फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
काठमाडौं । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए । तिहारमा विभिन्न किसिमका झिलीमिली बत्तीको व्यापार फस्टाएको यादवको भनाइ छ । ‘अहिले यस्ता बत्तीको मागसँगै बिक्री बढेको छ । बजारमा अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलमा पनि सिजनल व्यापारका रूपमा धेरै व्यापारीले बेचिरहेका छन् । व्यापार राम्रो भएको छ,’ उनले भने । झिलीमिली बत्ती अन्य चाडपर्व र विवाहको सिजनमा थोरैथोरै बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले बताए ।धरानको मुख्य बजार भानुचोक सब्जी मन्दिरलगायत ठाउँमा यतिबेला बत्ती, फूलमालालगायत सामान किन्ने र बेच्नेको भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक विभिन्न सामग्री खरिद र बिक्री गर्ने सर्वसाधरणको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ । भानुचोकमा झिलीमिली बत्ती बेच्दै गर्दा भेटिनुभएका प्रविन श्रेष्ठ तिहारमा छुट्टै खाल्को रौनक छाएको बताए ।‘यतिबेला बजारमा विद्युतीय सामानको खरिद बिक्री निकै बढेको छ,’ उनले भने । श्रेष्ठका अनुसार तिहारको समयमा झिलीमिली बत्तीको बिक्री राम्रो भएकाले व्यापार राम्रो हुने गरेको छ । दिनमा ४० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको विद्युतीय बत्तीलगायत सामान बिक्री हुने गरेको उनले बताए । व्यापारी श्रेष्ठले भने, ‘तिहारलाई लक्षित गरी व्यापारीले दसैँ आउन १÷२ महिना बाँकी हुँदादेखि नै झिलीमिली बत्ती बिक्री गर्न सामान ल्याइसकेका हुन्छन् ।’ केही दिनयता भने दैनिक रूपमा ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री हुने गरेको उनले बताए । झिलीमिली बत्तीसँगै यो समयमा साधारण खालका बल्बको पनि बिक्री तीन गुणा बढीले हुने गरेको श्रेष्ठको भनाइ छ । अहिले घरका सबै ठाउँ उज्यालो राख्नुपर्ने र घरै पूरै झिलीमिली बनाउने मान्यता रहिआएका कारण घरका सबै होल्डरमा बत्ती जोड्ने गरिएकाले त्यस्ता बल्बको पनि बिक्री बढेको उनले बताए । अहिले बजारमा फरक–फरक खालका झिलिमिली बत्ती फरक–फरक मूल्यमा बिक्रीका लागि उपलब्ध छन् । न्यूनतम प्रतिगोटा २० रुपैयाँदेखि १० रुपैयाँहजारदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्ती बजारमा बिक्रीका लागि राखिएका छन् । पछिल्लो समय लोडसेडिङको समस्या कम भएकाले पनि प्रत्येक वर्ष तिहारमा यस्ता बत्तीको माग दोब्बर नै बढ्ने गरेको व्यवसायीको भनाइ छ ।
तिहारमा सरकारको उपहार, घटायो डिजेल र मट्टितेलको भाउ
काठमाडौं । यतिबेला देशभर तिहारको रौनक छाएको छ । तिहार पर्वमा रमाइरहेका नेपालीहरूलाई सरकारले थप उपहारस्वरुप डिजेल र मट्टितेलको भाउ घटाइदिएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएसँगै सर्वसाधारणमा केही राहत जस्तै बनेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा १.०४ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
आज तिहारको कुनै पर्व छैन, किन भयो यस्तो ?
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले सुनाए । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर, तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ । कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान गरेको छ ।
भारुको भाउ बढ्यो, १०० भारुको १६६ रुपैयाँ नेपाली
काठमाडौं । तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १ सय भारुको लागि १६६ रुपैयाँ नेपाली तिर्दै आएका छन् । नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताए । महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताए । उनले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली १६६ रुपैयाँ र बढीमा १६८ रुपैयाँसम्म बट्टा लिने गरेको बताए । जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली १ हजार रुपैयाँको सरदर भारु ६ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताए । त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली १ हजार रुपैयाँको सरदर भारु ६ सयमा कारोबार गरेको बताए । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु १ सयको लागि १६६ रुपैयाँ तिर्नुपरेको बताए । त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताए । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु १ सयका लागि १६६ लिएका छन् भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग १ सय भारुको नेपाली १६६ रुपैयाँ लिने गरेका छन् । बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले ६ रुपैयाँसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले १ हजार बराबर नेपाली १ हजार ६ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा ७÷८ रुपैयाँसम्म पनि बट्टा (कमिशन) लिने गरेको एक ठूला व्यापारीले बताएका छन् । यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।
धन तथा सुन्दरताकी देवी लक्ष्मी, समग्र सुखका लागि अष्ट-साधना
ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वोत्तम अवस्थामा भगवान विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ । अर्को भाषामा स्त्रीलाई चौसठ्ठी कला मानिएको छ र ती चौसठ्ठी कलायुक्त महिलालाई लक्ष्मी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी हो । लक्ष्मी पूजामा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्जना गरिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रब्यलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पुजा गर्ने चलन छ । वैदिक सनातन हिन्दू संस्कारमा यसलाई अत्यन्त महत्वका रुपमा लिइन्छ । लक्ष्मी भन्ने बित्तिकै हामी धनमात्र हो भन्ने बुझ्छौँ । यद्यपि लक्ष्मीका विभिन्न आठ रुपहरु छन् । तिहारको अवसरमा लक्ष्मीको बिषेश महत्व रहने भएकाले आज लक्ष्मीको आठ रुप अर्थात् अष्टलक्ष्मीको बारेमा चर्चा गर्नेछौँ । लक्ष्मीको आठ रुपलाई अष्टलक्ष्मी भनिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रव्य आदिलाई मात्र पूजा गर्छौं । धनलक्ष्मीको कृपाद्वारा पैसा जीवनमा प्राप्त हुन्छ तर पर्याप्त खुसी नहुन सक्छ । धनकै कारण मनमा शान्ति नहुन सक्दछ । व्यक्तिसँग पर्याप्त धन हुन्छ तर बिरामी हुने कारणले आफ्नो मनले चाहेको खाना खान सक्दैन, घुमफिर गर्न सक्दैन । शारीरिक रुपमा अस्वस्थ रहन सक्छ भने त्यस्तो धन के काम रु व्यक्तिसँग धन छ तर धनको उचित सदुपयोग छैन, काम गर्ने उत्साह छैन लक्ष्य उद्देश्य प्राप्त गर्न सक्दैन, धनको सदुपयोग गर्ने साधन छैन, सन्तान छैन, शिक्षादीक्षा राम्रो छैन, सामाजिक मान प्रतिष्ठा छैन, पारिवारिक शान्ति छैन । यी सम्पूर्ण विषय अष्टलक्ष्मीसँग जोडिएका छन् । अर्कोतर्फ मानिसले जीवनमा जति पैसा कमाउँछ थप कमाउने लालसा आउँछ । लालसाको कारण मानिस धेरै धन थुपार्ने चक्करमा आफ्नो खुसी गुमाउन पुग्छ । धन कमाए पनि पारिवारिक कलह रहन्छ । व्यक्तिको जीवनमा धन आउँछ तर जीवन धनले मात्र पूर्ण हुँदैन किनकी हामीले लक्ष्मीका अन्य सात रुपको उपेक्षा गरेका हुन्छौंँ । जसले जीवनमा समग्र खुसीयाली रहँदैन । वास्तुशास्त्रमा लक्ष्मीका आठ रुपको विभिन्न आठ दिशा तथा विदिशा बताइएको छ । हामीले वास्तुअनुसार घरको आठै दिशाहरुलाई वास्तु अनुकुल बनाए मात्र लक्ष्मीको आठै रुपको समान कृपा प्राप्त हुन्छ । जसले व्यक्तिको जीवनमा खुशीयाली छाउनुका साथै स्वस्थ र सम्पन्नता प्राप्त हुन्छ । वास्तुशास्त्रअनुसार अष्टलक्ष्मीले आठ दिशामा बास गर्ने गर्दछन् । यी अष्टलक्ष्मीको बारेमा विस्तृतरुपमा निम्नानुसार चर्चा महत्वपूर्ण छ । १. आदि लक्ष्मी/आद्यलक्ष्मी/महालक्ष्मी : आध्यात्मिक ज्ञानलाई नै आदि लक्ष्मी भनिन्छ । धनवान्, सम्पन्न, अध्यात्म, सात्विक भोजन, दुर्गाको पहिलो शक्ति, ब्रह्माण्डीय ऊर्जाशक्ति, धनको उत्पति र ऊर्जाको अनन्त स्रोतको प्रतिक वा आदिम् रुप पनि भन्न सकिन्छ । म को हुँ रु मेरो जीवनको उद्देश्य के हो रु आफूलाई चिन्ने आफ्नो अन्तर्मनसँग जोड्ने, आत्मसँग साक्षात्कार गर्ने काम आदि लक्ष्मीको हो । आदि लक्ष्मीको कृपाले व्यक्ति माया र सद्भाव राख्ने, परोपकारी तथा सहयोगी बन्छ । वास्तुमा आदिलक्ष्मीको दिशा इशान् कोण हो । यस दिशाबाट मानसिक सुख र आनन्द छ छैन हेर्ने गरिन्छ । यो दिशा गुरु वृहस्पतिको रहेकोले गुरुको कृपा छ छैन जाँच गर्न सकिन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा यी गुण सहज प्राप्त हुन्छ अन्यथा वुद्घि, विवेक, विचारहरु, इच्छा, चाहना, उत्प्रेरणा, स्पष्टता, रचनात्मक सोचाइ आदिमा कमी आउँछ । २. धन-लक्ष्मी : धन-लक्ष्मी भौतिक धन र आर्थिक प्रचुरताकी देवी हुन् । समृद्घि र आर्थिक स्थिरता कायम गर्ने काम धन-लक्ष्मीको हो । पैसा, सुन, चाँदी, भौतिक सम्पदा आदिलाई नै धन-लक्ष्मी भनिन्छ । धन-लक्ष्मीको कृपाले व्यक्तिबाट प्राप्त अथवा सही तरिकाले कमाएको धनले मात्र हामीलाई खुसियाली प्रदान गर्दछ । यसले मनमा शान्ति प्राप्त हुन्छ । वास्तुमा धन-लक्ष्मीको दिशा आग्नेय कोणमा पर्दछ । यस दिशालाई प्रसिद्घि, धन, भौतिक सुख आदिका रुपमा पनि लिइन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा उल्लिखित गुणहरु प्राप्त हुन्छ । अन्यथा घरका आयस्रोतहरु ठप्प हुने, धनागमनमा समस्या, दुर्घटना हुनसक्ने, खर्च बढ्ने आदि हुनसक्छ । ३. धान्य-लक्ष्मी : धान्य-लक्ष्मी कृषि धनको वाहक, प्रशस्त उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्ने देवी हुन् । धान्य-लक्ष्मीलाई माता अन्नपूर्णा वा भोजनकी देवी पनि भनिन्छ । धान्य-लक्ष्मीको सम्बन्ध भोजनसँग छ । उचित भोजनले हाम्रो शरीरलाई पौष्टिकताका साथै सकारात्मक ऊर्जा उपलब्ध गराउँछ । भोजन ग्रहण गरेर मात्र हुँदैन उपयुक्त भोजन राम्रोसँग पचाउन पनि सक्नुपर्छ । जुन व्यक्तिमा धान्य-लक्ष्मीको कृपा रहँदैन, त्यो व्यक्ति सधैँ बिरामी रहन्छ । खाना राम्रोसँग पचाउन नसक्नेले मन लागेको वस्तुको सेवन गर्न सक्दैन । यस्ता व्यक्तिका लागि संसारको सम्पूर्ण धन पनि व्यर्थ रहन्छ । घरमा अन्नको सदुरुपयोग गर्नाले धान्यलक्ष्मीको कृपा रहन्छ । वास्तुमा धान्य-लक्ष्मीको दिशा पूर्व र उत्तर-पश्चिमलाई मानिन्छ । यस दिशालाई स्वास्थ्य, नाम प्रसिद्घि, अन्न अनाजको प्रतीकका रुपमा पनि लिइन्छ । ४. गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मी : गज-लक्ष्मी/भाग्य-लक्ष्मी/राज-लक्ष्मीलाई धन, शक्ति, कृषि तथा उर्बरताकी देवी, सन्तान प्राप्ति, सन्तान सुख, समृद्घि, वाहन प्राप्ति, शाही वैभव र सार्वभौमिकताको प्रतीकको रुपमा लिइन्छ । यी देवी अन्जन नामक हात्ती चढ्छिन् । गज-लक्ष्मी व्यक्तिको जीवनमा गाडी-घोडाहरुको कारक हो । भाग्य-लक्ष्मीले जीवनमा भाग्य ल्याउँछ भने राज-लक्ष्मीले उन्नति-प्रगति । साथै भाग्य-लक्ष्मीको कृपाले व्यक्ति उच्च ओहदामा पुग्ने गर्दछन् । ५. सन्तान-लक्ष्मी : सन्तान र पारिवारिक समृद्घिको दाता, ज्ञान कला कौशलता, शिक्षामा सफलता, सन्तानसहित परिवारलाई आशीर्वाद दिने र उनीहरुको कल्याण गर्ने देवी सन्तान-लक्ष्मी हुन् । सन्तान लक्ष्मीलाई स्कन्द माता पनि भनिन्छ । सन्तान-लक्ष्मीको कृपाले बच्चा स्वस्थ, आज्ञाकारी र माता-पिताप्रति सद्भाव राख्नाका साथै माता-पिताको सेवा गर्ने हुन्छन् । यस्ता सन्तानले समाजमा आफ्नो तथा परिवारको नाम कमाउँछन् । ६. वीर-लक्ष्मी/धैर्य-लक्ष्मी : वीर-लक्ष्मी व्यक्तिको जीवनमा शान्ति, वीरता, विजय र साहसको प्रतीक हो । धैर्य-लक्ष्मीबाट व्यक्तिको जीवनमा सौभाग्य, समृद्घि, आत्मविश्वास र धैर्यता प्राप्त हुन्छ । माता वीर-लक्ष्मी प्रसन्न रहेमा भक्तलाई अकाल मृत्युबाट बचाउने तथा भक्तलाई रक्षा गर्दछिन् । वीर-लक्ष्मीलाई माता कात्याइनीका रुपमा पनि चिनिन्छ, जसले महिषासुरको वध गरेकी थिइन् । वास्तुअनुसार बीर-लक्ष्मीको दिशा दक्षिण र धैर्य लक्ष्मीको दिशा पश्चिम हो । परिवार बनाउने या तोड्ने कार्यका लागि यो महत्वपूर्ण क्षेत्र हो । जब परिवारका सदस्यहरूले धैर्यता राख्न असक्षम हुन्छन्, तब घरमा शान्ति र सहिष्णुताको स्तर कमजोर हुन्छ । यसले अन्ततः ठूलो पारिवारिक समस्याको रूप लिन्छ । यस दिशालाई घरको मुख्य मान्छे, नैतिकता, शान्ति, प्रसिद्घी, आनन्दआदिको रुपमा पनि लिइन्छ । यदि घरमा यी चिजहरुको कमी छ भने तपाइको बीर-लक्ष्मीको कृपा नरहेको स्पष्ट हुन्छ । ७. विद्या-लक्ष्मी : विद्या-लक्ष्मी ज्ञानकी लक्ष्मी हुन् । विद्या-लक्ष्मीले सिक्ने, सिकाउने क्षमतालाई मद्दत गर्छिन्, जसले आफ्नो कर्मको मार्गमा पुग्न मद्दत मिल्छ । उनको कृपाले हामी सबै आफ्नो क्षेत्रमा अधिक ज्ञान प्राप्त गर्छौं र कठिन विषयहरू पनि बुझ्न सक्षम हुन्छौँ । विद्या-लक्ष्मी हाँसमा विराजमान रहन्छिन् भने धन-लक्ष्मी कमलको फूलमा । त्यसैले विद्या-लक्ष्मीलाई धेरै स्थिर मानिन्छ, जब कि धन-लक्ष्मीलाई चञ्चल । जीवनमा ज्ञानलाई भौतिक सम्पदाभन्दा धेरै महत्व दिइन्छ । ८. विजय लक्ष्मी : जीवनमा आउने समस्याबाट लड्ने शक्ति विजय-लक्ष्मीबाट प्राप्त हुन्छ । यिनको कृपाले जय-विजय, यश, कृति तथा सम्मान प्राप्त गराउने काम गर्छिन् । जीवनमा हामीले सङ्घर्ष गर्नुपर्दछ, जसवाट जित्ने प्रेरणा विजय-लक्ष्मीले दिन्छिन् । हाम्रो जीवनमा आउने समस्याहरुसँग लड्ने र जित्ने साहस दिने काम विजय-लक्ष्मीको हो । वास्तुअनुसार विजय-लक्ष्मीको दिशा उत्तर-पश्चिम (वायव्य) कोण हो । अष्ट-लक्ष्मीहरूले जीवनलाई सहज र स्थिर राख्न एकअर्कासँग मिलेर काम गर्छन् । पूर्वकी धान्य वा ऐश्वर्या लक्ष्मीले गज लक्ष्मीसँग मिलेर व्यक्तिहरूलाई सुख सुविधा र विलासिताका साथ उच्चपदको उपभोग गर्ने क्षमता प्रदान गर्छिन् । दक्षिण-पूर्वकी धन-लक्ष्मीले उत्तर-पश्चिमकी विजया-लक्ष्मीसँग मिलेर आग्नेयमा उत्पन्न हुने नगद आवश्यक परेको बेला सहयोगको रूपमा उपलब्ध छ भनी सुनिश्चित गराउँछन् । वास्तुअनुसार लक्ष्मी वा सम्पत्ति भनेको स्पष्टता हो, जुन हामीले उत्तर-पूर्वबाट प्राप्त गर्छौं, दोस्रो लक्ष्मी, स्वास्थ्य तथा कनेक्टिभिटी हो जुन हामीले पूर्वबाट प्राप्त गर्छौं ं। तेस्रो लक्ष्मी भनेको पैसा हो जुन हामीले दक्षिण-पूर्व, नगद वा अग्निको वास्तु क्षेत्रबाट प्राप्त गर्छौं । चौथो लक्ष्मी भनेको प्रसिद्धि हो जुन हामीले दक्षिणबाट पाउँछौँ । त्यसपछि दक्षिण-पश्चिम क्षेत्र आउँछ जसले हामीलाई सीप र विशेषज्ञता दिन्छ । उत्तर-पश्चिमले बल र समर्थन दिन्छ । उत्तरले अवसर दिन्छ । यसरी आठ दिशाबाट यी आठ प्रकारको धन वा लक्ष्मीको आशीर्वाद लिन सकियो भने मात्र जीवन साँच्चै अनमोल बन्न सक्दछ । अन्त्यमा, आज लक्ष्मी पूजा अर्थात् धनधान्यकी देवीको पूजा गर्ने दिन । हामी सबैले आफ्नो घर या कर्म क्षेत्रमा माता लक्ष्मीको पूजा-अर्चना गर्छौैं । माता लक्ष्मीको पूजा गर्दा लक्ष्मीका आठवटै रुपको विधिवत् पूजा-अर्चना गर्न अनिवार्य छ । समग्र सुखको प्राप्तिका लागि धनलक्ष्मीको मात्र साधना नगरी आठै रुपको विधिवत् अर्चना या आराधना गर्दा उत्तम लाभ मिल्छ । जीवनका समग्र पक्षमा अधिकतम् उपलब्धिका लागि लक्ष्मीका आठैरुपको साधना गरौँ । (लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका आजीवन सदस्य हुनुहुन्छ)
माफी मागेपछि थाई एयरको निलम्बित उडान फुकुवा, काठमाडौं र भैरहवामा उडान गर्ने
काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । गत कात्तिक ११ गते अनुमति बिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको छ । कम्पनीलाई सातामा काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वत रद्द हुने सर्त समेत राखी उडान फुकुवा गरिएको छ । ‘नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेस गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौंबाट पनि उडान पुनः सुरु गर्ने सर्तमा थाई एयर एसियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ । ‘एप्रुभल सेड्युल’ अनुसार काठमाडौं र भैरहवासँगै उडान गर्नुपर्नेछ,’ उनले भने । थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिए । बिना अनुमति थाइल्याण्डबाट काठमाडौं आएको थाई एयर एसियाको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौं विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो । एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो । थाइ एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो ।
कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन
काठमाडौं । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि ७ वटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण बनेका छन् ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर । कुकुर नभएका भेडाबाख्रा, च्याङ्ग्रा, चौँरी, गाईभैँसीको गोठ नै हुँदैनन् । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर सङ्केत गर्र्ने, लखेट्ने तथा भिडेर किसानलाई सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए । ‘कुकुरबिनाको गोठालाको कल्पना नै गर्न सकिँदैन,’ ३२ वर्षदेखि गोठाला गर्दै आएका ७२ वर्षीय रनबहादुरले भने, ‘पशुहरु जङ्गलमा चराउन लैजाँदा उनीहरुको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिँदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वाँसो, स्याल देखेपछि भुकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।’ कुकुरको सहयोगविना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङ्ग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको रनबहादुरले बताए । म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तीमा दुईवटा भोटे कुकुर पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाई नै प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्य पर्छ । आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षति बनाएको कृषक राम्जालीले बताए । बिहान र बेलुका पीठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दशदेखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सयभन्दा बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।
प्रचण्ड निवासमा देउसीभैलो, छमछमी नाचे
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताउनुभएको छ । खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुग्नुभएका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । ‘यहाँ देउसीभैलो खेल्न आउनुभएकामा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ,’ उनले भने । कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरुसँगै छमछमी नाचेका थिए ।