विकासन्युज

‘पठाओ पोइन्ट्स’ सुरु र नेपालभर रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा

काठमाडौं । पठाओले ग्राहकका लागि ‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ । पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभस्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन् । ग्राहकले पठाओको राइड, फूड अर्डर र अन्य सेवामा गर्ने खर्चको दश प्रतिशत बराबर पोइन्ट्स पाउनेछन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने जनाइएको छ । पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होम पेजको ‘पोइन्ट्स’ ट्याबमा जानुपर्ने हुन्छ । त्यहाँ जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ। पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट दिलाउने मात्र नभई, पठाओसँग आवद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउनेछन् । ग्राहकले क्यूआर कोड स्क्यान गरी लाभ लिन सक्नेछन् । पठाओले ग्राहकका लागि फरक पोइन्ट्सअनुसार फरक स्तर पनि राखिएको छ। ब्रोन्ज, सिल्वर, गोल्ड, र प्लाटिनम स्तरमा विभाजित यी लाभका स्तरले ग्राहकको जम्मा पोइन्ट्सअनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजानेछ । ग्राहकको स्तर जति माथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट ग्राहकलाई थप आकर्षित गराउने लक्ष्य कम्पनीले राखेको छ। रियल टाइम पार्सल डेलिभरी पठाओले काठमाडौं उपत्यका बाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार भएको छ। अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरिअरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरुन्त पिकअपसहित पठाउन सक्नेछन्। यो सेवा विस्तारले पठाओको प्रभावकारी सेवा काठमाडौं बाहिरका सहरमा समेत पुर्‍याउनेछ। कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमाले बताइन्। यही अक्टोबर ३१ देखि ग्राहकले पठाओ पोइन्ट्स र पार्सल डेलिभरी सेवाहरू पूर्णरूपमा प्रयोग गर्न सक्नेछन्। नयाँ योजनाले ग्राहकलाई थप लाभान्वित गर्नुका साथै नेपालमा डिजिटल सेवाको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीले विश्वास लिएको छ।

अनिवार्य बन्दै भाइमसला, बारीको फलप्रति वेवास्ता

काठमाडौं । गाउँघर र सहरमा तिहारकाे रमझम सुरु भइसकेकाे छ । दाजुभाइ र दिदीबहिनीको सम्बन्ध थप प्रगाढ बनाउने चाडकाे रूपमा तिहारलाई मानिन्छ । कोहीले त देउसीभैलो खेल्न सुरु गरिसकेका छन् भने  कोही आफन्तजनसँग रमाउँदैछन् । वर्षदिनसम्म टाढा रहेका दाजुभाइ दिदीबहिनी अहिले भेट्ने तरखर गरिरहेका छन् । दोलाखाकी कमला खड्कालाई सबैभन्दा मन पर्ने चाड तिहार हो । तिहार आउनु अगावै सेलरोटी पकाउन चामलको जोहो गर्नुपर्थ्याे, दिनभरि ढिकीमा कुटेर चामल बनाउनुपर्थ्याे । पुरीको लागि पीठो तयार पार्न गहुँ पिसाउन घट्ट जानुपर्थ्याे । ‘आहा तिहार त कति रमाइलो गरी मनाइन्थ्यो,’ कमलाले पहिलेका दिनहरू सम्झँदै भन्छिन्, ‘काम पनि हुन्थ्यो, तिहारको खुसीले सहजै गरिन्थ्यो ।’ मखमली र सयपत्री फूलले आँगन रंगीन हुँदा उनको मन पनि उस्तै रंगीन हुन्थ्यो । त्यसैमाथि गाउँमा काठमाडौंमा बस्ने दाइ भाइहरू घर आउँदा कति खुसी लाग्थ्यो भन्ने कुरा उनी व्यक्ति नै गर्न सक्दिनन् । कमला खड्का । एकातिर देउसीभैलाेकाे रन्को, अर्कोपट्टि सबै परिवार एकैठाउँमा जम्मा हुँदा कमलाकाे मन खुसीले उत्तिकै उड्थ्याे । उमेरले ४९ लागेकी उनलाई अहिलेभन्दा उतिबेलै मनाएकाे रमाइलो लाग्छ । भन्छिन्, ‘पहिले दाइभाइसँगै हुन्थ्यौं, आमाबुवा साथमा पनि हुनुहुनथ्यो,आजभोलि त दाइभाइ पनि टाढा छन्, आफू पनि एक्लो छु, पहिले जस्तै रमाइलो छैन ।’ ललितपुरको पाटनकी पुष्पा बज्राचार्यलाई पनि तिहार मन पर्ने चाड हो । उनका ५ जना दिदीबहिनी र दुई जना दाजुभाइ छन् । थरिथरिका पकवान पकाउँदा, दाजुभाइसँग रमाइलो गर्न पाउँदा तिहार निकै रमाइलो लाग्छ । उनी अहिले तिहारको तयारीमा छन् । पहिले सेल रोटी र फलफुलमात्र दिने गरेकोमा अहिले भाइमसला अनिवार्य दिने गरेको बताउँछिन् । कमला र पुष्पालाई तिहार अहिले भन्दा पहिलेकै रमाइलो लाग्छ । पहिलेभन्दा अहिलेका हरेक चाडपर्व खर्चिला र भड्किला हुने गरेको उनीहरू बताउँछन् । पुष्पा बज्राचार्य । अनिवार्य भाइमसला पहिले तिहारमा दाजुभाइलाई घरमै पाकेको पकवान र बारीमै फलेको फुलफुल तिहारमा दिइन्थ्यो । दाजुभाइले पनि आशीषस्वरूप सकेको दक्षिणा दिन्थे । तर, अहिले पकवानभन्दा भाइमसला पहिलो रोजाइमा पर्ने गरेको छ । पहिले खासै प्रचलनमा नरहेको भाइमसला अहिले अनिवार्यजस्तै भएको छ । बजारमा १ सय देखि १ हजार दुई हजारसम्म पर्ने भाइमसाला जताततै छ्यापछ्याप्ती छ । पुष्पा बज्राचार्य आजभोलि घरमा पकाएका सेलरोटी फलफुलभन्दा बढी किसमिस, काजु, बदाम मिश्रित भाइमसला दिने प्रचलन बढेको बताउँछिन् । आजभन्दा २५ वर्ष पहिले यस्तो अनिवार्य नभएपनि आजभोलि भने अनिवार्यजस्तै रहेको उनको भनाइ छ । भाइलाई दिने मसलामा समेत विदेशकै भर तिहारको लागि दाजुभाइलाई दिने भाइमसलामा विभिन्न प्रकारका खानेकुरा मिसाइएको हुन्छ । काजु, किसमिस, सुकमेल, सुपारी ल्वाङ, सुकमेल, ओखर, नरिवल, खुर्पानी, मिस्री, दालचिनी मखना लगायतका खानेकुरा मसलाको रूपमा राखिएको हुन्छ । यी सबैको उत्पादन नेपालमा हुँदैन । यसमा पनि कतिपय खानेकुरा पश्चिम अफ्रिकी देशबाट आयात गरिन्छ । नेपालमा उत्पादन नै नहुने यस्ता मसला नेपाली चाडको  हिस्सा बन्न पुगेकाे छ । भन्सार विभागको तथ्यांकानुसार पछिल्लो तीन महिनामा साढे एक अर्ब रुपैयाँको भाइमसला आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा उक्त रकमबराबरको भाइमसाल नेपाल भित्रिएकाे हाे । संस्कृतिविद्  प्रा. कल्पना श्रेष्ठ भाइसला दिने चलन मल्ल कालभन्दा अघिदेखि नै चलेको बताउँछिन् । पहिले शासक वर्ग र उच्च पदस्थ अधिकारीले मात्र यसको बढी प्रयोग गर्ने गर्थे भने आजभोलि सबैले भाइमसला अनिवार्य गरेको उनको भनाइ छ । ‘पहिले हुने खानेहरूसँग पैसा हुन्थ्यो, काजु, किसमिस विदेशबाट ल्याएका महँगा फलफूल किनेर दिन्थे, आजभोलि सबैसँग पैसा छ, महँगा सामान किन्न सक्ने हैसियत बढेकाले सबैले यसको प्रयोग गर्न थाले,’ उनी भन्छिन्, ‘पहिले धनीवर्गले भाइमसला, गरिबहरूले घरमै पकाएका पकवान र बारीमा फेलका सामानहरू मसलाको रूपमा दिन्थे फरक त्यति हो । अरू यसमा छुट्टै धार्मिक मान्यता केही छैन।’ संस्कृतिविद श्रेष्ठले आर्थिक दृष्टिकोण, सांस्कृतिक दृष्टिकोणले पनि मसलाको प्रयोग बिस्तारै बढ्दै गएको बताइन् । सुरुमा राजदरबारमा ठूलठूला व्यक्तिको घरमा प्रयोग हुनथ्यो । जनमानसमा यो कुराको ज्ञान पनि थिएन अनि किन्नसक्ने हैसियत पनि थिएन। संस्कृतिविद् डा. कान्ता भट्टराई अहिले बजारमा आएका मसला र सेलरोटी, स्याउ, सुन्तला एउटै मसला भएको बताउँछिन् । ‘पहिले आफ्नै बारीमा भएका फलफुल जस्तै भोगटे, बिमुरो, सुन्तला, नरिवल दिइन्थ्यो । यो मौसममा जे फलफल उपलब्ध छ, त्यही हुन्थ्यो,’ उनी भन्छिन्, ‘त्यो बेला आफ्नै देशमा प्रशस्त फलफुल पनि फल्थे, नेपाली पनि स्वावलम्बी थिए तर, आजभोलि विदेशबाट विभिन्न किसिमका फुलफुल भित्र्याउने थाले, अहिले मान्छे बढी अल्छी भए ।’ भड्किलाे बन्दै तिहार पहिलेभन्दा अहिले तिहार भड्किलो बनेको छ । दिदीबहिनीले सकेजति खानेकुरा दाजुभाइलाई दिन्थे भने दाजुभाइ पनि सकेको दक्षिणा दिन्थे । तर आजभोलि निकै भड्किलो भएको विज्ञहरू बताउँछन् । दोलखाकी कमला पनि अहिलेको जस्तो खर्चिलो तिहार त्यो बेलाको नभएको बताउँछिन् । तिहारमा भाइलाई एक एक जोर लुगा र सेलरोटी दिइन्थ्यो । अहिलेको जस्तो भाइमसला त्यो बेला थिएन । ‘भाइमसला पनि हुँदैन्थ्यो, फेरि सहर जस्तो फलफुल पनि पाइँदैनथियाे,’  त्यो बेलाको तिहार सम्झँदै उनी भन्छिन्, ‘अहिले त, भाइमसला भन्यो, के के मसला भन्यो, जति पैसा भएपनि किननै पुग्दैन, समयअनुसार चल्नै पर्‍यो, अहिले तडकभडक निकै छ ।’ उसो त काठमाडौं उपत्यकामै पनि पहिलेभन्दा अहिले तिहारमा भाइमसलाको प्रयोग बढ्दै गएको छ । केही वर्षदेखि तिहारमा भाइमसला अनिवार्यजस्तै हुने गरेको छ । ललितपुरको पाटनकी पुष्पा बज्राचार्य पहिले सेलरोटी र फलफुलमात्र दिने गरेकोमा अहिले भाइमसला अनिवार्य दिने गरेको बताउँछिन् । पुष्पाका ५ जना दिदीबहिनी दिदीबहिनी र २ जना दाजुभाइ छन् । उनी तिहारमा भाइहरूलाई सेलरोटी फलफुल, अण्डा, किमाको डल्लो बनाएर दिन्छन् । तर आजभोलि भने भाइमसला पनि किनेर दिने गरेको बताइन् । ‘पहिले त यस्तो थिएन दिन्नथ्यौं पनि तर आजभोलि अरू नभएपनि भाइ मसला अनिवार्य गरिन्छ,’ पुष्पा भन्छिन्, ‘समयको परिर्वतनसँग चाडबाडमा पनि परिवर्तन आए ।’ तिहारमा सबै सामान अखाद्य अझै पनि कतिपय ठाउँमा स्थानीय पकवान नै दिने चलन छ । बजारमा विभिन्न रङ मिसिएका खानकुराको प्रयोग चाडबाडमा बढी आउँछन् । अहिले बजारमा पाइने तेल घ्यूसमेत शुद्ध पाइँदैन । संस्कृतिविद् कान्ता भट्टराई आजभोलि सबै भाइमसलादेखि फूलसम्म बाहिरी देशमा निर्भर हुँदा अखाद्य र खर्चिलो चाडबाड हुने गरेको बताउँछिन् । उनी बाहिरबाट आएका बेमौसमी फलफुल स्वास्थ्यका लागि समेत राम्रो नहुने भन्दै स्वदेशमै फलेका फलफुल र खानेकुरा प्रयोग गर्न सकिने बताउँछिन् । नेपालका धर्म संस्कृति देशका गहना र पहिचान भएकाे उनकाे बुझाइ छ । उनका अनुसार यमपञ्चक जस्तो ठूलो चाड अरू छैन । यो नेपालीहरूकै आफ्नै माैलिक संस्कृति हो । संस्कृतिविद् भट्टराईका अनुसार दाजुभाइ भनेका वायु देवता हुन् भने दिदीबहिनी स्नेह र दयाका प्रतिमूर्ति हुन् भन्ने शास्त्रमा वर्णन गरिएको छ । दाजुभाइ र दिदीबहिनीको बीचमा श्रद्धा खुसी साट्ने पर्व हो । यो एकले अर्कोलाई सम्मान गर्ने पर्व हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीको घरमा गएर दिदी बहिनीले पकाएको खाुपर्ने मान्यता पनि छ । उनी आजभोलि यो चाड निकै भड्किलो भएको बताउँछिन् । भन्छिन्, ‘यो निकै दुःखद कुरा हो, पर्वले हामीलाई उत्साह र उमंग दिने हो तर आजभोलि भड्किँलो हुँदा बोझिलो बन्ने गरेको छ ।’

अरुण हाइड्रोपावरको लाभांश पारित

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं वार्षिक साधारण सभा कात्तिक बुधबार सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाबलाई छलफल गर्दै पारित गर्नुका साथै अर्को आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण पनि गरेको छ । यसैगरी, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरूसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

काठमाडौं । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५।१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् । नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो ।

धनियाँ १०० रुपैयाँले घट्दा डल्लेच्याउ १३८ रुपैयाँले बढ्यो

काठमाडाैं । हरियो धनियाँको भाउ शुक्रबार ह्वात्तै घटेको छ । आज हरियो धनियाँ प्रति केजी १०० रुपैयाँले घटेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हिजो हरियो धनियाँ प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । आज ५६.६० प्रतिशतले घटेर ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । यसैगरी, हरियो लसुन प्रतिकेजी २२.०६ प्रतिशतले घटर १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । हिजो हरियो लसुनको मूल्य २२६.६७ रुपैयाँ थियो । यसैगरी, सानो गोलभेडा (लोकल) प्रतिकेजी १८.३३ रुपैयाँले घटेर आज ८१.६७ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेडा (टनेल) ४ रुपैयाँले घटेर ९६ रुप्रैयाँमा कारोबार भइरहेको छ । भारतीय गोलभेडाको मूल्य भने आज ६५ रुपैयाँ रहेको छ । सेतो मुला १० रुपैयाँले घटेर २५ रुपैयाँमा झरेको छ भने लाम्चे भान्टा ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ । टाटे सिमी ३० रुपैयाँले घटेर ५५ रुपैयाँमा कारोबार हुँदा हरियो फर्सी २० रुपैयाँले घटेर ४५ रुपैयाँ, रायो साग १० रुपैयाँले बढेर ५५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँले घटेर १३० रुपैयाँ, मेथीको साग ४६ रुपैयाँले घटेर १३० रुपैयाँ डल्लेच्याउ १३८ रुपैयाँले बढेर ४२६.६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

तिहार बिदाको मौकामा महानगरले पद्मोदय मोडका सटर भत्कायो (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयल परिसरका सटर भत्काएको छ । पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका सटरमा महानगरले डोजर लगाएको हो । यसअघि महानगरले ती सटरमा ताला लगाएको थियो । विद्यालयले भाडामा लगाएका सटर भत्काएपछि सामुदायिक विद्यालयका सिकाइ कक्ष फराकिला र व्यवस्थित बनाउने महानगरको योजना छ । कक्षाकोठा र खेलमैदानअभाव हुँदाहुँदै सामुदायिक विद्यालयले सटर निर्माण गरी भाडामा लगाएको भन्दै काठमाडौं महानगरपालिकाले फागुन ०८० देखि सटर खाली गराउने अभियान थालेको थियो । सोही अभियानपछि सामुदायिक विद्यालयले सटर भत्काएर सिकाइ कक्ष विस्तार गरेका हुन् ।  

नेपालले इङ्ल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४‍.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यसैगरी लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव ५ ओभरमा छ विकेट गुमाएर ९७ रन बनाएको थियो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक-एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।

दुई करोड १४ लाख राजस्व सङ्कलन

काठमाडौं । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा २ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१र८२ को साउनदेखि असोजसम्ममा २ करोड १४ लाख ६ हजार १२० रुपैयाा राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए । सवारीसाधन करबाट १ करोड ३६ लाख ५ हजार ५२५ रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार ९१० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार १८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार १५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने २०७९÷८० मा ७ करोड ५६ लाख २५ हजार ४७५ रुपैयाँ सङ्कलन भएको थियो ।