लगानीकर्तालाई धोका, अर्बौं घोटालामा लाखको सजाय
धितोपत्र बजारका नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह आयोजना गर्दै आएको छ । भर्खरै संसारभर विश्व लगानीकर्ता सप्ताहको आठौँ संस्करण २०२४ यसै साता सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्वमा नेपालमा पनि धितोपत्र बजारसँग सरोकार राख्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ (सिडिएससी), मर्चेन्ट बैङ्कर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, धितोपत्र ब्रोकर्स एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्था, स्टक डिलर, निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको संलग्नतामा कात्तिक ६ देखि १२ गतेसम्म सातै प्रदेशमा सर्वसाधारण र लगानीकर्तालाई लगानी शिक्षा र सचेतना गराउँदै, विश्वविद्यालय स्तरका विद्यार्थीहरूमा निबन्ध प्रतिस्पर्धा, क्रेडिट रेटिङ जानकारी, मिडियामार्फत लगानीसम्बन्धी मुख्य सन्देश प्रवाह, लगानीसम्बन्धी शैक्षिक सामग्री वितरण, विद्यार्थीहरूलाई नेप्से, सिडिएससी, मर्चेन्ट बैङ्क र ब्रोकर कार्यालयको भ्रमणलगायतका गतिविधि गरेर सम्पन्न भएको छ । यस वर्षको लगानी सप्ताहले मुख्य गरेर लगानीका आधारभूत पक्षहरू, प्रविधि तथा डिजिटल फाइनान्स, दिगो वित्त र धोखाधडी तथा घोटालाको रोकथाम सम्बन्धमा लागानीकर्तामा साक्षरता सिर्जना गर्नु रहेको थियो । साथै, हरेक व्यक्तिलाई निजसँग भएको धन लगानी गरेर अझै समृद्धि प्राप्त गर्न प्रोत्साहन गर्नु, असुरक्षित ढङ्गबाट लगानी गरियो भने लगानीकर्ता कसरी ठगिन पुग्छ ? कसरी आफ्नो सम्पत्ति गुमाउन बाध्य हुन्छ ? उसले गरेको लगानी कति सुरक्षित र जोखिममा रहेको छ ? लगानी गर्न बजारमा जाँदै गर्दा कस्ता स्क्याम र फ्रडहरू हुन सक्छ ? हरेक लगानीकर्ताले कमाउन सम्भव छ ? के लगानी सुरक्षित ढङ्गबाट गर्ने उपायहरू छन् ? यस्ता प्रश्नहरूको जवाफ लगानी सप्ताहका कार्यक्रमहरूले दिन सकेको छ भने ती गतिविधिहरूको औचित्य हुन्छ अन्यथा कर्मकाण्डी मात्रै हुने निश्चित छ । नेपालमा लगानीका सम्बन्धमा ठगी, छलकपट र धुर्ताईका घटनाहरू धेरै भएका छन् तर कारबाही र क्षतिपूर्ति भराउने काम भने अत्यन्तै कम हुने गरेको देखिन्छ । घटना नं. १ : कुनै समय निजी क्षेत्रबाट ऊर्जा क्षेत्रको विकासका लागि योगदान गरेर कहलिएका एक प्रतिष्ठत व्यक्ति जो रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको अध्यक्ष थिए । धनको लोभमा आफूलाई नियन्त्रण गर्न नसकी उनले कानुनको बर्खिलाप हुने गरेर आफू स्वयम् अध्यक्ष भएको कम्पनीको सेयर आफ्ना सन्तानको नामबाट बिक्री गरेर सोझा लगानीकर्ता फसाउने खेलमा लाग्दा धितोपत्र बजारको इतिहासमा पहिलोपटक नियामक निकायले अदालतमा उजुरी गरेर कारबाहीको कालो धब्बा बोक्न बाध्य भए । यो मुद्दा विशेष अदालतबाट फैसला भइसके पनि सर्वोच्च अदालतमा पुनरावेदनको प्रक्रियामा रहेको छ । यस्तै, अर्का पात्र ज्ञानेन्द्रलाल प्रधानले पनि आफू नेपाल हाइड्रो डेभलपर्स कम्पनीको अध्यक्ष हुँदाहुँदै संस्थापक सेयर बेचेर धनी हुन खोज्दा कानुनको फन्दामा पुगे । यी प्रतिनिधि घटनाले के देखाउँछ भने कैयाैँ संस्थाहरू सेवा र वस्तु बेचेरभन्दा सेयर बिक्री गरेर नाफा कमाउन खोलिएको हो । त्यसैले संस्थापकहरू लकइन पिरियड खुल्ने बित्तिकै आफ्नो सेयर बिक्री गरेर भाग्ने गरेको देखिन्छ । घटना नं. २ : विशाल बजार कम्पनी (हालसम्म) (राष्ट्रिय बीमा संस्थान र नेपाल बैंक लिमिटेड विगतमा) केही यस्ता कम्पनी छन्, जसका सञ्चालक विगत लामो समयदेखि कम्पनीबाट मोटो रकमको भत्ता, सुविधा र अन्य अवैधानिक लाभ लिइरहेका छन् । तर, कम्पनीमा शून्य सुशासन रहेको देखिन्छ । यसका कारण वर्षौदेखि लेखापरीक्षण र साधारण सभा हुन सकेको छैन । कम्पनीको आर्थिक र व्यावसायिक अवस्था कस्तो छ कसैलाई थाहा छैन । तर, दोस्रो बजारमा उक्त कम्पनीको सेयर हजारौँ मूल्यमा कारोबार भइरहेको छ । यस्तो लगानीकर्ताप्रति गैरजिम्मेवार सञ्चालक र कमजोर अनुशासन रहेको कम्पनीको सेयरको कारोबार हुन दिँदा सिधासाधा लगानीकर्ता बिना प्रतिफल आफ्नो धन जोखिममा हाल्न पुगेका छन् । यसबाट जोगिन सम्बन्धित लगानीकर्ता सजग हुन आवश्यक छ भने राज्यका निकायहरूले यस्ता कम्पनी र सञ्चालकलाई लगानीकर्ताप्रति जिम्मेवार बनाउन आवश्यक कानुनको व्यवस्था गर्नुपर्छ । विकृति र विसङ्गतिले बिग्रिएका लामो समयदेखि साधारण सभा, लेखापरीक्षण र कानुनी प्रक्रिया पूरा नगरी अटेरी गरेर बसेका कुनै पनि कम्पनीलाई दोस्रो बजारमा कारोबार हुनबाट रोक लगाउन सक्नुपर्छ । अनि मात्रै लगानीकर्ताको पैसा बालुवामा पानी हुनबाट जोगाउन सकिन्छ । घटना नं. ३ : सर्वोत्तम सिमेन्ट लिमिटेडले उत्पादनमूलक कम्पनीहरूलाई धितोपत्र बजारमा आकर्षित गर्न भनेर ल्याइएको बुक विल्डिङ्ग विधिमार्फत आईपीओ जारी गर्नका लागि सर्वप्रथम आवेदन दिएको थियो । यस कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्नुपूर्व नै विवादमा पर्यो । उक्त समयका सेबोन अध्यक्षले ‘गोल्डेन सेयर’ आफ्नो छोरीको नाममा लिएको र त्यस कम्पनीलाई वास्तविक वित्तीय विवरणको आधारमा नभई झुटो वित्तीय अवस्था खडा गरी साधारण लगानीकर्ताबाट बढी मूल्य उठाउन पाउने गरी मूल्य तोक्न सहयोग गरेको सूचना बाहिरिएसँगै चौतर्फी विरोध भयो । यसलाई थेग्न नसकेर अन्ततः अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुगे । त्यस समयमा यदि यो गैरकानुनी कार्य सफल भइदिएको भए वास्तविकता भन्दा धेरै मूल्यमा लगानीकर्ताले सेयर खरिद गरेर आफ्नो सम्पत्ति गुमाउनु पर्ने अवस्था आउन सक्ने थियो । घटना नं. ४ : कुनै समय गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरूले सर्वसाधारण नागरिकलाई प्रभावित पार्न कम्पनीको कार्यक्रममा समाजका प्रतिष्ठित लगानीकर्तालाई सहभागी गराएर ‘म पनि लगानी गर्न चाहन्छ’ भन्ने भाषण गर्ने वातावरण तयार गरी त्यसैलाई प्रचारको माध्यम बनाएर साधारण लगानीकर्तालाई लोभ्याउँदै संस्थापक सेयर भिडाउने काम गरेका थिए । संस्थापक सेयर प्रचारप्रसार गरेर बिक्री गर्न कानुनले दण्डित र बर्जित गर्दागर्दै पनि सामाजिक सञ्जालको प्रयोगमार्फत उक्त कम्पनीमा ‘१० लाख १० वर्षका लागि लगानी गरेर १० करोड पाउनुहोस्’ भन्दै प्रचार गरेर सेयर बेच्न सफल भएका थिए । यसैमध्येका पीडित लगानीकर्ताले उजुरी गरेपछि छानबिन हुँदै गर्दा मुख्य संस्थापक लगानीकर्ताहरू आफ्नो सेयर अरुलाई गुपचुप बिक्री गरेर उन्मुक्त भई सकेका थिए तर खरिदकर्ताहरू हालसम्म पीडित नै छन् । त्यसलगतै कम्पनीको कारोबार तथा बैंक खाताहरू रोक्का गरिए तापनि जालसाजी ढङ्गले सेयर बिक्री गर्ने संस्थापकहरूलाई कुनै कारबाही हुन सकेको छैन । लेखक । घटना नं. ५ : सेबोनका निवर्तमान अध्यक्षको पालामा लगानीकर्ता र त्यसका सङ्गठनहरूले खबरदारी गर्दागर्दै बीमा प्राधिकरणका अध्यक्ष र उनको मिलिभगतमा कानुनी रूपमा बीमा ऐन, नियमावली र निर्देशिकाहरूमा बीमा कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत सेयर अनिवार्यरूपमा सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था भए पनि प्रिमियम मूल्य जोडेर निकाल्ने अनुमति दिंदा रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीले थप प्रिमियम जोडेर सर्वसाधारणको अर्बौ रकम संस्थापकहरूले उठाएका छन् । यसै सिलसिलामा अख्तियारमा उजुरी हुँदाहुँदै रातारात यसरी नै प्रिमियममा हिमालय रि-इन्सुरेन्सको सेयर बिक्री गर्न अनुमति दिएर जनताको पैसा ब्रह्मलुट भएका परिस्थितिहरू ताजा नै छन् । यस घटनामा सबैभन्दा टिठलाग्दो त के देखिन्छ भने राज्य संयन्त्रलाई पैसाको बलमा आफ्नो हातमा लिने र भएको कानुनी व्यवस्था नै रातारात परिवर्तन गरी आफू अनुकूल संशोधन गर्न लगाएर नागरिकलाई महङ्गोमा सेयर किन्न बाध्य बनाउने खेलमा संस्थापक र व्यापारीलाई स्वयम् नियामकले नै साथ दिएको देखिन्छ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आउनुभन्दा अगाडिसम्म तीन वर्ष सञ्चालन र नाफामा भएका कम्पनीहरूले मात्रै प्रिमियम मूल्यमा सेयर बिक्री गर्न सक्ने व्यवस्था थियो । उक्त कम्पनीका मालिकहरूको फाइदाको लागि प्रिमियममा सेयर जारी गर्न अयोग्य रहेको यस कम्पनीलाई योग्य बनाउन भैरहेको व्यवस्था नै परिवर्तन गरी तीन वर्षको ठाउँमा दुई वर्ष मुनाफा भएको कम्पनीले प्रिमियममा सेयर निष्काशन गर्नसक्ने गरी समय अवधि एक वर्ष कममा झारियो र आवेदन दिएको अत्यन्तै छोटो अवधिमा आईपीओ जारी गर्न अनुमति दिने काम भयो जुन परिघटनामा सुनियोजित षड्यन्त्र देखिन्छ । यस्ता एउटै नीतिगत निर्णयबाट लगानीकर्ताको अर्बौं रकम झ्वाम पार्ने गरेको पाइन्छ । हालसम्म पनि उक्त प्रिमियम बापतको पैसा फिर्ता हुने आशामा लगानीकर्ता छन् । घटना नं. ६ : सन नेपाल लाइफले केही समय अगाडि प्रिमियममा आईपीओ जारी गरिसकेको छ । यसमध्ये उक्त कम्पनीमा कार्यरत कर्मचारीहरूलाई ५ प्रतिशत सेयर छुट्याइएको थियो । तर, केही सञ्चालक र कम्पनीका कार्यकारी प्रमुखको मिलीभगतमा कर्मचारीलाई भाग लगाइएको सेयरमध्ये कार्यकारी प्रमुखको नाममा ८० प्रतिशत छुट्याएर बाँकी २० प्रतिशत मात्रै कर्मचारीहरूलाई बाँडबाँट गरिएको थियो । हाल यो घटना बीमा प्राधिकरण र सेबोनसम्म पुगिसकेको छ । तत्काल यस समस्याको निराकरणका लागि कार्यकारी प्रमुखले राखेको उक्त सेयर कर्मचारीलाई पूर्ण वितरण गर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग भएको छ । घटना नं. ७ : धितोपत्र कारोबारमा बिक्रीपछि केही ब्रोकर कम्पनीहरूमा लगानीकर्तालाई समयमा भुक्तानी नदिने र अल्झाइरहने समस्या देखिन्छ । केही समय अगाडि नेप्सेलाई जानकारी गराउँदा पनि कुनै न्याय नपाएको भन्दै एक लगानीकर्ताले सिप्ला सेक्युरेटिज लिमिटेड, स्टक ब्रोकर नं. २० का विरुद्ध तेस्रो पटक निवेदन दिएको फोटो सामाजिक सञ्जालमा राखेका थिए । यो घटनामा हालसम्म बाहिर आएको समचार हेर्दा ब्रोकरहरू सकेसम्म पैसा नदिने र दिनैपर्ने अवस्था आएमा खाली खाताका चेक दिएर झुलाउने गरेको देखिन्छ । घटना नं. ८ : रिलायन्स स्पिनिङ मिल्स कम्पनीले केही समयअघि संस्थागत योग्य लगानीकर्ता र वैदेशिक रोजगारीमा गएकालाई बुकविल्डिङ विधिबाट आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ तर वैदेशिक रोजगारीमा जानेलाई भन्दा पहिला प्रभावित स्थानिय व्यक्ति र कर्मचारीलाई जारी गर्नु पर्नेमा त्यसो गरिएको देखिदैन । उक्त अवस्थामा आईपीओ खारेज गर्नको लागि लगानीकर्ताले विभिन्न निकायमा तिर्नुपर्ने विद्युत् महसुलवापतको अर्बाैं रकम तिर्न बाँकी रहेको तर सो दायित्व नदेखाएको, महङ्गो मूल्य ८२०.८० पैसामा सेयर बिक्री गर्न नभएको नाफा देखाएर फर्जी वित्तीय विवरण पेश गरेकोले छानबिन गर्न माग गरेपछि पहिलोपटक सेबोनले छानबिनको नाटक गरेर लेखापरीक्षण कम्पनीको साथ लिएर चोखाउन खोजिएको थियो । तर, लगानीकर्ताहरू सेबोनले आफ्ना कुरा नसुन्ने भेउ पाएपछि बाध्य भएर संसदको सार्वजनिक लेखा समितिमा उजुरी गर्न पुगेका थिए । लेखा समितिले यसैका आधारमा सेबोनलाई स्पष्टीकरण दिन निर्देशन गरेसँगै सेबोनले आईपीओ निष्कासन रद्द गर्न रिलायन्सलाई निर्देशन गरेको थियो । हाल यो मुद्दा अदालतमा विचाराधीन छ । यसरी नेपालको धितोपत्र बजारमा देखिएका यस्ता घटनाहरूमध्ये केही मुख्य प्रतिनिधि घटना माथि प्रस्तुत गरिएको हो । खासगरी केही अपराधीको संलग्नतामा बजार घटाउन चाहँदा बजार बढिरहेको समयमा टिएमएस बिगार्ने, क्रेडिट रेटिङ्ग गलत गरिदिने, सामाजिक सञ्जालको प्रयोगमार्फत भित्री तथा सर्कुलर कारोबार गर्ने, क्लब हाउसहरूमा तथाकथित विज्ञहरूले फलानो सेयर यति पु¥याउने, फलानोले किन्दैछ, फलानो समूहले उठाउन थाल्यो किन्दा हुन्छ, बजार यतिभन्दा माथि जाँदैन, तल जाँदैन, ‘लो–क्याप’ भएकाले छिटै मूल्य बढ्ने कुरा छ भन्ने हल्ला गरेर सोझा लगानीकर्तालाई किन्न लोभ्याउदै माथिल्लो बिन्दुमा पुगेपछि थोरै पुँजी भएका कमजोर कम्पनीका सेयरहरू भिडाएर बाठा लगानीकर्ता भाग्ने गरेका छन् । यस्तै संसद र समितिहरूमा समेत फलानो सेयरको मूल्य बढी भयो भनेर नामै लिएर बहस गर्ने गरिएको देखिन्छ, जुन गलत छ । यसले लगानीकर्ताको मनोभाव बिगारीदिन्छ । कयौं मिडिया हाउसहरूले कुनै खास समुह र लगानीकर्तालाई लाभ दिने ढङ्गबाट समाचारहरू बनाउने गरेको पाइन्छ । कुनै कम्पनीको मूल्य घटाउनु छ नकारात्मक समाचार बनाउने र बढाउनु छ भने सकारात्मक समचार लेख्ने गरेको पाइन्छ । नक्कली कमोडिटी बजार खडा गरेर ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकामा म्याक्स कम्पनीलाई कारबाही भइरहेको छ । यसले सहभागी भएका हजारौँ लगानीकर्तालाई क्षति पुर्याएको छ । यसरी सूचना पासोलाई प्रयोग गरेर लगानीकर्ता माथि ठूलो चलखेल भइरहेको देखिन्छ । यस्ता घटनालाई समयमा रोक्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । निराकरणको उपाय के हुन सक्छ ? यस्ता ठगीहरू रोक्नको लागि सर्वप्रथम स्वयम् लगानीकर्ता जागरुक हुन जरुरी छ । आफूले लगानी गर्नका लागि लिइएका तथ्य र सूचना सही हो होइन परीक्षण गर्नुपर्छ । लगानी गर्दा कसैले भन्दिएकै भएरमा गर्ने गर्नु हुँदैन । यथार्थ जानकारी लिएर मात्रै गर्नुपर्छ । लगानीका लागि आवश्यक ज्ञान, सीप र योग्यता बढाउन आवश्यक कार्यहरू गर्नुपर्छ । छिटो र छोटो बाटोबाट धनी हुने स्किम भएका लगानीका अवसरहरू हेर्दा आकर्षक देखिएता पनि त्यो गलत हुनसक्छ । त्यस्ता काल्पनिक प्रतिफल दिने लगानीबाट सधैँ होसियार हुन जरुरत छ । सामाजिक सञ्जालहरूमा आएका आकर्षक भनाई र प्रचारप्रसारमा लागेर हचुवाको भरमा लगानी गर्नु हुँदैन । यस्तै, नियामकहरूले ठगी गर्नेहरूलाई कडा कारबाहीका कानुनहरू बनाएर लागु गर्न आवश्यक छ । अर्बाैं घोटला गर्नेहरूलाई केही लाखको सजाय अत्यन्त न्यून हुने हुनाले यसलाई बढाउन जरुरी छ । नीति निर्माता र निर्णय तहमा रहेकाहरूमा नैतिकता र इमान्दारिता हुनुपर्छ । कानुनमा भएका छिद्र र कमजोरीहरू सुधारेर त्यसलाई रोक्न आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्दै जानुपर्ने देखिन्छ ।लगानीकर्ताबाट परेका उजुरीहरूको समयमा छानबिन गरेर किनार लगाउन झन धेरै खाँचो छ । लगानीमा हुने धोका, बेइमानी र छलकपट पहिचान गर्नका लागि नियामक निकायमा आवश्यक पर्ने सक्षम मानव संशाधन र प्रविधिको व्यवस्थासहित स्रोत साधनको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । लगानीमा प्रयोग हुने प्रविधि र यसको दुरुपयोग गरेर अपराधीहरूले कसरी ठगी गरिरहेका हुन्छन् हरेक लगानीकर्तालाई बुझाउनु पर्छ । टिएमएस, मेरो सेयर, बैक खाता, वालेट र डिजिटल कारोबारलाई कसरी सुरक्षित राख्न सकिन्छ, लगानीकर्तालाई राज्यका निकाय र लगानीसँग सरोकार राख्ने निजी संस्थाहरूको समेत सक्रियतामा समयसमयमा जानकारी र शिक्षित गराउने गर्नुपर्छ । यस्ता परिघटनाबाट सर्वसाधरणलाई बचाउन सचेतनाका कार्यक्रम सम्पूर्ण सरोकार निकायले सञ्चालन गर्ने हो भने लगानीकर्तामा ज्ञान र अनुभव बढ्न गई ठगी र स्क्यामका घटनाहरू स्वत न्यूनीकरण हुने देखिन्छ । (लेखक धितोपत्र बजारका जानकार हुन् । प्रस्तुत विचार लेखक स्वयमकाे हो ।)
एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । जलवायु र विपद् व्यवस्थापन कार्यक्रमले योजना, तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैङ्कको पाकिस्तानस्थित शाखाले कार्यालयले जनाएको छ । बैङ्कका अनुसार यस कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रकोप व्यवस्थापनमा समावेशी लगानी बढाई जोखिम–स्तरित दृष्टिकोणबाट आवाश्यक वित्त पोषण गर्नेछ । पाकिस्तान जलवायु परिवर्तन र प्रकोपको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक हो, जहाँ जलवायु प्रकोप जन्य घटनाबाट औसत क्षति वार्षिक दुई अर्ब अमेरिकी डलरभन्दा बढी हुन्छ । कार्यक्रम पाकिस्तानमा जलवायु र विपद् जोखिम घटाउन र प्रभावकारी विपद् व्यवस्थापनलाई समर्थन गर्न एडीबीको लामो समयदेखि चलिरहेको काममा आधारित रहेको एडीबीका मध्य तथा पश्चिम एसियाका महानिर्देशक येवगेनी जुकोभले बताएका छन् । कार्यक्रमको उद्देश्य विकास र लगानी निर्णयहरू मार्गनिर्देशन गरी जोखिम व्यवस्थपनलार्ई अगाडि बढाएर पाकिस्तानमा विपद् प्रभावलाई सुदृढ पार्नु हो । कार्यक्रमले कृषि बिमासहित जोखिम हस्तान्तरण समाधान प्रवर्द्धन गर्न एकता कोषलाई थप सहयोग गर्ने र भविष्यमा विपद् प्रभावितलाई सहायता प्रदान गर्न उत्तरदायी सामाजिक सुरक्षा कार्यान्वयन गर्ने जनाइएको छ ।
तिहार बिदामा बैंक जाने सोचमा हुनुहुन्छ ? यी हुन् बैंकका खुल्ने शाखा
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा छ । तिहार बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने तिहार बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् । तिहार बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । तिहार बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् । प्रभु बैंक प्रभु बैंकले तिहार बिदामा उपत्यकाभित्र मुख्य शाखा बबरमहल, कमलादी, ललितपुर जावलाखेल, भक्तपुर शाखा कार्यालय खुला राख्ने जनाएको छ । यस्तै, उपत्यकाबाहिर बिराटनगर गोल्छाचोक, इटहरी, जनकपुर, बिरगञ्ज (आदर्शनगर), पोरखा रत्नचोक, नेपालगञ्ज, भैरहवा र धनगढी शाखा कार्यालय खुला रहने जनाएको छ । तिहार बिदामा बैंकले १० बजे.देखि साढे १ बजेसम्म सेवा प्रदान गर्नेछ । तिहार बिदामा खुला रहने शाखा कार्यालयबाट निक्षेप जम्मा, १ लाख रुपैयाँसम्मको चेक भुक्तानी र २५ हजार रुपैयाँसम्मको रेमिट्यान्स भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले तिहार बिदामा कोशी प्रदेशका इटहरी, धरान, विराटनगर, विर्तामोड शाखाबाट सेवा दिनेछ । यस्तै मधेश प्रदेशका वीरगञ्ज (आदर्शनगर), जनकपुर शाखाबाट सेवा दिनेछ । यस्तै, बागमती प्रदेशमा (उपत्यकाभित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर, पुल्चोक महांकाल, पेप्सकोला, लगनखेल पाटन हस्पिटल, कालिमाटी, तिनकुने, सुकेधारा शाखा र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा न्यूरोड र चिप्लेढुंगा, लुम्बिनी प्रदेशमा कोहलपुर, योगीकुटी, मणीग्राम, रामपुर, नेपालगंज (कारकाँदो चोक, तुल्सीपुर, पकडी शाखाबाट सेवा दिने बैंकको भनाइ छ । कर्णाली प्रदेशमा वीरेन्द्रनगर, सुर्खेत, खलङ्गा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक, शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ । यस दिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले तिहार बिदामा कात्तिक १६ गते शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले सो दिन बागमती प्रदेशका चाबहिल, लाम्पिाट र पुल्चोक शाखाबाट सेवा दिने भएको हो । साथै, बीरगञ्ज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपागञ्ज भन्सार कार्यालयको ताकिाल अनुसार सञ्चालनमा रहनेछन् भने राजस्व काउन्टर सरकारको निर्णय अनुसार खुला रहनेछन् । साथै बैंकका शाखाबाट नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, आरटिीजीएस, विदेशी मुद्रा विनिमय सुविधा उपलब्ध रहेको जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले तिहारका दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले बिदाको समयमा बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिनेछ भने टीकाको दिन खुला रहने शाखाले १ बजेदेखि ३ बजेसम्म सेवा दिनेछ । कोशी प्रदेशका गाईघाट, धुलाबारी, बुद्धबारे, झुम्का, विराटचोक, ट्राफिक चेक विराटनगर, बिर्तामोड, दमक, इनरुवा, कञ्चनबारी, तिनपैनी शाखा, मधेश प्रदेशका वीरगञ्ज, राजविराज, जनकपुर, गोलबजार लालबन्दी गौर, जनकपुर स्टेशन रोड, लहान, जनकपुर शाखा कार्यालय खुला रहने जनाएको छ । बागमती प्रदेशका न्यूरोड, ढुङ्गेअड्डा, कुलेश्वर, बनस्थली, अनामनगर, कमलादी, चाबहिल, चाबहिल चोक, नक्साल, गोङ्गबु, सिनामंगल, तिनकुने, पानीपोखरी, गोठाटार, कुपोण्डोल, जावलाखेल, बनेपा, हेटौंडा बैंक रोड, भरतपुर, पर्सा, जोरपाटी, सानो गौचरण, कुमारीपाटी, गीतानगर, माडी, पनौती, ठिमि, लोकन्थली, खोले सिमल, शहिदचोक, शंखमुल, महारजगंज, लगनखेल, सातदोबाटो, सूर्यविनायक, बेल्चोक, कान्तिपथ, ठमेल, सुन्धारा काठमाडौं, बालाजु माछापोखरी, कोटेश्वर, टाँडी, नारायाणगढ, बाफल कलंकी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, क्षेत्रपाटी, चारखाल, डिल्लीबजार, तिनकुने, ज्ञानेश्वर, बालाजु औद्योगिक क्षेत्र, थानकोट, सानो गौचरण, कमलबिनायक शाखा कार्यालय खुला रहनेछन् । यस्तै, गण्डकी प्रदेशका बाग्लुङ्ग, सभागृह चोक, बेसीसहर, दमौली, गैडाकोट, चिप्लेढुंगा, अमरसिंह चोक, कावासोती, न्यूरोड पोखरा, दलदले शाखा, लुम्बिनी प्रदेशका, मिलनचोक बुटवल, नयाँ मिल, भैरहवा, गल्लामण्डी, नेपालगञ्ज धम्बोजी, लिवाङ, तुलसीपुर, तम्घास, तानसेन, कपिलबस्तु, ञिभुवनचोक नेपालगञ्ज, बुटवल, लखनपार्क घोराही, भैरहवा नारायणथान, घोराही, पुष्पलालचोक नेपालगञ्ज, बुटवल मेन, बुटवल राम मन्दीर लाइन, घोराही बी, रामपुर पाल्पा, तम्घास, तानसेन शाखा कार्यालय खुला रहनेछन् । यस्तै, कर्णाली प्रदेशका दैलेख, थारमारे, सुर्खेत बी शाखा र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा बलिया, महेन्द्रनगर, क्यापसरोड चोक धनगढी, धनगढी मेनरोड, अत्तरिया, टिकापुर, दार्चुला र बेलौरी शाखा कार्यालय खुला रहने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले तिहार बिदामा सातै प्रदेशमा विभिन्न शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । कोशी प्रदेशका दमक २ धरान २ विराटनगर, रोडशेष चोक, बिर्तामोड ईटहरी शाखा, मधेश प्रदेशका विरगंज १, बागमति प्रदेशका हिटी दरबार, पाटन, न्यूरोड, सिटिसि, भक्तपुर, महाराजगंज, भरतपुर, हेटौडा, टेकु, स्वयम्भू, नयाँ बानेश्वर १, कौशलटार, नारायणगढ शाखा खुला रहने बैंकले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका पोखरा १, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, नेपालगंज शाखा, कर्णाली प्रदेशका सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशका धनगढी १, लम्की र धनगढी २ शाखा खुला रहनेछन् । तिहार बिदा अवधिभर रकम जम्मा, चेक भुक्तानी र रेमिटेन्स भुक्तानी सेवा उपलब्ध रहेको बैंकले जनाएएको छ । कुमारी बैंक कुमारी बैंकले तिहार बिदामा १० बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा दिने भएको छ । बैंकले कोशी प्रदेशका बिर्तामोड, विराटनगर, शाखा, मधेश प्रदेशका लहान, महेन्द्रनगर, वीरगञ्ज, जनकपुर शाखा, बागमति प्रदेशका पुतलीसडक, कुमारीपाटी, बनेपा, शहीदचोक नारायणगढ शाखा खुला राख्ने जनाएको छ । यस्तै, गण्डकी प्रदेशका चिप्लेढुङ्गा, कावासोती, पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशका सिद्धार्थनगर, ट्राफिकचोक बुटवल, तुल्सीपुर, नेपालगञ्ज सुर्खेतरोड, शुक्रपथ, लमही शाखा, कर्णाली प्रदेशका सुर्खेत र विरेन्द्रनगर शाखा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर अत्तरिया, पहलमानपुर र धनगढी शाखा खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले तिहार बिदामा विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ । बैंकले कोशी प्रदेशको बिराटनगर सुख्खाबन्दरगाह, मधेश प्रदेशको श्रीपुर, बागमती प्रदेशमा ग्वार्काे, गण्डकी प्रदेशमा लेकसाइड, लुम्बिनी प्रदेशमा ाजमार्ग चौराह, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा अत्तरिया शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ । बैंकका अनुसार कात्तिक १५ र १६ गते खुला रहने छन् भने बिहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुनेछ । कृषि विकास बैंक कृषि विकास बैंकले तिहार बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । सिटिजन्स बैंक सिटिजन्स बैंकले तिहार बिदामा दरबारमार्ग, न्यूरोड, कुमारीपाटी, कोटेश्वर, भैँसेपाटी, बिरगञ्ज, विराटनगर, पोखरा न्यूरोड, नारायणगढ, विद्यापाटी चोक, गाइघाट, राजविराज र सुर्खेत शाखा खुला रहने जनाएको छ । तिहार बिदामा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म बैंकिङ प्रदान गर्नेछ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले तिहार बिदामा बत्तिसपुतली, विराटनगर, गोंगबु, इटहरी, थापाथली, कञ्चनरुप, बनेपा, राजविराज, कमलविनायक, आदर्शनगर, ठिमी, नक्साल, नारायणगढ, सतुंगल, बगर, स्वयम्भु, लुम्बिनी, नयाँ बजार पोखरा, पाल्पा, दमौली शाखाबाट सेवा दिनेछ । यस्तै, बुटवल, परासी, मनिग्राम, नेपालगंज, भैरहवा, अत्तरीया बर्दघाट, धनगढी, कञ्चनबारी, सिराहा, जनकपुर, महाराजगञ्ज र राजपुर शाखाबाट सेवा दिनेछ । प्राइम बैंक नबिल बैंक एनआईसी एशिया बैंक सानिमा बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक सिद्धार्थ बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक्सल डेभलपमेन्ट बैंक ज्योति विकास बैंक कामना सेवा विकास बैंक महालक्ष्मी विकास बैंक मुक्तिनाथ विकास बैंक साग्रिला डेभलपमेन्ट बैंक
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरिएको भनेर चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे । विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय भएका थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई विसं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थियो । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ
काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाईक सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा. अर्यालले सफाइ पाउने फैसला गरेको हो । फैसलामा भनिएको छ, ‘प्रतिवादी डा. अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो र बदनियत राखी आफूलाई लाभ वा सरकारलाई हानिनोक्सानी निजकै कारणबाट भएको भन्ने प्रमाणबाट पुष्टि हुन आएन ।’ अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै ‘एलएमबीएस’ माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिवसमक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन नआएको ठहर अदालतको छ । ‘राष्ट्रिय आवश्यकता र महत्वको आयोजना कार्यान्वयन गर्ने सदनियतले काम गरेको देखिँदा निज प्रतिवादीबाट नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको र आफूलाई निजी लाभ लिने बदनियत लिएको भन्ने आरोपदाबी पुष्टि हुन नसकी निज प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ,’ फैसलामा भनिएको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सफाइ पाउनेमा सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्ति श्रेष्ठ, उक्त केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हलिबल्लभ घिमिरे, प्रिन्ससेल प्रालि र उक्त प्रालिका निर्देशक केशव शर्मा रहेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र सोही विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलको हकमा समग्र मिसिल अध्ययनबाट आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयसँग अन्तःशुल्क स्टिकर छपाइको सैद्धान्तिक सहमतिको लागि मात्र अनुरोध गरिएकोमा अर्थ मन्त्रालयबाट नै छपाइको लागत र खर्चको विषय उठान गरी पत्राचार गरेको देखिएको तर उक्त कार्यका लागि प्रक्रियामा संलग्न रहेका अर्थ मन्त्रालयका अधिकारीहरुउपर कुनै अनुसन्धान भएको नपाइको फैसलामा उल्लेख छ । अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई अदालतले सजाय निर्धारण गर्नेछ । उक्त प्रकरणमा ११ व्यक्ति र एक कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यही कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै बुधबार अदालतले फैसला सुनाएको हो ।
डिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन, ५६ किस्तामा तिर्न सकिने
काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महशुल असुल गर्न आग्रह गरेका हुन् । आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत आग्रह गरेको छ । विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले आज उक्त निर्देशन दिएको हो । प्राधिकरणले महशुल नबुझाएको भन्दै कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो । तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन् । केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ । यस्तै प्राधिकरण सञ्चालक समितिको आजको बैठकले पनि डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउने सम्बन्धमा थप केही लचिलो हुने गरी निर्णय गरेको बुझिएको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महशुल तीर्न सकिने बताउँदै आएकामा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तीर्न सकिने व्यवस्था गरिएको बताइएको छ । महशुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो ।
४८.५ मेगावाटको अपर राहुघाट अन्तिम चरणमा, १३ अर्बभन्दा बढी लगानी
काठमाडौं । राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए । तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका-८ को बन्दीमा बाँध, वडा नम्बर-७ को चिमखोलामा विद्युत्गृह र ५ हजार ३२८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ । मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । दुईवटै आयोजना निर्माणमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ । अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म २ सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
तीन दिनदेखि अमेरिकी डलरको भाउ स्थिर, युके पाउण्ड ओरालो लाग्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.१२ रुपैयाँ र बिक्रीदर १७४.८९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.७८ रुपैयाँ र बिक्रीदर १५५.४७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.३० रुपैयाँ र बिक्रीदर ८८.७० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.४० रुपैयाँ र बिक्रीदर ९६.८३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.४५ रुपैयाँ र बिक्रीदर १०१.९० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५९ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४९ रुपैयाँ र बिक्रीदर १९.५७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.८३ रुपैयाँ र बिक्रीदर ४३९.७९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.०० रुपैयाँ र बिक्रीदर ३५७.५९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।