ने भएकाले पनि यस वर्ष एक लाखभन्दा धेरै दर्शनार्थीले घडीअर्वा पोखरीको अवलोकन गर्ने दाबी गरे । समितिका अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिव १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए । ‘छठपर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रूपमा दुई सय ५० रुपैयाँको टिकट काट्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै शूल्क लाग्ने छैन ।’ समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिलि बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ । रासस
महिलाले सञ्चालन गरेको डेरी उद्योगमा मासिक १० लाखको कारोबार
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा संकलन भएको दूधजन्य पदार्थ बिक्रीका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दूधजन्य वस्तुहरू आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक संगीता ओझाले जानकारी दिइन् । सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दूधजन्य पदार्थहरू दूध, दही, घ्यू, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन् । उनका अनुसार अनुसार डेरी उद्योगमार्फत मासिक १० लाखको दूधजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ । देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध संकलन, दूधजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारीखेती तथा सामूहिक रूपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ । उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध संकलन हुँदै आएको छ । संकलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन् । उनका अनुसार दूधबाट दूधजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ । सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन् । सहकारीमा देवघाटको वडा नम्बर १, ४ र ५ का महिला सदस्य छन् । शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दूधजन्य वस्तु उत्पादन गरी बिक्री गर्दै आइएको छ । उत्पादित दूधजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ । रासस