प्रचण्ड निवासमा देउसीभैलो, छमछमी नाचे
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताउनुभएको छ । खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुग्नुभएका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । ‘यहाँ देउसीभैलो खेल्न आउनुभएकामा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ,’ उनले भने । कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरुसँगै छमछमी नाचेका थिए ।
देशभर तिहारको झिलिमिली
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् । विशेषगरी काठमाडौं उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौं उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ । काठमाडौंको नयाँ सडक, नयाँ बनेश्वर, असन, इन्द्रचोकलगायत व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधरणको घुइँचो लागेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरिएका छन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाँड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च, खरिद गर्नेको घुइँचो
गलकोट । बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा आउने परिकारका रूपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो । बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आकी मीरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् । एघार वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । ‘पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौं । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ,’ श्रेष्ठले भनिन्, ‘यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।’ तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन् । श्रेष्ठले दशैंतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु चारदेखि रु छ लाख आम्दानी हुने जानकारी दिइन् । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।
नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम
राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौं,’ उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे । नेपालगन्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको नगरप्रमुख बिष्टले बताए । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरूलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे । डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख विष्टले बताए ।
बीमा कम्पनीले लेखापरीक्षण भएको र नभएको विवरणमा फरक देखिए कारण खुलाउनु पर्ने
काठमाडाैं । बीमा कम्पनीहरूको लेखापरीक्षण भएको र नभएको वित्तीय विवरणमा धेरै अन्तर आएपछि नियामकले त्यसको मनासिव कारण खुलाउनु पर्ने व्यवस्था गरेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूले लेखापरीक्षण नभएको विवरण र लेखापरीक्षण भएको विवरणबीच धेरै अन्तर आउन थालेपछि यस्तो व्यवस्था गरेको हो । प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दे लेखापरीक्षण भएकाे र नभएकाेमा १० प्रतिशत रकम फरक देखिए मानसिव कारण खुलाउन भनेकाे हाे । परिपत्रअनुसार बीमा कम्पनीले लाभांश स्वीकृति माग गर्दा आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने छ । साथै उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमको फरक देखिएमा सोको मनासिव कारण समेत खुलाउन प्राधिकरणले परिपत्र जारी गरेको छ । यस्तै, बाह्य लेखापरीक्षकको लङ फर्म अडिट रिपोर्ट पनि प्राधिकरणमा पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
कृषि र व्यापारभन्दा जागिरमा आकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका बाह्य सूचकाङ्कहरूमा तिहारको झिलीमिली जस्तै उज्यालो रहेको देखाएको छ । अहिले बजारमा तिहारको उज्यालोले प्रवेश पाए जस्तै अर्थतन्त्रका बाह्य सूचकाङ्कहरुमा पनि उज्यालोपन देखिएको हो । आयातमा भएको कमी र बढ्दो विप्रेषणको कारण रु २१ खर्ब ५२ अर्ब बराबरको विदेशी मुद्रा सञ्चितिमा रहेको छ । विदेशी मुद्रा सञ्चितिको आकार चालु आवको बजेटभन्दा बढी रहेको छ । जबकि चालु आवको बजेटको आकार रु १८ खर्ब ६० अर्ब ३० करोड छ । यसले अर्थतन्त्रको बाह्य सूचक एकदमै मजबुत रहेको देखाउँछ । विदेशी दातृ निकायहरूले विदेशी विनिमय सञ्चिति बढेको कारण लगानी बढाउन सक्ने देखिएको छ । सञ्चितिमा रहेको विदेशी मुद्रा वैदेशिक भ्रमण र अध्ययनका लागि जाने विद्यार्थीले लैजानेबाहेक उपादनमूलक क्षेत्रमा प्रवाह गर्न सकेमा अझै सुधार आउने थियो । अहिले चालु खाता रु ४९ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्ब ९७ करोडले मात्रै बचतमा रहेको थियो । अहिलेको सञ्चितिले १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले जनाएको छ । भदौसम्ममा विप्रेषण १५.२ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष भदौ मसान्तसम्म शोधानान्तर स्थिति रु ५५ अर्ब १० करोड बचत रहेकामा चालु आवमा रु एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ । यी कुराहरूले अर्थतन्त्रको बाह्य सूचकाङ्क राम्रो रहेको देखाउँछ । तर, आन्तरिक अर्थतन्त्र पनि बाह्य अर्थतन्त्र जस्तै बनाउनु पर्ने खाँचो देखिएको छ । रोजगारीमा आएको सङ्कुचन, केन्द्रीय बैंकले सार्वजनिक गरेभन्दा बढी रहेको मूल्य, खस्कदो आयजस्ता कारणले गर्दा आन्तरिक अर्थतन्त्र केही कमजोर रहेको देखिन्छ । उत्पादन पर्याप्त बढाउन नसक्दा निर्यात व्यापारमा त्यही अनुपातमा सुधार आउन सकिरहेको छैन । चालु खाता बचत, बढ्दो विप्रेषण, बैंकिङ क्षेत्रमा थुप्रिएको तरलताले ‘लिक्युडिटी ट्रयाप’ को अवस्था सिर्जना गरेको छ । प्रचुर मात्रामा तरलता भए पनि लगानीको वातावरण सोचेजस्तो हुन सकेको छैन । चालु आवको दुई महिनामा पनि पुँजीगत खर्चभन्दा साधारण खर्चकै बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न सकेको छैन । निजी क्षेत्र अझै पनि लगानीको लागि पर्ख र हेरको अवस्थामा रहेको छ । सोही कारण निजी क्षेत्रले कर्जा नलगेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जालाई बढाएका हुन् । भदौसम्मको तथ्याङ्कअनुसार सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा ९९ अर्ब ७६ करोड पुगेको छ । सेयरजस्तै गत वर्षको त्रैमासिक अवधिको तुलनमा चालु आवको सोही अवधिमा घरजग्गा कारोबार १७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हाल देशभर बैकिङ क्षेत्रको रु तीन खर्ब घरजग्गामा ऋण लगानी रहेको छ । योभन्दा बढी व्यवसायीको लगानी छ । यी दुवै गरेर घरजग्गामा रु आठ खर्ब लगानी पुगिसक्दा पनि कारोबारमा सुधार आउन सकिरहेको छैन । यी कुराहरुलाई मध्यनजर गरी अर्थतन्त्रलाई अझ चलायमान बनाउन र देशलाई विकासको दीर्घकालीन बाटोमा लैजान आर्थिक विशेषज्ञता, नवीन सोच एवं साहसमा जोड दिनु पर्ने देखिएको छ । सन् २०२० मा विश्व अर्थतन्त्रमा आएको आर्थिक शिथिलता, रोजगारीका अवसरमा हस, गरिबी तथा असमानता, पेट्रोलियम पदार्थको उत्पादनमा देखिएको असन्तुलनजस्ता कारणबाट मानिसको दैनिक जीवनमा समेत समस्या देखिएको थियो । अहिले पनि फेरि त्यस्तै अवस्थाको सुरुआत हुन थालेको आभास हुन थालेको छ । बाह्य सूचकाङ्कले जस्तै आन्तरिक सूचकाङ्कले साथ दिएमा यस्ता कुराहरु हट्ने थियो । हामीकहाँ आर्थिक दृष्टिले पुँजीवादी खुला बजार अर्थतन्त्रको अभ्यास भइरहेको छ । योसँगै समाजवादी अर्थतन्त्र भएको छिमेकी मुलुक रहेको कारण नेपालको आर्थिक प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले पनि आयात दर उच्च बनाउन केही भूमिका खेलेको छ । कृषिमा आधारित अर्थतन्त्र भए पनि उत्पादकत्वमा सुधार आउन सकेको छैन । प्राकृतिक साधन तथा स्रोतको पहिचान र उपयोग हुन नसक्दा उत्पादकत्वमा उल्लेखनीय सुधार आउन नसकेको हो । हामीकहाँ ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको अनुमान छ । विश्वव्यापी रूपमा हेर्ने हो सन् १९९१ मा कृषि क्षेत्रमा कार्यरत सङ्ख्या ४४ प्रतिशत रहेको थियो । अहिले यो झरेर २८ प्रतिशतमा खुम्चिएको छ । यसले कृषितर्फ आकर्षण घट्दै गइरहेको देखाउँछ । हामी कहाँ पुरानो उखान उत्तम खेती, मध्यम व्यापार र निकृष्ट नोकरी भन्ने रहेको थियो । तर, यो उखान अहिले त्यति उपयुक्त नहुन सक्छ । किनकि खेतीपाती र व्यापारभन्दा पनि नोकरीतर्फ आकर्षण बढेको कारण स्वदेशमा नोकरी नपाउनेहरु विदेशमा गएर काम गर्न थालेका छन् । तर पनि जुन देशमा कृषि रोजगारी कम छ, त्यस देशको विकास बढी भएको देखिएको छ । तर, हामी कहाँ ७० प्रतिशत कृषि रोजगारीमा रहे पनि खाद्यान्नमा अझै पनि परनिर्भरताकै अवस्था रहेको छ । परनिर्भरता हटाउनको लागि माथि भनिएजस्तै कृषिमा परम्परागत प्रवृतिलाई विस्थापित गरी कृषि यान्त्रिकीकरण गर्नुपर्ने खाँचो देखिएको छ । नेपालको संविधान २०७२ ले मुलुककको अर्थतन्त्रलाई समाजवाद उन्मुख अर्थतन्त्रको रूपमा विकास गर्ने आर्थिक उद्देश्य राखेको छ । समाजवादले देशमा रहेको सम्पूर्ण उत्पादनका स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नभएर समाजको नियन्त्रणमा हुनुलाई जनाउँछ । उत्पादनको स्रोत, साधनहरू व्यक्ति विशेषको नियन्त्रणमा नरहेर समाजको नियन्त्रणमा रहँदा उत्पादनबाट आउने नाफामा श्रमिकहरुको समान पहुँच हुन गई समाजमा धनी र गरिबबीचको खाडल मेटिन्छ भन्ने मान्यता समाजवादमा रहेको छ । श्रीमद्भागवद् गीताको १६ अध्यायको श्लोक १६ मा आसुरी व्यक्तिले धन आर्जनमा पापपूर्ण बाटो अपनाउने र अवैध तरिकाले इन्द्रिय तृप्तिको लागि कालोबजारी गर्ने उल्लेख छ । हामीकहाँ पनि बजार मूल्य बढाउनुमा अतृप्त धन आर्जन नै मुख्य तत्वको रूपमा रहेको छ । खाद्यान्नमा परनिर्भरताको कारण देशभित्र उत्पादन कम हुन थालेको छ । श्रीलङ्का, अफगानिस्तान, लेबनान, इथियोपिया, सोमालिया, केन्या, इजिप्ट, दक्षिण सुडान, यमनलगायतका देशमा खाद्यान्नमा दबाबको अवस्था कायमै रहेको छ । बढी खाद्यान्न निर्यात गर्ने देशहरुले ‘खाद्य राष्ट्रवाद’ (फुड नेसनालिजम) लाई प्राथामिकतामा राख्न थालेका छन् । आम्दानीको तुलनामा खर्च मात्रै बढ्न थालेपछि उपभोक्ताको जीवनयापन असहज हुन थालेको छ । वस्तु र सेवाको मूल्य महँगो (इन्फ्लेसन) हुन थालेको अहिलेको अवस्थामा वस्तु तथा सेवाको परिणाम घटाएर बेच्ने पद्धतिको अभ्यास शुरु भएकोसम्म देखिन आएको छ । यसले बजारमा मागभन्दा आपूर्ति कम हुन गई मूल्य बढाउन सहयोग पुर्याइरहेको छ । राजनीतिक विश्लेषक हरि रोकाले वैकल्पिक अर्थतन्त्र नामक पुस्तकमा जीवनयापनका लागि पुँजी निर्माण हुन नसक्दा ग्रामीण वा सहरी क्षेत्रका आम नागरिकको जीवस्तर नराम्ररी प्रभावित भएको उल्लेख गर्नु भएको छ । पुँजी निर्माणमा सक्रियतापूर्वक जनसङ्ख्यामाथि हुने वातावरण नबन्दा राष्ट्रिय पुँजी निर्माणमा समेत आघात पुगेको उहाँको पुस्तकमा लेखिएको छ । यसले अर्थतन्त्रको बाह्य सूचक मात्रै मजबुत हुँदैमा आम नागरिकको जीवनस्तरमा आमूल परिवर्तन आउन सक्दैन भन्ने देखाउँछ । बजेटले अर्थतन्त्रमा सिर्जना भएको गतिशीतला, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानीबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीर्तिलाई बाञ्छित सीमाभित्र राख्ने घोषणा गरेको छ । यसलाई व्यवहारमा ल्याउन आन्तरिक उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, उद्योग कलकारखाना पूर्णरूपमा चल्ने वातावरण सिर्जना गर्न सकेमा तिहारको चमक जस्तै अर्थतन्त्रमा उज्यालोपन आउने थियो ।
तिहारमा लोडसेडिङ नहुने, सकेजतिको बिजुली खपत गर्न कुलमानको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन् । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताए । कार्यकारी निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत पुर्याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको जानकारी दिए । उनले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएकाे पनि बताए । घिसिङले पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मीपूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।
अब बच्चा जन्मनासाथ चार स्वास्थ्य समस्याको परीक्षण अनिवार्य
काठमाडौं । नेपालका प्रसुति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै प्रसुति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् । जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसुति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइराइड परीक्षण हुनेछ । यसैगरी, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ । बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरूमा हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समसयाको निदान थालिने बताएका थिए । विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरूले देखाएका छन् । नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रूपमा जन्मजात अपांगतासम्बन्धी परीक्षणको मन्त्री पौडेलले सुरुवात गरेका थिए ।