अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उनले बताए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ । ‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ,’ उनले भने । गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताए । यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ । आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताए । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उनको भनाइ छ । पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुग्नुभएको हो । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उनी पुगेर फर्किएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गरेका थिए । आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताए । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बताको थियो । पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताएका छन् । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा ३ वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।
पर्यटकको चहलपहल बढ्दो, ८० प्रतिशत होटलको ‘अकुपेन्सी’
काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब ९ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना ८ हजार ९०२ जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट २ करोड तीनलाख ४८ हजार ५५३ रुपैयाँ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उनका अनुसार दसैँपछि मात्रै करिब ३ हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् । अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् । मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ । नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू-धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । विदेशी पर्यटकको उत्साहबद्र्धक आगमनले व्यवसायी पनि उत्साहित भएका छन् । होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार अहिले ७० देखि ८० प्रतिशत होटलको ‘अकुपेन्सी’ रहेको छ । ‘होटेल क्षेत्रमा बुकिङ राम्रो छ । अक्टोबर र नोभेम्बर अन्तिमसम्म राम्रो छ । धेरै पदयात्री र पर्वतारोही आएका छन् । ठमेललगायत मुख्य गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी छ, देशभरका होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने । उनका अनुसार खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौं उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउछन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात् वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ भन्दा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याए । ‘पर्यटकीय याम चलिरहेको समयमा विमानस्थलको मर्मतको कामले हवाई उडान खुम्चिन्छ र ट्राभल कम्पनीहरूको अकुपेन्सी घट्नजान्छ । त्यसैले हामीले विमानस्थल मर्मतको काम केही पर सार्न वा उडान अवधि बढाउन सम्बन्धित निकायमा पहल गरिरहेका छौँ,’ अध्यक्ष थपलियाले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल मर्मतको काम सुरु गर्दैछ । करिब ६ महिना विमानस्थलको उडान १० घण्टा बन्द हुनेछ । यसले अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा भारी कटौति हुनेछ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकीय सिजनमा देशका अधिकांश गन्तव्यहरू पर्यटकले भरिभराउ भएको बताए । ‘गन्तव्यहरूमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । होटल तथा रिसोर्टहरुमा अकुपेन्सी एकदमै राम्रो रहेको पाइएको छ, अक्टोबरको सुरुआतमा वर्षाले एकसाता समस्या गरे पनि हाल सबै चिज सामान्य भएर पर्यटन पुरानै लयमा फर्किएको छ,’ उनले भने । निर्देशक लामिछानेका अनुसार सेप्टेम्बरमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएका र अक्टोबरमा पनि त्यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।
आज धनकी देवी लक्ष्मी पूजा, यसरी गर्नुहोस् लक्ष्मीको पूजाआराधना
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ । आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी गराए ।
तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहार पर्व, २०८१ को पावन अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध गरे । उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे । ‘तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो । मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो,’ उनले उल्लेख गरे । तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ । यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका (भ्रातृ द्वितीया) आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ । ‘पारम्परिक वेशभूषामा देउसी भैलो खेल्ने, मिठाई बाँड्ने, बजडी खुवाउने र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुले हाम्रा मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यसलाई जीवन्त बनाई राख्न सहयोग पुग्दछ । स्थान, भूगोल र क्षेत्र विशेषअनुसार यो पर्व फरक–फरक तर मौलिक परम्पराअनुसार मनाइन्छ,’ उनले भने, ‘मनाइने परम्परा र अनुष्ठानमा विविधता भए पनि त्यसको मूल उद्देश्य अज्ञानतामाथि ज्ञान र अन्धकारमाथि प्रकाशको जीतको सन्देश सञ्चार गर्नु नै हो, मुलुकमा एकता र सामन्जस्यताको सन्देश प्रवाहित गर्नु हो ।’ प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।
आज कुकुर तिहार, किन पुजा गरिन्छ ?
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।
हिमाली भागमा हिमपात हुने, केही स्थानमा मध्यम वर्षा
काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
साफ महिला च्याम्पियनसिप : भरिभराउ रंगाशाला, ठाउँ-ठाउँमा प्रत्यक्ष प्रसारण
काठमाडौं । अहिले नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंखेल भइरहेको । अहिले खलको पहिलो हाफ सकिएको छ भने दोस्रो हाफ केही समयपछि सुरु हुनेछ । खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् । रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो।त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन् । दर्शकहरुले रंगशाला भरिभराउ छ भने काठमाडौं लगायतका विभिन्न सहरमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ । पोखराको पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आज नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको प्रत्यक्ष प्रसारण हेर्दै सर्वसाधारण । तस्बिर :जमुनावर्षा शर्मा/रासस खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाएकाे छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिरहेकाे छ ।
बीमा कम्पनीहरूले अब वार्षिक प्रतिवेदनमा खुलाउनु पर्नेछ यी ५२ विषय
काठमाडाैं । बीमा कम्पनीहरूले वार्षिक प्रतिवेदनमा थप ५२ शीर्षकको बारेमा खुलासा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार कम्पनीहरूलाई वार्षिक प्रतिवेदनमा थप ५२ विषय खुलासा गर्न निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार अब बीमा कम्पनीहरूले आफ्नो दूरदृष्टि, अभियान तथा उद्देश्यअन्तर्गत दूरदृष्टि र अभियान, बीमकको समग्र रणनीति तथा लक्षहरू र मूल्य मान्यता तथा आचार संहिता, नैतिक सिद्धान्तहरूको बारेमा खुलाउनु पर्नेछ । यसैगरी, कम्पनीले संस्थागत संरचना लगायतको विवरण पनि खुलाउनु पर्नेछ । बीमकको दूरदृष्टि, अभियान तथा उद्देश्य (क) दूरदृष्टि र अभियान (ख) बीमकको समग्र रणनीति तथा लक्ष्यहरू (ग) मूल मान्यता, आचारसंहिता र नैतिक सिद्धान्तहरू बीमकको संस्थागत संरचना लगायतको विवरण (क) बीमकको संक्षिप्त विवरण (ख) संचालकको विस्तृत विवरण (ग) बीमकको संस्थागत तथा समूहगत संरचना (घ) सञ्चालक समितिको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरमसम्बन्धी विवरण (ङ) उप समितिहरूको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरम सम्बन्धी विवरण बीमकको बिजनेस मोडल (क) बीमकको बिजनेस मोडल सम्वन्धमा रेखाचित्रसहितको संक्षिप्त विवरण (ख) बीमकको स्रोत, उपयोग क्षमता, दिगो प्रतिस्पर्धात्मक सवलता, मूल्य निर्माण लगायतका विषयमा विस्तृत व्याख्या (ग) बीमकको पुँजीका मुख्य स्रोतहरू र तीनको आपसी अन्तरसम्बन्ध (घ) बीमकको स्रोतको उपयोग तथा अन्य भावी कार्यक्रमसँग पुँजी योजनाको अन्तरसम्बन्ध कार्यसम्पादनको समिक्षा तथा मुख्य सूचकाङ्क (क) बीमकको यस आर्थिक वर्ष तथा गत आवहरूको तुलनात्मक वित्तीय अवस्थाको झलक (ख) बीमकको विभिन्न पोर्टफोलियो, बीमालेखहरू तथा मुख्य संस्थागत कार्यहरूको जानकारी (ग) बीमकको मुख्य कार्यसम्पादन सूचकाङ्क रणनीतिक योजना र विकास (क) बीमकको अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन रणनीतिहरू र ती रणनीतिहरू हासिल गर्नका लागि बीमकले सुनिश्चित गरिएको स्रोतको विवरण (ख) बीमाको विकास, बीमालेख तथा सेवा प्रवाह सम्बन्धमा बीमकको रणनीति (ग) बीमकको दिगोपना सम्वन्धमा रणनीति तथा मापन गर्न सकिने लक्षहरू (घ) बीमकको व्यवसायिक परिदृष्य, दृष्टिकोण तथा सम्भावनाहरूको संश्लेषण (ङ) बाह्य वातवरणको बीमकको व्यवसायमा परेको असर संस्थागत उत्तरदायित्व (क) बीमकले कर्मचारी कल्याण (स्वास्थ्य, सुरक्षा तथा कार्यवातवरण) सम्वन्धमा गरेका प्रयासहरू (ख) राष्ट्रिय अर्थतन्त्रमा बीमकको योगदान (राजस्व भुक्तानी, कुल ग्राहस्थ उत्पादनमा योगदान, रोजगारी सृजना, सामाजिक विकासमा योगदान आदी (ग) बीमकले दिगो बन्न र दिगो विश्वव्यापी अर्थतन्त्रमा योगदान पुर्याउनका लागि गरेका कार्यहरू (घ) सामाजिक तथा वातावरणीय विकास तथा दिगोपनका लागि बीमकबाट भएका प्रत्यक्ष तथा अप्त्यक्ष प्रयासहरू (ङ) बीमकले समाजिक उत्तरदायित्व सम्बन्धमा गर्नुपर्ने खुलासा सुशासन र परिपालना (क) परिपालनासम्बन्धी संक्षिप्त विवरण (ख) परिपालना नभएका विषयहरू र परिपालना गर्न नसक्नुको कारण (ग) बीमकको सञ्चालक समितिको प्रभावकारीता लगायतका विषय समेटिएको अध्यक्षको प्रतिवेदन (घ) उपसमितिहरूको मुख्य कार्यहरू तथा हासिल भएका उपलब्धी समेटिएको छुट्टाछुट्टै प्रतिवेदन (ङ) बीमकको सञ्चालक समिति तथा उपसमितिको प्रभावकारीताको स्वमूल्याङ्कन तथा स्वमूल्याङ्कन गर्न अपनाएको विधि (च) व्यवस्थापनको प्रतिवेदन (छ) बीमकका मुख्य नीति तथा अभ्यासहरू जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण (क) बीमकको जोखिम व्यवस्थापनसम्बन्धी नीति, जोखिम पहिचान तथा तिनको व्यवस्थापन गर्ने संयन्त्र (ख) प्राधिकरणको निर्देशन बमोजिम जोखिम व्यवस्थापन सम्वन्धी अन्य खुलासा (ग) प्राधिकरणको निर्देशन बमोजिम जलवायु परिवर्तन जोखिम सम्वन्धी खुलासा (घ) बीमकको पुनर्बीमा नीति, महाविपत्ति पुनर्बीमाको पर्याप्तता लगायतका विषयमा गुणात्मक तथा मात्रात्मक विवरण (ङ) बीमकको आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी फ्रेमवर्क (च) बीमकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्वन्धी विवरण (छ) सूचना प्रविधिको प्रयोग तथा सोबाट सिर्जित जोखिमको नियन्त्रण वित्तीय विवरण र सोसम्बन्धी अन्य खुलासाहरू (क) बीमकको वित्तीय विवरण सम्बन्धमा बीमकको वित्त प्रमुख वा लेखा प्रमुखको जिम्मेवारी सम्बन्धी प्रतिवेदन (ख) बीमकले लेखाङ्कन गरेको बीमासम्बन्धी दायित्व पर्याप्त रहको सम्वन्धमा बीमाङ्कीको प्रतिवेदन (ग) बाह्य लेखापरीक्षकको प्रतिवेदन (घ) प्राधिकरणबाट स्वीकृत भएको वित्तीय विवरण (ङ) बीमकको संवद्ध व्यक्ति वा संस्थाको विवरण तथा संवद्ध व्यक्ति वा संस्थासँग भएका कारोबारहरूको विवरण (च) बीमकको वित्तीय विवरण सम्वन्धी निर्देशन बमोजिम खुलासा गर्नुपर्ने विवरणहरू (छ) सम्पत्ति तथा पुँजीको स्रोतको गुणस्तरको समिक्षा (ज) बीमकको प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत हुँदा लगाएका शर्तहरू तथा सो सम्बन्धमा बीमकको सञ्चालक समितिको जवाफ (झ) बीमकको चौथो त्रैमासिक अवधिको वित्तीय विवरण ( वासलात र नाफा नोक्सान हिसाब) र बीमकको लेखापरीक्षण भएको वित्तीय विवरणबीचको फरकको विवरण (ञ) बीमकको सोल्भेन्सी वित्तीय विवरण र एनएफआस वित्तीय विवरणको तरलनात्मक विवरण, सोल्भेन्सी गणना तथा उपलब्ध पुँजी सम्बन्धी विवरण अन्य खुलासा (क) सरोकारवालासँग अन्तरक्रिया तथा सूचना प्रवाह गर्न स्थापना गरिएको संयन्त्र (ख) बीमित, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूको गुनासो सम्बाेधन गर्ने सम्बन्धी संयन्त्र (ग) बीमकको क्रेडिट रेटिङसम्बन्धी जानकारी