विकासन्युज

नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित

काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकाको डलासमा आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने  । त्यस्तै, अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई-दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने  साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका  । नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ ।

पञ्चकन्या स्टीलले पायो ग्रीनप्रो प्रमाणपत्र

काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन टीएमटी रिब्डबारले सीआईआई ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे । प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

जीडीपीको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण, महिनामै २९ अर्ब ३६ करोड भुक्तानी

काठमाडौं । असोज महिनामा सार्वजनिक ऋण घटेको छ । भदौ महिनाको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँ ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । भदौ मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । जसमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड आन्तरिक र १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य ऋण सरकारले तिर्न बाँकी छ । समग्रमा कुल ग्राहस्थ उत्पादनको ४४.२३ सार्वजनिक ऋण रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोजमा खास गरी विदेशी मुद्रा विनिमयमा आएको उताढचढावले गर्दा ऋण घटेको हो । असोजमा २९ अर्ब ३६ करोड रुपैयाँ ऋण सरकारले तिरेको छ । त्यसैगरी, ३२ अर्ब २६ करोड ऋण सरकारले प्राप्त गरेको छ । विदेशी विनिमय दर घटबढले असोजमा ८ अर्ब ४८ करोड रुपैयाँ नेपालको ऋण घटेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष राखेको छ । जसमध्ये असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । अर्थात वार्षिक लक्ष्यको २४.९२ प्रतिशत ऋण सरकारले परिचालन गरेको छ । जसमध्ये आन्तरिक तर्फ २३.८५ र वाह्य तर्फ ९.८९ प्रतिशत ऋण सरकारले परिचालन गरेको कार्यलयको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य राखेको थियो । जसमध्ये पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ सरकारले भुक्तानी गरेको छ । जुन कुल भुक्तानी लक्ष्यकाे २०.६२ प्रतिशत हो ।

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको १ लाख ६५ हजार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

युद्धले आक्रान्त अफगानी, ४८ प्रतिशत गरिबीको रेखामुनि

काठमाडौं । दशकौंदेखिको विदेशी आक्रमण, आन्तरिक द्वन्द्व र गृहयुद्धले अफगानिस्तानलाई विनाश, विस्थापन र चरम गरिबीको अवस्थामा पुर्‍याएकाे छ । युद्धपछि अफगानिस्तानका स्थानीय जनता अझै पनि गरिबीले त्रसित छन् । आफ्नो जन्मभूमि कुन्दुज प्रान्तको द्वन्द्वबाट भागेका जाहिर अहिले काबुलको एउटा बस्तीमा बस्छन् । उनले आफ्नोजस्तै परिवारहरूको लागि भयानक वास्तविकता वर्णन गरे । खाना निरन्तर चिन्ताको विषय बनेको उनले सुनाए । युद्धग्रस्त हेलमाण्ड प्रान्तका गुल १८ वर्षदेखि काबुलमा बस्दै आएका छन् । उनले युद्धले आफूसँग भएको सबै थोक भष्म पारेको बताए । अगस्टमा मानवीय मामिला समन्वय कार्यालयको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देशको आधाभन्दा बढी जनसंख्यालाई (२३.७ मिलियन अफगानीहरूलाई) मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । ४८ प्रतिशत गरिबीको रेखामुनि बस्ने गरेको खुलासा गरेको छ । अफगानिस्तानको कार्यवाहक प्रशासनले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन नहर, खानी र सडकलगायत विकास परियोजनाहरू सुरु गरेको छ । तर स्थानीयवासीले चुनौती पार गर्न वर्षौं लाग्ने विश्वास गरेका छन् ।

बन्दिपुर हिलले चाडपर्व उत्सव आयोजना गर्दै, गायिका रचना रिमालको प्रस्तुति रहने

काठमाडौं । बन्दीपुरमा कार्तिक ९ देखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ । जस अन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । ‘संगीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौँ’ भन्ने नारा सहित बन्दिपुर केबलकारको प्रवर्द्धक कम्पनी बन्दिपुर हिलले ख्याति प्राप्त कलाकारहरूको सांगीतिक कार्यक्रमका साथ यही कार्तिक ९ देखि १५ गतेसम्म बन्दिपुर केबलकारको लोअर स्टेसन, केबलकार चोकमा देउसी–भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाइलो मेला, फुड फेष्टिबल र स्थानीय हाटबजार कार्यक्रम सञ्चालन हुने बन्दिपुर हिलले जनाएको छ । देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसै गरी द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ । त्यसै गरी चाडपर्व उत्सव अन्तर्गत सञ्चालन हुने टिकटक प्रतियोगितामा बढी सेयर भएको भिडियो, बढी भ्युज भएको भिड्यो र उत्कृष्ट भिडियोलाई जनही १०, १० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ । साथै चाडपर्व उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरू आशिस राना (लाहुरे), ज्योति मगर, रचना रिमाल, बिलम राज क्षेत्री, युवराज घर्ती, शान्ता रानी परियार, रेसम निर्दोश, रूपक डोटेल, विवेक, धिताल, आशा बिसी, राजेश बर्देवा लगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने नृत्य तर्फ बिनु कार्की, सम्झना गुरुङ, सविता रानाले नृत्य प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रवर्द्धकमा ड्राइभ इन रेस्टुरेन्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको कम्पनीले बताएको छ ।

क्षमता शून्य भए पनि लाभांश दिँदै बैंक, यसरी भयो सम्भव

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जरपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब हाराहारी पुग्यो । सोही आर्थिक वर्ष बैंकले नगद लाभांशलाई जोड दियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्‍याे । बोनस सेयरभन्दा नगदलाई बढी जोड दिएपछि अब बैंकको पुँजी धेरै भएर नगदलाई जोड दिन थालेको अड्कलबाजी हुन थाल्याे । तर, यसपटक बैंकले सेयरधनीहरूलाई बोनस सेयरमात्रै वितरण गर्ने निर्णय गर्‍याे । सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ को वितरणयोग्य नाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए । विगतमा पनि बोनस सेयर वितरण गर्दै आएको भएपनि यसपटक बोनस लाभांश दिनुलाई ठूलो अर्थमा लिइएको छ । किनभने गत आवको असारसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ । अर्थात् बैंकसँग सेयरधनीलाई ३.०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ । तर, बैंकले क्षमताभन्दा बढी लाभांश प्रस्ताव गर्‍याे । ग्लोबल आइएमई बैंकको बोनस सेयर प्रस्तावले अन्य बैंकका सेयरधनीलाई झट्का लाग्ने देखिन्छ । कसरी ? अब यस विषयमा चर्चा गरौं । सरकारले गत आव २०८०/८१ को आर्थिक विधेयकमार्फत् मर्जर तथा प्राप्ति र प्रिमियम मूल्यमा एफपीओ जारी गरेका कम्पनीलाई कर तिर्न निर्देशन दियो । सरकारको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेपछि धमाधम बैंक तथा वित्तीय संस्थाले कर तिरे । ग्लोबल आइएमईले १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार रुपैयाँ कर तिर्‍याे । उक्त कर रकम गत आव २०८०/८१ मा आर्जन गरेको नाफाबाट समायोजन गर्न नेपाल राष्ट्र बैंकले सहजीकरण गरिदियो । गत वर्षको नाफाबाट कर तिरेपछि अधिकांश बैंकको वितरणयोग्य नाफामा प्रभाव पर्‍याे । जसको प्रत्यक्ष प्रभाव लाभांशमा पर्ने नै भयो । सरकारलाई तिरेको करको कारण अधिकांश बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमतामा ह्रास आएको छ । ग्लोबल आइएमई बैंकले जति कर तिरेको थियो त्यति नै असर लाभांश क्षमतामा परेको देखिन्छ । बैंकले कर तिरेपछि वितरणयोग्य नाफा ५० करोड रुपैयाँमा झर्‍याे । लाभांश क्षमता पनि शून्यसरह बन्यो । लाभांश क्षमता शून्य भएको बैंकले ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय कसरी गर्‍याे ? अब यो विषय बुझौं । विकासन्यूजलाई प्राप्त तथ्याङ्कअनुसार ग्लोबल आइएमई बैंक (साविक बीओकेसहित)ले १८ अर्ब २० करोड रुपैयाँ बराबरका विभिन्न ६ वटा ऋणपत्र तथा बण्ड जारी गरेको थियो । जसमध्ये गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र परिपक्व भए । ऋणपत्र परिपक्वसँगै डिबेन्चर रिडेम्सन रिजर्भ पनि रिलिज (खुला) भयो । डिबेन्चर रिडेम्सन रिजर्भ खुला भएसँगै वितरणयोग्य नाफामा रहेको बाँकी ५० करोड रुपैयाँसँगै डिबेन्चर रिडेम्सन रिजर्भको रकम बाँड्न मिल्ने भयो । सोही कोषबाट बैंकले साढे ५ प्रतिशत बोनस प्रस्ताव गरेको बैंकका चिफ फाइनान्स अफिसर चन्द्रराज शर्मा बताउँछन् । बैंकहरूले दुइटा प्रयोजनका लागि ऋणपत्र जारी गर्छन् । एउटा टोटल क्यापिटल रिजर्भ (कुल पुँजी कोष)का लागि अनि अर्को निक्षेप प्रयोजनका लागि । अधिकांश बैंकहरूले कुल पुँजी कोष बढाउन ऋणपत्र जारी गर्ने गरेका छन् । ऋणपत्र जारी गरेपछि डिबेन्चर रिडेम्सन रिजर्भ खडा गर्नुपर्ने व्यवस्था छ । डिबेन्चर अवधिभरि प्रत्येक वर्ष रिटेन्ड अर्निङ्गबाट डिडक्ट (घटाएर) गरेर डिबेन्चर रिडेम्सन रिजर्भमा रकम जम्मा गर्नुपर्ने हुन्छ । जब डिबेन्चर परिपक्व भएर इकाईधनीहरूलाई भुक्तानी गरिन्छ तब डिबेन्चर रिडेम्सन रिजर्भ पनि रिलिज हुन्छ । ग्लोबल आइएमईको पनि गत चैतमा डिबेन्चर परिपक्व भएपछि डिबेन्चर रिडेम्सन रिजर्भ रिलिज हुन पुग्यो । र, सोही रिजर्भमा रहेको रकम नै बोनस सेयरका रूपमा वितरण गर्ने प्रस्ताव गरेको हो । तर, डिबेन्चर रिडेम्सन रिजर्भबाट भने नगद लाभांश दिन नमिल्ने व्यवस्था राष्ट्र बैंकले गरेका कारण बोनस मात्रै दिएको सीएफओ शर्माको भनाइ छ । अन्य बैंकको के हुन्छ ? भूतप्रभावी करका कारण सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई असर परेको देखिन्छ । यस बैंकले १ अर्ब ९२ करोड रुपैयाँ कर तिरेको थियो । जसकारण बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक हुन पुग्यो । बैंक स्रोतका अनुसार वितरणयोग्य नाफा तथा रिटेन्ड अर्निङ (सञ्चित मुनाफा) ऋणात्मक हुनुको मुख्य कारण भूतप्रभावी कर हो । बैंकले सञ्चित नाफाबाट नै भूतप्रभावी कर तिरेकाले ऋणात्मक हुन पुगेको स्रोतको भनाइ छ । रिटेन्ड अर्निङ अर्थात् सञ्चित नाफा विभिन्न कारणले ऋणात्मक हुने गर्दछ । जस्तो, विगतमा नगद प्राप्त भएपछि मात्रै आम्दानी भएको भनेर देखाउनुपर्थ्याे । तर, एनएफआरएस लागू भएपछि भने नगद रकम प्राप्त भए/नभए पनि ब्याजलाई आम्दानीको रूपमा देखाउन मिल्छ । अर्थात् तत्काल ब्याज आम्दानीबापतको रकम असुल नभए पनि रिटेन्ड अर्निङमा भने घटाएर राख्नुपर्ने हुन्छ । त्यसैले बैंकको जति नाफा हुन्छ, वितरणयोग्य नाफा त्यो भन्दा कम हुने गर्दछ । साथै बैंक कुनै मुद्दामा पराजित भयो भने सोबापतको रकम पनि रिटेन्ड अर्निङबाट भुक्तानी गर्नुपर्ने हुन्छ । एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने नेपाल सरकारको निर्णयविरुद्ध वाणिज्य बैंकहरूले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराए । बैंकहरूले दायर गरेको करसम्बन्धी रिट सर्वाेच्चले खारेज गर्‍याे । पूर्णपाठ आउन बाँकी रहेकाले कुन शिर्षकबाट कर तिर्नुपर्ने हो भनेर बैंकहरू स्पष्ट हुन सकेका छैनन् । मुद्दाकाे अन्तिम किनारा नलागेसम्म रिटेन्ड अर्निङ शीर्षकबाट खर्च गर्ने गरेको बैंकरहरू बताउँछन् । त्यसैले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक लगायतले रिटेन्ड अर्निङ अर्थात् सञ्चित नाफाबाट कर तिरेका छन् भने हिमालयन बैंक लगायत जसको थोरै कर छ, उनीहरूले गत वर्षको नाफाबाट कर तिरेको सम्बन्धित बैंकका अधिकारीहरू बताउँछन् । एनएमबि बैंकले १ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ७७ करोड ७ लाख रुपैयाँ, नबिल बैंकले १ अर्ब ६१ करोड रुपैयाँ, नेपाल बैंकले ९७ करोड ७२ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९१ करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकले ५८ करोड १० लाख रुपैयाँ, एनआइसी एसिया बैंकले ४४ करोड ४५ लाख रुपैयाँ कर तिरेका थिए । यस्तै, हिमालयन बैंकले ३२ करोड ८० लाख रुपैयाँ, प्राइम बैंकले २८ करोड ९६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २७ करोड ४० लाख रुपैयाँ, सिद्धार्थ बैंकले २१ करोड ८३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १० करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ८ करोड २० लाख रुपैयाँ, सानिमा बैंकले ६ करोड ५३ लाख रुपैयाँ, प्रभु बैंकले ५ करोड रुपैयाँ कर तिरेका थिए । जुन बैंकले जति कर तिरेका छन् सोहीअनुरूप लाभांश क्षमतामा ह्रास आएको बैंकरहरू बताउँछन् । तर, जुन बैंकसँग ग्लोबल आइएमईको जस्तै डिबेन्चर रिडेम्सन रिजर्भमा रकम छ सोहीअनुरूप वितरण गर्न भने पाउने देखिन्छ । डिबेन्चर रिडेम्सन रिजर्भमा कुन बैंकको कति रकम छ त्यो भने के कति छ यकिन तथ्यांक वार्षिक प्रतिवदेनपछि मात्रै जानकारी हुन्छ । ‘जुन बैंकले डिबेन्चर जारी गरेका छैनन्, ती बैंकको डिबेन्चर रिडेम्सन रिजर्भ पनि हुँदैन, साथै वितरणयोग्य नाफामा पनि रकम छैन भने लाभांश दिन सक्ने अवस्था पनि हुँदैन,’ एक बैंकरले भने, ‘डिबेन्चर रिडेम्सन रिजर्भ रिलिज भएका कारण ग्लोबलले लाभांश बाँड्न पाएको हो, अधिकांश बैंकको डिबेन्चर रिडेम्सन रिजर्भ हुन्छ, विगतका वर्षमा पनि डिबेन्चर रिडेम्सन रिजर्भ रिलिज भएपछि लाभांश वितरण गर्दै आएका थिए, यदि अन्य बैंकको लाभांश क्षमता नभएपनि डिबेन्चर रिडेम्सन रिजर्भ रिलिज भएको छ भने लाभांश दिन पाउँछन् ।’ बैंकको रिटेन्ड अर्निङ्ग बैंक स्रोतका अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र अर्काे वर्ष परिपक्व हुने भएकाले डिबेन्चर रिडेम्सन रिजर्भ पनि रिलिज हुनेछ । त्यसैले अर्काे वर्ष बैंकले बोनस सेयर दिन सक्ने सम्भावना हुन सक्छ । डिबेन्चर रिडेम्सन रिजर्भमा हरेक वर्षको नाफाबाट निश्चित रकम छुट्याएका हुन्छन् । यदि कुनै बैंकसँग लाभांश क्षमता छैन तर विगतमा डिबेन्चर रिडेम्सन रिजर्भमा रहेको रकम खर्च नगरी राखेको छ भने बोनस सेयर भने वितरण गर्न सक्ने वित्तीय क्षेत्रका विज्ञहरू बताउँछन् । ‘यदि सुरुमा नै लाभांश खाइसकेका थिए भने त्यसको असर स्वतः यसपटक पर्ने देखिन्छ । तर, अघिल्लो वर्षको खर्चलाई जोगाएर राखेका छन् भने यसपटक दिन सक्ने सम्भावना रहन्छ,’ एक बैंकरले भने । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खालीका अनुसार कुनै बैंकले गत वर्षको नाफाबाट कर तिरेका छन् भने कुनै बैंकले रिटेन्ड अर्निङबाट तिरेका छन् । हिलमायन बैंकले भने नाफाबाट कर तिरेको उनले जानकारी दिए । तर, जुन शीर्षकबाट तिरेको भएपनि लाभांशमा असर गरेको छ । ‘गत वर्षको रिटेन्डबाट तिर्‍याे भने यसपटकको नाफा गणना भएर अर्काे वर्षको रिटेन्ड अर्निङ बढ्छ, रिटेन्ड अर्निङबाट नतिरेर यो वर्षको नाफाबाट तिर्‍याे भने अर्काे वर्षको रिटेन्ड अर्निङ कम हुन जान्छ, दुइटामध्ये जुन बास्केटबाट तिरेपनि अन्ततः लाभांश क्षमतामा असर गर्छ,’ उनले भने । के भन्छ राष्ट्र बैंक ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल राष्ट्र बैंकको निर्देशनमा भूतप्रभावी कर नलगाएको हुँदा कुन शीर्षकबाट तिर्ने वा नतिर्ने निर्देशन तथा सर्कुलर पनि जारी नगरेको बताउँछन् । कर प्रचलित नियम कानुनअनुसार तिर्नुपर्ने उनको भनाइ छ । ‘सरकारको आदेश तथा व्यवस्था बमोजिम बैंकहरूले कर तिरेका हुन्, जुन हिसाबले कर तिर्दै आएका थिए सोही व्यवस्था बमोजिम कर तिर्नुपर्छ होला,’ उनले भने, ‘राष्ट्र बैंकले तत्काल कुनै व्यवस्था वा निर्देशन दिएको छैन, यो शीर्षकबाट कर तिर्नु वा यो शीर्षकबाट कर नतिर्नु भनेर कुनै व्यवस्था गरेको छैन ।’ तर, बैंकले कर तिरेपछि त्यसको असर स्वतः लाभांशमा पर्ने उनको भनाइ छ । कर तिरेपछि वितरणयोग्य नाफा प्रभावित हुने भएकाले जुन बैंकले बढी कर तिरेका छन्, उनीहरूको लाभांशमा बढी असर गर्ने उनको बुझाइ छ ।

राजस्व संकलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताए । ‘साउनयता मासिक लक्ष्यअनुसार राजस्व संकलननमा केही वृद्धि भइरहेको छ,’ उनले भने । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब तीन करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्‍यो। दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् १३ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् १२ अर्ब ७१ करोड २२ लाख रुपैयाँ राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् १४ अर्ब २७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।